अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

टग अव वार ( Tug of War )

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ असार २४ गते ११:३२ मा प्रकाशित

नेपालको राजनीति पनि विचित्रको छ । यहाँको राजनीति विभिन्न किसिमको भुमरीमा पर्दै आजको तारिखमा आइपुगेको छ । तर विडम्बना, नेपाली नेताहरूको हातमा छैन । यहाँ जहिले पनि टग अव वार चली रहन्छ ।

अहिले आएर यो वार (war) के. पी ओली भर्सस प्रचण्डको ( K. P Oli vs Prachand Dahal ) बिचमा छ । किनारामा माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम छन् । यी सबै चेसका प्याधासरह स्थान परिवर्तन गरी रहन्छन् । यिनीहरू देशी अथवा विदेशी स्वार्थका निम्ति राजनीति गर्छन् ।

तुलनात्मक रूपमा प्रचण्डभन्दा ओली कम हानिकारक छन् यद्यपि यी सबै राष्ट्रियताको दुहाई दिएर राजनीति गर्ने मानिसहरू हुन । सच्चा राष्ट्रप्रेमको अनुभूति छैन र जनसरोकारका विषयहरूसँग यिनीहरूको चासो छैन ।

यी नेताहरू र अन्य सबै नेताहरू राष्ट्रघाती र जन द्रोही छन् किनभने कसैले नमागेका दुई कुराहरू यिनीहरूले संविधानमा भित्र्याए ।
१. सङ्घीयता
२. धर्मनिरपेक्षता

निजी स्वार्थमा नेपाली नेताहरूले आफ्नो धर्म, संस्कृति, भाषा र साहित्यलाई तथा भूमिलाई बुझाउँदै गएका छन् ।

राष्ट्रलाई सिद्ध्याउन पहिले कमरेड मदन भण्डारी र जीवराज आश्रित लाई मारे । त्यसपछि राजदरबार हत्याकाण्ड गराए । काँग्रेसीलाई बी. पी को सिद्धान्तबाट च्युत गराए । माओवादीलाई भारतमा पालेर नेपाललाई विखण्डित बनाई दिए आदि- इत्यादि । नेताहरूलाई किनेर आ-आफ्नो कित्तामा पारे ।

आफ्नो देशका युवाहरूलाई देशबाट वैदेशिक रोजगारीका नाममा बाहिर र नेपालीलाई े विभिन्न बहानामा नेपाली नागरिकताको प्रमाणपत्र दिएर राष्ट्रलाई कमजोर बनाउने कार्य भई रहेको छ जुन खेदपूर्ण छ ।

कृषिप्रधान देश हरेक दिन ठूलोमात्रामा कृषि पदार्थ र फल- फूल एवं तरकारी उत्पादन गर्दछ भारतबाट । उतिखेरका कल- कारखानाहरू सबै बन्द भए । अयोग्य मानिसहरू राजनीतिका खेलाडी भए । देशी र विदेशी शक्तिका एजेन्टहरूले नेपालको राजनीतिलाई दूषित बनाए ।

२०४६ साल पश्चात् नेपाल कमजोर हुँदै गयो । नेपाली काँग्रेस र कम्युनिस्ट शासकहरूले पालैपालोसँग देश दोहन गरी व्यक्तिगत रूपमा लाभान्वित भए ।

विदेशबाट रेमिटेन्स नेपालमा भित्रिए पनि राष्ट्रीयपूँजीको निर्माण हुन सक्तैन । भारतबाट र बाहिरबाटै सबै सामानहरू गाडी-गुडा, औषधि, घर बनाउने सामग्रीहरू, ब्यूटीपार्लरका सबै सामानहरू आदि- इत्यादि आउने भएकाले देश खोक्र्रिँदै गएको छ ।

यो कुरालाई राम्रोसँग बुझ्न ज़रूरी छ कि अहिलेका प्राय: सबै नेताहरू ( अपवाद बाहेक ) विदेशीहरूको स्वार्थमा र आफ्नो व्यक्तिगत सीमित स्वार्थका निम्ति काम गर्छन् । यी नेताहरूबाट यिनीहरूका आफन्तहरूको कल्याण हुन्छ । समष्टिगत रूपमा देश र जनताको भलो हुँदैन ।

अहिलेको टग अव वार ( Tug of War ) मा जसले जिते पनि देश र जनताले जित्दैन । देश र जनतालाई जिताउन अहिलेको राजनैतिक पद्धति र प्रणालीलाई परिवर्तन गर्नु ज़रूरी छ ।

* निम्नलिखित कुराहरूबाट हामीले ‘U turn‘ लिनु ज़रूरी छ ।
१. सङ्घीयता र धर्मनिरपेक्षतालाई संविधानबाट हटाउनु पर्छ ।
२. प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा कार्यकारी प्रमुखको चुनाव ज़रूरी छ ।
३. संविधानको संशोधन गरी तराईका आदिवासी नेपालीहरूको समस्याहरूलाई सम्बोधन गर्नु पर्छ । त्यसो हुँदा यिनीहरूको मनोविज्ञान माथि राजेन्द्र महतो, उपेन्द्र यादव अथवा हृदयेश त्रिपाठी र सरिता गिरी लगायतका नक्कली नेताहरूले राजनीति गर्न पाऊँदैनन ।
४. प्रतिनिधिसभामा सांसदहरूको सङ्ख्या १६० भन्दा मुनिमा झार्नु पर्छ । सोही अनुरूप राष्ट्रियसभामा पनि सदस्यसंख्या निम्नतम हुनु पर्छ ।
५. जनमतद्वारा ‘ सङ्घीयता र धर्मनिरपेक्षतालाई ‘ खारेज गरिनु पर्छ ।
६. अन्याय विवादित सबै कुराहरूको टुङ्गो जनमतद्वारा गरिनु पर्छ किनभने प्रजातन्त्र, लोकतन्त्र अथवा गणतन्त्रमा जनता जनार्दन हुन्छन् र उनीहरूको मत र हित विपरीत कार्य गर्नु हुँदैन ।
७. गलत र अयोग्य व्यक्तिलाई राजनैतिक नियुक्ति दिनु हुँदैन । राजनैतिक नियुक्ति सकेसम्म कम गर्नु पर्छ ।
८. देशको चारसीमा बाँधिनु पर्छ ।
९. राष्ट्रको भोगेलिक अखण्डता, सार्वभौमसत्ता, सनातन धर्म, बुद्धको चिन्तन र आदर्श, नेपाली भाषा- साहित्य र कला- संस्कृतिको संरक्षण गर्नु अत्यावश्यक छ ।
केवल कोरा राजनीति र टग अव वार ( Tug of War ) ले देश डुब्छ ।
(क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल एक राजनैतिक विश्लेषक एवं उदार चिन्तक हुन)