अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

साथी र सापटी

गोपी मैनाली २०८१ वैशाख १२ गते १८:४७ मा प्रकाशित

कथा
‘मेरो भर्खर जन्मेको बच्चा पुष माघको तुसारो र जाडोले मर्ने भयो, तिमीसँग भएको पैसा देऊ न हार्दिक ।’
राघवले अनुनयले म द्रवित भएँ । उसको चेहरा निकै दुखी थियो । कहीँ सहयोग नपाएर अन्तिममा मात्र मलाई भनेको जस्तो दुःखी भावमा देखिन्थ्यो ।

प्रवेशिका दिएपछि उमेर अठार वर्ष उमेर पुगेर जागिर नपाउन्जेलका लागि आकस्मिक कामका लागि घर घर बच्च ट्युसन पढाएर पैतिस सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्कमा जम्मा गरेको थिएँ । त्यति पैसा जम्मा गरेपछि निकै ठुलो र सुरक्षित अनुभव गरेको थिएँ । अरू त के गर्नु थियो र, क्याम्पसको मासिक फी र परीक्षा दस्तुर तिर्न पर्ला कि भनेर जम्मा गरेको थिएँ, भनौँ आकस्मिक कोष थियो यो । मिल्ने साथी भएकोले मैले पैसा राखेको कुरा राघवलाई थाहा थियो । उ र म सँगै गएर खाता खोलेका थियौँ ।

राघव क्याम्पस नआउँदा पनि खल्लो लाग्थ्यो । उ पनि आउने बित्तिकै हार्दिक हार्दिक भन्दै आँखा डुलाउँथ्यो । अक्सर एकै बेन्चमा बस्थ्यौँ । तेस्रो बेन्च हाम्रो लालपुर्जा भए जत्तिकै थियो ।

राघव उमेरमा मभन्दा पाको थियो । बहिदारको जागिर खाएको, काँठमा खेती गर्ने केही जग्गा भएको हट्टाकट्टा जवान । एकदुई जनालाई पेलेरै भित्ता लगाउन सक्थ्यो । बोली पनि पञ्चायतकालीन सिडिओको जस्तो । बुबाको निधनपछि दाइले घर सल्लाहमा भिन्न गराउँदा नयाँ घर उसको भागमा परेछ । घर नयाँ भने पनि पूरा भएको थिएन । झ्यालका खापा मात्र थिए, ऐन हाल्न नसकेर बोराको पर्दा लगाएको थियो रे । चार पाँच महिनाको बच्चा रातीको सित र बिहान बेलुकाको जाडोले कठ्याङ्ग्रिने डरले मसँगको पैसा मागेको रहेछ ।

उसको अनुरोधपछि मनमा एकसाथ धेरै कुराहरू खेले । राघवका अरू मिल्ने साथी छैनन् ? किन मलाई नै यति बाध्य पारेको होला ? टेङ्लाको रुपाल र स्यूचाटारको माधव अलि अलि नाता पर्ने काठमाडौँ कै साथी हुन् । उनीहरू त मोटर साइकलमा आउँछन्, पैसा खर्च गर्न पनि डराउँदैनन् । किन उनीहरूसँग नमागेको होला ?

मैले खाता खोलेको उसलाई थाहा छ । कति पैसा छ, त्यो पनि थाहा छ । कसैगरी पैसा फुत्काऊ भन्ने त होइन ?
शहर काँठको मानिसलाई त्यति सानो रकम आवश्यक पर्छ र ? श्रीमतीको गहना बन्धकी राखेर पनि खाँचो टार्न सक्थ्यो होला ।
टोलको पसलेले पनि दुई चार महिना उधारो दिँदैन र ? हाम्रो गाउँमा त उधारो पाइन्छ, यहाँ पाइन्न ।
काठमाडौँको मानिसले, त्यो पनि मन साटिएको साथीलाई सहयोग गर्न पाउनु ठुलो कुरा हो । भएको पैसा दिन्न पनि कसरी भन्नु ?
ल क्याम्पसको क्यान्टिनमा चिया खान जाँदा रुपाल र माधवले एकै चोटि भनेका थिए – ‘हार्दिक सोझो पहाडे केटो, हामीलाई जस्तो उसलाई धोका देलाऊ नि । तिमी विश्वासघाती छौँ । चिन्नेले चेतेका छौँ ।’

ल क्याम्पसको घटना दिमागमा नआएको होइन । उनीहरूले सत्य भनेका पनि हुन सक्छन्, पहिलाको रिस रागले पनि भनेका हुन सक्छन् । तर मनमा च्वास्स भने भएको थियो । भएको पैसा दिनुको विकल्प थिएन । पचास रुपैयाँ बाँकी राखेर चौतिस सय पचासको चेक काटिदिएँ । परेको बेलामा सहयोग नगर्न साथी के साथी ?

‘राघव चेक लाऊ । परीक्षाको फारम भर्न, फी तिर्न आवश्यक हुँदा भन्ने बित्तिकै देऊ नि । यो पैसा मैले कसरी कमाएको तिमीलाई पनि अलि अलि थाहा होला । महिनाको तीन सयमा घरमा गएर पन्ध्र महिना लगाएर कमाएको रकम, एक हजार त दिँदै दिएका छैनन् ।’
‘तिमीले के सोचेको ? माधव, रुपालले भनेको कुरामा नै विश्वास गरेको ? यस्तो दुख परेको बेलाको सापटी, सापटी होइन यज्ञ हो । म पशु हो तिमीले भनेको बेलामा नदिने ? मलाई ब्रह्म हत्या लाग्दैन ? छ महिनामा दिउला । विश्वास नलागे पाँच आना जग्गा कागज गरिदिन्छु ।’
यी शब्द मेले बेकार भनेछु भन्ने लाग्यो ।

बाटोमा कुराहरू सोच्दै डेरा आएँ । मनमा एक प्रकारको खुसी आइरह्यो । थोरै सन्देह भए पनि खुसी धेरै थियो । राघवका शिशु जाडोबाट जोगिने भयो । सहयोग गर्न पाउनु पनि अवसर हो । सधैँ कहाँ सहयोग गर्न पाइन्छ र ?

अर्को मनले खातामा पैसा रित्याएपछि असुरक्षाको अनुभव पनि गरिरहेको थिएँ । भनेको बेलामा फी तिर्न नसके कोसँग माग्ने ? राघवले भन्ने बित्तिकै देला भन्ने के ग्यारेन्टी ?

कक्षाका साथीहरू राघव र मेरो साथीत्व ईर्ष्या गर्थे । सरहरू पनि भन्ने गर्थे ‘हार्दिकको छाया पर्नु पनि परीक्षामा राम्रो नम्बर ल्याउनु हो ।’ सर म्याडमहरू मुक्त कण्ठले मेरो प्रशंसा गर्थे । मेरो वरिपरि झुम्मिएका साथीको घेरा देखेर श्रीहरि सरले कक्षामा नै भनेका थिए –मिहेनतले पढ्ने, जागिर खाने, राष्ट्र सेवा गर्ने हो भने हार्दिकको सिको गर्नु । उसको सङ्गतले राघवमा तेज आएको छ ।’

श्रीहरि सरको भनाइ पछि राघव उहाँसँग झगडा गर्न गयो । ‘हार्दिक नभए म पास हुनै सक्दिन ? यसको भनाइ सच्याउनु पर्ला सर ।’
‘पटक्कै हुनुहुन्न । ठ्याक्कै हुनुहुन्न । उससँग परीक्षामा सँगै नवसेर त हेर । हामी शिक्षकहरू तिमीहरूको अनुहार हेरेरै सबै पत्ता लगाअछौं । चक मात्र घोटेर पेन्सन पकाएका छैनौँ ।’ सरको चुनौतीपूर्ण भनाइको राघवले प्रतिवाद गरेन । राता आँखाले हेरिरह्यो । त्यो दिनदेखि राघले श्रीहरि सरलाई सधैँ खाउँला जसरी हे¥यो ।

मलाई आइ ए को पाठ्यक्रमले लोड पुग्दैनथ्यो । छिटो परीक्षा भएर क्लास चढ्न पाए पनि हुने भन्ने लाग्थ्यो । पढ्ने बाहेक काम थिएन । जागिरको लागि उमेर नपुगेकाले पूरै दिन पढेर बिताउँथेँ । कथा, कविता, वक्तृत्व र हाजिरी जवाफ प्रतियोगितामा भाग लिने, पुस्तकालयका राम्रा पुस्तकहरू पढ्ने गर्थेँ । यी कामले पनि पढाइलाई नै भरथेग गर्थ्यो ।

पहिलो वर्षको परीक्षामा राम्रो अङ्क ल्याएँ । मेरै सहयोगले राघव पनि पास भयो । मैले मासिक शुल्क पनि तिर्न नपर्ने भो । मासिक पच्चिस रुपैयाँ तिर्न नपर्नु, त्यो पनि जेहेन्दारमा गनिएर ।

माधव र राघव विवाद गर्दै रहेछन् – ‘हार्दिकको सङ्गत राम्रै लागेछ, पास भइस् । कसो उसलाई बिगारिनछस् । तेरो स्तर हामीलाई थाहा छ । उसको सङ्गत कहिलेसम्म पाइरहालास र ? तेरो स्वभाव सबैलाई थाहा छ, भेउ नपाउने त्यै हार्दिक हो । उ नभए बोल्न पनि जान्दैनस्, पढ्न जान्दैनस् । दाइले उसै बुबा खस्ने बित्तिकै भिन्न गराएको हो र ? ….’

दुवै ढीठ स्वभावका, सम्झौता नगर्ने, बलिया बाङ्गा । दुवैलाई सम्झाएँ । अङ्ग्रेजी पढाउन प्रेम सर आउनु भो । चुपचाप कक्षामा लाग्यौँ । सरले फरर्रर अङ्ग्रेजी बोलेपछि धाक गर्ने केटाहरू ट्वाँ पर्थे ।

दोस्रो वर्षको परीक्षा आवेदन माग भयो । खरिदारको अठार वर्ष पुगेकाले खरिदारको जाँचका लागि पुस्तकहरू पनि किन्नु थियो । राघवसँग एक हजार रुपैयाँ मागेँ । रकम तिर्ने म्याद पनि पहिले नै काटेको थियो । दिइहाल्ला भनेर चुप लागेको थिएँ ।
उसले ख्याल ठट्टाको शैलीमा भन्यो ‘तिम्रो पैसा मैले कहिले लिएँ ।’

‘राघव जोक नगर न । फर्म भर्ने म्याद एक हप्ता मात्र बाँकी छ । तिमीलाई थाहै छ ।’
‘यो जोक होइन । तिमीसँग पैसा लिएको छैन । के दिनु ? जोक तिमी नै गरिराख्या छौँ ।’
‘चेकको अधकट्टी ल्याऊँ भोलि ? मैले मिति, अङ्क र तिम्रो नाउ लेखेको छु ।’
‘आफ्नो चेक बुकमा जे पनि लेख्न सक्छौँ । त्यस्तो फटाहा कुरा नगर ।’
‘म फटाहा ? ए म फटाहा ?’

जीवनमा पहिलो पटक फटाहा शब्द, त्यो पनि राघवजस्तो मन पेट पाएको साथीबाट । मेरो मन, मस्तिष्क सबैतिर बादल मडारियो ।
उसले किन त्यसो भन्यो ? परिस्थितिले आफैलाई पनि विश्वास गर्न सकिन । माधव र रुपालले भनेका कुरा, माधव र उसको भनाभन भएको कुरा, उसले मलाई भनेका शब्दहरू किताबका पाना जसरी सर…र्रं पल्टिए । यतिसम्म कसैले धोका दिन सक्छ ? आफैलाई ढाँट्न सक्छ ? माधवले भने झैँ उ सबैलाई यसरी नै धोका दिन्छ ? कतिलाई धोका दिइसक्यो होला ? कान्छो छोरो भएर घरमा पनि साँढे जस्तै छ रे । टोल चोकमा उ आएको देखेपछि साथीहरू ढाड फर्काइछन् रे ।

माधवले भन्यो –तिमी थोरैमा पर्‍यौ होला हार्दिक । त्यति लामो सङ्गत भएन । जति लामो सङ्गत त्यति खती । उ त ठग्न जन्मिएको हो । हामीले त पहिल्यै भन्याथ्यौं ।

राघवसँग घनिष्ठता बढेपछि रुपाल भने मबाट अलि टाढा हुन खोज्थ्यो ।
उसको अनुहार देख्नु पर्छ भनेर पनि क्याम्पस जान छाडेँ । मलाई उसको अनुहार नै हेर्न मन थिएन । अझै तीन महिना पढाइ बाँकी थियो ।
परीक्षा फर्म भर्न रकम कहाँबाट लिने ? दिन सक्ने साथीहरू थिएनन् । हाई स्कुलका साथी श्रवणकी आमासँग मागौँ ? उहाँ धेरै माया गर्नु हुन्छ । नदिए के फरक ? विश्वासले आमा भेट्न गएँ । एकै बचनमा आमाले चार सय रुपैयाँ दिनु भो र भन्नुभो ‘बाबु परीक्षा पास गर, पैसा दिनु पर्दैन नि ।’ नलिने भए लान्न भनेपछि आमाले सहमति जनाउनु भो ।

आमा भनेका मायाका खानी हुन् । सबै आमा यस्तै हुन्छन् । गाउँमा जान पाएको भए आमाले कानको मुन्द्री, नाकको फुली दिएर मेरो खाँचो टार्नु हुन्थ्यो । आमालाई कति दुख दिनु । श्रवणकी आमा आफ्ना छोराछोरी त्यति नपढ्ने भएकीले पनि राम्रो पढ्ने छोरा छोरीका साथीलाई खाउँला झैँ माया गर्नुहुन्थ्यो ।

परीक्षा हलमा राघव ढीठ अनुहारमा भेटियो । उसको अनुहारमा प्रायश्चित, लाज केही छैन । न उसले बोल्न सक्यो, न म बोल्न चाहेँ । उसलाई परीक्षा हलमा देखिएपछि परीक्षा नै विग्रला कि भन्ने डर लाग्यो । अपशकुन होला कि भन्ने लागिरह्यो ।

परीक्षा सकियो । राम्रो श्रेणीमा पास भएँ । बाटो बदलियो । उसलाई कहिल्यै नभेटियोस् भन्ने चाहेँ । बाटोमा मलाई देखे बाटो काटेर हिँड्थ्यो, ओल्टोकोल्टो पर्थ्यो । म भने उसलाई देखेँ भने अपशकुन महसुस गर्थेँ । चौतिस सय पचास रुपैयाँ मेरो पसिना थियो । दुखको कमाएको सा¥है माया हुन्छ । मिहेनतको पैसा नासिँदैन भन्थे ।

राघवले धोका दिएको घाउ विस्मृतिमा पर्दै गए पनि मलाई भने सापटीले लखेट्न छाडेन । त्यै पनि राघव जस्तै साथीको व्यवहारबाट ।
राघवजस्तो हृष्टपुष्ट होइन, सारै चलाख साथी गोविन्द काठमाडौँमा ठुला महलको सपना देख्थ्यो तर जागिर सानो थियो । तलबले खान पनि पुग्दैनथ्यो । उसको सानसौकत, पूmर्ति रवाफ कहाँबाट आउँथ्यो कुन्नि । रवाफ पनि अरूलाई ठग्ने रणनीति बन्दो रहेछ ।

उसलाई जग्गा किन्न पैसा चाहिएछ । ट्युसनबाट कमाएको, खाइ नखाई जोडेको केही पैसा थियो । किताब निकल्ने, विमोचन गर्ने योजनामा थिएँ । केही महिनालाई सापटी मागेपछि हार्न सकिन । गोविन्द पनि खुसी भएर जग्गा किन्न गयो । जग्गा किनेछ पनि ।

यस पटक भने धोका खाएको महसुस गर्न समय लागेन । केही दिनपछि ने भनिदियो –‘हार्दिक तिमी मानिस अजिबको रहेछौँ । अहिलेको जमानामा माग्ने बित्तिकै लाख रुपैयाँ दिनुहुन्छ ? यो कमाउन तिमीलाई कति समय लाग्यो ? एक सेसनको पन्ध्र कमाउँछौ होइन ?’
‘गोविन्द तिमी के भनिरहेका छौँ ? किन माग्यौ त ? साथीलाई काखमा राखेर छुरा धस्न हुन्छ ? किन त्यत्रो अलाना विलाना गरेर पैसा फुत्काएका थियौ र के भन्दै छौ ? आफैलाई सोध ।’

‘धेरै सिधा कुरा नगर । आफू त यसै गरी तिमीजस्तै पाँच सात साथीलाई मुर्गा बनाएर महल ठड्याइन्छ । मोजले जीवन बिताइन्छ । नसके जेल गइएला । के फरक जीवनको अनुभव लिने हो । साथी साथी भनेर धेरै हुरुक्क हुने काम अव नगर्नु ।’
यति भनेर गोविन्द मस्तले हाँस्यो । त्यसो भन्नुमा उ गर्ववोध गरिरहेको थियो ।

म अवाक् भएँ । निसाह्य भएँ । फगत यति भनेछु ‘के भनेको तिमीले ? अलिकति लाज सर्म छैन ?’ अरूलाई चित्त दुखाउनेको कहिल्यै भलो हुन्न भन्ने थाहा छ ?’

‘लाज सर्म भए त्यसो भन्थे । तिमीले पैसा पाउँदैनौ । माग्ने प्रयास नगर । यो जीवनमा तिमीले मात्र होइन कसैले मबाट पैसा फिर्ता पाउँदैन । म तिम्रो साथी डन भैसकेँ । तिम्रो पो साथी, मोरो पेसामा मलाई गँगटो भन्छन्, गँगटो । मेरो अनुहार अकै छ, सम्बन्ध अधिराज कुमारसम्म छ । जसले माग्ने प्रयास गरे यो गँगटाले क्र्‍याप पार्‍यो । जससँग पैसा छ गँगटाले कर्‍याप पार्‍यो । कमाउने र मोज गर्ने फरक कुरा हो बुझ । तिमीहरू कमाउँछौ, साच्छौं, हामी पैसा खर्चेर मोज गर्छौ । मोज गर्न पनि आँट चाहिन्छ आँट ।’

यति भनेर गोविन्दको रोयल इनफिल्ड हुुँईकियो । आजसम्म गोविन्दलाई देखेको छैन । जागिर पनि भन्सारमा छ रे तर धेरै हाकिमहरूले उसलाई देखेकै छैनन् रे, चिन्दैनन् रे ।

बच्चा जन्मेपछि राम्रो विद्यालयमा पढाउन पनि केही पैसा जोगावट गर्ने चिन्तामा थिएँ । तलब मुस्किलले हातमुख जार्न मात्र पुग्छ । चार पाँच वर्ष नभएसम्म बच्चा बिमारी पनि परिरहने । कहिले पुष्पराजको क्लिनिकमा, कहिले कान्ति अस्पताल । पहिला भन्दा बढी बिहान बेलुकी पढाउन थालेँ ।

ईश्वरले खोलेको बागबजारको ट्युसन सेन्टरमा बिहान बेलुकी लगातार गएँ । पहिला पुतली सडकको ट्युसन सेन्टरले पाँच हजार नदिई भागेको थियो । हात हातै पैसा लिनु पर्छ भन्ने लाग्थ्यो । ईश्वरले तीन चार महिना पढाएसम्म कक्षा सकिने बित्तिकै भुक्तान गर्‍यो । पछि खाता नम्बर माग्यो । तर एक वर्षको रकम खातामा नहालेको देखपछि फेरि ठगियोको आशङ्कामा अरू सरहरूलाई फोन गरेँ । थाहा भयो उसले त धेरै सरहरूको पैसा दिएको रहेनछ । पहिले थाहा पाउनेहरू घटीमा परे, म भने बढीमा परेछु ।

यस पटक अलि रिस उठ्यो । हान्निएर बागबजार गएँ र कडा भाषामा पैसा मागेँ । उसले अलङटलङ गरेपछि मेरा हात एकै चोटि कठालो समाउन पुगेछन् । बच्चालाई लवटासम्म लगाउँदा पनि आफैलाई रुन मन लाग्ने, गोठालो जाँदा गाई बाख्रालाई लट्ठीले हान्न पर्दा पनि रुन मन लाग्ने मानिसले पहिलो पटक कसैको कठालो समात्यो । त्यो पनि उसका ज्याग्गु स्टाफको अगिल्तिर ।

नम्र स्वरमा ईश्वरले हात जोर्दै भन्यो – ‘पिटनु भए सरकै बेइज्जत, मसँग के छ र ? उजुरी गरे जेल बसौला । पहिला पनि बसेकै हो, सरले छाडिदिए यो ईश्वर कुनै दिन ‘ईश्वर’ बनेर साँवा व्याजसहित फिर्ता गर्न आउने छ । सर दुख परेपछि मानिस बेइमान पनि हुँदो रहेछ । मलाई परिस्थितिले बेइमान बनायो । सर सामु यति निर्घिनी भएर बस्ने मन थियो र ?’

उसका भनाइपछि मेरा हातहरू घामले ओइलाएका कर्कलो जस्तै लत्रक्क झर्न पुगे । मनको आक्रोश पनि सकियो । मात्र यत्ति भन्न पुगेछु – ‘कहिले तिर्नु हुन्छ ?’

‘मिति त कसरी भनूँ । नेवारको छोरो हुँ । व्यापार गर्न जानेको छु । पैसा हुने बित्तिकै तिर्छु । अव ट्युसन सेन्टर चाँहि गर्दिन ।’
त्यो तिर्ने दिन कहिल्यै आएन । पन्ध्र वर्षदेखि बागबजार भएर हिड्दा त्यै ट्युसन सेन्टरको भवनतिर आँखा ठोकिन्छ । घर देखेर मन एकतमास हुन्छ । र पाइलाहरू रत्नपार्कतिर अगि बढ्छन् । ईश्वर कहिले भेटिएन । उसको नाम कसरी ‘ईश्वर’ जुर्‍यो होला ?

केही साथी त नाम अनुसार नै हुँदा रहेछन् । उत्तम त्यस्तै साथी । उनको व्यवहार सधैँ उत्तम । यात्रा गार्द पनि उत्तम, अफिसमा पनि उत्तम ।
युनिसेफको अन्तर्राष्ट्रिय सम्मेलनमा कम्वोडियाको सिमरिपबाट नेपाल फर्कने क्रममा बैंकक बस्नु पर्‍यो । उनी र म होटेलको ब्रेकफास्टपछि सानोतिनो किनमेल गर्न प्लेटिनम कम्प्लेक्स पस्यौँ । उनी बच्चा बच्चीका लागि कपडा र खेलनौ किन्न लागे । म चाँहि विक्री कक्ष यता त्यता आँखा डुलाउदैथिएँ । उनी पनि मलाई पनि नियाल्दै अलि पर सामान किन्दै थिए । एक जना पैँतिस चालिसको फुर्तिलो अरबीजस्तो लाग्ने पुरुष मतिर लम्किँदै भन्यो –‘हाय । आर यु नेपाली ?’
‘यस । ह्वेयर आर यु फ्रम ?’

केही क्षणको कुराकानी पछि थाहा भो । उ नेपाल आउँदै रहेछ । नेपालका मानिस र प्रकृति उसलाई सा¥है मन पर्छ रे । यस पटक एभरेष्ट क्यासिनोमा क्यासिनो खेल्छ रे । अर्को पटक एभरेष्ट बेस क्याम्प पुग्छ रे । उसको मुलुकमा माज मजा गर्न नपाइने भएकाले नेपाल जान लागेको रे ।
उसका भनाइ पछि खुसी लाग्यो । ओके इन्ज्वाय इन माइ कन्ट्री भनेर म छुटिन चाहँदै थिएँ, उसले नेपाली पैसा कस्तो हुन्छ, देखाऊ न भन्यो । सानो सन्देह नगरी वालेटबाट पाँच सयको नोट देखाएँ । वालेटमा युनिसेफबाट प्राप्त छ वटा सयका र दुईवटा पचासका गरी सात सय अमेरिकी डलर थियो । त्यो उसले नदेखोस् भनी वालेट छिटै पाकेटमा राखेँ ।

त्यसपछि उ कम्प्लेक्सको पश्चिमतिर फटाफट गयो । हतारिएको जसरी फोनमा कुरा गर्दै गयो ।
उत्तम सरासर मतिर आएर गाली गर्न लागे– सर यो के गरेको ? यो तपाईँको देश होइन, सानो रकमका लागि जे पनि गर्न सक्छन्, किन वालेट देखाउनुभएको ? अव यहाँ बस्नु हुन्न । त्यसले पिछा गरेर पकेट मार्न सक्छ ।

त्यसपछि म एकदमै डराएँ । ‘अव अन्त जाऊँ । विग सी तिर गएर किनौँ । आरामले चिया खाऔँ ।’
उनी पछि म अगि भएर विग सी गयौँ । उनलाई पछि राख्नुको आशय कसैले मेरो पाकेट नमारोस् भन्ने थियो । दिउसोको खाना, चिया र किनमेलको सबै पैसा उनले नै तिरेका थिए । होटेलमा गएर हिसाब गर्ने भनेको थिएँ ।

बेलुकी थाकेर होटेल फर्कियौँ । भोलि बिहानै काठमाडौँ आउने भएकाले सामान प्याकिङ अघि दिउसोको पैसा हिसाब गरेर उनलाई दिन चाहेँ । वालेट खोलेँ । एउटा पचासको डलरको नोट बाहेक सबै पैसा रहेनछ । त्यो अरेवियन मानिसले कतिखेर चड्काएछ । धेरै थक थक भएँ ।
‘मैले पाप गरेजस्तो लाग्दैन । किन पटक पटक ममाथि यस्तो हुन्छ ?’

उत्तम सान्त्वना दिँदै भन्दै थिए – ‘पाप धर्मको कुरा होइन सर । हजुर सा¥हौ सोझो । लाटो सोझो भनौँ कि के । केही त शङ्काले पनि व्यवहार गर्नुपर्छ । जसले जे भन्यो त्यही गर्ने ? बारम्बार विदेश जाने मानिस यस्तो हुनु हुन्छ ? धन्न इटाली, इन्डियामा पर्नु भएन छ ।’
‘नेपाल गएर श्रीमतीलाई के भन्ने ? बच्चालाई के भन्ने ? बच्चाको ६ महिनाको फि पुग्थ्यो । उनीहरूलाई केही किनिदिएको भए पनि हुन्थ्यो ।’
‘घरमा केही नबताउनु होला सर । आफन्तलाई दुःख बतायो भने उनीहरू पनि दुखी हुन्छन् । माया गर्नेलाई दुख बताएर दुखी बनाउनु हुँदैन । रिस गर्नेलाई दुःख बताए खुसी हुन्छन् । त्यसैले दुख जति आफैमा राख्नुपर्छ ।’
‘दुख बताउँदा पनि हल्का हुन्छ सर ।’
‘मलाई बताइ हाल्नु भो नि ।’
‘उसो भए पैसा कहाँ गयो भन्ने ?’
‘मैले सापटी लगेको छ भन्दा भइहाल्छ नि ।’

‘म झुटो बोल्दिन । श्रीमतीलाई सबै थाहा दिन्छु, उनलाई पनि नबताए कसलाई भन्ने । दुवै बच्चा साना छन् ।’
नेपाल आएर सबैभन्दा पहिला नै पैसा पाकेट मारिएको घटना सबै बताएँ । पैसा जाओस्, अर्को मुलुकमा ज्यान जखिएकै ठुलो भन्ने निष्कर्ष निकाल्यौँ ।

पछिसम्म पनि सापटीले सताउन छाडेन । पछि त भन्न थालेँ, सापटी आफन्तमा गर्ने हुन्न । गयो भने सम्बन्धनै सकिन्छ ।
जिल्लामा सिडिओ, कोष हाकिम बनिसकेका शिवशङ्कर म भएकै अफिसमा सरुवा भएर आए । निकै परिपक्व लाग्ने, उमेरमा पनि पाका, सम्पन्न, देश विदेश घुमेका, जिल्ला सम्हालेका साथी । पहिला चिनजान थिएन । दाजुको साथीको भाइ भएकाले नजिकिएका रहेछन् । मलाई निकै मान गर्थे । मिहेनती, लेखक पनि । छोराहरू पनि हुर्किन लागेका । भाउजू पनि शायद कमाउँथिन ।

वर्षभरिका बैठक, अतिरिक्त समय काम गरेको रकम, लेख रचनाको पारिश्रमिक गरी पन्ध्र हजार जति आउने रहेछ । कार्यालयका प्रमुख बाहेक नौ जनाको पन्ध्र हजारका दरले निकै रकम हुन्थ्यो । शिवशङ्करले एउटा प्रस्ताव राखे –‘सर म घर बनाउँदै छु । सबैको यो भत्ता भए माथिल्लो तला ढलान गर्न पुग्छ । आगौंसम्म तिर्नेछु । सरले भनेपछि सबैले दिन्छन् ।’
मेरो कमलो मनले हो त नि भन्ने सोच्यो । साथीहरूलाई आग्रह गरेँ । साथीहरूले एकै स्वरमा भने ‘पाँच तले घर बनाउने, अनि सापटी माग्ने ? उहाँ काठमाडौँ सर्नु भएको नै घर बनाउन हो । सके सर पनि नदिनुहोस् । हामी चाहिँ दिँदैनौँ ।’ कहिले मुख नफर्काउने साथीहरूले आज एक स्वरमा प्रतिवाद गरे ।
‘म किमटेड छु । दिन्छु ।’

लामो समय रकम नपाएपछि करिब भुलिसकेको थिएँ । पाउने आशा पनि मरेकोले होला । एक दिन शिवशङ्करले फोन गर्दै भने – ‘सरको बच्चाको खुट्टा भाँचिएर वि एण्ड वी राखेको रहेछ । यस्तो बेलामा पैसा दिन पर्ने ।’
निकै खुसी लाग्यो । जिल्ला सम्हालेको, परिपक्व साथी । उनको एक महिनाको तलब पनि होइन । ‘दुख पर्दा सम्झेकोमा खुसी भएँ । सके बढी नै पाऊँ, म बाबुको उपचारपछि दिइहाल्छु ।’

त्यसपछि शिवशङ्करलाई कहिले देखेको छैन । न उनले कल नै गरैका छन् । उनी रिटार्ड भए रे । शायद विदेश नेपाल आउजाउ गर्छन् । पैसा नदिने भए उनले किन मलाई फोन गरेका थिए ? यति थोरै पैसाले सम्बन्ध किन टुटाएका होलान् ? बरु दिन सकिन भनेको भए के बिग्रन्थ्यो ? साथी भनेको सापटका लागि मात्र हो र ?

मेरो र सापटीको के सम्बन्ध छ ? सापटीले मलाई सधैँ खेदेको छ ? सम्बन्धमा सापटी भयो, सापटीले सम्बन्धले बिगा¥यो । कुमारले एक वर्ष पढाएको रकम दिएन । रोचकले पुस्तकको रोयल्टी दिएन । पर्वतले दिनुपर्ने साठी हजार दिएन, म दिन सक्दिन फोन पनि नगर्नु होला भनेर मोबाइल ब्लक ग¥यो । अरू धेरै पत्रिकाका सम्पादक पनि लेखकस्व दिनु पर्छ भनेर टाढिए । पैसा र स्वार्थले सम्बन्ध किन यति छिट्टै बिग्रन्छ ?
अरू त धेकेवाज भए भए । पटक पटकको धोकामा नचेत्ने, साथी भनेर मरिमेट्ने म आफू सबैभन्दा अव्यवहारिक किन बनेँ ? सापटी दिएर कोही सहयोगी र साथी बनिँदो रहेनछ । बरु साथीत्व भत्काउने काम पो हुन जाँदो रहेछ ।