अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

उपन्यासकार हृदयचन्द्रसिंह प्रधान र उपन्यासकारिता

युवराज मैनाली २०८० वैशाख ६ गते २२:१८ मा प्रकाशित

यथार्थतलीय धरातलमा पाइला टेकेर दरिलो रूपमा मानवीय प्रवृत्ति र परिणतिलाई विश्वसनीय तथा प्रभावपूर्ण चित्रण गर्ने विधा उपन्यास मान्न सकिन्छ । आख्यान साहित्यको नवीनतम विधा मानिएको उपन्यास जीवनको सम्पूर्णतालाई छोएर यथार्थ, विश्वसनीय तथा प्रभावपूर्ण चित्रण हुनुबाट पाठकीय प्रभाव बढ्दो छ । कथावस्तुका विविध संयोगहरू, चरित्र चित्रण, संवाद, देश, काल, वातावरण, भाषाशैली, उद्देश्य, दृष्टिबिन्दु आदि संरचनाका तत्त्वहरू समेटेर विविध धारागत परिलक्षणमा उपन्यासको तत्वाङ्ग संरचना हुन्छ । पात्रका माध्यमबाट प्रदर्शित वास्तविक जीवनको यथार्थ चित्रण गर्ने आख्यानात्मक बृहताकार गद्य रचना विशेष नै उपन्यासको पारिभाषिक अर्थमा अर्थ्याउन मिल्दछ । उपन्यास विधाबारे विद्वान्हरुको धारणा समेटिँदा पनि एउटा गतिलो पृष्ठको पुस्तकै तयार हुन सक्दछ तापनि सर्वतोमुखी लाक्षणिक प्रवृत्ति अवलोकनका सन्दर्भमा क्लारा रिब्सको ‘उपन्यास भनेको वास्तविक जीवन, चालचलन र आफ्नो समयको तस्बिर हो’ भन्ने भनाइलाई सर्वमान्य रूपमा अँगाल्न सकिन्छ ।

नेपाली भाषामा उपन्यासको श्रीगणेश विशेष गरी संस्कृत, उर्दू, अरबी, फारसी (प्रभावित) माध्यमबाट भए तापनि आधुनिक नेपाली उपन्यासको प्रथम चरण रुद्रराज पाण्डेको रुपमती (१९९१), रूपनारायण सिंहको भ्रमर (१९९३) आदिबाट सुधारवादी सामाजिक यथार्थवादी धरातललाई आदर्शको अलङ्कारद्वारा आरम्भ हुन सकेको देखा पर्दछ । यसै प्रवाहमा उषा (१९९५), वचन (२००१), काशीबहादुर श्रेष्ठ, लगन (२००५) अच्छा बहादुर राई, उजेली छाया (२००८), समयको हुरी (२०१५), मोहनबहादुर मल्ल, रने (२०१५) तुलसीराम कुँवर बगेका पाइन्छन् । यसै गरी पश्चिमी ढङ्गको यथार्थवादीय प्रयोग लिएर लैनसिंह बाङ्देल पहिलो पल्ट मुलुकबाहिर (२००४) मा अनि त्यसपछि माइतघर, लङ्गडाको साथी र यसै हरफमा लीलबहादुर क्षेत्रीको बसाइँ (२०१४), लीलाध्वज थापाको मन (२०१५) इन्द्र सुन्दासको मङ्गली (२०१५), भवानी भिक्षुको आगत (२०३२), शिवकुमार राईको डाक बङ्गला (२०२०), धनुषचन्द्र गौतमको घामका पाइला (२०३५), यही धारमा आएको पाइन्छ । त्यस पछि माक्र्सवादी वा समाजवादी यथार्थवाद (प्रगतिवाद) का आधारमा हृदयचन्द्रसिंह प्रधानबाट स्वास्नीमान्छे (२०२७), खगेन्द्र सङ्ग्रौलाको चेतनाको पहिलो डाँक (२०२७), पारिजातको पर्खालबाहिर पर्खालभित्र रमेश विकलको अविरल बग्दछ इन्द्रावती आदिले प्रगतिवादी औपन्यासिक फाँटलाई लहलहाउन अघि सरेको पाइन्छ । अर्को नवीनताको लहर प्रकृतिवादी यथार्थतावादी परिवेशमा फ्रायडवादको पथ पछ्याउँदै गाविन्दबहादुर मल्ल ‘गोठाले’ले पल्लो घरको झ्याल (२०१६) बाट  आफुलाई यसतर्फ परिचित तुल्याए । २०१६ मा विजय मल्लको अनुराधाबाट असामान्य, विकृति, मनोरोगी पात्रहरुलाई लिएर नयाँ पर्दा उघारिएको पाइन्छ । दौलतविक्रम विष्ट, शङ्कर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, तारिणी कोइराला, डा. वानीरा गिरि आदि यही फाँटका हुन् । २०२० को दशकमा सम्पूर्ण पछिल्ला धारलाई छोडी नवप्रयोगहरुको उत्कण्ठाका प्रवाहहरु चल्न थाले अनि यथार्थवाद, अभिव्यञ्जनावाद र अस्तित्ववाद आदिका पश्चिमी प्रभावको रङले छोइसकेका उपन्यासकारहरु गतिशील रहन थाले । यो प्रयोगवादी धार इन्द्रबहादुर राईको ‘आज रमिता छ’ (२०२१), ‘पारिजातको शिरीषको फुल’ (२०२२), ‘महत्ताहीन’ (२०२५), धुवचन्द्र गौतमको ‘अन्त्यपछि’ (२०२४), ‘बालुवामाथि’ (२०२८), ‘डापी’, ‘कट्टेल सरको चोटपटक’ आदि दौतलविक्रम विष्टको चपाइएको अनुहार पीटर जे. कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ (२०३४) अनि काव्यशैलीको प्रयोगनवीनताको रूपमा वानीरा गिरीको ‘शब्दातीत शान्तनु लेखिए । मानव चेतना र सामाजिक ह्रासको स्थिति र असलको पराजयको दुर्गतिको बेलिविस्तार हो शब्दातीत शान्तनु । अहिलेको वातावरणीय परिवेशमा अनगिन्ती चाहनाका द्रुत गतिलाई टिप्न उद्यत देखा परेका छन् नोपाली उपन्यासकारहरु । परिधिको व्यापकता अनि गतिको तीव्रतामा संवेदन पक्षको सूक्ष्मता र भौतिक, बौद्धिक जटिलतातिर लेखनप्रवाह मोडिएको छ । यसैले त सरुभक्तहरु तीव्रता टिप्न दौडन थालेका छन् । उनी पागल बस्ती(२०४८) (यसै पुस्तकबाट मदन पुरस्कार समेत प्राप्त), तरुनी खेती  (२०५३) ‘समय त्रासदी’ (२०५८), चुली (२०६०) मा आएर लेखनको होडमा होमिन्छन् । ‘अन्त्यपछि’ (२०२४) बाट २०६० मा ‘तथाकथित’ सम्म आएर धुवचन्द्र गौतमको आख्यानकारिता पनि यही समयपरिवर्तन प्रयोगको शिखरमा स्थापित भएको छ । वस्तुतः औपन्यासिक परिप्रेक्ष्यमा विचार गर्ने हो भने प्रयोगका नवीनताले उपन्यास विश्वसाहित्यको हाराहारीमा स्थापित हुन बेर नलाग्ला कि ?

औपन्यासिक क्षेत्रमा माक्र्सवादी–समाजवादी यथार्थको धरातलका उपन्यासकार हृदयचन्द्रसिंह प्रधानका स्वास्नीमान्छे र एक चिहानले समाज यथास्थितिबाट परिवर्तनशीलतातिर अग्रसर भएको संघारलाई इङ्गित गर्छन् । यथास्थिति प्रगतिको तगारो हो । सामाजिक निर्माण वा निर्माणका माध्यमबाट बाटोसमेतमा कुरा गर्दा यी उपन्यासले आफ्नै बेग्लै बाटो रोज्ने सोचमा सार्वजनिक स्वीकृति र समर्थनको जोहोमा समाजवादी सोच लिएका छन् । काठमाडौँको निम्नमध्यमवर्गीय परिवारमा जन्मेका हृदयचन्द्रसिंह प्रधानको लेखन उपन्यासबाहेक कथा, कविता, नाटक, निबन्ध, समालोचना र भाषाको क्षेत्रसम्म विस्तारित छ । वि.सं. १९७२का प्रधानको जीवन ९१ सालपछि शारदाको इतिहाससँगै जोडिएको छ । वर्गीय विसङ्गतिका शोषण, दमन र उत्पीडन आदि विकृत स्थितिलाई व्यङ्ग्यात्मक पारामा अभिव्यक्त गर्ने लेखनक्रममा उनले ती विषयमा कुशलता हासिल गरेका छन् । चिन्तनका दृष्टिले आलोचनात्मक यथार्थवादी मानिने उनका दुई उपन्यासमध्ये पहिलो हो ‘स्वास्नीमान्छे ’।

नारीका शत्रु नारी, विद्वेषका ज्वाला नारी, विद्रोहको प्रतिशोधको अग्निगोला नारी, सहनशीलताका शील दिने नारी, आदर्श र समर्थनका प्रवद्र्धन नारी आदि इत्यादि नारीस्वरुपका चित्रणमा उनिएको स्वास्नीमान्छे उपन्यासको विषयवस्तु केन्द्रित रहेको छ जसले गर्दा उपन्यासको शीर्षक उपयुक्त देखापर्दछ । भूमिकामै उपन्यासकार प्रस्ट भन्दछन्–‘सती भएर पनि वेश्या बन्न पुगिरहेकी र परेकी अपसोचमा स्वास्नीमान्छे रोइरहेकीले नै आज संसारमा प्रगति रोकिरहेको छ ।’ समाजको आर्थिक अधोगतिले पनि स्वास्नीमान्छेलाई वेश्या बन्न घिसारिरहेको छ । यति मात्र होइन, वैवाहिक अवस्था र घृणा, अवहेलना, लान्छना अनि बलात्कारमा परेको स्वास्नीमान्छे तिरस्कारले पनि वेश्या बन्नु परेको छ ।

उपन्यासको कथासारलाई लिएर उपन्यासकारले भूमिकामै पहिल्यै अघि सरेकाले अनुमानको झन्झटै रहेन । उपन्यासकी पात्रा मोतीमाया सौता र पतिद्वारा प्रताडित छिन् । मोतीमायालाई पन्छाउन अवसरको जोहोमा दुवै छन् दुवैको लोेकाचारमा अवसरको प्रतीक्षा थियो दुःख र शारीरिक अवस्थाले पसलको त्यान्द्रोलाई सहारा झैँ पूजाकोठामै निदाएकी मोतीमायाको गहिरो निद्रा र कोठामा आमाको न्यानो माया नपाएर ब्युँझिएको एक मात्र पाँच बर्से छोरा विनोदको रुवाइ आदिले एउटा राम्रो कथाको जालो बुनेर सबभन्दा पहिले उपन्यासको सँघार खुला गर्छन् । कुनै परपुरुषसँग भेटेको प्रेमपत्रसम्म तयार पारेर कमला आफ्ना बाधा छिटोभन्दा छिटो पन्छाउन सधैँ लागिरहेकै हुन्छे । फलतः त्यसको शिकारको रूपमा मोतीमायाले मात्र कष्ट पाउँदिनन्, त्यसको फेरमा अबोध बालकले पनि चुटाइहरु व्यहोरिरहेको हुन्छ । अनि दुवै आमाछोरालाई खान नदिएपछि छिमेकी हिराज्यान जो अर्काके रहस्य खोतल्न र झगडाको आगो बाल्नमा निपुण थिई, उसैकहाँ केही सापाटी माग्ने आशयले पुग्छिन् । माग्ने आँटभन्दा हिराज्यानको नालिस हाल्ने, झगडा उब्जाउने कुराले असहय भएर उनी रित्तै फर्किन्छिन् । कमलाको लागि यो सुनमा सुगन्ध थियो । फेरि पत्र तयार षड्यन्त्रको खाका तयार । त्यसमा फँसेर रूपा¥यो हुन् प्रमोद पहिलेदेखि झन् तयार । त्यस दोहोरो धारको तरवारले मोतीमायाको सहनशीलताको सीमा छुदै थियो, बाच्नुको लालसमा म्लानता छाउँदै एक दिन उनी धोबीचौरदेखि स्वयम्भू वनतर्फ लम्किइन् झुन्डिनलाई । यहीँ नै उनको जीवनको मोडले उनलाई तानेको थियो, मोहनबहादुर जस्ताका गिद्धपञ्जामा पार्नलाई । यो मोडसँग उपन्यासको एक खण्डको समापन र अर्काे खण्ड आरम्भ भएको मान्न सकिन्छ ।

मोतीमायाको मोडैमोडको जीवनमा आदर्शोन्मुख संस्कारले थिचेको थिच्यै गर्छ । यस मोडमा पनि मोतीमायामा विद्रोह आदिको साटो संस्कारै बोलिरहेको हुन्छ । उपन्यासकी अर्की सुदृढ पात्रा मैयाँनानीको अनेक दृष्टान्त र तर्कलाई उनी बठ्याइँ र फसाउने मीठो पासो मात्र ठान्दछिन् । मोतीमाया धर्म र इज्जत बचाउनमै तल्लीन देखापर्छिन् । उनको यो संस्कारगत अवस्थाबाट मुक्त पार्न मैयाँनानी भन्छे– ‘तिमीले धर्म र इज्जत भनेर चिच्याउनु त अब बेकार छ ।हातमा भएको जीवनको हिस्सा पनि गुमाउनु हो, जब तिमीले एक पोइलाई छाडेर अर्को पोइ अँगाल्यौ, तिम्रो धर्म गइगो । …आइमाईको राम्रो धन, धर्म, इज्जत हो केवल सतीत्व वा चरित्र बल, त्यो तिम्रो गइहाल्यो …। संसारको सौन्दर्यमा सती पनि एउटा फुल  हो, तर सतीले जीवन र जगत्को निम्ति केही गरिन् भने सतीत्व लोग्नेकै निम्ति मात्र पूजा हो, नारीको एक घमण्ड मात्र हो । संसारको नराम्रा तत्वहरुसित लड्ने उद्देश्य हो भने आफ्नो निम्ति नराम्रो भए पनि योभन्दा बरु रण्डी हुनुपर्ने अवस्था अपनाउनु पनि नजाती छैन ।’

यी भनाइहरुका साथसाथै उनी मोतीमायालाई आफ्नो विगतका कथाहरू सुनाउँछिन् । सतीत्व र स्त्रित्वको निकै घमण्ड भएकी नानीमैयाँलाई पनि पोइले दानवले नगर्ने अत्याचार गरेर निकालिदिएका थिए । पोइबाट पर भएर पनि धर्ममा बस्ने उनको अठोटले जोगिनी बनेर पशुपतिको पाटीमा बसेर भिक्षाटन गर्दा पनि जोगीको भेष धरेका गुन्डाहरुबाट उनले सतीत्व गुमाउनुपरेको थियो र अन्त्यमा निकै विचार गरेर उनी स्वतन्त्र पेसामा लाग्दै आएकी थिइन् । मैयाँनानीको जीवन दर्पणबाट पनि उनले आफ्नो स्थितिको अवलोकन गर्न सकिनन् । बरु आश्रयहीन भएर मृत्युकै आश्रयमा जानु उचित ठानिन् । तब मैयाँनानीले मोतीमायालाई कर्मको मर्म सम्झाउन थाल्दछिन्– मूल बलियो र राम्रो नारी संस्था, नारी उद्धार संस्थाद्वारा…यदि रण्डी भएर पनि कसैलाई बिगार्नुको सट्टा बनाउन सकिन्छ र रण्डी काम पनि देशहितको हुन सक्दछ भने देशहितको तत्त्व किन नबन्नु ? आदि लामो मन्थनद्वारा मातीमायालाई गाउनेमा राजी गराइछोड्छिन् । यसरी प्रारम्भ भएको छ मोतीमायाको जीवनको अर्को नयाँ मोड । यस मोडसँगसँगै मात्र मोतीमायाको हैन सम्पूर्ण पात्रहरुको अनि उपन्यासका आख्यानहरुको घटनाक्रमहरुमा अति तीव्रता आउँछ ।

बाईसौँ परिच्छेदको थालनी आफ्नो संस्थाको क्षेत्रमा डुबिरहेकी मैयानानी जुईनानीको आगमन र वासन्तीले अञ्जनाकुमारी र सुरजप्रसादलाई गोली हानी मारेर पक्राउ परेकी अकल्पनीय घटना जस्तो चरमोत्सुकताभित्रको रहस्यलाई पनि तीव्र गतिमै स्वयम् हत्यारा पात्रद्वारा नै उद्घाटित गराउन पुगेको छ । देश बनाउने जिम्मेवारी बोकी, आदर्शको ठेकेदार र पुरोहित भई देशको नेतृत्व हातमा लिँदै नेता भएर अनेक कल्याणको डङ्का बजाएर हिँड्ने अञ्जनाकुमारी पचास रुपैयाँको दरमा आफ्नो कुमारित्व विदेशीलाई सुम्पेर देश कुच्चाइरहेकी छे । आपूmलाई मात्र बेचेर नपुगी अरू सोझीलाटी कुमारीहरुको कुमारित्व, स्त्रित्व समेत विदेशी बजारमा बेच्न । बेचाउन लगाइरहेकी र सुरजप्रसादजस्ताको आडले भ्रष्टता सुरक्षित हुन पाइरहेको अवस्था, विदेशी हस्तक्षेपको बोलाबाला आदि इत्यादि कारण देशको चरित्र, गौरव र आत्मालाई बचाउन यसरी खुला रूपले मारेकी हुँ भनी भाषण गर्दछिन् ।

अनि परिवर्तनको यही आवश्यक मोडमा फेरि प्रमोद र कमला देखापर्दछन् । सोह्र वर्षको जवान विनोदको बिहेको कुराका साथसाथै कमला विनोदको आमासँग बारम्बार भेट्न जाने प्रसङ्ग पनि जोड्न पुग्छे र बिहे गरिदिएमा कसैबाट तह नलागेका धेरै मानिस स्वास्नीबाट भनेजस्तो सोझो भएका छन् भन्ने निक्र्यौलमा पुग्दछ । तर विनोद बाबु प्रमोदलाई स्पष्ट रूपमा–‘कसैको निम्ति केही भए मेरो निम्ति आमा त आमा हुनुभएको छ ’ भन्ने दृढोक्ति व्यक्त गर्न पुग्दछ । यति मात्र होइन, आमाको काखमा बसेर मात्र ‘म विवाहयात्राको प्रणयरथमा आरोहित हुन्छु’ भन्ने शङ्खनाद गर्न पुग्दछ । घटनाक्रमको वेगमा खुकुरी लिएर हिँडेका विनोद मोहनबहादुर हुँदै आमासम्म पुगेर प्रसङ्ग टुङ्गिन्छ । नाटकीय रूपमा आमा मोतीमाया र मैयानानीसहित गृह प्रवेश गराइन्छ । निकै चर्को विवाद र उत्तेजनाबीच बुबा प्रमोदद्वारा छोराको खुट्टामा गोली प्रहारपश्चात् प्रमोद र कमलाको मैयानानीद्वारा हत्यापछि मैयानानीको दण्ड भोगाइ अनि विनोदबाट आफ्नो घर ‘मैया मन्दिर’ र ‘मैया महिला सङ्घ’ संस्थापन गरी उपन्यास पूर्णतामा टुङ्गिन्छ ।

वस्तुतः नारी समस्या र तिनको निराकरणमा प्रगतिवादी फड्को मार्न यस कृतिको उपन्यासकारको कल्पनाप्रवाहमा जासुसी उपन्यासको प्रभाव पनि मिसिएको प्रतीत हुन्छ । मूल लक्ष्यलाई तत्कालीन यथार्थवादी धरातलबाट उडानै भरेर भए तापनि उपन्यासकारले आफ्नो लक्ष्य पूरा गरेका छन् । उपन्यासमा कुनै पनि पात्र निरर्थक उभ्याइएका छैनन् । मोतीमायाको ढुङ्गे चरित्र र मैयानानीको बग्दो चरित्रले नारी जीवनको नदीप्रवाह सङ्गीतमय बन्न पुगेको छ । वैचारिक पक्षलाई छाडी उपन्यासलेखनको प्रविधिलाई मात्र हेर्दा हृदयचन्द्रसिंह प्रधान प्रत्यक्ष उपन्यासकार रुद्रराज पाण्डेका उत्तराधिकारी दखिनुहुन्छ  भन्ने प्रसिद्ध समालोचक इन्द्रबहादुर राईको आकलन सत्य सन्निकट देखिन्छ ।

यस उपन्यासमा तत्कालीन समाजको प्रदूषित वातावरणबाट मुक्ति नारीको पहिलो आवश्यकता हो भन्ने औँल्याएको छ । साङ्गठनिक प्रक्रिया, उद्देश्यको अभिभाराको गहनता, भविष्यलाई छोडेर वस्तुतः यपन्यासको बान्की र बनोटमा प्रतिबद्धता र उद्देश्यमा कमजोरीपन यथार्थवादी लेखनको आरम्भिक चरणको यस उपन्यासले विषयगत अभीष्टसिद्धिका लागि सबल गोरेटो पहिल्याएको मान्न सकिन्छ ।

हृदयचन्द्रसिंहको दोस्रो उपन्यास ‘एक चिहान’ र ‘स्वास्नीमान्छे’ बिचको दूरी र सामीप्यबारे प्रसिद्ध समालोक कृष्णचन्द्रसिंह प्रधान लेख्दछन्– स्वास्नीमान्छे र एक चिहानको उद्देश्य समाजसुधार नै भए पनि दुवैमा फरक छ । स्वास्नीमान्छे खास गरेर व्यक्तिमा केन्द्रित भई उनीहरूको समाप्तिमा अभिशप्त जीवन भोग्नुपर्ने अन्यायबाट मुक्ति पाउने लालसामा लालित–पालित छ । त्यसैले विद्रोहभाव र आतङ्ककारी स्वरले यसमा प्रमुखता पाएको छ । ‘एक चिहान’ परम्परागत आग्रह निर्लिप्त छ ….।’ यसै गरी अर्का प्रसिद्ध समालोचक इन्द्रबहादुर राईको धारणा– स्वास्नीमान्छेमा परिवर्तनीय मानिसको चरित्र थियो । परिवर्तन समाजपरिवर्तनको उच्चतर लक्ष्यको निम्ति थियो । …अब व्यक्ति निष्ठतामाथिको यो निर्भरता त्यागिएको छ । परिवर्तनीय व्यक्तिको चरित्र होइन, सामाजिक रीति र नीति छन् । उपन्यास ‘एक चिहान’मा किसान अष्टनारायण सीधा र सज्जन अनि व्यावहारिक प्रवृत्तिका ६५ वर्षीय जीर्ण वृद्ध हुन् । लगातार दुई महिनादेखि बिरामी रहेका हुन्छन् । वैद्य, गुभाजु, भाकल, पूजा, मन्छाउने इत्यादि समेत गर्दा परिणाममा ऋणबाहेक केही हात परेको थिएन । स्वयम् अष्टनारायण आफु बाँच्छु भन्ने पक्षमा थिएनन्, यसैले उनी परिवारमा अरू बोझ बोकाउने पक्षमा थिएनन् । यसैले माहिला छोरा पुननारायण र कान्छा छोरा हर्षनारायणको धेरै नबोल्ने आग्रहको जवाफमा आखिरी कुराको रूपमा पछिल्लो दुई वर्षदेखि आफु मरियो भने कात्रोसम्मको पनि बन्दोबस्त नहुने देखेर इज्जत जाला भन्ने डरमा आफ्नो अन्त्यष्टिको काम आफ्नै जिन्दगीको सबभन्दा पवित्र पसिनाको कमाइ २५ रुपैयाँ मोहर छिँडीको ढिकीनिरको उत्तर भित्तातिर खाल्टो खनी गाडी राखेकोसम्म बताइसक्छन् । तर, जहान लतमाया र परिवारमा आशा मरेको थिएन, यसैले डाक्टर देखाउन त्यही २५ रुपैयाँको प्रस्ताव लतमायाले राखिन् । एक जना साहूसँग ८ दिनको पेश्की लिएको यही व्यथा चर्केको बेलामा साहूले समात्न आइरहेको थिए । डाक्टर लिन गएका जेठा शिवनारायणको आग्रहमा ५ रुपैयाँ अग्रिम मागेर बिरामी जाँच्ने उदारता देखाए । घर पुगेपछि दिऊँला भनेपछि मात्र डाक्टर आए । यसरी डाक्टर गोदत्तप्रसादको त्यस दरिद्रनारायणको घरमा प्रवेश हुन पुग्यो । नानी थकुँ त्यो घरको २० वर्षको तरुनी छोरी थिई, जसको बिहे भएको थिएन । गरिब किसानको छोरी भए पनि उनको अनुहारको सौन्दर्य बलिरहेको र सधैँ मुस्कान खेलिरहेको व्यक्तित्वले गोदत्तप्रसादको हृदय परिवर्तन भएको थियो ।

अष्टनारायण मज्जाले सुतेको रातिदेखि नै सिमसिमे पानी परेको देखेर भोलिपल्ट बिहान अष्टनारायणले बडो उत्साहित भई जेठालाई बेलाको सदुपयोग गर, खेत जाऊ भने । त्यसपछि पुननारायणलाई पनि काममा जान अह्राउँछन् । भोलि पल्ट आफ्नो अर्ती सुनेर काममा गइसकेको  छोराछोरीहरु हूल बाँधेर फेरि फर्केको देखेर अष्टनारायणको हृदय पोल्नपुग्छ । उनले बाबुको मायामोहमा फसेर काम, कर्तव्य सबैलाई लत्याइरहेको औँल्याउँछन् । उनको बोली रोक्न कसैले सकेनन् , उनले भने ‘मलाई जहाँसम्म विश्वास छ, होशमा मरुला जस्तो लाग्छ, होश भएसम्म त म दानसान केही पनि कदापि गर्न दिन्न….मेरो प्राण उडेर गइसकेपछि पनि एउटा दाहसंस्कारको अन्त्येष्टि क्रियाबाहेक कुनै पनि खर्चालु काम नगर्नू’ आदि कुरापछि आफ्नो जीवनमा अलिकति मात्र गुन गर्नेहरुको यशोगान गाउन थाल्दछन् र उनको स्वर दब्दै जान थाल्छ अनि केही छिनपछि बत्ती निभ्छ, प्राणवायु निस्की अज्ञाततिर जान्छ ।

टोल या छरछिमेकीहरुसित झगडा गरेको कसैले थाहा नपाएका अष्टनारायणको टोलका छरछिमेकीहरुले गुणगाण गाए । तर उनको लास उठ्न सकिरहेको थिएन । कारण, कात्रो किन्नसम्म उनीहरुसित पैसा बचेको थिएन । चामल, पीठो र आलु बेच्न जाँदा गुठियारहरुले देख्ने समस्याको समाधानमा अन्ततः गोदत्तप्रसादकै शरण पर्ने निर्णय भयो । गुठियारहरु कराउन थालिसकेका थिए । नानी थकुँ र हर्षनारायण गोदत्तप्रसादकोमा गएर सापटी मागेर ल्याएपछि मात्र सब बन्दोबस्त हुन सक्यो । दुई दिनसम्म शोकपीडा वेदनामा विह्वल भएर झोक्राइरहे, तेस्रो दिन धैर्य नै गरेर शिवनारायण खेततर्फ लागे, भाइहरुलाई पनि आआफ्नो काममा पठाए ।

यता गोदत्तप्रसादको लक्ष्य पनि चुलिदैँ थियो । पाँच बज्यो कि शिवनारायणको घरमा डाक्टर पस्नु र यति नै बेला लतमाया कपडा बुन्ने काम छोडी भात पकाउने सुरसारमा माथि भान्सामा उक्लिहाल्थिन् । अनि डाक्टर र नानी थकुँको दोहोरीलाई सजिलो पर्दथ्यो । सबैले भात खाइरहेको बेलामा लतमायाले सुब्बा सुरमानको मानिस आएको बेलिविस्तार लगाउँदा गोदप्रसादको पनि कुरा उठ्न पुग्यो ।

सुत्दा एकै सर्काे भए पनि तमाखु नखाई कहिल्यै सुत्न नसक्ने शिवनारायण आफै तमाखु भरेर खान्थे , स्वास्नीलाई यसको दुःख मात्र हैन, खेतीको काममा बाहेक अरू लुगा धुने लगायत दुःखबाट बचाएर राख्थे । साह्रै ठट्यौली खाले उनको जहान हाकुमाया पतिको सेवाको भोकी थिई । आठ वर्षकी छोरी दुई सन्तानका दम्पत्तिको त्यस दिनको कुरै कुरामा उनले ‘बहिनीको बिहे गर्न किन हतारो नमान्नुभएको’ भन्दै कुरा उठाइन् र शिवनारायणले पैसाको समस्याको कुरा गरेपछि त्यसको जवाफमा हाकुमायाले हो, उड्नलाई पखेटा नचलाई रहे त’ भन्ने प्रसङ्ग झिक्दै नानीथकुँको डाक्टरसित प्रेम छ रे भन्ने हल्ला चलेको बताई । गोदत्तप्रसादको उदारताभित्र दानवता सुसेलिरहेको कुरा सुनेर लतमाया साह्रै दिक्दार भइन् । दिक्दारीको कुरा चल्दैमा रामबहादुर देसी तान बोकाई भित्रिए । तान फिर्ता लाने कुरा गर्दा रामबहादुरले नानी थकुँ सुब्बालाई कन्यादान दिने वचन अष्टनारायणले दिइसकेको कुरा लतमायालाई बताए । यो कुरा सुरुमा त उनले पत्याएनन् । सोझी लतमाया रामबहादुरको कुरा पत्याउन थाले पनि सन्ताउन्न वर्षको बूढोसँग भर्खर सत्र वर्षमा पाइला टेकेकी कलिली केटीको जोडा मिलाउन पट्टि लागिन् । उता नानी थकुँमा पनि हलचल मच्चिसकेको थियो, कुरा आफ्नै बारेमा होला भनेर उनले लुकेर केही कुरा सुनि पनि हारलन् । आमाछोरी फुरुङ्ग फुरुङ्ग परेको नसिँद्धिदै डाक्टरको आगमनले रोकिदियो । गोदत्तप्रसाद कोठामा नपुग्दै आमाले छोरीलाई भात पकाउने अभिभारा बोकाइन् । र, गोदत्तप्रसादलाई कुरैकुरामा अप्ठेरोमा अल्झाइन् । कुरा झुठो भए पनि  कहिलेकाहीँ ठ्याम्मै मिल्न आउँदो रहेछ । साँच्चै नै त्यस दिन शिवनारायण चाडैँ घर फिरे । उनको घर फिर्नुको आशय नानी थकुँ र गोदत्तप्रसादको चर्तीकलाको भेउ लिनु थियो । गोदत्तलाई आफ्नो घरमुनि भेट्टाएका थिए । छरछिमेकीको चियाइले उनको शिरसम्म उठ्न सकेन । उनले नदेखेको झैँ गरेर पन्छन खोज्दा पनि लिसोझैँ टाँस्सिएर डाक्टर फेरि फर्के तर उपेक्षापूर्वक व्यवहारले उनलाई शिवनारायणले फर्काई छोडे । भात खान बस्दा शिवनारायण जिन्दगीमा पहिलो पल्ट दुर्वासा बने । नानी थकुँको निम्ति त्यो दिन भुइँचालो नै आयो ।

यस भुइँचालोले नानी थकुँलाई गोदत्तप्रसादको घर फर्काइहाल्यो । ‘ज्यान गए पनि तपाईँलाई म छोड्न सक्दिनँ, तपाईँले मलाई छोडी नै दिनु भए पनि म तपाईँलाई छोड्ने छैन’ भन्ने समर्पण भाव पोखिन । उनीहरूको सम्पूर्ण कुरा बुझ्न डाक्टरकी स्वास्नी रञ्जनादेवी बिरामी हेर्ने कोठामा हस्तक्षेप गर्न पुग्छिन् । दुवै झसङ्ग भएर रङ्गमा भङ्ग भएपछि नानी थकुँ पनि हिँडिन् । खाना खाने बेलामा आफ्नो पतिलाई रञ्जनादेवीले साह्रा कच्चा चिठ्ठा बयान गरिदिइन् ।  रञ्जनादेवी लर्तरो आइमाई थिइनन् । प्रत्येक पाइला विचार गरेर चाल्दै हिँड्ने चातुर्य उनमा थियो । त्यही चातुर्यको प्रयोग गर्दै नानी थकुँलाई बोलाउन पठाई धम्की र सम्झाउनीका अस्त्रशस्त्रले घोचेर पठाए पनि रञ्जनादेवीको चित्त बुझ्दैन । शिवनारायणलाई भेट्न खेतमै दौडिछिन् । र सम्पूर्ण आफ्ना पक्षका कुरा ओकलेर फर्कन्छिन् । उता नानी थकुँ न आकाश न पातालको अवस्थामा हुन थाली । गोदत्तप्रसाद सोझैँ नानी थकुँको घर पुगेर आश्वासनका भरथेगमा लाग्छन् ।

किसानको सबभन्दा रमाइलो रोपाइँ ! यो रोपाइँमा सारा पिर, व्यथा बिर्सी नानी थकुँ पनि चहचहाएकी हुन्छे, लहलहाएकी हुन्छे तर यसैबिच गोदत्तप्रसादको आगमनले रोपाइँको अन्त्य नमीठो हुन पुग्दछ । भोलिपल्ट लतमाया सबैले घरमै आराम गरिरहेको बेलामा नानी थकुँको बिहेको कुरा चलाउँछे र अनमेल भए पनि सुब्बा सुरमानपट्टिको ढल्काइ पोख्छे । उनीहरुमा सुब्बाबारेको कुरा चल्दाचल्दै रामबहादुर आइपुग्छ, पहिले मीठो मीठो कुरा हुन्छ, पछि नानी थकुँबारेको कुरा नामञ्जुर भएको सुनाइन्छ तब रामबहादुर असफलताको भित्तो कोपर्न थाल्दछ । अपमानको बोली बोल्न थालेपछि शिवनारायण रामबहादुरको घाँटी अँठ्याउन पुग्छ र सबै मिलेर छुट्याउछन् । यो कुरा बक्सिसबाट हात धुनुपरेको रामबहादुर बढाई–चढाई सुब्बामा पुर्‍याउछन्। सुब्बा मुर्मुरिदै रामबहादुर  अरू नोकरका साथ शिवनारायणकहाँ पुग्छ, निकै भनाभनपछि हात हालाहालसम्ममा पुग्छ । एकातिर राम्रो, वर्षा, खेतको हरियाली अर्काेतिर झुत्रो घरको आर्तनाद । यसै विषयमा कुराकानी गर्दै खाइवरि फुर्सदको बेला डाक्टर नानी थकुँका लागि अर्कै एउटा राम्रो र गुप्त घरको प्रस्ताव लिएर उभिन आएपुगेको हुन्छ । तर नानी थकुँले उनलाई निराश पारेर फर्काइदिन्छिन् । इलम नभएको दरिद्रता व्यक्तिलाई कसले छोरी दिन्छ भन्ने नैराश्यको बादललाई पन्छाउँदै हर्षनारायणले पनि आफूलाई मनपराउने मान्छे भेट्टाइहालेछन् र उनी निकै प्रसन्न भई आमालाई बिहे गर्ने निर्णय सुनाउन थालेका हुन्छन् । उनले प्रेम गरेकी केटी काम गर्न जाने ठाउँकी तामाङ्गनी भएको सुनाउँछन् । यो सुनेर लतमाया खुसी भएर भन्छिन्, ‘झन् बेस, तिम्रा बा पनि यस्तै दुई सम्प्रदायबीच सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रादायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो , तिम्रा दाजुहरु पनि खुसी होलान् ।’ यो कुराको बेलिविस्तार लाउँदा शिवनारायण पनि खुसी भए, उनले भने, ‘बेस भयो, नेवार–पर्वतेको सम्बन्ध अझ बलियो  हुन आँटेछ, हाम्रो  देश बलियो हुने भावनाको जग शिल्यान्यास गर्नम एक इँटा फेरि थपिन लाग्यो । यस्तै नेवार, पर्वते र मधिसे तीन जाति र संस्कृति मिसाएर एक हुँदै गएपछि नेपाल अझ सुन्दर, विशाल हुँदै जान्छ ।’

माहिला तामाङ भरिया जीविकामा बाँचिरहेको मान्छे, विशाल हृदयका उदार जीव, यसैले पनि गथुन संस्कारको साटफेरबाट दोहोरो कलाको संस्कार भावी पिँढीले सिर्जन हुने विश्वासले उनी दङ्ग थिए । छोरीलाई नसके पनि गौनको फरिया, मखमली चोलो र खास्टो पहिराएका थिए । विदाइमा माहिला तामाङले डोको, नाम्लो र हँसिया पुतलीलाई सुम्पँदै भने, मेरी छोरी यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीका साथ सुहाएर नेपाललाई हँसाउने कोसिस गर ।’ नयाँ दुलहीको बानीले सबैलाई प्रभावित पार्‍यो । यो विवाह नानी थकुँको निम्ति एउटा अध्ययनको र विश्लेषणको विषय बन्छ ।

डाक्टर गोदत्तप्रसादको कुटिल चालले नानी थकुँ हराएपछि खोज्दाखोज्दै आखिर रञ्जनादेवीको पैसाबाट पत्ता लगाएर नानी थकुँलाई उनीहरूको दाजुहरुले लिएर आउन खोज्दा दोजिया भएकोले नजाने ढिपी कस्छे, शिवनारायणको बाबुको संस्कारगत प्रभावको बोली र रञ्जनादेवीको स्वार्थले आखिर उनी दाजुहरुसँगै गएपछि सर्लाहीका रामखेलावन राउतसँग बिहे हुन पुग्छ ।

यसपालिको वर्षाले राम्रो उपाहार दिएकोले शिवनारायण परिवार बिछट्टै खुसी छन् । उनीहरू यसबाट रङ्गीन सपना देख्न थालिसकेका छन् । अवोध केटाकेटी पनि त्यस इन्द्रधनुषी स्वप्नमा रमाउँदै सिनेमा हेर्ने, लुगा लगाउने, भात खाने सपना देखिरहेका तर त्यसपल्टको त्यही वर्षाले नै सोहोरेर सप्नै सप्पैलाई लगिदिन्छ, एक चिहान पारिदिन्छ ।

स्वास्नीमान्छे जागृति र सङ्घर्षको संचेतना मुखरित गर्ने पहिलो उपन्यासको रूपमा अनि नौलो प्रयोगको आँटको रूपमा मात्र हैन कतिपय पक्षमा सकारात्मक रूपमा प्रस्तुत भएको छ । नारी आफूलाई पस्कनुको मात्र प्रक्रियामा समर्पण र त्यागको संस्कारको घेराबाट निस्केर अन्याय र शोषणविरुद्ध उभिएको प्रतिशोधात्मक जागरणको प्रतीकको रूपमा देखापर्दछे । एउटा कीटमा धरि प्रतिरोधात्मक प्रक्रिया हुन्छ भने नारीमा यसको अभाव प्रभावशाली बनाउन त्याग ममता आदिको गुण बखान गरेर मात्र शोषणका प्रक्रियामा भुलाउने महरुपी पठन पाठनको परम्परागत विरुद्धको बैग्लै उठान हो ‘स्वास्नीमान्छे’ । हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नी मान्छे’भन्दा ‘एक चिहान’ बढी प्रगतिशील, यथार्थ एवम् परिस्कृत रहेको छ । उनी बितेको एक वर्षपछि (२०१७ मा) मात्र जनसमक्ष आउन सकेको यो उपन्यास पनि उपत्यकाको सेरोफेरोमा उनिएको छ । वर्गीय असन्तुलन एवम् समतापूर्ण सामाजिक ढाँचाको अभावमा शोषण दमन अत्याचार उत्पीडन, व्यवस्थापनको अभावमा श्रमको अवमूल्यन, खस्कँदा सामाजिक मर्यादाहरुको चित्रण छ । यसउपरका प्रवित्तिको आवृत्ति उजागर गर्दै त्यस्तै विसङ्गत पक्षको विरुद्धमा स्वर उचालिएको छ, ‘एक चिहान’मा । त्योबेला अन्न बढी जन कम अवस्थाको परम्परागत थिति र आज त्यसको ठिक उल्टोको स्थितिमा पनि जन्मदेखि मृत्युपर्यन्तको उही अपरिवर्तित निरन्तरताले ल्याएका विकृतिमूलक परम्पराले समाजलाई आडम्बरी कुसंकार आदितर्फ धकेलिरहेको छ । यस कुरालाई पनि उपन्यासमा स्पष्ट इङ्गित गरिएको  छ । समाजका वर्गीय चरित्र र तिनका प्रवृत्तिको खुलस्त रूपमा भण्डाफोर गरिएको छ । चाहे त्यो जमिन मालिक होऊन्, चाहे सेवाको विशुद्ध क्षेत्रमा लागेका डाक्टर, तिनको रूप, स्वरूप उधिनिइएका छन् ।

हृदयचन्द्र सिंहका दुवै उपन्यासमा माटोप्रति रागात्मक मोह झल्केको देखापर्दछ । ‘स्वास्नीमान्छे’ मा रण्डी पनि देशहितको काममा तत्त्व हुन सक्छे भने देशहितको तत्त्व किन नबन्नु ?’ विषयगत पक्षमा मैयाँनानीको यो संवाद अनि यो भन्दा बढी भावनात्मक रागका सुमधुर तानका रूपमा ‘एक चिहान’मा भरिया माइला तामाङको यो भनाइ, मेरी छोरी, लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोसिस गर दुवै आदर्शपोषी छन् । यो प्रतीक हो श्रमशील किसानको अनि मुक्त आह्लाद हो थरीथरी बाजा एउटै चाल’को अर्थात् राष्ट्रिय एकताको आधारस्तम्भ परिकल्पना गरिएको । स्वास्नीमान्छेमा वासन्ती बोल्दछे, ‘देश सेवाको निम्ति हामीले मर्न डराउनु हुँदैन । यसै गरी ‘एक चिहान’मा नेवार पर्वतको बिचमा मात्र फाटफुट वैवाहिक सम्बन्ध जुट्दा पनि नेपालको अहोभाग्य, राष्ट्र विकासको लक्षण देखिइरहेकोमा तराई नेपालका मधिसेसित पनि यसरी वैवाहिक सम्बन्ध जोड्न पाएको देखेर नेपालको प्रगति र मानवतालाई काखी च्यापेको सुगन्धित सुनौलो बिहान हाँस्दै आइरहेको देखी नानीथकुँको राखमेलावन राउतसँग हुन लागेको बिहेप्रति नायक शिवनारायणको भावना बगाई हो यो । यसर्थ, जाति, धर्म, आदिका सङ्कीर्णतामा, दबाबमा बिथोलिएर चिरा पर्न लागेको देशलाई यसै प्रकारको समीकरणको आवश्यकता रहेको एक चिहानले औँल्याएको छ ।

एउटी नारीपात्र शिवनारायणको पत्नी हाकुमायाको सङ्घर्षशीलतामा बाँच्ने अनौठो कला छ, एक चिहानमा खिस्सखिस्स हाँस्दै व्यङ्ग्यका पारामा ठट्टा फर्काउदै आफ्नो परिश्रमलाई भुल्ने र भुलाउने उनको कलाले शिवनारायणलाई लठ्ठै पारेको देखिन्छ । वास्तवमा श्रमशीलका निम्ति प्रकृतिले जुराउने दाम्पत्य जीवनको रमाइलो मेलो एउटा नहुँदो हो त जीवन कति चाँडै थाक्थ्यो होला ।

सम्पूर्णतया हृदयचन्द्रसिंहको प्रगतिशीलता आलोचनात्मक यथार्थवादमा रोकिएको नभई सक्रिय रचनात्मकतामा व्यक्त छ । ‘एक चिहान’मा आलोचना अल्पमत र अधिकारिक रचनात्मकता छ भन्ने इन्द्र्रबहादुर राईको विचारसँग नजिकिँदै जीवनको ज्वलन्त भोगाइका लाक्षणिकता उनका उपन्यासहरुमा स्पष्ट छ ।

सन्दर्भ ग्रन्थ
१) नेपाली उपन्यासका आधारहरु, इन्द्रबहादुर राई
२) नेपाली उपन्यास र उपन्यासकार, कृष्णचन्द्रसिंह प्रधान
३) नेपाली उपन्यास परम्परा र प्रवृत्ति, राजेन्द्र सुवेदी
४) उपन्यासको सौन्दर्यशास्त्र, डा.ऋषिराज बराल
५) केही प्रतिभा केही प्रवृत्ति, युवराज मैनाली
६) विभिन्न पत्रपत्रिकाहरु