अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

बी. पी को सम्झनामा शब्द सुमन

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ साउन ८ गते ११:०९ मा प्रकाशित

नेपाली धरतीका स्वनामधन्य राजनेता बी. पी कोइरालाको बहु आयामिक व्यक्तित्वलाई केलाउनु त्यति सहज छैन । यद्यपि छोटा मानिसहरूले अग्ला मानिसको नाम वर्षमा एक दिन जपेर राजनीतिको खेती गरेको देखिन्छ, उनीहरूलाई धिक्कार छ । तिनीहरू हुतिहारा हुन र बी. पी को मृत्युपश्चात् पनि उनको नामको दुरुपयोग गरी व्यापार गरिरहेका छन्, बलात्कार गरी रहेका छन् ।

आजको यो पुण्य स्मृतिको पावन अवसरमा मेरा राजनैतिक गुरु बी. पी कोइराला प्रति मेरो हार्दिक हार्दिक सम्झना र स्तुति छ । उनी सदैव पूजनीय र आदरणीय छन् । उनले प्रतिपादित गरेका आदर्श र सिद्धान्तहरू नेपाली समाज र समुदायका लागि सदैव उत्प्रेरक छन् ।

बी. पी र गौतम बुद्ध नेपालीका लागि आशीर्वाद र वरदान थिए तर नेपालले चिन्न नसकेको कुरा सर्वविदितै छ । सारा विश्वले बुद्धको शान्ति सन्देशलाई अवलम्बन गरेर, आफ्नो जीवनपद्धतिमा अनुवाद गरेर उपकृत् भए तर नेपाली राजनीतिका ठेकेदारहरूले त लुम्बिनीलाई पनि सफा गर्न सकेनन् । बुद्धिहीन नेपाली नेताहरूले बुद्धको सन्देशलाई बुझ्नै सकेनन् अथवा बुझेर पनि बुच पचाई रहेका छन् ।

बी. पी कोइराला बहु आयामिक व्यक्तित्वका धनी र विलक्षण प्रतिभाका प्रतिमूर्ति थिए । खासगरि उनलाई तीन किसिमले हेर्न सकिन्छ । उनको सगरमाथा जस्तो अग्लो र बहु आयामिक व्यक्तित्वलाई हामीले सामाजिक, राजनैतिक र साहित्यिक तीन किसिमले केलाउनु पर्ने हुन्छ । अधिकांशले राजनैतिक र साहित्यिक व्यक्तित्वलाई सतही किसिमले व्याख्या गरेको पाइन्छ तर बी. पी को तीन किसिमको चरित्र पाइन्छ । अधिकांशले उनलाई चिन्न सकेनन् र सक्तैनन ।

उनको जन्म बनारसमा भएकाले र बाल्यकाल भारतमै बितेको हुनाले राजनीतिमा महात्मा गान्धीबाट प्रभावित भएका थिए । भारतको स्वतन्त्रता आन्दोलनमा पनि उनी सक्रिय थिए । पछि इन्दिरा गान्धीको शासनकालमा उनी राष्ट्रिय मेल-मिलापको नीति लिएर नेपाल फर्किएका थिए । भारतबाट नेपाललाई भारतमै मिसाउने दबाब आएको हुँदा बरु “राजाको घाँटीसँग मेरो घाँटी मिलाउँछु” भनेर उहाँले भन्नुभएको थियो । अर्थात्, “राष्ट्रिय शक्तिसँग मिलेर म अघि बढ्छु“ भनेको कुरालाई पछि कम्युनिस्टहरूले अपव्याख्या गरेका थिए ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूलमंत्र लिएर बी. पी ले अनवरत सङ्घर्ष गर्दै गए र अन्ततोगत्वा नेपालमा आन्दोलन पनि सफल भयो तर आन्दोलनका उपलब्धिहरू संस्थागत हुन सकेनन् र हुने छाँटकाँट अहिलेलाई टाढा टाढासम्म देखिँदैन । किनभने नेताहरू फटाहा भए, भ्रष्ट भए, बलात्कारी र व्यभिचारी भए । बी. पी को राजनैतिक व्यक्तित्वको पाटोलाई कुनै दिन पुनः केलाउँला ।

बी. पी को साहित्यिक पाटो अत्यन्त उर्वर छ । म साहित्यको विद्यार्थी भएकाले र Psycho- analysis मै विद्यावारिधि गरेको हुनाले केही हदसम्म उनीभित्र प्रवेश गर्न सक्तछ तर जो कोहीले उनको साहित्यिक व्यक्तित्व र कृतित्वलाई राम्रोसँग केलाउन सक्तैन । किनभने मानवीय संवेग, संवेदना र मनोविज्ञान प्रति उनको विश्लेषण र संश्लेषण क्रिकेट र अपरम्पार छ ।

उनी साहित्यमा मूलतः फ्रायडीय सिद्धान्तका अनुयायी र पक्षपाती हुन । यद्यपि उनले मार्क्सवादी साहित्यको पनि अध्ययन गरे तर त्यसबाट त्यति धेरै प्रभावित हुन सकेनन् ।

सिगमन्ड फ्रायडको अचेतन मन
( unconscious mind ), उपचेतन मन
( sub- conscious mind ) र चेतन मन
( conscious mind ) को अवस्था र स्थितिलाई गहिरोसँग अध्ययन गरी त्यसबाट प्रभावित भएर उनले साहित्यमा मनोविश्लेषणको अध्याय सुरु गरेका थिए । त्यस बखतको पुरातन वादी समाज र समुदायमा यस्तो किसिमले साहित्यमा प्रवेश गर्नु त्यति सहज थिएन तर उनले कुशलतापूर्वक आफ्नो शिल्प- साधनाद्वारा सबैको मन जितेका थिए ।

सानै उमेर देखि ( क़रीब १४ वर्ष ) उनले साहित्यिक यात्रा सुरु गरेको इतिहास छ । सुरुमा उनी भारतका प्रसिद्ध साहित्यकारहरू जयशंकर प्रसाद, मैथिली शरण गुप्ता, मुन्सी अजमेरीजी, सूर्यकान्त त्रिपाठी, ‘ निराला’, विनोदशंकर व्यास र प्रेमचन्दको सम्पर्क र संसर्गमा आए र साहित्यिक ताप पाए भनिन्छ ।
उनका सुरुवाती लेखहरू भारतको “ हंस “ भन्ने मासिक पत्रिकामा प्रकाशित भएका थिए । यद्यपि कोइरालाले पहिले कविताबाटै आफ्नो साहित्यिक यात्रा सुरु गरे, पछि गएर कथा, उपन्यास र निबन्धमा पनि व्यापक सफलता हासिल गरे ।

नेपाली साहित्यमा, खासगरि कथा विधामा नयाँ मूल्य- मान्यता र अवधारणा निम्त्याएर बी. पी ले नयाँ युगको सूत्रपात गरेका थिए ।

पश्चिमी साहित्यकार, रुसका अत्यन्त लोकप्रिय लेखक ( Anton Chekhov: a great playwright and story writer ) बाट खुबै प्रभावित कोइरालाका कथाहरूमा उनको छाप देख्न पाइन्छ ।

मेरा पनि अति प्रिय साहित्यकार चेखभ
(Anton Chekhov) र बी. पी कोइराला मेरा हृदय र मानसपटमा सदैव जीवित छन् ।

बी. पी का युगान्तकारी साहित्यमा निम्नलिखित विषयहरूको प्राधान्यता पाइन्छ ।
१. स्वस्थ यौन सिद्धान्तको प्रयोग
२. मानसिक द्वन्द्वको प्रयोग
३. प्रतीक सिद्धान्तको बीजारोपण
४. सामाजिकताको उपस्थापन
५. शिल्प- सचेतना
६. स्वच्छन्दतावादको प्रयोग
७. संस्कृतिसापेक्ष सामाजिक चित्रण र मनोवैज्ञानिक विश्लेषण
८. सामान्य मनोरोगीपात्रहरूको परिचय र प्रकाशकार्य एवं
९. तत्कालीन समाज र पात्रहरूको यथार्थ चित्रण

यसरी हेर्दा बी. पी कोइराला त्यस कालखण्डका एक अपूर्व र उद्देकलाग्दा उज्याला तारा थिए तर भूगोल गलत परेछ । नेपाली नेताहरूले प्रकृतार्थमा उनलाई अद्यपरिमित चिन्न सकेका छैनन् ।

बी. पी एक समाज सुधारक र समाजवादी चिन्तक पनि थिए । उनको यो पाटोलाई अधिकांशले उपेक्षा गरेको देखिन्छ तर आफ्नो साहित्य- साधनामा उनले यसको सङ्केत दिएका छन् । समाज र समुदायमा भेटघाटको क्रममा अथवा व्यक्तिगत संवाद र सम्पर्कमा उनले सधैँ परिवार, समाज र समुदाय सप्रिए मात्रै राष्ट्रको विकास हुन सक्छ र नेपालीहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश प्रवाहित गर्नु हुन्थ्यो भन्ने कुरो उहाँसँग प्रत्यक्ष भेटघाट गरेका अग्रज महानुभावहरूबाट सुनेको छु ।

अन्त्यमा, एउटा रोचक प्रसंग:
उतिखेर कुनै बेला बी. पी कोइराला राजदरबारबाट फर्किए पछि लौह पुरुष गणेशमानजी ले सोध्नु भएछ, “ अनि, राजाले सम्बोधन गर्दा के भने,” तिमी कि तपाईँ ?”

बी. पी ले भन्नु भएछ, त्यो गौण विषय हो, “मुख्य विषयमाथि सफल संवाद भयो ।”

यस्ता एउटा महान् व्यक्तित्वलाई नेपाली काँग्रेसले नचिन्नु अथवा चिनेर पनि उहाँलाई बी. पी जयन्तीमै सीमित राख्नु डाडुमा पानी तताएर मर्नु सरह हो ।

(क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल नेपाली काँग्रेसका प्राक्तन प्रशिक्षक र राजनैतिक विश्लेषक हुनुहुन्छ ।)