अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 11:33

सुन्दर शीतल निवासभित्रको सुप शाखाः एउटा स्वादिलो अनुभव

राम खत्री, न्यु योर्क २०७९ पुष २५ गते १०:४८ मा प्रकाशित

एक्काइस महिना ल्हासास्थित नेपाली नियोगमा काम गरेर काठमाण्डौ फकिएँ । जुन शाखामा बसेर मलाई कामगर्न मन थिएन, त्यसैमा खटाइयो । प्रशासन शाखा अन्तर्गत सुप शाखा थियो । सुप अर्थात सुपरिन्टेन्डेन्ट शाखा । शीतल निवासको सबैभन्दा तल्लो तल्लाको कुनामा एउटा अंध्यारो कोठामा परराष्ट्र मन्त्रालयको स्टोर थियो । स्टोर नै सुप शाखा हो । परराष्ट्र मन्त्रालयको जुन आकर्षणले कर्मचारी उत्साहित, उमङ्गित तथा जोशिलो भएर त्यहाँ पुगेको हुन्छ सुप शाखामा मात्रै बसेर काम गर्ने हो भने उसको सपना शिशा भुईमा खसेजस्तै हुन्छ । मन खल्लो भएपनि प्रशासनले खटाएपछि नाई भनेर बिरोध गर्न सामान्य कर्मचारीलाई अप्ठेरै पर्छ । म काममा लापरवाही नगर्ने मानिस भएकोले मेरो झन्डै दुई बर्षे कार्यकाल सुमधुर किसिमले नै बित्यो । उक्त अवधिको केही घटनाले मलाई परराष्ट्र मन्त्रालयको भवनभित्र जहिलेपनि पुर्‍याइरहन्छ र ती पात्रहरुको तस्वीर आएर अगाडि ठिङ्ग उभिन्छ ।

मैले कुरा उठाउन खोजेको समय सन् १९९६—९७ तिरको हो । त्यतिबेला परराष्ट्र मन्त्रालय चन्द्र शम्सेरको नाति कृष्ण शम्सेरले तत्कालीन नेपाल सरकारलाई आपूm भाग्नु अगाडि दान दिएको शीतल निवासमै थियो । शीतल निवास पहिलो सरकारी पाहुना घरको नामले प्रसिद्ध थियो । शायद सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ व्दितियलाई तत्कालीन राजा महेन्द्रले त्यही भवनमा पाहुना बनाएर स्वागत गरेका थिए क्यारे । पछि यस्ता धेरै भवनहरु नेपाल सरकारले हात पारेर सरकारी कार्यालयहरु अझै बसिरहेकै छन् । सबै भवनहरु शहरको मुटुमाथि उभिएका छन् । भक्तपुरतिर त्यस्ता भवन भएको मलाई याद छैन तर ललितपुर र काठमाण्डौमा भने प्रशस्तै छन् । मलाई अन्य शम्सेर भवनहरु भन्दा बढी मन पर्ने र राम्रो लाग्ने शीतल निवासनै थियो ।

मेरो सम्झनालाई बलियो बनाइराख्ने तीनवटा साना घटनाहरुः
(क) सुप शाखाको कामहरुमध्ये एउटा काम पिटि क्यास अर्थात सानो नगदी कोषपनि रहेछ । सामान्यतया यो काम आर्थिक प्रशासन शाखाले गर्ने हो । यहाँ सुप शाखाले पनि गर्दो रहेछ । त्यतिबेलानै काठमाण्डौ साँघुरो भइसकेको थियो । गाडी पार्किङको लागि रकम तिर्न पर्ने चलन आइसकेको थियो तर धेरै महगो भने थिएन । तीन—चार रुपैया मात्रै थियो । बिदेशी पाहुनाको निमित्त परराष्ट्र मन्त्रालयमा राम्रा र चिल्ला सरकारी गाडीहरु प्रशस्तै थिए । सहसचिबस्तरका अधिकारीलाई तीनै चिल्ला गाडीहरु मध्येको एउटा—एउटा गाडी र चालकको सुविधा दिने चलन थियो । अलि शक्तिशाली उपसचिबले पनि सुविधा पाए सरहकै उपयोग गर्ने प्रयास पनि गर्थे । श्री मुरारीराज शर्मा सहसचिब भएपछि उहाँले पनि गाडी पाउनु भयो । चालक दीपक ठकूरीलाई उहाँको सेवामा खटाइएको रहेछ । मूरारी शर्मा अर्थ मन्त्रालयबाट सरुवा भएर आउनु भएको थियो ।

धेरैपछि उहाँ यु.एनमा नेपालको स्थायी प्रतिनिधि हुनु भयो र पछि बेलायतका लागि नेपालको राजदूतपनि हुनु भयो । एक दिन दिपक ठकूरीले ७—८ वटा पार्किङ टिकटका टुक्राहरु ल्याएर मलाई दिए र यसको सोधभर्ना चाहियो भने । मैले टिकट हेरे, साधारण पार्किङ टिकट थियो । कहाँ, कहिले, किन र कसले प्रयोग गरेको हो भन्ने कतै उल्लेख थिएन । मलाई लाग्यो यो त दिपकले बाटोबाट बटुलेर पो ल्यायो कि ? सरकारी काममा सरकारी भवनमा गएका बखत त टिकटको आवश्यकता पर्दैन । सरकारी गाडीको प्रयोग सरकारी प्रयोजनका लागि दशदेखि पाँच बजेभित्र नै हुन्छ । मलाई चित्त नबुझेकेकोले उसलाई भने —“यो टिकटहरु कहाँ, कहिले प्रयोग भएको हो मुरारी सरको सही गराएर ल्याउ त्यसपछि भुक्तानी दिन्छु ।” ऊ झनक्क रिसायो । उसले प्रतिवाद गर्‍यो —“पहिला पनि म यसरी नै ल्याउने हो । तपाई भन्दा पहिलाकाले दिन मिल्ने तपाईले किन दिन नमिल्ने किन ? यति सानो रकमका लागि सहसचिबको सही गराउनु पर्ने १” ऊ बेखुसी भयो र सहसचिबलाई भन्छु भन्दै मेरो कोठाबाट बाहिर गयो । मलाई पनि नमज्जा त लागेकै हो । चालकले आफ्नो हाकिमलाई हामीबीचको विवाद कसरी सुनाए उनै जानुन । सहसचिबले मलाई फोन गरेनन् । तर एकदिन तिनै सहसचिबको कोठाको नजिकै म कामले जाँदै थिएँ । बाटोमै जम्काभेट भयो । बाटोमै उहाँले मलाई भन्नु भयो —“तपाईले त दिपकको पैसा रोकि दिनु भएछ । तपाईलाई म सचिबको अगाडि लैजानेछु ।” मप्रति उहाँको भनाई मलाई निकै कडा लाग्यो । म आफुलाई स्वाभिमानी ठान्ने र जानीजानी गल्ती नगर्ने मानिस भएकोले उहाँको शब्दहरुप्रति मेरो रोस नै रह्यो तर बीच बाटोमा किन विवाद बढाउने भन्ने लाग्यो र तत्कालै मैले केही बोलिन । सचिब कहाँ जाने योजना भइनै सकेको रहेछ, सचिबकै अगाडि आफ्नो कुरा राख्दा प्रष्ट हुने सोचेर मैले भने — “हुन्छ । अहिले नै जान पनि म तयार नै छु, सर ।” उहाँले भन्नु भयो — “आज हैन । मेरो बाहिर जानु छ । म अर्को दिन बोलाउछु ।” त्यो सानो रकमको बिरुद्ध उहाँले सचिबलाई के तर्क दिएर बिना प्रमाणित मलाई भुक्तानि दिन बाध्य बनाउने योजना थियो होला? मलाई अझै आश्चर्य लागिरहेकै छ । मेरो सोचाई अझै उस्ताको उस्तै छ । के साच्चै सरकारी कामको लागि उक्त सरकारी गाडी पार्किङ गरिएकै होला ? त्यो बेला प्रायः सरकारी अड्डाहरुमा गाडी पार्किङको लागि खास केही समस्या थिएन । त्यसमा पनि सिङ्गो चालक गाडीभित्र बाथरुमको समयमा बाहेक हरहमेसा बसिरहेकै हुन्छ । कसरी टिकट आयो होला ? किन, कहिले र कहाँसंग पनि मेरो सरोकार थिएन । म त खाली प्रयोगकर्ताबाट प्रयोग गरेको हो भन्ने प्रमाणित भएको बीलको रकममात्र भुक्तानी दिन चाहन्थे । बिबादको सट्टा प्रमाणित गर्न किन कठीनाई भो उहाँलाई १ धेरै दिनपछि काम बिशेषले म सचिबको कोठामा गएको थिएँ । तत्कालीन सचिब श्री कुमार ज्ञवाली हुनुहुन्थ्यो । उहाँ सबैका लागि सजिलो मानिस । आफ्नो काम सकेपछि मैलै पार्किङ टिकटको कुरा उठाएँ । उहाँले हाँसीहाँसी भन्नु भयो — “यस्ता साना कुरामापनि सचिबको निर्णय चाहिने । उहाँ अर्थ मन्त्रालयबाट आएको मानिस आफैले निर्णय गर्न सक्नु हुन्छ नी ।” त्यसपछि न दिपक ठकूरी बीलको भुक्तानी लिन आयो न मलाई सचिबको कोठामा बोलाइयो । तर दिपक भने मसंग संधै बेखुसी नै भयो र सुप शाखामा जहिले आउँदापनि यसो भन्दै रह्यो — “यो राम सरले मेरो पार्किङको पैसा नै खाई दिनु भयो ।”

(ख) सामान्यतया परराष्ट्र मन्त्रालयको कामहरुमध्ये नेपालसमेत संलग्न दुई देश वा बहुदेशबीचका सन्धि, सम्झौता तथा वार्ता आदिको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय नियम कानुन बमोजिम बुँदाहरुको ड्राफ्ट तयार गर्ने तथा सम्झौता भइसकेपछि ती महत्वपूर्ण कागजपत्रहरुको संरक्षण गर्ने र आवश्यक परेका बखत छलफलमा प्रमाणित भएको कागज पेश गरेर दुबै वा बहुपक्षलाई मान्य बनाउनु हो ।

एक दिनको कुरा हो । नेपाल—भारत व्दिपक्षीय बार्ता भइरहेको थियो क्यारे । परराष्ट्र मन्त्रालयको तर्फबाट दक्षिण एशिया महाशाखाले भाग लिनु पथ्र्यो । त्यतिबेला उक्त शाखामा खुसनारायण श्रेष्ठ अधिकृत थिए । उनी हस्याङ्—फस्याङ्ग गर्दै सुफ् शाखा दौडेर आउंदै भने — “ए खत्रीजी मलाई नेपाल—भारतबीचको एउटा सन्धिको कपी चाहियो तुरुन्तै । यहाँ राखिएको छ रे । झट्टै खोजि दिनोस् न ।” म छक्क परेँ । मलाई त सन्धिहरु यहाँ छ भन्ने कुरा कसैले भनेको पनि थिएन । मेरो जिम्मामा भएका ठाउँहरुमा सन्धि—सम्झौता भन्ने फाइल वा पोकाहरु कतै देखेको पनि थिइन । हरेक महाशाखाले आफु अन्तर्गत पर्ने देशहरुबीच भएका सन्धि—सम्झौताहरु आ—आफ्नै शाखामा सुरक्षित राखिएको होला भन्ने थियो । मैले सोझै जवाफ दिएँ — “यता त मैले देखेको छैन । कतै बेग्लै कोठामा छ कि म पदम बहादुरलाई सोध्छु । र, रहेछ भनेर खोजेर तपाईको कोठामै ल्याइ दिनेछु ।” उनी गए । म पदम बहादुर थापालाई खोज्न थालेँ । पदम बहादुर थापा सुप शाखामा लामो समयदेखि काम गर्ने पुराना र मलाई इमान्दार लाग्ने कर्मचारी हुन् । म बिदामा बस्ने भएँ वा ढिला अफिस जाने भएँ भने उनलाई नै साँचो बुझाउँथे । कहाँ के सामान छ मलाई भन्दा उनलाई बढी थाहा थियो । उनी आइसकेपछि सोधेँ — “यहाँ सन्धिहरुको पोका वा फाइल हुनु पर्छ रे । कहाँ छ तपाईलाई थाहा होला नी ।” उनले भने — “खासमा मलाई थाहा छैन । तर अरुले भनेको दोस्रो तल्लामा पानीको कारणले एउटा चलनचल्तीमा नआएको बाथरुम छ । त्यहाँ छ भन्ने सुनेको छु । त्यो बाथरुम म हजुरलाई देखाइ दिन सक्छु ।” कस्तो अचम्म । सन्धि—सम्झौताहरुपनि बाथरुममा पोको पारेर थन्क्याइएको । पन्जिकरण नगरको १ लौ जाउँ त हेर्न भनेर उनलाई लिएर साँचोको झुप्पा बोकेर सन्धिपत्र खोज्न बाथरुमतिर लागेँ । दोस्रो तल्लाको पश्चिम लङ्गपट्टि एउटा बाथरुम रहेछ । ताल्चा लगाएको बाथरुम खोल्न लगाएँ । नभन्दै पोकैपोकाहरुले बाथरुम भरिएको थियो । अन्दाजी १०—१५ किलोजतिका सेतो कोरा कपडाले बनाइएका पोकाहरु । पोकाभित्र के छ भन्ने कसैलाई थाहा छैन । पोका बाहिर न लिष्ट छ न केही लेखिएको छ । सन्धिपत्र गोप्यजस्तै राखिनु पर्छ भनेर लिष्ट नबनाएको हो कि जस्तो पनि लाग्यो । चेक त गर्न पर्‍यो भनेर एउटा पोका निकाल्ने प्रयास गरेँ । बीचबाट निकालौ भने सबै एकैपटक झरेर आफैलाई थिच्ला भनेर सबैभन्दा माथिको चेक गर्ने बिचार गरेँ र भर्‍याङ ल्याउन लगाएँ । धुलैधुलोले भरिएको एउटा पोका तल निकालेँ र खोलेँ । त्यसमा राहदानी बनाउन आउनेको फाराम र फोटो रहेछ । काम लागेन । अर्को पोको निकालेँ । त्यो पनि त्यही राहदानीको फाराम रहेछ । अब अरु किन हेरिरहनु प¥यो । त्यहाँ सन्धिसम्झौताहरु थिएनन् । बाथरुम बन्द गरिदिएँ । भारत शाखामा गएर खुसनारायणजीलाई भनि दिएँ । मैले एक ठाउँमा गएर हेरेँ त्यहाँ राहदानीको लागि प्राप्त फारामहरुमात्रै भेटियो । अन्यत्र कहाँ छ हामी कसैलाई पनि थाहा भएन ।

म त्यो एउटै कामको पछि लागिरहने कुरा भएन । पछि उनीहरुले प्राप्त गरे वा गरेनन् थाहा भएन । तर मेरा व्यक्तिगत हिसाबमा हामी नेपाली कति कमजोर र असक्षम किसिमले देशको प्रशासन चलाई रहेका रहेछौ भन्ने लागिरह्यो । सन्धिसम्झौताहरुको सुरक्षा कसरी गर्नु पर्छ । कुन कुन ठाउँमा राख्दाखेरी सुरक्षित र आवश्यक परेका बखत निकाल्न सकिन्छ भन्ने चेतना नभएको । सन्धिसम्झौता भनेको सयौँ बर्ष जस्ताको तस्तै राख्न सक्नु पर्छ । टिकाउनु पर्छ । सुरक्षित पनि हुनुपर्छ । यो काम सजिलो छैन । देशको प्रशासनले सरकारी कागजपत्रहरुको संरक्षण गर्नु एउटा दायित्व त हो नै । सम्बन्धित बिभाग तथा मन्त्रालय तथा पुरातत्व विभागजस्ता निकायहरुले दीर्घकालीन प्रभाव पार्ने सन्धि—सम्झौताको सँरक्षण तथा प्रत्येक पाँच बर्षमा ठीक अवस्थामा रहेनरहेको जाँच निरक्षण गरिरहनु पर्ने होइन र ? त्यस्ता सुरक्षित ठाउँको साँचोपनि दुईतीन बिभाग वा मन्त्रालयको सयुक्त निग्रानीमा हुनु पर्ने होइन र ? त्यस्तो व्यवस्था भइरहेको मलाई थाहा नभएको पनि हुन सक्छ ।

(ग) शीतल निवास बाहिरबाट देख्दाजति राम्रो छ, भित्र त्यतिकै सुन्दर र राम्रो बनाउन निकै खर्च गर्नु पर्ने रहेछ । कृष्ण शम्सेर आफै यो भवनमा बस्दाखेरी पक्कैपनि उनले कल्पना गरेजस्तै सुन्दर र आनन्ददायी थियो होला । प्रकृतिका हरेक सिर्जनाको नाशक्रम स्थायी भएकोले होला समयले सबै बस्तु पुरानो बन्दै नाशको अगाडि बढ्नु पर्छ वा त्यसको पुर्ननिर्माण हुनुपर्छ । शायद शीतल निवास पनि त्यही क्रममा थियो कि ? परराष्ट्र मन्त्रालयका लागि यो भवन सेतो हात्तीेजस्तै थियो । पुरानो भवन भएकोले मर्मतसम्भार खोजिरहने । खोजिरहने भन्दा पनि खोज्ने बनाइ रहने भन्दा उपयुक्त होला । बर्षभरिको निमित्त प्राप्त हुने मर्मत खर्च एक्कै पटकमा सकिने तर काम उस्ताको उस्तै । सहि काम भए नभएको मापन नै छैन । भएपनि मिलिभगतमै कालोलाई सेतो बनाएर जाँचपास हुने । नेपालमा कयौं पटक प्रजातन्त्र आयो, आउंदै छ र आइरहने पनि छ । प्रजातन्त्रको आ—आफैनै व्याख्या भइरहेको छ । कहिले माटो सुहाउदो प्रजातन्त्र त कहिले मानिस सुहाउंदो । आफैलाई अनूकुल भयो र शाषक बन्न पाइयो भने त्यो सही प्रजातन्त्र । आफुले वा आफ्नो दलले कुर्चि पाएन भने फेरि अर्कोको प्रजातन्त्रको तयारी । यो क्रम बि.स २००७ देखि २०७९ सम्म झन्डैझन्डै प्रत्येक १० बर्षमा चलिनै रहेको कुरा इतिहासले बताउनेनै छ । बि.सं २०५३—५४ तिर राष्ट्रिय प्रजातन्त्र पार्टीका परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी थिए । उनी नेपाली कर्मचारीको तलब दोबर गराइ दिने पहिलो अर्थ मन्त्री भएर चर्चित पनि भए । त्यो उनको चुनावी रणनीति थियो वा सांच्चै कर्मचारीको मनोबल बढाउन चाहेका थिए उनै जानुन तर कर्मचारीहरु उनीप्रति कृतज्ञनै थिए । एउटा प्रश्न जहिलेपनि जनताको मनमा उब्जिरहने के हो भने चुनावबाट आउने सांसदहरु, मन्त्रीहरु वा प्रधानमन्त्री को प्रति जवाफदेहि हुने ? मतदाताप्रति वा राष्ट्रप्रति ? राष्ट्र ठूलो कि मतदाता ? जुन दलको मन्त्री मन्त्रालयमा भित्रिन्छ, उसैको दलको कार्यकर्ताहरुले मन्त्रालय भरिन्छ । मन्त्रालयलाई त्यस्ता कर्मचारीको आवश्यकता छ वा छैन्, त्यसको कुनै मतलब नहुने । मन्त्रालय त दलीय कर्मचारी भर्ती केन्द्र जस्तो । त्यस्ता दलीय मन्त्रीले आफ्नो आदेशमा स्थायी कर्मचारी बनाउने प्रयास गरेर पनि नसकेर छोडिदिएका हुन वा यो काम ठीक होइन भनेर नगरेका हुन मलाई थाहा भएन तर अन्तर्वाताबाट नोकरीमा प्रवेश गरेका दोभाषे र टेलेक्स अप्रेटरहरुलाई कुनैकुनै परराष्ट्र मन्त्रीले स्थायी अधिकृत र नायव सुब्बा सरहको (लोकसेवा आयोगबाट खुल्ला वा बढुवामा उत्तिर्ण भएसरह) पदमा रातारात सेवा परिवर्तन गराउन भने सफल भएका थिए । मन्त्रीको कार्यालय हरहमेशा दलीय झुन्डले भरिएको हुन्थ्यो । मन्त्रीलाई मन्त्रालयको खास कुरा सुन्ने समयनै नहुने ।

दलीय जनताहरु विभिन्न उद्देश्य बोकेर मन्त्रीको पछि लाग्दा रहेछन् । कोही राहदानी दिलाई दिने जिम्मा लिएर आएका त कोही विदेशी भीसा मिलाइ दिने । कोही कर्मचारी भर्तीको जिम्मा लिएर आएका त कोही ठेक्कापट्टाको । सबैले आफुलाई काम लाग्ने कर्मचारीसग सम्पर्क बढाउने प्रयासमा दत्तचित्त लागिरहने । उनीहरु मार्फत सबै कुरा पत्ता लगाएर पछि मन्त्रीको दवाव दिन लगाउने र आफ्नो काम पट्याउने । ठेक्कापट्टाको काम प्रशासन र आर्थिक प्रशासनको दायित्व हो । झिनामसिना मर्मतसम्भारको काम सुप शाखाबाट गराउने चलन रहेछ । ठेकदारहरु कर्मचारीसंग घुलमिल हुन असाध्ये सिपालु । ठेकदारले मन्त्रीको स्वकीय सचिबालयको निमित्त सरसामान माग्ने बहानामा सुप शाखाको सम्पर्कमा उनका सहायकहरुलाई पठाइसकेका रहेछन् । गफ गरेजस्तै गरि उनी हाम्रो मनसाय ठेकदार समक्ष पुर्‍याउदा रहेछन् । केही समयमै ती ठेकदारले मन्त्रालयको हरेक कुना काप्चाहरुको निरीक्षणगरि मक्किएका काठका भर्‍याङका खुट्टा, अंध्यारो र ओसले गर्दा कतैकतै भर्‍याङका खुट्टाहरु झरी पनि सकेका, कतै झर्न बांकी । धेरै झ्यालको खापाहरु मक्किइ सकेका, रंगरोगन पुरानो भएर उप्किएका । हामी कहिले नजाने सबैभन्दा माथिको कौशी पनि ठाउँठाउँमा भत्केका र उप्केका तथा कोठा र हलवेको भित्ताको रंगरोगन उप्किएको रिपोर्ट माननीय मन्त्रीलाई दिदै यसको जतिसक्दो चांडो ममर्तसम्भार गर्नु पर्ने सल्लाह दिइसकेका रहेछन् । रिपोर्टका साथै यथाशीघ्र मर्मत नगरेमा भवन नाश हुन सक्ने सम्भावनाको चेतावनी समेत जानकारी गराएका रहेछन् । बास्तवमा ती कुराहरु सहि नै थिए । यस सम्बन्धमा कर्मचारीले कहिले गुनासो नगर्ने । कसैले गरेमा पनि कर्मचारीको रिपोर्टलाई आर्थिक प्रशासन शाखाको मर्मतसम्भार शिर्षकमा रकम बांकी नै छैन भन्ने खबरले निरीह बनाइ दिन्थ्यो । त्यसैले कर्मचारीले देखेपनि नदेखेजस्तो गरि हिड्ने चलन थियो । भवनको बारे सामान्य जानकारी गराउने काम त मेरो पनि रहेछ तर मैले त्यो कामगर्न कहिले भ्याइन ।

शीतल निवासमा मन्त्रीको कार्यालय एकदम राम्रो थियो । उत्तर तर्फको ढोकाबाट कर्मचारीहरु मात्र प्रवेश गर्थे र कर्मचारीहरुको कार्यालय थियो । दक्षिणतर्फको ढोकाबाट मन्त्री मात्रै प्रवेश गर्ने । मन्त्री बस्ने दक्षिण लङ सफा, उज्यालो र चिटिक्कि देखिन्थ्यो । शायद त्यही कोठामा बेलायतकी तत्कालीन महारानी एलिजावेथ व्दितीयलाई उनको पहिलो नेपाल भ्रमणमा राखिएको थियो क्यारे । त्यो बाटोबाट आवतजावत गर्ने मन्त्रीलाई मन्त्रालयको सबैतिर यस्तै सफासुग्घर र राम्रो होला भन्ने लाग्नु स्वभाविकै हो । उनको मतदाता ठेक्कदारको प्रतिवेदनपछि मन्त्रीले मन्त्रालयको मर्मतसम्भार कार्यमा एकदम जोड दिए । प्रशासन त विधिविधान बमोजिम चल्नै पर्‍यो । सरकारी कामका लागि टेन्डर आव्हान गर्न पर्ने व्यबस्था थियो । टेन्डरलाई सार्बजनिक रुपमा प्रकाशित गर्न प¥यो । र, पछि सबैभन्दा कम टेन्डरलाई स्वीकृति दिनु पर्छ । कुन कम्पनीलाई टेन्डर पर्छ के थाहा ? ती ठेकेदार अति नै चलाख थिए । टेन्डर आव्हान नगरिपनि मर्मत खर्च गर्न मिल्ने सजिलो बाटोको ज्ञान उनलाई रहेछ । आर्थिक कारोबारमा कुनै सीमित रकमभन्दा कम कामका लागि टेन्डर नगरी काम दिन सकिने भन्ने कानुनी छिद्र (लुपहोल) रहेछ । त्यसैलाई समातेर मन्त्रालयको सबै काम टुक्राटुक्रा गरेर मिलाउने योजना बनाएर मर्मत गर्न उनलाई दिने निर्णय गर्न लगाएछन् । मर्मतको बार्षिक बजेट सकिइसकेपछि पनि थप निकासा गर्न लगाई मर्मतको काम गर्दै रहे । अर्थ मन्त्रालयमा गई थप निकासा समेत ल्याउन सक्षम ठेक्कदार । कस्तो राम्रो । म सुप शाखामा रहेसम्म उनले मर्मत गरिनै रहे । ठेकदारलाई कामको भुक्तानी दिनु अघि कहाँ के मर्मत भयो ? भयो वा भएन हामीले हेर्नु पर्ने र रिपोर्ट गर्ने पर्ने पनि हो नी । त्यो हामीलाई केही जानकारी भएन । न आर्थिक प्रशासन शाखाले सोध्थ्यो न प्रशासनले । हामीले सोध्न पनि नमिल्ने । एक दिन त मन्त्रीको कार्यकक्षमै पानी चुहियो । मन्त्रीले हामीलाई गाली गर्न खोजेका थिए । तर त्यो कामगर्ने ठेकेदार उनकै सिफारिसमा आएका हुन भन्ने थाहापाए पछि हामीलाई केही नभनी उनैले ठेकदारलासई खबर गरेर त्यसको टुङगो लगाए । चुहिएको पानीले मन्त्रीको कार्यकक्षको रातो मखमली कार्पेट बिग्रीने डरले प्लाष्टिकको बाल्टिन थाप्न लगाएँ । मेरो सम्झनामा रहेको सुप शाखाको अन्तिम अनुभव त्यो नै भयो ।

मैले शाखाका छोडेको छ—सात महिनापछि त्यहाँबाट कुटनैतिक राहदानीको बाकसनै हराएको समाचार सनसनीपूर्वक फैलियो । त्यो खबरले मेरो मुटु कांपेको थियो । तीनै थरीका राहदानी म बस्ने कोठामै थिए । कोठाको साचो मैसग हुन्थ्यो । भुइँ तल्लाको त्यो अंध्यारो कोठाका तीनवटा झ्यालहरु कति बलिया थिए, मलाई थाहा पनि भएन । जाबो दश रुपियाको चिनिया ताल्चा कति नै बलियो हुन्थ्यो र ? राती त्यत्रो भवन कुर्न एक जना पालेको बन्दोबस्तपनि थियो । बिचरा त्यो पालेले डाँकु वा चोरलाई के गर्न सक्छ र ? कसरी चोरी भयो होला ? राहदानी राखेको ठाउँ, झ्याल, ढोकाको ताल्चा आदिको अनुमान गर्दै निकै बिचार मग्न भएको थिएँ । बाकसै चोर्न त डाँकुको जमातै आउनु पर्‍यो । पालेलाई बाध्नु वा मार्नु पर्‍यो । ढोका फोर्नु पर्‍यो आदिआदि । म पछि सुप शाखामा खटिएर त्यसको जिम्मा लिने मजस्तै अन्य मित्रलाई कति तनाब भयो होला । धन्न मेरो समयमा केही भएन । भगवानप्रति कृतज्ञ छु अहिलेपनि ।