अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

अनेसास र आसन्न चुनाव

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ असार १२ गते २०:५२ मा प्रकाशित

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज(अनेसास) एउटा विश्वव्यापी साहित्यिक संस्था हो । यसको गरिमा र अस्मिता पनि त्यही अनुरूप हुनु पर्यो । विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने यसको लियाकत र हैसियत पनि छ तर त्यस ऊँचाईमा पुर्याउन सक्ने पात्र र प्रवृतिले अब यसको नेतृत्व लिनु पर्छ ।

यो समाजको स्थापना गरि यहाँ सम्म ल्याई पुर्याऊने व्यक्तित्वहरूलाई हामीले आजका दिनमा स्मरण गर्नै पर्छ । वहाँहरु स्वागतयोग्य र अनुकरणीय हुनुहुन्छ । कुनै पनि संस्था र संगठनका शुरूवाती दिनहरू कष्टदायक र चुनौतीपूर्ण हुन्छन । त्यति सजिलो छैन जग स्थापना गर्नु र त्यसलाई निरन्तरता दिई परन्तुसम्म जीवित राख्नु ।

यो समाजलाई निरन्तरता दिई अहिलेको यो अवस्था सम्म ल्याई पुर्याउने बोर्ड अव ट्रष्टीका सबै सदस्यहरू तथा अध्यक्ष गीता खत्रीज्यू र वर्तमान केन्द्रीय समितिका समस्त पदाधिकारीज्यूहरू तथा केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीज्यू धन्यवादको पात्र हुनुहुन्छ ।

यो राजनैतिक संस्था अथवा समाज हैन । विशुद्ध साहित्यिक संस्था हो । यसलाई चुनावबाट भरसक अलग्गै राख्नु पर्छ । यद्यपि सहमति हुन नसके अन्ततोगत्वा चुनावमै जानु पर्ने स्थिति हुन सक्छ तर त्यो हदसम्म जानु वांछनीय हुन्न । चुनावमा जाँदा माहौल बिग्रिन्छ । गाली-गलौज र भनाभन अनि गुट- उपगुट हुन्छ । पराजित उम्मेदवार र त्यसका समर्थकहरूमा लघुताभाष उत्पन्न भई एउटा समूह बाहिरिने संभावना हुन्छ । अत: म पनि प्रजातन्त्रको हिमायती हूँ तर चुनावमा जान नदिनु श्रेयष्कर मान्छु ।

अबको नेतृत्वमा हामीले निम्नलिखित योग्यता भएका मानिसहरूलाई प्रोत्साहन गर्नु पर्छ ।
१. साहित्यिक पृष्ठभूमि भएको
२. अनेसासमा योगदान दिएको
३. नेपाली भाषाका अतिरिक्त अन्यान्य भाषाहरूमा दख़ल भएको
४. प्रशस्त समय भएको
५. नेतृत्व क्षमता, संचारको खुबी र सबैसंग सम्पर्क र संवादमा बस्न सक्ने
६. अग्रजहरूको कदर गरि कनिष्ठहरूलाई समेटन सक्ने
७. नयाँ पुस्तालाई आकर्षित गर्न सक्ने
८. नयाँ- नवीन कार्यक्रमहरू ल्याउन सक्ने
९. गतिशील र स्वप्रेरित हुन सक्ने र अरूलाई पनि उत्प्रेरित गर्न सक्ने इत्यादि

नेतृत्व भनेको कसैले रहर गर्दैमा हुन्न । काम पनि गर्न सक्नु पर्यो । केवल नाम लेखाउन रहर पालेर हुन्न । समाजको ईज्जत र प्रतिष्ठाको विषय हुन्छ । बाहिरै बसेर अथवा सानो सदस्य भएर पनि सेवा गर्न सकिन्छ । दंभ पालेर हुन्न कसैले ।

यो समाज कसैको बिर्ता हैन । कसैले ठूला कुरा नगरे हुन्छ । यो संस्था कसैको नियंत्रणमा हुनुहुन्न । सबैको साझा काम, कर्तव्य र अधिकार छ ।सबैले बोल्न पाउनु पर्छ । सबैको मतको सम्मान गरिनु पर्छ ।

अबको नेतृत्व लिने महानुभावले स्वमूल्यांकन पनि गर्नु पर्छ । आँफैले म उठछु भनेर जितिँदैन । अग्रजहरूले मूल्यांकन गरेर तपाईँको आवश्यकता बोध गरि दिनु पर्यो । अग्रजहरूले एउटा विशेष गुट र अदक्ष व्यक्तिलाई बोकेर हिंडनु भएन । यो रोग अनेसासमा रहेछ ।

अग्रजहरूले उचित सुझाव दिनु पर्छ र त्यसलाई कनिष्ठहरूले आदर गर्नु पर्छ । साहित्य समाजमा कतिपय व्यक्तिहरू मात्रै हावी हुने प्रवृति राम्रो हैन । अरू नयाँ प्रतिभाहरूलाई पनि क्रमश: स्थान दिएर नयाँ नेतृत्वको विकास गर्नु पर्छ ।

अब आएको नयाँ नेतृत्वले गतानुगतिक र पुरातनवादी शैलीले काम गरेर हुन्न । विज्ञहरूको टोली बनाई अगाडि बढनु पर्छ । बाल साहित्य, उत्प्रेरक साहित्य, डिजिटल प्रविधिमा संचालित गर्न सक्ने साहित्यका विभिन्न धारा, अनुवाद साहित्य आदिमा काम गर्नु पर्छ ।

हाम्रा साहित्यिक कार्यक्रमहरूमा अन्य भाषाका साहित्यकर्मीहरु लाईपनि आमंत्रण गर्नु पर्छ । त्यसरी अन्तर्राष्ट्रीय सम्बन्ध बढदै जान्छ र हाम्रा साहित्य सर्जकहरुलाई चिनाउने अवसर हामीले पाऊँछौ ।

आजको युग फराकिलो छ । एक्लै बाँचेर हुन्न । हामी खुम्चिँदै जान्छौँ । अत: फराकिलो मन राखेर नेपाली भाषा र साहित्यलाई ऊँचाईमा पुर्याउन हामी सबैले सामूहिक प्रयास गर्नु पर्छ । हाम्रो मूल्यांकन सबैले व्यक्तिगत रूपले गरिरहेका हुन्छन ।

कसैले म ‘ठूलो अथवा सर्वेसर्वा’ भनेर हुन्न । जगमा अरूले कसरी मूल्यांकन गरि रहेका छन भन्ने चुरो कुरोमा हामीले मनन गर्नु पर्छ । केवल वर्तमानमा बाँचेर हुन्न अपितु भविष्यमा ‘मेरो अथवा हाम्रो’ इतिहास कसरी लेखिन्छ भन्ने कुरामा पनि ध्यान पुर्याउनु पर्छ ।

अत: आसन्न नेतृत्वमा चुनावरहित भएर अघि बढौँ । असल व्यक्तित्वहरूलाई हौसला दिएर उत्साहित र उत्प्रेरित गरौँ । हामी बाहिर बसेर सेवा गरौँ ।

अग्रजहरूले उपयुक्त प्रार्थीको चयन गरौँ । आफ्नो गुट र आफ्नो मानिस नहेरौ । असल नेतृत्वको खोजी गरौँ । सबैलाई समेटन सकिन्छ । सबैको पाले आऊँछ तर उम्मेदवार हुनुभन्दा पहिले आफ्नो योग्यता र क्षमताको प्रदर्शन गर्नु पर्यो । काम गर्न नसक्ने व्यक्ति नेतृत्वमा आए यसको गरिमा खस्किन्छ ।

( क्यालिफोर्निया निवासी प्रा.डा दुर्गा दाहाल बोर्ड अव ट्रष्टीजका सल्लाहकार हुनुहुन्छ)