अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

आलिंगन मीठो हुन्छ

डा. दुर्गा दाहाल, “अनुभव” २०७७ असार २ गते १०:४२ मा प्रकाशित

राष्ट्र प्रेम जहिले पनि बलियो हुन्छ । त्यो प्रेम हृदयभित्र गढेर बसेको हुन्छ सदा सर्वदा । संसारको जुनसुकै भूभागमा भएता पनि जहाँ बसेता पनि ‘एक पटकको नेपाली सधैँको नेपाली’ हुन्छ । त्यो राष्ट्रपतिको आलिंगन सुमधुर हुन्छ ।

अहिले आएर नेपालको प्रतिनिधिसभाले सर्वसम्मतिबाट नेपालको राजनैतिक नक्सा पारित गर्नु स्वागत योग कदम हो । यसलाई वास्तविक रूपमा हाम्रो साँध सिमानामा गएर जङ्गे किल्ला लगाउनु पर्छ अब । नेपाल क्रमशः भारतका अगाडि कमजोर हुँदै गएको स्थिति छ । कारण: हाम्रा नेताहरूको दरिद्र मानसिकता र कमजोर नेतृत्व ।

इतिहासले साबित गरी सकेको छ : कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका भूभागभित्र पर्दछन् । यी क्षेत्रहरू विवादित हैनन्; अपितु अतिक्रमित हुन । भारतद्वारा थिचोमिचो गरेका नेपाली भूभागहरू हुन । हामी सबै नेपालीहरू ऐक्यबद्ध भएर भारतीय विस्तारवादको विरोध गर्नु पर्छ ।

यो भूभागमा भारतको अतिक्रमण भइरहेको छ भनेर सदन र सडकमा कैयौँ पटक आवाजहरू चर्किए तर सरकार कानमा तेल हालेर सुत्यो । सांसद दिलेन्द्र बडू, लगायत धेरैले सरकारको ध्यानाकर्षण गराए तर उसले एउटा कानले सुनेर अर्का कानले उडायो ।

अन्नपूर्णा पोष्टमा पत्रकार सुरेन्द्र काफ्लेले यस विषयमा लेखी रहे, नापी विभागका उप-महानिर्देशक सुरेशमान श्रेष्ठ बोली रहे र सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठले लन्डन, अमेरिका र विभिन्न ठाउँमा गएर नक्सा र ब्रिटिस इन्डिया (East India Company) द्वारा प्रदत्त प्रमाणहरू जुटाई रहे तर सरकारको कदम त्यसतर्फ अघि बढेन । प्रधानमन्त्री लगायत धेरै मन्त्री र सांसदहरूलाई घरको साँध- सिमाना थाहा भएन अथवा थाहा भएर पनि भारतको नुन खाएर त्यसको सोझो गरे ।

रतन भण्डारीले ‘लिम्पियाधुरा अतिक्रमणको चपेटामा’ र पछिल्लो समयमा सर्वज्ञ वाग्लेले ‘पुनर्वास’ लेखे । तर पनि सरकार तातेन ।

अन्ततोगत्वा, कैयौँ वर्ष देखि निर्मित हुँदै आएको सडकको उद्घाटन कोभिड – १९ को कमजोर र तरल अवस्थामा, सबै देशभक्त नेपालीहरू घरमै थुनिएर बसेको नाजुक स्थितिमा भारतका गृहमन्त्री राजनाथ सिंहले उद्घाटन गरे । त्यसपछि समाचारहरूमा व्यापक रूपले यो कुरा आयो । सबै नेपालीहरू सुसूचित भए ।

राष्ट्र प्रेमी र देशभक्त जनताहरूको व्यापक दबाब आयो सामाजिक सञ्जालहरूमा पनि । अब प्रधानमन्त्री के. पी ओलीले सदनबाट ती तीनै अतिक्रमित क्षेत्रलाई समेटेर नेपालको राजनैतिक नक्साको अनुमोदन गराएका छन् जुन उत्साह प्रद छ तर नक्सामा मात्र भएर हुन्न परन्तु हाम्रा सैन्य बलको पनि शारीरिक उपस्थिति हुनु पर्‍यो ती सीमा – साँधहरूमा । केवल ती क्षेत्रहरू मात्रै हैनन् पूर्व भद्रपुर ,पश्चिम सुस्ता र अन्य धेरै ठाउँका जङ्गे पिलरहरू निकै सरेका छन् र भारतीय प्रहरी र सिपाहीहरू आएर हाम्रा नेपाली चेली- बेटी र भाइ- बहिनीहरू माथि आक्रमण गरेका छन् । यो भारतको विस्तारवादी नीति र हेपाहा प्रवृत्ति हो ।

नेपालप्रति भारतको दृष्टिकोण कहिल्यै राम्रो रहेन । भारत जहिले पनि नेपालमा अस्थिरता चाहन्छ । उसले नेपाललाई भारतको एउटा प्रान्तको रूपमा हेर्छ र बेला- बखत सहयोग पनि गर्छ । तर अहिलेसम्म नेपालको संविधानलाई स्वागत समेत गरेको छैन ।

भारत भारतीय दूतावास मार्फत नेपाललाई चलाउन चाहन्छ । उसको जासुसी संस्था ‘RAW’ का एजेन्ट र भारतीय दूतहरूका निर्देशनमा नेपाली नेताहरू चल्छन् चेसका गोटी सरह । यिनीहरूमा अध्ययनको कमी छ र राष्ट्र कसरी चलाउनु पर्छ थाहा छैन । मानिसलाई मारेर, निरपराध मानिसहरूको टाउको काटेर, जङ्गलमा बसेर, भारतको मानो खाएर आएका अज्ञानी र विवेकशुन्य संवेदनहीन मानिसहरूको ठुलो जत्था सरकारमा छ ।

यो विषयलाई केलाउन हामीले हाम्रो ऐतिहासिक पृष्ठभूमि र भारतको नेपालप्रतिको परराष्ट्र नीतिको सम्यकज्ञान हुनु ज़रूरी छ । उतिखेर नेपाल र भारतको सम्बन्ध त्यति खराब थिएन यद्यपि नेपालको पानी अर्थात् जलस्रोत र जडी- बुटीप्रति उसको गिद्धे दृष्टि थियो । त्यसैले बल्लभभाई पटेल, नेहरु डक्टरीन, इन्दिरा गान्धी र अहिले आएर प्रधानमन्त्री मोदी भाइको समेत नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन ।

उतिखेर महामानव बी. पी कोइराला २०३३ सालमा राष्ट्रिय मेल- मिलापको नीति लिएर स्वदेश फर्किनु भयो यद्यपि उहाँमाथि धेरै आरोपहरू थिए, ज्यानको भयङ्कर खतरा थियो । कारण: उहाँमाथि नेपाललाई भारतको अधीनस्थ गरी दिनु पर्ने ठुलो दबाब इन्दिरा गान्धी प्रशासनले दिएको थियो र सिक्किमका लेण्डुप दोर्जेको भूमिका निर्वाह गर्नु भनिएको थियो । तर उहाँ राष्ट्रघाती हुन चाहनु भएन बरु “ राजाको घाँटीसँग मेरो घाँटी जोड्छु अथवा मृत्यु स्विकार्छु “ भनेर स्वदेश फर्कनु भयो ।

सन १९६२ को sino-border conflict का बेला चीनसँग लड्न मौखिक रूपमा राजा महेन्द्रको पालामा नेपालले भारतलाई अस्थायी रूपमा त्यहाँ सैन्य बलका केही क्याम्पहरू राख्न अनुमति दिएको कुरा सत्य हो । अन्य सबै ठाउँका सैन्य बलहरू फिर्ता गए तर कालापानीको एउटा सैन्य बलको हिस्सा आजसम्म त्यहीँ रहेर थिचोमिचो गरिरहेको छ ।

सन १८२७ मा ब्रिटिस इन्डिया ( East India Company ) ले सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका कालापानी, लिपुलेक र लिम्पियाधुराका सबै जग्गाहरू फिर्ता दिएको थियो तर पछि सन १८६० मा British India Company ले यो महसुस गर्‍यो कि त्यो ज़मीन चीनसँग व्यापार गर्न र सुरक्षाको दृष्टिकोणले उसका लागि लाभ प्रद रहेछ र जग्गा फिर्ता लिएको थियो । तर मूलतः यी भूभागहरू नेपालकै हुन भन्ने कुरालाई इतिहास, नक्सा र अन्य तथ्यहरूले प्रमाणित गर्छ ।

* अब के गर्ने ?
सडकमा टायर बालेर, अति उत्तेजित भएर, भारतले नेपाललाई अथवा नेपालले भारतलाई गाली-गलौच गरेर हुन्न । सदियौँदेखि भारत र नेपालको बिचमा धार्मिक, सांस्कृतिक, वैवाहिक सम्बन्धहरू बिगार्नु भएन यद्यपि भारतले नेपाललाई हेपेको देखिन्छ । कूटनैतिक ढङ्गबाट वार्ताद्वाराकै यस समस्याको समाधान गरिनु पर्छ ।

भारत सजिलै वार्तामा आउँदैन यद्यपि उसले कोरोनाको समाप्ति पछि वार्तामा आउने भनेको छ । अतः वार्तामा स्वतन्त्र विज्ञ हरूको टोली समेत समावेश गरेर वार्तामा संलग्न हुनु पर्छ । केवल अध्ययनहीन नेताहरूबाट र सचिव स्तरहरूबाट मात्रै यो समस्याको समाधान हुने देखिँदैन ।

भोलिका दिनहरूमा यो निर्मित सडकबाट नेपाललाई पनि फाइदा पुग्ला तर नेपालको भूभागमा नेपाललाईनै नसोधी भारत र नेपालले तिब्बतको मानसरोवर जाने बाटो बनाउनु सरासरी गलत हो ।

सडक बनी रहँदा नेपाल सरकार कानमा तेल हालेर बस्नु र चुप लाग्नु अर्को एउटा ठुलो रहस्यको कुरा छ ।

नेपालमा हरेक पार्टीमा भारतको वकालत गर्ने र भारतको पक्षमा बोल्ने कैयौँ नेताहरू छन् । नेपालको प्रशासनमा, मिडियामा र अन्य सबै क्षेत्रहरूमा भारतको घुसपैठ छ । धेरै मानिसहरू, नेताहरू प्लान्टेड (planted) छन् । यिनीहरूले विभिन्न किसिमले नेपाललाई कमजोर बनाउँदै गएका छन् ।

भारतमा जन्मिएर नेपालको अङ्गीकृत नागरिकता लिएको सरिता गिरीले सदनमा बोलेको कुरा निन्दाजनक र भर्त्सनापूर्ण छ ।

नेपाली जनताले माग्दै नमागेको र नचाहेको सङ्घीयता र धर्म- निरपेक्षता पनि नेपाली राष्ट्र र जनताको पक्षमा छैन । यसले नेपाललाई क्रमशः ठुलो दुर्घटनातर्फ लाँदै छ ।

त्यसैले अहिलेको परिप्रेक्ष्यमा राष्ट्र प्रेम अत्यन्त ज़रूरी छ। राष्ट्रसँग गरिएको चोखो माया र आलिंगन मीठो हुन्छ ।

(क्यालिफोर्निया निवासी प्रा. डा. दुर्गा दाहाल एक राजनैतिक विश्लेषक एवं चिन्तक हुनुहुन्छ)