अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 04:13

गुरु पूर्णिमा र गुरुको महत्त्व-एक संवाद

रमा दुलाल २०८० असार २६ गते १३:०९ मा प्रकाशित

लेख

भर्खरै हामीले गुरु पूर्णिमा भव्य र सभ्य तरिकाले मनायौँ .प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाको रूपमा मनाइन्छ. गुरु पूर्णिमा एक शुभ दिन हो जसमा हामी आफ्ना गुरुको पूजा अर्चना गर्दछौ ,स्मरण गर्दछौ । गुरु द्वारमा जान्छौ । गुरुको यादलाई अहोभाव व्यक्त गर्दछौ .यस दिनले मुख्यतया गुरु र शिष्यको सम्बन्धलाई व्यक्त गर्दछ। यस विशेष दिनमा मानिसहरूले आफ्ना गुरुको आशीर्वाद लिन्छन्.

गुरु पूर्णिमाको पावन उपलक्ष्यमा गुरुप्रति अहोभाब व्यक्त गर्दै स्कन्दपुराणमा भगवान् महादेवले माता पार्वतीलाई गुरुको महत्वको बारेमा भन्नु भएको वर्णन यहाँ म उल्लेख गर्न चाहन्छु.

एक दिन माता पार्वतीजीले भगवान् महादेव सङ्ग प्रश्न गर्नु भयो -“यतीका देवी देउता हुनुहुन्छ, यतिका मन्त्रहरू छन्, यिनमा कुन मन्त्र जपु ? कसलाई पूजा गरु ? म त द्विविधामा परेकी छु, भगवान्!! “

अनि भगबान शिव भन्नु हुन्छ-“ प्रिय!! के द्विविधा भयो र यसमा ?”

“जति पनि शास्त्रहरू छन्, सबैमा आ-आफै देउताको वर्णन गरेका हुन्छन् । शिव पुराणमा हजुरको महिमा छ, गणेश पुराणमा गणेशको महिमा छ, विष्णु पुराणमा विष्णुको महिमा छ, देवी भागवतमा मेरो महिमा छ, सबै आ-आफ्नो स्थानमा ठुलो हुनुहुन्छ, कसलाई अपनाउ? कसलाई छोडु ? यदि अलग अलग देउताले अलग अलग भन्नुभएको भए जो बढी ज्ञानी हुन्छ उसको भनाइ मान्नु हुन्थ्यो । तर सबै शास्त्र त हजुरले नै सुनाउनु भएको छ । हिन्दु धर्मको सबै पुराण वेद ब्यासले लेख्नु भएको हो । सुनाउनुभएको त भगवान् हजुरले नै मलाई हो । सबै तन्त्र ,मन्त्र यन्त्र हजुरले नै व्याख्या गर्नु भएको हो ।राम कथामा राम भन्दा ठुलो कोही पनि छैन, जब हजुरले भागवत कथा सुनाउनु भयो -अनि भन्नु भयो कि कृष्ण नै परम ब्रह्मा हो. कृष्ण भन्दा ठुलो दोस्रो कोही छैन । सब ग्रन्थको आ-आफै महिमा छ । यसैले प्रभु! म त रनभुल्लमा परेकी छु”- माता पार्वती प्रस्ट्याउनु हुन्छ.

एक पल्ट हामी पनि सोचौँ त -माता पार्वतीलाई त यो हालत हुन्छ भने ,हामी त मानव हौ ।हामी भित्र पनि यी शास्त्रहरू पढ्दा -सुन्दा यस्ता प्रश्नहरू आउनु स्वभावीकै हो ।अझ आजको युग त सामाजिक सञ्जालले घेरिएको वैज्ञानिक युग हो ।ज्योतिषीहरू आइतबार यो मन्त्र पढ्नु पर्छ, यो रङको लुगा लगाउनु पर्छ ,सोमबार अर्कै मन्त्र अर्कै रङको लुगा…..सात बार सात मन्त्र, सात रङको लुगा । प्रत्येक दिन यिनलाई पछ्याउँदै जाने हो भने अरू काम कहिले गर्ने ?

अनि भगवान् शिव भन्नु हुन्छ-“ प्रिय पार्वती , म तिमीलाई एउटा गुप्त विद्या भन्छु । जुन अहिले सम्म कसैलाई भनेको छैन।“
पार्वती प्रश्न गर्नु हुन्छ- “कुन गुप्त विद्या प्रभु ? मर्जी होस”
भगवान् शिव भन्नु हुन्छ “-
गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वर:।
गुरु: साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।

अर्थात् “गुरु ब्रह्मा हो, गुरु विष्णु हो, गुरु नै शङ्कर हो । गुरु नै साक्षात् परब्रह्म हो, यस्ता सद्गुरुलाई प्रणाम।
यसरी भगवान् शिवले माता पार्वतीलाई सन्सारमा सबै भन्दा ठुलो, सबै भन्दा माथि गुरु भएको र गुरुको पूजा नै सबै भन्दा ठुलो यज्ञ भएको भनेर व्याख्या गर्नु भएको छ ।

यो सुनेर फेरी पार्वती भन्नुहुन्छ- “स्वामी! हजुरले मेरो प्रश्नको जवाफै दिनुभएन । मलाई भनिस्योस कि म कसो पूजा गरु ?”

“कुनै पनि देवी देउताको पूजा गर्नु पर्दैन । गुरु पूजा भन्दा श्रेष्ठ अरू पूजा छैन. “पूजा मुलमः गुरु पदम:” अर्थात् गुरु चरणको पूजा गर्दा, तेत्तिस कोटी देउता पनि प्रसन्न हुन्छन्, पार्वती!!”- भगवान् महादेव सम्झाउनु हुन्छ ।

उहाँ फेरि भन्नुहुन्छ- पार्वती! तिमी फेरी सोधौली “मन्त्र कसको जप्नु त ? मन्त्र मूल गुरु र वाक्य अर्थात् गुरुको वाक्य नै मूल मन्त्र हो ।”
तर आज हामी के भन्छौ भने -म पुरा गुरु समर्पित छु । गुरु प्रति मेरो पुरा श्रद्धा छ तर सत्य भन्नु पर्दा हामीलाई गुरु बचनमा प्रीत नै हुँदैन ।
यसैले माता पार्वती भन्नु हुन्छ- “गुरु बचनमा जसलाई प्रीत हुँदैन, उसलाई सपनामा पनि सुख हुँदैन. यसैले गुरुको वाक्यमा विश्वास हुनु अनिवार्य छ । गुरु प्रति आस्था हुनुपर्छ । विश्वास हुनुपर्छ । गुरुलाई आदर गर्नुपर्छ. नामको लागि मात्र गुरु स्थापना गर्नु हुँदैन ।”

भगवान् शिवको मुहार हेर्दै मुस्कुराउँदै माता पार्वती पुनः प्रश्न गर्नु हुन्छ- “स्वामीजी ,उसो भए ध्यान चाही कसको गरौँ त ?”
महादेव आँखा बन्द गर्नुहुन्छ, केही छिन पछि बिस्तारै आँखा खोल्दै भन्नु हुन्छ- “ध्यान मुलम्: गुरु मुर्तिम् !! हे प्रिय पार्वती, गुरुको ध्यान गर्नु नै सन्सारमा सबै भन्दा ठुलो ध्यान हो । साकार गुरुको ध्यानमा नै निराकारको परमात्माको दर्शन मिल्छ । यसैले पार्वती, सन्सारी मनुष्यले निराकार परमात्मालाई देख्न, चिन्न सक्दैन, साकार गुरुको रूपमा परमात्मा उसभित्र बिराज मान भइदिनु हुन्छ । यसैले साकार गुरुको चीनमय ध्यान गर्नु नै वास्तविक ध्यान हो” ।

अनि माता पार्वती फेरी प्रश्न गर्नु हुन्छ-“भगवान्, हजुरले मलाई गुरु सम्बन्धी यस्तो गुप्त विद्या त भन्नु भयो, तर पनि मनमा एउटा जिज्ञासा छ । सबै कुरा गुरुको पाउमा अपर्णा गरेर पनि त मोक्ष मिल्दैन।बिना तपस्याले, बिना पूजा पाठले, बिना मन्त्र जप तपले मोक्ष कसरी मिल्छ त ? के गुरु कै कृपाले मोक्ष पनि मिल्छ त ?”

यसरी पार्वतीले सोध्नु भएपछि शिवजी भन्नु हुन्छ-हे प्रिय पार्वती!, मोक्षको लागी नै त यो गुप्त विद्या तिमीलाई भन्दै छु… मोक्ष मूलमा गुरु कृपा । गुरुको कृपाले नै मोक्ष पनि प्राप्त हुन्छ । म तिमीलाई एउटा उदाहरण प्रस्तुत गर्दछु । तिमी ध्यान दिएर सुन। म मनुष्यले बुझ्ने सजिलो उदाहरण दिँदै छु । जब मनुष्यहरू मृत्यु लोकमा लाख बत्ती बाल्दछन्, त्यस बेला के हुन्छ भने एक पल्ट अग्नि जगाएर मूल बत्ती बालिसकेपछि सबै बत्ती बाल्न पुनः अग्नि जगाउनु पर्दैन । मूल दियोबाट अरू दियो जलाउनु पर्छ । मूल दियोको ज्वाला सङ अरू बत्ती बाल्नु पर्दछ । बत्ती सङ बत्ती जब मिल्छन् त्यहाँ दुई बत्ती हुँदैन । दुई बत्तीबाट एउटै ज्वाला निस्कन्छ । दुई बत्ती एकाकार हुन्छन् । एउटै ज्योति दुवै बत्तीमा प्र-ज्वलित हुन्छ । बलेको बत्तीको नबलेको बत्ती नजिक जाने बित्तिकै नबलेको बत्ती पनि आफै बल्न थाल्दछ । यसरी नै हे पार्वती! एउटा गुरु आफ्नो सारा जीवन अग्नि जगाए जस्तै आफूलाई जगाएर आफू भित्रको ज्योति बाल्छन्, केवल उसको नजिक आउँदा मात्र पनि मोक्ष मूलमा गुरु कृपा हुन्छ । उसको ज्योतिले हामी भित्रको ज्योतिलाई प्र-ज्वलित गरिदिन्छ ।

भगवान् शिवको कुरा सुनेर पार्वती हाँस्दै जिज्ञासा पोख्नु हुन्छ-“भगवान् ,मैले हजुरको कुरा अलि बुझिन है । के बलेको दियोको नजिक सबै दियो जाने बित्तिकै बल्न थाल्छन् त ?”

पार्वती को जिज्ञासा मेटाउँदै शिव भन्नु हुन्छ- पार्वती! तिमीले राम्रो प्रश्न गर्‍यौ । हो, बलेको दियोको नजिक जाने बित्तिकै नबलेको सबै दियो पक्कै पनि बल्दैन । जसको भित्र श्रद्धा रुपी तेल र विश्वास रुपी बत्ती हुन्छ उही मात्र छुने बित्तिकै बल्छ र आफ्नो जीवनको अनन्त कालसम्म बली रहन्छ । नत्र भने, कसैको तेल बिचैमा सकिन्छ बत्ती निभ्छ । कसै सङ बत्ती नै हुँदैन । गुरु प्रति उ सङ जहिले पनि अविश्वास नै हुन्छ. फेरी यस्ता मनुष्य अर्को गुरुको खोजीमा भटकिन थाल्छन् । यस्ता मनुष्य भन्ने गर्छन् गुरुजी कहाँ त गए, तर खास केही लागेन । खास कुरा के हो त ? उनीहरूलाई पनि थाहा हुँदैन । उनीहरू चमत्कारको खोजीमा हुन्छन् । दियोमा तेल र बत्ती राखेर मात्र बत्ती बाल्नु पर्नेमा बत्ती र तेल नराखीकन रित्तो दियो बाल्न खोज्दछन्, यसरी रित्तो दियो बाल्दा दियो फुट्न सक्ने सम्भावना हुन्छ । अनि उनीहरू भन्ने गर्छन् -यदिका वर्षसम्म म गुरुसङ लागे । खै केही लाभ भएन । यो उनीहरूलाई पत्तो हुँदैन र दियो फुट्छ रित्तो दियो बाल्न खोजे पछि बल्छ त ? यसैले हे प्रिय पार्वती ! गुरुको महिमा अपार छ । परमात्मा भन्दा पनि माथिल्लो श्रेणिमा गुरु हुन्छन् ।गुरु र परमात्मा सँगै शिष्यको सामु आउने हो भने मनुष्यले गुरुको पाउमा झुक्नु पर्छ । भन तिम्रो के जिज्ञासा बाकी छ अब ।“–शिव पुन:आखा चिम्लिनु हुन्छ ।

पार्वती भोले गुरुलाई हेरी रहनु हुन्छ ।वहाँको वाक्य फुट्दैन । भोले बाबा सँगै माता पार्वती पनि ध्यानमा हराउनु हुन्छ । भगवान् शिव र माता पार्वतीको उक्त संवादबाट हामी के पनि थाहा पाउन सक्छौ भने गुरु भनेको ज्ञान र प्रेमको पर्यायवाची शब्द हो जुन आध्यात्मिक यात्रामा लागेपछि व्यक्तिमा जागृत हुन्छ । गुरुमा ज्ञान र प्रेमबिच कुनै खाडल वा अन्तर हुँदैन।तर शिष्यमा ज्ञान र प्रेमबिच खाडल वा अन्तर हुन्छ । शिष्य बन्नुको उद्देश्य त्यो खाडल पुर्नु हो । गुरुसँग हुनु भनेको ज्ञान र प्रेमबिचको खाडलको भेद पहिल्याएर जीवन र मृत्युको सहज बोध हुनु हो ।

भगवान् शिव र माता पार्वतीको संवादबाट धेर थोर हामीलाई गुरुको महत्त्वको बारेमा ज्ञान भयो. थोरै अब गुरु पूर्णिमा तिर ध्यान दिऊ ।
गुरु पूर्णिमाको नाम दुई फरक स्रोतबाट आएको हो । “गु” भनेको अँध्यारो र “रु” भनेको प्रकाश हो । याने अँध्यारोबाट प्रकाशमा ल्याउने व्यक्ती नै “गुरु” हो जबकि ‘पूर्णिमा’ ले पूर्णिमाको रातलाई बुझाउँछ जुन रातमा पर्छ। पुरातन समयमा शाब्दिक रूपमा शिक्षकहरूलाई आफ्नो चेलाको जीवनबाट अन्धकार हटाउने मानिसहरू मानिन्थ्यो ।

गुरु पूर्णिमाको अभ्यास धेरै किंवदन्तीहरूमा पाउन सकिन्छ । यौगिक परम्परा अनुसार यस दिन भगवान् शिवले मानिसहरूलाई आफ्नो ज्ञान साझा गर्नुभयो र पहिलो ज्ञात गुरु बन्नुभयो । अर्को लोकप्रिय कथा वेदव्यास माथि उल्लेखित जन्म हो, जसले आफ्ना चार शिष्यहरूलाई वेदहरूको ज्ञान साझा गर्नुभयो । बौद्ध धर्ममा, यो भनिन्छ कि बुद्धले आफ्ना मानिसहरूका लागि आफ्नो पहिलो उपदेश सारनाथमा यही दिन दिनु भएको थियो । यसबाहेक, जैनहरू विश्वास गर्छन् कि गुरु पूर्णिमाको दिन, महावीर (एक धेरै लोकप्रिय तीर्थङ्करहरू) ले आफ्नो पहिलो अनुयायी यही दिन भेट्टाए ।

आज, जब विश्व हिंसा र आक्रामकताका बढ्दो घटनाहरू सँग जुझिरहेको छ र धेरै मानिसहरू आन्तरिक शान्तिको लागि मार्गदर्शन खोजिरहेका छन्, यसैले साकार गुरुको मार्गदर्शन आज हाम्रो आवश्यकता भएको छ । गुरुको बजारमा धेरै थरिका गुरुहरू भेटीन्छन । हामी चमत्कारी गुरुलाई बढी विश्वास गर्छौ । यसैले सच्चा गुरु पाउनु सौभाज्ञ हो ।

गुरु पूर्णिमा अरू कुनै पनि कुरा भन्दा गुरु भक्तिको दिन हो । गुरुमा आउने सबै भक्त पनि हुँदैनन् । गुरु भक्ति भनेको ईश्वरीय गुरु प्रेममा आनन्दित हुनु हो । भक्त अनन्ततासँग गहिरो प्रेममा हराउनु पर्छ, हरेक क्षण र पल ईश्वरीय प्रेममा डुबेको हुनु पर्छ ।

उसका आँखा आँसु लिएर गुरुकहाँ आउँछन् । र गुरु चरणबाट बिदा हुँदा पनि आँसु बग्छन् । आँसु बोकेर बिदा हुन्छ उ । तर आँसुको गुणस्तर फरक हुन्छ । ती कृतज्ञता, प्रेमका आँसु हुन् । मायामा रुनु धेरै सुन्दर हुन्छ ।

अत:भगवान शिवले भन्नु भए जस्तै गुरु मानिसको जीवनमा प्राण हो । चेतना हो । प्रकाश हो । मनुष्य जीवनको पूर्णता हो । वर्षमा एक पल्ट मात्र गुरु पूर्णिमा मनाएर गुरु तत्त्व फलित हुँदैन । सन्सारीक भएर पनि मन, बचन र कर्मले प्रत्येक पल गुरुले देखाएको मार्गको अनुसरण गर्नु नै लाख बत्ती बले झैँ जीवनलाई प्रज्वलित गराउनु हो । अस्तु: