अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

सफलताका सूत्रहरू

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ जेठ १० गते १०:५२ मा प्रकाशित

म मानिसको सफलतालाई आकाशमा ऊ कति माथि पुग्यो भनेर नाप्दिन । धरतीमा थचारिए पछि कति उठ्यो भन्ने मात्र जाँच्दछु
– जनरल जर्ज प्याटन

मानव जीवन ईश्वर प्रदत्त एउटा वरदान हो । तर, यो जीवन त्यति सजिलो पनि छैन । जीवनमा अनेक द्विविधाहरू पनि हुन्छन् । जीवन र जगतप्रतिको दृष्टिकोण पनि फरक फरक छन् । हिजोका मान्यताहरू पनि बदलिँदै गएका छन् । जीवनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । मानिस स्वतन्त्र भएर बाँच्न चाहन्छ । आफ्नो निर्णय गलत होस वा सही, त्यसैमा आनन्दको अनुभूति गर्छ ।

जीवनका कतिपय सिद्धान्तहरू सर्वकालिक र शाश्वत सत्य हुन्छन् । मानवीय मूल्य र मान्यतालाई अङ्गीकार गरेर हिंडने मानिस सफल हुन्छ । सीमित लोभ- लालच र स्वार्थमा बिकेको मानिस तुच्छ हुन्छ ।

सफलताको सिद्धान्त के हो र कस्ता मानिसलाई सफल भन्ने विषयमा पनि धेरै मतभिन्नताहरू छन् । तर वास्तविक अर्थमा सही र सफल व्यक्ति त्यो हो जसले जीवनको गहिराइलाई बुझेर त्यसको तत्वज्ञान प्राप्त गरेको छ ।

धेरै पढ्दैमा, पी. एच डी गर्दैमा, महँगा गाडी चढ्दैमा, धेरै धन सम्पत्ति कमाउँदैमा, मन्त्री, प्रधानमन्त्री हुँदैमा अथवा अन्य कतिपय हाम्रा पुराना मान्यताबाट हामीले एउटा व्यक्ति सफल हो अथवा हैन भनेर मापन गर्न सकिँदैन र सफलताको आकलन अरूले भनेर, लेखेर अथवा गरेर हुँदैन । यो सम्बन्धित व्यक्तिले अनुभूत गर्ने कुरा हो ।

फगत एउटा जोगी व्यक्ति मात्रै भएर पनि ऊ आफूलाई सफल महसुस गर्न सक्छ । अरूले दिएको सफलताको पगरी उसले बाँधी रहनु पर्दैन । यो नितान्त व्यक्तिगत अनुभूति हो ।
मानिस सफल हुने अथवा नहुने त्यो व्यक्तिको आफ्नो प्रयत्नमा निर्भर गर्छ ।

तर पनि एउटा व्यक्तिले कुनै विधा अथवा विषयको उँचाइमा पुग्नलाई निम्नलिखित सूत्रहरू अवलम्बन गर्नु आवश्यक छ ।

१. सपना देख्नु पर्छ । कहाँ पुग्ने र कसरी पुग्ने ? गफ दिने हैन, एक्सनमा जाने ।
२. दिशा निर्देश सही हुनु पर्छ अर्थात् बाटो सही समातिएको छ र अनवरत लागिएको छ भने ढिलो चाँडो पुगिन्छ ।
३. नियमित रूटिनवर्क हुनु पर्छ । अविराम गतिले अघि बढ्नु पर्छ ।
४. सबैको सुन्ने तर आफ्नो गर्ने यद्यपि धेरैलाई यो अप्रिय लाग्ला । कसैको आदेश, उपदेश अथवा सल्लाहलाई तिरस्कार गर्ने हैन तर तपाईँलाई ख़ुशी दिँदैन भने गर्नै पर्छ भन्ने हुँदैन ।
५. आफूलाई रुचिकर विषयमा ध्यान केन्द्रित गर्नुहोस् ।
६. सबैभन्दा बढी माया आफूलाई गर्नु पर्छ । आफू बाँचियो भने मात्रै अरूलाई बचाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्नु होस ।
७. राम्रो , सकारात्मक र सफल मानिसहरूको सङ्गतमा रहनु होस अथवा तिनीहरूबाट लिखित सुन्दर पुस्तकहरू पढनुहोस ।
८. आफूलाई एउटा असल व्यक्तिका रूपमा आफैँले अन्तर मनबाट सम्मानित गरेर तदनुरूप कार्य गर्नुहोस् ।
९. जिन्दगीमा तपाईँसँग भएको क्षमता र दक्षताको पहिचान गरी सामाजिक र सामुदायिक कार्यमा संलग्न हुनुहोस् र जीवनमा कहिल्यै हारेको अनुभूति नगर्नुहेस ।

अरूको मूल्याङ्कनको प्रतीक्षा नगर्नुहेस । अन्ततोगत्वा तपाईँ एउटा सफल व्यक्ति हो । कसैले भनिरहनु पर्दैन ।