अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 11:31

‘मान्छेदेखि सावधान’, केही सहमति केही विमति

युवराज मैनाली २०७९ पुष १६ गते ४:५१ मा प्रकाशित

समीक्षा:
अहिलेको व्यस्त जीवनशैलीमा छोटा, मिठा र चोटिला साहित्यको माग बढ्दै छ । नेपाली सहित्यमा पनि अहिले लघु साहित्यको प्रयोग विकास र विस्तार तिव्र रुपमा हुँदै गएको छ । महाकाव्य, खण्डकाव्य, उपन्यास जस्ता ठूला कृति भन्दा फुटकर कविता, मुक्तक, कथा र लघुकथाहरु धेरै रुचाइएको पाइन्छ । नेपाली आख्यान सहित्यमा लघु कथाले राम्रो स्थान बनाउँदै गएको छ । थुप्रै लघु कथाकारहरु साहित्य क्षेत्रमा अहिले देखा परिरहेका छन् । तीसको दशकदेखि त यो संख्या झन् बढेको पाइन्छ । यसै परिप्रक्षमा सृजन लम्साल पनि लघुकथाकारको रुपमा देखा पर्दछन् । लघुकथा संग्रह ‘मान्छेदेखि सावधान’ उनको पहिलो लघुकथा संग्रह हो । वि.सं २०७७ सालमा प्रकाशित लघुकथा संग्रहभित्र लम्सालका १ सय २८ वटा विभिन्न शीर्षकका साना तथा मझौला आकारका कथाहरु समाविष्ट छन् । सृजन लम्सालको नामले साहित्य क्षेत्रमा परिचित उनका आधा दर्जन भन्दा बढी विविध विधाका कृतिहरु प्रकाशनमा रहेको पाइन्छ ।

निबन्ध संग्रहहरु नैतिकता हराएको सूचना २०५५, प्रजातन्त्र गणित र डिप्रेसन २०६०, विस्थापित मुड २०६८, नियात्रा संग्रहहरु आँगनदेखि सागरसम्म २०६२, भित्र बाहिरका पाइला २०७३, कविता संग्रह मलाई नक्साभित्रको देश चाहिन्छ २०६९, लम्साल वंशावली २०७५ र दुई कथासंग्रह विपद्रामको मानचित्र २०६९ र प्रस्तुत मान्छेदेखि सावधान २०७७ लघुकथा संग्रह प्रकाशनमा आएका छन् । सन् १९४६ अक्टोबर २ मा पिता चोभराज उपाध्याय लम्साल र माता टंकमाया सुवेदीको कोखबाट तनहूँको भिमाद नगरपालिका, बोमामा जन्मिएका लम्साल साहित्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदान वापत आधादर्जन भन्दाबढी सम्मान र पुरस्कारहरु बाट सम्मानित समेत भइसकेका छन् ।

लम्साल सरल, सहज र सजिलै बुझ्न सकिने भाषाशैली लेखन क्षमता भएका साहित्यकार हुन् । उनका कृतिमा विषय, परिवेश, उत्खन र प्रस्तुतिलाई हेर्दा गहन विषय परिवेशलई समेत सरल शब्दमा उतार्न सक्ने क्षमता उनमा रहेको छ । प्रस्तुत लघुकथा संग्रह ‘मान्छेदेखि सावधान’ भित्रका कथाहरु सरसर्ती नियाल्दा नेपाली सामाजिक तथा राजनीतिक परिवेशका घटना परिघटनाकै विषयवस्तुलाई कथानक बनाइएको देखिन्छ । तर प्रधानता भने विशेषत राजनीतिक विषयले नै पाएको छ । जुनसुकै मुलुमा पनि राजनीतिक घटनाक्रम नै मुख्य हुनजान्छ । अझ हाम्रो जस्तो सानो र अल्पविकशित मुलुकमा राजनीतिक घटनाक्रम नै महत्वपूर्ण हुन्छ । कारण राजनीतिले नै सामाजिक, आर्थिक, नैतिक, व्यवहारिक पक्षहरुको नेतृत्व गरिरहेको हुन्छ । यस्तै यथार्थको परिवेश भएकाले कथाकारले कथाका कथानक पक्षहरुलाई राजनीतिसँग अलग नपारिकनै विषयवस्तुलाई उठान गरिरहेका छन् । सामाजिक विकृति विसंगति, शिक्षा, स्वास्थ्य क्षेत्र र भ्रष्टाचारका विषयहरु पनि कथाहरुमा समेटिएका पाइन्छ ।

लघुकथा मान्छेदेखि सावधान भित्र प्रवेश गर्दा ‘हिराको नैतिकता र स्वतन्त्र प्रेम’ कथामा मा एउटा खरिदार जस्तो निम्न वैतनिक कर्मचारीको खानदानी जीवनशैली अपनाउने अकुत सम्पत्ति आर्जन गर्न भ्रष्टाचार गरेको कुरा कुकुरको माध्यमबाट तिव्र विरोध गरिएको छ । त्यस्तै ‘निर्मला र उर्मिला’ कथाले वर्तमान समलिंगी विवाहजस्तो सामाजिक घटनाको उजागर गरेको छ । ‘छोराको अनुहार’ मा परपुरुषसँग अनैतिक सम्बन्ध जस्तो आधुनिक सामाजिक अवस्था प्रति कटु व्यंग्य गरिएको छ । साहित्यको उचित मूल्यांकन नभएको वर्तमान नेपाली साहित्यको सजीव चित्रण ‘चमत्कार’ कथामा देखाइएको छ । जति लेखेपनि चर्चा परिचर्चा नहुँदा लेखकले केही क्रान्तिकारी युवाहरुलाई रेस्टुरेन्टमा खानपान गराएर फासिस्ट भन्दै कृति जलाएपछि उनको चर्चाले आकाश छोएको घटनालाई हाम्रो पठन संस्कृति कस्तो रहेछ भन्नेकुरा स्पष्ट गरेको छ । हिजो आज साहित्यिक कार्यक्रम समेत चमकदार र साँझको पार्टी आयोजना गरिने प्रवृत्तिलाई कथा ‘महाकवि जन्मजयन्ती’ मा उतारिएको छ । प्रमुख अतिथि हुने व्यक्तिलाई साहित्यको स पनि मर्म बोध नभएर सही पात्रले स्थान नपाएको कुरा दर्शाइएको छ । मन्छे जतिसुकै बलबान भएपनि मृत्युसँग लड्न सक्दैन भन्ने कुरा ‘उसले कहिल्यै थाहा पाएन’ शीर्षकले भन्न खोजेको देखिन्छ ।

शीर्षक ‘सम्पत्ति विवरण’ मा कथाका पात्र झेलुप्रसादको सम्पत्ति विवरणमा एकाएक शहरभित्र करोडका घर गाडि र बैंक मौज्दात जोडेर भ्रष्टाचार र अनियमितताको कुरा जोडिएको छ । राजनीतिक आवरणमा भ्रष्टाचारको विषय छ । देशमा सुशासन र कुरीतिका परिघटनाहरुको सन्दर्भ पनि जोडेका कथाहरु छन् । ‘कार्यक्षमताको अभाव’ शीर्षकको कथाले यस्तै भाव व्यक्त गरिरहेको छ । प्रहरीले नक्कली अपरधी खोजेर सक्कली अपराधी बनाएर आफ्नो कमजोरी ढाकछोप गर्ने प्रवृत्ति यस कथामा समेटिएको छ । समाजमा हुने बलात्कारको घटना दबाउने र लुकाउने प्रवृत्तिको उठान गरिएको अर्को कथा शीर्षक ‘घरभित्रको मामिला’ मा छ । प्रवुद्ध र प्रतिष्ठित मानिएको घरमा बालिका बलात्कृत भएको घटना लुकाउन घरको कुरा घरमै रहोस भनेर इज्जत, सिद्धान्त, आदर्श र न्यायप्रतिको निष्ठाको सम्झौता हुने गर्दछ भन्ने यथार्थ यहाँ देखिन्छ । अर्को सामाजिक विकृतिको कथा हो ‘रक्तसञ्चय कला’ । कथामा लामखुट्टेको उदाहरण दिएर मान्छेको मुखुण्डो लगाएकाहरुले मान्छेको रगत कसरी शोषण गरिरहेका छन् भन्ने कुरा उठान गरिएको छ ।

वृद्धवृद्धालाई आश्रम र वा अन्य विकल्पमा व्यवस्थापन गर्ने हिजोआजको परिवारमा देखिएको समस्याको कथा हो शीर्षक ‘आधुनिक प्रल्हाद’ । श्रीमतीको कचकच दिनप्रतिदिन बढ्दै जानु, असी वर्ष उमेर नाघेको विधुर बाउको स्वभाव बालकको जस्तो हुँदै जानु, आफू व्यापार व्यवसायको काममा सधैं व्यस्त रहनु जस्ता कारणले कथाको पात्र प्रल्हादले बाउलाई वृद्धाश्रममा छोड्ने मनस्थितिमा पुगेको प्रवृत्तिगत घटनालाई दर्शाइएको छ । आजभोलि सामाजिक सञ्जालको प्रयोग र प्रवृत्ति मौलाउँदो छ । लाइक र कमेन्ट विना हरेक कुरा अधुरो र अनिर्णायक । शीर्षक ‘फेसबुक कमेन्ट’ मा मृतकको तस्वीर पोष्ट गर्दा विभिन्न कमेन्टहरुको वर्षा हुनुले मानवीय संवेदनाहिनताको अवस्थालाई देखाएको छ । मृत्युमा श्रद्धाञ्जली वा समवेदना नभई कमेन्टको हतारो हिजोआजको फेसबुक संस्कृतिलाई व्यंग्य गरिएको छ । ‘चश्मा’ शीर्षकको कथामा अर्को प्रवृत्ति देखा पर्दछ । अस्पतालमा अपरेशन गर्दा मानिसको शरीरभित्र अपरेसनका वस्तुहरु छुट्ने गरेका समाचारहरु सुन्न पाइन्छन् । कथामा मायादेवीको पहिलो छोरो चस्मासहित जन्मलिन्छ । यो चमत्कार नभएर डाक्टरको लापरवाही माथि व्यंग्य गरिएको हो ।

अर्को विषय यस्तै छ । शीर्षक ‘लाचार ईश्वर’ मा कथाकी पात्र सावित्रीले सन्तान माग्दा ईश्वरले आफुले दिन नसकेर विशेषज्ञ समक्ष जान सिफारिस गर्छन् । हिजोआजको अर्को विकृति वा समस्यालाई यो कथामा उठान गरिएको छ । भ्रष्टाचारको कथा बोकेको शीर्षक हो ‘घुस खाने मुसो’ । सरकारी कर्मचारीको भ्रष्टाचारको प्रवृत्ति र भित्री सेटीङको कुरा भन्न खोजिएको छ । अन्तिम पानामा ‘मान्छेदेखि सावधान’ शीर्षकको कथाको भावले चोर भगाउन हिजोआज कुकुर भन्दा चोर नै चाहिन्छ भन्ने व्यंग्यात्म शैलीमा सामाजिक विषय उल्लेख गरिएको छ । यस्तै थुप्रै कथा शीर्षकहरुको बेजोड प्रस्तुति र संग्रहले लघुकथा संग्रह ‘मान्छेदेखि सावधान’ भरिएको छ ।

सामाजिक, राजनीतिक प्रवृत्तिगत घटनाहरुलाई विशेषरुपमा कतै—कतै व्यंग्यको उपयोग त कतै सिधै प्रस्तुत गरेर कथाकारले कथा लेखेका छन् । उनका अधिकांश लघुकथामा निबन्धात्मक शैली रहेको देखिन्छ । लघुकथा स्वयंमा सटिक, रोचक, चामत्कारिक र थोरैमा धेरै भन्न सक्ने क्षमता राख्दछ । यसमा आकस्मिक उठान तिव्र विस्तार र आकस्मिक वैठान हुनुपर्छ । त्यसो भएन भने लघुकथा लघुकथा जस्तो लाग्दैन । यी कथाहरुमा लघुकथाका सवै पक्षलाई समेटिएको भने देखिंदैन । तर पनि विषयको उठान भने वर्तमान अवस्थाकै रहेको छ । ‘मान्छेदेखि सावधान’मा समाविष्ट कथाहरुले समाजका विकृति, विसंगति, दुराचार, भ्रष्टाचार अन्याय, अत्याचार, विषम, परिस्थिति, नातावाद, कृपावाद जस्ता विषयलाई उठानगरी त्यसलाई सुधारात्मक सन्देश प्रवाह गरेका छन् । कथाहरु परम्परागत शैली र प्रवृत्तिकै वरिपरि घुम्छन् । कुनैपनि सर्जकले सिर्जना गर्दा अरुभन्दा पृथक, नवीन तरिकाले प्रस्तुत हुनु आवश्यक हुन्छ । तर लम्सालका यस कृतिले त्यस अपेक्षाको पूर्ति भने गर्न सकेको देखिंदैन । निवन्धकार लम्साल आफ्ना कृति निबन्धहरुमा जति सफल छन्, लघुकथामा त्यो उचाई कायम गर्न सक्दैनन् । केही कथाहरु अलिक आकारमा ठूला भएर मझौला कथाको स्वरुप पनि धारण गरेका छन् ।

कथामा उठान गर्न खोजिएको प्रवृत्ति, परिपेश, चरित्र मूलभाव बुझ्न सकिने नै छन् । भाषाशैलीका हिसवले पनि सरल, सहज र बुझ्न सकिने भएकाले कृति पाठक मैत्री भने बनेको छ । व्यंग्यात्मक शैलीमा विकृति र विसंगतिमाथि प्रहार गर्दै समाविष्ट कथाहरुको श्रृंखलालाई नियाल्दा शीर्षक ‘मान्छेदेखि सावधान’ चयन गरिनु सार्थक छ । समग्रमा लम्सालको लघुकथा संग्रह ‘मान्छेदेखि सावधान’ ले नेपाली साहित्य भण्डारमा एउटा ईंटा भने थपेको छ ।