अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

सम्बोधी दिवसको महत्त्व

रमा दुलाल २०८० चैत १५ गते १८:१० मा प्रकाशित

लेख
आज ओशोले “सम्बोधी” प्राप्त गरेको दिन हो। संसारभरका समस्त ओशो प्रेमीहरू आजको दिनलाई “सम्बोधी दिवस”को रूपमा मनाइरहेका छन्, नाचिरहेका छन्, प्रज्वलित भइरहेका छन्। किनकि, ओशो स्वयं आज प्रज्वलित भएको दिन हो।

ओशोको जन्म ११ डिसेम्बर १९३१ को कुछबाडा गाउँ मध्य प्रदेशमा भएको थियो। उनले जवलपुरमा २१ वर्षको उमेरमा २१ मार्च १९५३ मा मौलश्री वृक्षको मुनि “सम्बोधी” प्राप्त गरेका थिए। आज ओशोले “सम्बोधी” प्राप्त गरेको दिन हो।

के हो त सम्बोधीको अर्थ…?
सम्बोधी निर्विचार अवस्था हो। यसलाई योगमा सम्प्रज्ञात समाधिको प्रथम स्तर भनिन्छ। यो दशामा व्यक्तिको चित्त स्थिर हुन्छ। शरीरबाट उसको सबै सम्बन्ध टुट्छ। तर पनि ऊ इच्छा अनुसार शरीरमै भइरहेको हुन्छ। यसलाई कैवल्य, मोक्ष या निर्माणको भन्दा पूर्वको अवस्था मानिन्छ।

यो पूर्ण जागरणको अवस्था हो। संबोधिको अर्थ हो- विचार र भाव रहित भएर शुद्ध चेतनाको अनुभव। जब चेतना पूर्ण रूपले खाली हुन्छ, अनि आफू भित्र विस्फोट जस्तो हुन्छ र भित्रको आकाशमा यस्तो प्रकाश फैलिन्छ कि जसको कुनै स्रोत, कुनै कारण हुँदैन।

जब एक चोटि यो घट्छ, कहिले पनि यसले छोड्दैन । जब हामी निदाएका हुन्छौ, त्यस बेला पनि त्यो प्रकाश भित्र रही रहन्छ। त्यस्पछी हरेक बस्तुलाई हामी नयाँ दृष्टिले हेर्न थाल्नेछौ । लगातार श्वास-प्रश्वासमा ध्यान दिनाले वा साक्षी भावमा रहनाले यो अवस्था घटित हुन्छ।
त्यो बेला ओशो भारतको जबलपुरको योगेश भवनमा बस्दथे। उनलाई रातको १ बजे केही अनौठो लागिरहेको थियो। शरीर हल्का भएको जस्तो थियो। उनी त्यहाँबाट निक्लेर जवलपुरको भवरताल पार्कमा मौलश्रीको रुख मुनी गएर बसे। उनलाई मौलश्रीको वृक्षले ज्यादा आकर्षित गर्‍यो- यसैले उनी त्यहाँ गएर बसेका थिए। लगभग ४ बजेसम्म उनी त्यहाँ बसिरहे। उनलाई लागिरहेको थियो कि उनी ज्योतिर्मय स्वरूप भए र पातहरू एउटा प्रकाश पुञ्ज जस्तो लागिरहेको थियो। पातहरूमा प्रकाश पुञ्ज देखिरहेका थिए।

उनले आफ्नो यो सम्बोधी प्राप्तिको वर्णन आफैले गरेका छन् । ओशो आफ्नो संबोधिको सम्बन्धमा भन्दथे- “यो अरू केही होइन , बस, तिमी प्रकाश बन्दछौ, तिम्रो अन्तर मन प्रकाशमान हुन्छ। फेरि बिस्तारै-बिस्तारै सबै कुरा शान्त हुन्छ। अनि कैयौँ जन्मको तिम्रो खोज समाप्त हुन्छ”।
सम्बोधी शब्द “बौद्ध” धर्मको हो। यसलाई बुद्धत्व (Enlightenment) पनि भनिन्छ। सरसर्ती हेर्‍यो भने, यो मोक्ष या मुक्तिको सुरुवात पनि हो। अन्तिम आनन्द या मुक्ति (Final Beatitude or Salvation) शरीर छुटेपछि मात्र मिल्दछ। जबकि सन्सारमा यस्ता कैयौँ योगीहरू छन्, जसले सबै कुरा शरीरमा रहेरै पाएका छन् । यसैले होस पूर्ण केवल शुद्ध प्रकाश मात्रै रहनु धेरै ठुलो घटना हो। यसरी प्रकाशित हुँदा सबै कुरा जान्न र बुझ्न सकिन्छ ।

आजको दिनमा उनको व्यक्तित्वको चर्चा नगरी बस्न सकिँदैन। ओशोलाई मैले धेरै पढेकी, सुनेकी छैन। एउटा ओशो सन्यासीनीको नाताले, आफ्नो फुर्सदको समयमा मैले उनलाई थोरै पढेकी छु, पढिरहन्छु… र युट्युबहरूमा उनलाई सुनेकी छु र सुनिरहन्छु….. पनि।
उनलाई सुनेको र पढेको भरमा म यति अवश्य पनि भन्न सक्छु कि ओशो विशाल व्यक्तित्वका धनी थिए । ओशोको एक अनौठो शैली थियो । एउटा सुन्दरता थियो। एउटा अनौठो प्रतिभा थियो।

“ओशो” शब्द सुन्ने बित्तिकै मेरो दिमागमा एउटा यस्तो व्यक्तित्वको छवि आउँछ, जसले ज्ञान, संस्कृति र परम्परा र आजको समाजलाई बुझेको छ, जो विचारहरूको अथाह-गहन समुन्द्र हो। जसको भाषा र वाणीमा हिन्दी र अङ्ग्रेजीको विशिष्टता छ । यसबाट स्पष्ट थाहा हुन्छ कि, उनले धेरै अध्ययन गरेका छन्, जसलाई उनले आफ्नो तरीकाले पुरा विश्वमा व्याख्यान्वित गरे। त्यसैले त प्रायः सबै देशका मानिसहरू आज उनीसँग जोडिएका छन् ।

किनकि, हामीले यो पक्कै मान्नु पर्छ कि, जबसम्म हामीसँग विषय वस्तुको ज्ञान छैन, जबसम्म हामी विषयसँग परिचित हुँदैनौँ, तबसम्म हामी कसैलाई बुझाउन सक्दैनौ। । ओशोको सन्दर्भमा भन्नु पर्दा, उनलाई आफ्नो उद्देश्य थाहा थियो। उनी जुन दिशामा सोच्दथे, त्यही दिशामा आफ्नो साधकहरूलाई लैजान्थे। ओशो आफ्नो वरी-परी एउटा यस्तो वातावरण पैदा गर्दथे कि, सुन्ने मानिस न केवल उनलाई सुन्दथे, बरु ओशोको हरेक वाणी आफ्नै लागी नै हो जस्तो मानिसलाई लाग्दथियो,आज पनि लाग्दछ।

जसरी उनले विश्वका विभिन्न देशका मानिसलाई आफूतिर आकर्षित गरे, यसले यो बताउँछ कि न केवल उनमा ज्ञान थियो, उनलाई कुनै पनि विषयमा गहिरो जानकारी पनि थियो। साथै उनको व्याख्यान तथा विवेचना यति अद्भुत थियो, जसलाई धेरै मानिसले काँपी गर्ने कोसिस गरे।सत्य बोल्नुपर्दा, विश्व नै उनीसँग प्रभावित थियो। कतिपय देशहरू उनीसँग डराएका पनि थिए। जसको फलस्वरूप उनी जुन देशमा जान्थे, त्यही देशबाट लखेटिनु पनि पर्थ्यो।उनको आभाले विश्वका ठूलाठूला नेताहरू डराउँथे। अद्भुत व्यक्तित्वका स्वामी थिए- ओशो ।

आज हामी बिच यस्ता कयौँ तथाकथित साधु-सन्त, बाबाहरू छन्, जो अदालतबाट प्रमाणित भइसकेका छन् कि उनीहरू बाबा होइनन्, पाखण्डी, अपराधी हुन। यस्ता केयौ बाबाहरूले ओशो बन्ने कोसिस गरे, तर ओशो एक थिए र एक नै रहिरहने छन्।

ओशोले यो जगतमा त्यो समय आफ्नो ठाउँ बनाए, जुन समय ठाउँ बनाउन धेरै नै कठिन थियो । ती चुनौतीहरूलाई उनले सजिलै पार गरे र आज विश्वभर उनको एउटा बेग्लै विशिष्ट स्थान छ ।

जीवनमा दुई तथ्य छन- एउटा संभोग अर्को समाधि। यी दुइलाई उनले जोड दिए । संभोग जुन हाम्रो मूल आवश्यकता हो, जुन हाम्रो मूलाधार हो- त्यसलाई उनले  समाधि यानी सहस्त्रारमा, चेतनासँग जोडेर एक गरे। कसैले सोच्न पनि सक्दैन कि “सम्भोग से समाधि” जस्तो गम्भीर र गुप्त विषयमा कोही यसरी स-विस्तार तथा अधिकारले बोल्न सक्छ। यो उनको विविधताको पहलु हो। यसैले त उनी विश्व भरी फैलिन सफल पनि भए।
ओशोको योगदानलाई केही मानिस सकारात्मक ढङ्गले हेर्छन् भने, केही मानिस नकारात्मक ढंगले पनि हेर्दछन्। उनीहरूको विचारमा- ओशो भ्रमित गर्छन् र उनी एक मृगमरिचिका बनाउँछन्। तर म यस्तो मान्दिन। यो सही पनि होईन। किनकि, ओशोले जीवनको सत्यलाई एउटा विधि वा प्रक्रियाले सम्झाए ।

अध्यात्म जगतको चर्चा ओशो बिना अधुरो हुन्छ। ओशो एक यस्तो सम्बुद्ध सद्गुरु हुन, जसले मानवीय चेतनालाई धर्मको रुढीवादी र बद्धमूल धारणाबाट मुक्त गरे।

ओशोले कुनै नविन धर्म वा पन्थलाई प्रतिपादित मात्र गरेनन्, अपितु उनले जनमानसको वास्तविक धर्मसँग साक्षात्कार गराए। उनी भविष्यको मनुष्यलाई “जोरबा द बुद्ध”को रुपमा गणना गर्न चाहन्थे।

“जोरबा द बुद्ध” अर्थात् एक यस्तो मनुष्य जो नाच्न सकोस, गाउन सकोस र ध्यानको उचाइलाई पनि छुन समर्थ होस ।
ओशोले आफ्नो सन्देशमा यो जगतमा  नकारात्मकता र दमनको स्थानमा हाँस्दै हाँस्दै सकारात्मकता र ध्यानमा जान नै जोड दिन्थे। उनी केवल एकै कुरालाई विशेष आग्रह आफ्नो प्रवचनमा गर्दथे; त्यो हो- ध्यान। केवल-ध्यान!!

माथि पनि भनिसक्यो कि,ओशो आफ्नो समयभन्दा पहिल्यै जन्मिएका थिए। उनको कुरा र सन्देश सायद त्यो समय त्यति प्रासंगिक नहुन पनि सक्थ्यो। तर वर्तमान परिदृश्यमा ओशो दिनानुदिन प्रासंगिक हुँदै जाँदैछन्। आज यो जगतलाई ओशो जस्तै सम्बुद्ध गुरुको आवश्यकता छ।

ओशोको सारा दर्शन प्रेम र ध्यानमा आधारित छ। उनी परमात्माको साक्षात्कार प्रेम र ध्यानको माध्यमबाट मात्र पाउन सकिन्छ भनेर विश्वास राख्दथे। आजको यो प्रेम हराएको संसारमा उनी प्रेमिल बन्न घच्घच्याउथे। यसैले उनका हरेक प्रवचनहरू प्रेममा आधारित छन। प्रेम के हो? कसरी प्रेम गर्ने? किन गर्ने? उनी रोचक रोचक प्रसङ्ग जोडेर प्रमाणसहित व्याख्या गर्थे। ओशोले प्रेमको बीज संसारमा छरेका छन।

आजका मनुष्य हामी विचार र भावनाको जन्जालमा हराएका छौं। हाम्रो आत्मामा इन्द्रियको क्रिया-प्रतिक्रियाको धुवा छाएको छ।  हामी जति-जति मुर्छित हुँदै जान्छौँ, उति-उति यान्त्रिक बन्दै जाँदैछौँ । यसैले संकल्पपूर्वक हामीले आफूलाई स्मरण गर्नुपर्छ। मुर्छित अवस्थाबाट ब्युझेर होसमा बाँच्नु पर्छ। यही नै सम्पूर्ण धर्मको,ज्ञानको सार हो। होसपूर्वक बाँच्नु नै सम्बोधिको द्वार हो। होस याने साक्षीको भाव।

होसले हाम्रो सम्बोधिको द्वार खुल्दछ। ढोका खुल्दछ । मनलाई शान्त गरेर निर्विचारमा पुर्‍याउँछ। स्वयं भित्रको स्वयंलाई परिचय गराउँछ। सबै ध्यान विधिहरू स्वयंलाई याने होसलाई जगाउने उपाय मात्र हुन।

जीवनको सत्य जान्ने हाम्रो  आकांक्षा प्रवल भयो भने, हामीमा प्यास जाग्दछ र त्यही प्यास  एक दिन प्राप्ति बन्दछ। केवल हामी भित्र गहन  अभीप्सा हुनु पर्छ। किनकि, सत्य हामी  भित्रै छ।

अतः ओशोको सम्बोधी दिवसले हामीलाई यही पाठ सिकाउँछ। स्वयंलाई चिन्ने प्रेरणा दिन्छ । प्रेम र ध्यानको मार्ग पहिल्याउन जगाउँछ। बुद्धको झैँ मौनको आवाज दिन्छ। मिरा झैँ  पागल भएर नाच्न सिकाउँछ। स्वयं भित्र पस्न उत्प्रेरणा दिन्छ। शून्यमा रमाउन जागरुकता ल्याउछ। होसपूर्वक बाँच्नु नै सही अर्थमा सत्यको एक मात्र मार्ग हो। दोस्रो अरु कुनै माध्यम छैन।यही नै सम्बोधिको सार हो। अस्तु: