अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

कर्मको विज्ञान

गोविन्द घिमिरे २०८० साउन १४ गते १०:०८ मा प्रकाशित

पूर्वीय दर्शनमा आधारित समाजको सभ्यता र संस्कृतिमा अत्यधिक चर्चा हुने विषय हुन् – “धर्म” र “कर्म” । संसारका अधिकांश मानिसहरू यी विषयबाट प्रभावित छन् र कुनै न कुनै रूपमा ईश्वरमा विश्वास र आस्था पनि राख्छन् ।नेपाली समाजको सन्दर्भमा त झन् धर्म, कर्म, पूजा, अर्चना, देवी, देवता जस्ता अवधारणाहरूको प्रभाव निकै रहेको छ ।

वर्तमान समयमा समाजलाई द्रुत गतिमा अगाडि हिडाउनें अर्को विषय विज्ञान र प्रविधि हो । विज्ञान र प्रविधिको विकासबाट अचम्मित र प्रफुल्लित मानिसहरूको मनमा ईश्वर, धर्म, कर्म जस्ता विषयहरू पनि विज्ञान सम्मत छन् त ? भन्ने जिज्ञासा आउनु पनि स्वभाविक नै हुन्छ । तर पनि यसका सम्बन्धमा परम्परागत मान्यता र विश्वासले यति गहिरोसँग जरा गाडेको छ कि यस्ता विषयमा नवीनतम र वैज्ञानिक अवधारणाहरू व्यक्त गर्न ठुलै चुनौतीको सामना गर्नुपर्ने हुन्छ र सामाजिक मान मर्यादाको तहमा नोक्सानी पनि बेहोर्नु पर्ने हुन सक्छ । जे होस् यस्ता विषयहरूको सत्यता र वैज्ञानिकतासँग आफूलाई नजिक उभ्याउने कोसिस गर्नु आजको आवश्यकता हो ।

जसरी विज्ञानले प्रतिपादन गरेका सिद्धान्तहरू सार्वभौमिक र सर्वमान्य हुन्छन् त्यसरी नै के ‘धर्म’ र ‘कर्म’ का सिद्धान्तहरू पनि सार्वभौमिक र सर्वमान्य हुन सक्छन् त ? जबसम्म हामी यो प्रश्नको उत्तर भेट्टाउँदैनौ तब सम्म मानव समाज समस्या रहित हुन सक्दैन र सत्यताको नजिक पनि पुग्न सक्दैन ।

पूर्वीय जगतमा हिन्दु सभ्यताको विशेष स्थान रहेको छ भने यसको विकास र विस्तारमा वैदिक शास्त्रहरूको महत्त्वपूर्ण भूमिका देखिन्छ । समय क्रमसँगै समाजमा यस्ता शास्त्रहरूको अस्तित्व र प्रभावलाई विचार गर्दै, समयानुकूल वैज्ञानिकताको खोजी गर्नुपर्ने टड्कारो आवश्यकता पनि देखा परिसकेको थियो । र यसैको प्रयास स्वरूप केही विद्वानहरूले यिनीहरूको सारतत्व र सारांश समेटिएको दस्ताबेज प्रकाशमा ल्याएका थिए जसको नाम हो ‘भागवत गीता’ ।

छोटकरीमा र बुझिने भाषामा उल्लेख गर्नुपर्दा भागवत गीतामा पाँचवटा आधारभूत सत्यमाथि प्रकाश पारिएको छ- ईश्वर, जीव, प्रकृति, समय र कर्म । यी पाँचवटा विषयहरू मध्ये जीव, प्रकृति र समयले आधुनिक विज्ञानको क्षेत्रमा स्थान पाइसकेका छन् ।यिनीहरूका सम्बन्धमा ठूलाठूला अध्ययन, अनुसन्धान र परीक्षण समेत भएर विभिन्न सिद्धान्त र समीकरण समेत बनिसकेका छन् ।जस्तै उदाहरणको लागि अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई आधार बनाउँदै “समय यात्रा अर्थात् टाइम ट्राभल” जस्ता अवधारणाहरूले वैज्ञानिक पृष्ठभूमि तयार पारिसकेका छन्।

भने अर्कोतर्फ ईश्वर र कर्म जस्ता विषयहरूलाई अहिले पनि आध्यात्मिक दृष्टिबाट मात्र हेर्ने कोसिस भएको छ र यिनीहरूमाथिको वैज्ञानिक चिन्तन ओझेलमा परेको छ ।

महत्त्वपूर्ण र विचारणीय कुरा त यो छ कि भागवत गीतामा माथि उल्लेखित पाँचवटै विषयलाई वैज्ञानिक तवरले नै प्रस्तुत र व्याख्या गरिएको छ । यो दस्ताबेज सर्वाधिक चर्चाको विषय हुनुको कारण पनि यही हो कि यसमा विज्ञानले समेत समेट्न नसकेको ईश्वर र कर्म जस्ता विषयमाथि वैज्ञानिक दृष्टिकोण प्रस्तुत गरिएको छ । साथै यी विषयलाई सार्वभौमिक पनि बनाइएको छ ।

साधारण बुझाइमा हामीले दैनिक जीवनमा गर्ने कार्यलाई ‘कर्म ‘को रूपमा अर्थ्याएको पाउॅछौं । जस्तै, भोकाएको व्यक्तिलाई खानेकुरा दिनु राम्रो कर्म हो भने चोरी गर्नु, हत्या गर्नु आदि नराम्रो कर्म भयो । यसरी व्यक्तिले गरेका क्रियाकलापलाई सोझो अर्थमा कर्म भनिएता पनि भागवत गीतामा कर्मको परिभाषा वा अर्थलाई निकै विशिष्टीकृत गरिएको छ र वैज्ञानिकता दिइएको छ ।

प्रकृति वा भौतिक संसारको निर्माण विभिन्न तत्त्वहरू मिलेर बनेको सर्वविदित नै छ । आधुनिक विज्ञानले पनि हालसम्म ९४ वटा प्राकृतिक र २४ वटा प्रयोगशालामा निर्मित गरेर ११८ वटा तत्त्वहरू पत्ता लगाइसकेको छ । र यिनै तत्त्वहरूको विविध सम्मिलनबाट असङ्ख्य पदार्थहरूको उत्पत्ति भएको छ र संसारको वर्तमान स्वरूप प्रकट भएको छ । यहॅा उल्लेखनीय कुरा यो छ कि यी तत्त्वहरूका आ-आफ्नै गुण वा विशेषता भए पनि तिनीहरूको सम्मिलनबाट बन्ने पदार्थको गुण र विशेषता भने नितान्त बेग्लै हुन्छ । जस्तै हाइड्रोजन र अक्सिजन तत्त्वको सम्मिलनबाट सिर्जित पानीको गुण वा विशेषता यी तत्त्वहरूको विशेषतासँग कत्ति पनि मिल्दैन ।

भागवत गीतामा बताइए अनुसार पनि प्रकृतिको निर्माण विविध गुणयुक्त तत्त्वहरूबाट भएको छ । यस्ता तत्त्वहरू वा तिनीहरूबाट निर्मित पदार्थहरूका गुणहरूलाई समग्रमा तीन भागमा वर्गीकृत गरिएको छ । ती हुन् – सत्व गुण , रज गुण र तम गुण । जब भौतिक जगत् वा प्रकृतिमा स्थित यी तत्त्वहरू वा पदार्थहरूले समयको प्रभाव वा नियन्त्रणको अधीनमा रही चेतनासँग अन्तरक्रिया गर्छन् त्यति बेला तिनीहरूको गुण वा विशेषतामा फेरबदल आउँछ । यस प्रकारबाट ब्रह्माण्डमा घटित हुने यस्ता गतिविधि वा क्रियाकलापलाई नै कर्म भनिन्छ । अर्को शब्दमा तत्वका गुणहरूको फेरबदल हुने घटना नै कर्म हो । खासमा कर्मको निर्माण वा सिर्जना हुन दुई वटा कुरा अवश्यक पर्दछ – भौतिकतत्व वा पदार्थ र चेतना । विचारणीय कुरा यो छ कि चेतना बिना यो संसारमा कुनै पनि क्रियाकलाप घटित हुदैंन र कर्मको सिर्जना हॅुदैन । जस्तै माथि उल्लेख गरेको उदाहरणमा एउटा भोको व्यक्तिलाई कसैले खाना दिनु कर्म हो । किनभने यहॅा दुई व्यक्तिको चेतना र केही तत्त्व वा पदार्थ ( खानेकुरा, व्यक्तिका भौतिक शरीर) को बिचमा अन्तरक्रिया भई एउटा कृयाकलाप वा घटना घटित भएको छ । समयको प्रभाव वा नियन्त्रण बिना पनि यस्ता घटना हुन सक्दैनन् र समयकै कारण यी सबै घटनाहरू ब्रह्माण्डमा अभिलेखित हुने गर्छन् । र तिनीहरू कहिले पनि मेटिँदैनन् । त्यसैले यस्ता कर्महरूले समयको अन्तरालमा विभिन्न परिणामहरू दिने गर्छन् जसलाई हामी कर्मको फल भन्छौँ । मानिस पनि एउटा भौतिक पदार्थ र चेतनाबाट सिर्जित प्राणी भएकोले यस ब्रमाण्डमा कर्मको निर्माण गर्दै, यसैको प्रभाव र नियन्त्रण भित्र रहेर बाचिरहेको हुन्छ।यसैले भनिन्छ मानिसले जस्तो कर्म गर्छ त्यस्तै फल भोग्छ ।

कोलोराडो, अमेरिका ।

प्रतिक्रिया