अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

चौथौँ विश्व

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ जेठ २१ गते १२:३२ मा प्रकाशित

निराश कहिल्यै नहुनु । कमजोर तपाईँको समय हो; तपाईँ हैन – गीता सार

हामी तीन वटा विश्वसँग परिचित छौँ तर यो चौथो विश्वसंगचैँ अत्यन्त कम व्यक्तिहरू जानिफकार छौँ अथवा त्यो चौथो विश्व यही नै हो भनेर सायदै बुझेका छौँ ।

हामी मृत्युसँग डराउँछौँ किनभने यसले हामीलाई इहलोकबाट चुँडेर लान्छ । एक पटक यो संसारमा आएको व्यक्ति स्वेच्छाले बाहिरिन चाहँदैन जसरी सत्तामा गएको राजनैतिक नेता हत्तपत्त बाहिरिन चाहँदैन । यो लिप्सा विचित्रको हुन्छ । डिप्रेसन नभएसम्म र जनता तथा मतदाताले नफालेसम्म टाँस्सि रहन्छ ।

जन्म र मृत्यु बिचको छोटो कालखण्डलाई जीवन भनिन्छ । यो जीवन सबैको एकैनासको हुन्न किनभने यसमा प्रारब्ध (पूर्व जन्म) जोडिएको हुन्छ । हामीले पूर्व जन्ममा गरेको कार्यबाट अहिलेको जन्म धारण गरेका हौँ र अहिले वर्तमानमा गरेका कार्यहरूको योगफलबाट भविष्यको जीवन अर्थात् पर जन्म प्राप्त गर्छौँ ।

हरेक व्यक्तिमा एउटा प्राण हुन्छ जुन अपराजेय र अमर हुन्छ । मृत्यु पश्चात् मानिसको देह ( body ) ढल्छ र प्राणपखेरू अन्यत्र गएर अर्को देहमा प्रवेश गर्छ । तपाईँ हाम्रो कर्मबाट कस्तो परिवारमा र कहाँ हाम्रो भावी जीवनले मूर्तरूप लिन्छ भन्ने कुराको निर्धारण गर्छ ।

विज्ञान र प्रविधिले ठुलो चमत्कार गर्‍यो तर प्रकृतिमाथि पूरा विजय प्राप्त गर्न सकेको छैन र सक्तैन पनि । प्रकृति पूजनीय, आराध्य र सर्वकालिक छन् । प्राकृतिक नियम- कानुनको उल्लङ्घन गरी अघि बढेमा कोभिड- १९ जस्ता विश्वव्यापी महामारीले बेला- बखतमा नरसंहार गर्छ ।

मानिस जन्मिए पछि विभिन्न चरणहरू पार गर्दै मृत्युवरण गर्छ । बिचको समय भ्रममा बाँच्छ र अन्त्यमा बुढो हुँदै विभिन्न बिमारहरूको सिकार हुँदै परलोक प्राप्ति गर्छ । जीवनको संध्याकालमा उसले जिन्दगीको गुढ रहस्य बुझ्छ तर त्यस बेला सम्ममा उसको प्रस्थान विन्दु नजिकै आई पुगेकाले उसले परास्त बोध गर्छ र केही गर्न सक्तैन ।

जीवनमा शान्ति, प्रेम र खुसीयालीसँग बाँचौँ । सकारात्मक सोचको विकास गरौँ । मानवीय मूल्य र मान्यतालाई शिरोपर गरी आफ्नो तन, मन, धन, कर्म र वचनले सकेसम्म र भ्याएसम्म भगवानको सृष्टि र संरचनालाई संरक्षण र संवर्धन गरौँ ।

नकारात्मक सोचहरूलाई त्यागौँ । यो संसार सुन्दर छ तर हामीले कुरूप बनाई रहेका छौँ । यो संसार हाम्रो ठुलो घर हो । सिमाना, भूगोल, जलवायु, अध्यागमनका दृष्टिकोणले हामी फरक- फरक राष्ट्रमा छौँ तर हामी सबै मानव हौँ । अत: दानवीय प्रवृत्तिलाई त्यागी प्राकृतिक पर्यावरण, चरा- चुरूँगी, पशु- चौपायाहरू प्रति पनि दया भाव राखी यो संसारलाई प्रलयबाट जोगाऊँ । यो हामी सबैको सामूहिक समष्टिगत दायित्व हो ।

सबैसंग मानवीय प्रेम भाव राखौँ । सदाचार, सहनशीलता, धैर्य, निष्ठा आदि सत्गुणहरूको वृद्धि गरौँ । मृत्युपश्चात् जाने भनेको तपाईँ हाम्रो सत्कर्म हो, बाँकी सब मिथ्या ।

मृत्युपंश्चात जाने ठाउँ त्यही चौथो विश्व हो ।

( क्यालिफोर्निया निवासी प्रा. डा दुर्गा दाहाल एक राजनैतिक विश्लेषक तथा आध्यात्मिक चिन्तक समेत हुन)