लेख
मौनको सुरुवात कहाँबाट भयो ? साँचै भन्ने हो भने हामी कसैलाई पनि थाहा छैन । हुन सक्छ, प्राचीन समयमा ॠषिहरुले गरेको तपस्याबाट मौन भित्रको आनन्दको उपज भई मौनको प्यास बिस्तारै-बिस्तारै सबैतिर फैलिँदै गएको हो ।
तर मौनको अर्थ खोज्ने हो भने साधरणतया मौन भनेको भित्र र बाहिर दुवैतिरबाट चुप हुनु हो । खास गरी हामी मौनको अर्थ होठ नचल्नु तथा नबोल्नुलाई सम्झन्छौ. यो परिभाषाले मौनको अर्थलाई सीमित गर्दछ.!!
एक वाक्यमा भन्नु पर्दा मन, बचन र शरीरबाट हुने कृया-प्रतिकृया बिना यी सबै स्थिर हुनु नै मौन हो ।अझ स्पस्ट्र शब्दमा भन्नु पर्दा आफूभित्र स्थिर हुनु नै मौन हो । न बिचार, न कामना, न इच्छा, न अभिलाषा, केवल शून्य, खाली हुनु नै मौन हो. मौन हुन भने जस्तो सजिलो छैन ।तर गाह्रो पनि छैन ।सबै भन्दा ठुलो इच्छ्या शक्ति हो ।
यसै सिलसिलामा ओशो आश्रम सौराहा, चितवनमा १० दिनको मौन शिविरको आयोजना भएको थियो । ओशो सन्यासिनीको हैसियतले मलाई पनि सो शिविरमा भाग लिन मन थियो। घरको परिस्थिति मेरो मनस्थितसँग न मिल्न पनि सक्थ्यो। सन्सारमा बसे पछि सन्सारिक त हुन्नै पर्ने रहेछ. मनस्थितिलाई परिस्थितिसँग तालमेल गर्नै पर्छ । सन्सार चटक्कै छोड भनेर ओशोले पनि भन्नु भएको छैन । सर्व-स्विकार भावमा थिए । तर परिस्थितिले पनि साथ दियो । आफू भित्रको परमात्मालाई धन्यवाद दिए।
जहाँ इच्छा त्यहाँ उपाय भने झैँ १०(दस) दिनको शिविरमा भाग लिन सौराहा ,चितवन पुगे ।ओशो आश्रममा प्रवेश गर्ने बित्तिकै साँच्चै भन्नु पर्दा “म” म भइन । त्यहाँको प्रकृतिले भरिएको रमणीय मनमोहक वातावरण, चराहरूको चु हु चु हु, लताहरूको हृदयस्पर्शी तरङ्ग आनन्दले विभोर भए ।काठमान्डुको कन्क्रीटको सहरमा बस्ने बानी परेकी मलाई स्वर्गको अनुभूति भयो । एक्लै नाचे , एक्लै बेसुरा गाए । नजिकबाट जीवनलाई हेर्ने मौका पाए । जिन्दगीको आनन्द पाए।
पुगेको भोली पल्ट देखी मौन शिविर सुरु भयो। शिविरमा भाग लिने हामी ६०(साठी) साधक-साधिका थियौ ।स्वामी मैत्रेयज्युको (सन्यास नाम) नेतृत्वमा सौराहा आश्रम सञ्चालन हुँदै आएको छ। वहाँ आफूलाई स्वामी पनि न भनिदिनोस् भन्नु हुन्छ । केवल “मैत्रेय”मात्र भनियोस् भनेर चाहनु हुन्छ। सरल, मृद भाषी, आत्म-ज्ञानी,सिद्धि प्राप्त स्वामी मैत्रेयज्यु सद्गुरु ओशोको संवाहक मात्र हु भनेर आफूलाई चिनाउनु हुन्छ ।
मैले कहिल्यै पनि उदाउदै गरेको सुर्यको दर्शन गरेकी थिइन । बिहान ६ बजे स्वामी मैत्रेयज्युले हामीलाई आश्रमबाट १५ मिनटको दुरीमा तोरी बारीमा एक-एक जनाको लाइन लगाएर लैजानु भयो । एक किसिमले भन्ने हो भने यसलाई मर्निङग वाक पनि हामी भन्न सक्छौ ।तोरी बारीमा पुगेपछि बारीको डिल भरी पूर्व फर्केर लाइन लागेर हामी उभियौ । सूर्योदय भई सकेको थिएन । पुरा आकाश लालिमाले भरिएको थियो । त्यसलाई हेरिरहन भन्नु भयो । हामी सबैले त्यो लालिमा हेरिरहायौ ।पुनः “आँखा बन्द गरेर त्यो लालिमा आफू भित्र महसुस गर”- भन्नु भयो । आफू भित्र त्यो लालिमा महसुस गर्दा एउटा अद्भुत भावको दशा आउँदो रहेछ । शब्दमा वर्णन गर्न सकिँदैन ।न त भावमा पोख्न सकिन्छ ।
पुनः हामीले आँखा खोलायौ. बिस्तारै बिस्तारै सुर्य भगवान् तोरी बारीको आकाशबाट लालिमा छर्दै-छर्दै माथि-माथी आउन थाल्नु भयो । हामीले हेरिरह्यौ-हेरिरह्यौ ।पुनः आँखा चिम्लियौ । आफू भित्र त्यो उदयको क्षणलाई महसुस गर्यौ ।एउटा अलौकिक आनन्द, टाढा-टाडासम्म पहेँलो तोरी बारी, तोरी बारी माथि रक्तिम लालिमा । लालिमाको बिचमा गोलो आकारमा रक्तिम सुर्यको छवि । जीवन जीवन भएन- त्यो बेला । न जीवनको मोह थियो-त्यहाँ ।न मृत्युको भय थियो-त्यहाँ । जीवन खाली थियो। शून्य भयो. न बिचार थियो । न भाव थियो । केवल वर्तमान थियो -जीवन । थियो त केवल -आनन्दै -आनन्द ।तर आज सोच्छु-साच्ची जीवन यती रमाइलो पनि हुँदो रहेछ त ?
स्वामी मैत्रेयज्युबाट र सद्गुरु ओशोको प्रवचन सुन्नु, सकृय ध्यान(Dynamic Meditation)), ब्रम्हनाद ध्यान, त्रिनेत्र ध्यान, अन्तर-आकाश ध्यान, चक्रम ध्यान, सुफी ध्यान(Dimension Dhyan) जिब्रीक ध्यान, मिस्टिक रोज ध्यान, कुन्डालिनी ध्यान, अनपान ध्यान, अनहदमा विश्राम, प्रश्नोत्तर सेसन, तथा साधक-साधिकालाई लागेको भाव कविता गीत तथा भनेर व्यक्त गर्नु र साँझमा सन्ध्या कीर्तन गर्नु आदी मौन शिविरको प्रमुख विशेषता थिए । बुद्ध हलमा मात्र तोकिएको समयमा स्वामी मैत्रेयज्युको अगाडी भाव पोख्न पाइन्थ्यो । नत्र कोही कसैसँग बोल्न मिल्दैनथ्यो ।साथै राप्ती नदिको किनारमा अस्ताउँदो सुर्यको दर्शन गर्नु जस्ता नौलो र आत्मीय अनुभव गर्नु तथा हुनु यस शिविरको प्रमुख उपलब्धि थियो ।
उदाउदै गरेको र अस्ताउँदै गरेको सुर्यको दर्शनले साँच्चै भन्ने हो भने जन्म र मृत्युको आभास भयो । जन्म र मृत्यु दुवै एकै लाग्यो ।सूर्योदय हुँदा र सूर्यास्त हुँदाको प्रकृया एउटै । उस्तै रक्तीमा लाली फैलिएको । उदयमा बिस्तारै बिस्तारै माथि आउनु, अनि अस्तमा उसरी नै बिस्तारै बिस्तारै तल जानु के फरक भयो र ? हैन र ? तर धेरै फरक छ । माथि आउँदा प्रकाशै प्रकाश । तल जाँदा अन्धकार नै अन्धकार।अतः प्रकाश ऊर्जा हो । ऊर्जालाई तल बग्न दियौ भने जीवन अँध्यारो हुन्छ भने माथि ल्यायौ भने जीवन प्रकाशित हुन्छ ।
मौन अवधिको १०(दस) दिन कसरी बित्यो थाहा नै भएन । भनिन्छ, न बोली मानिस बस्न सक्दैन,तर आज लाग्छ बोल्नु धेरै अप्ठ्यारो विषय हो ।मौनमा जति जीवनको आनन्द र गहिराइ छ, वाणीमा पक्कै छैन ।
हामी मौन तब मात्र हुन सक्छौ, जब हामी शान्त हुन्छौ । हाम्रो बोली जब मन अशान्त हुन्छ, अनि मात्र निक्लिन्छ । हाम्रो होंठ पनि ज्यादा मन अशान्त भए पछि चल्न थाल्छ । यसैले कोही न बोल्दैमा यो न सम्झनु कि उ मौन छ । उ शब्दहीन भएर पनि आफू भित्र बोलिरहेको हुन सक्छ । उ बोली रहेको त हुन्छ तर शब्द हामी सुन्न सक्दैनौ । आवाज मात्र बाहिर न आएको हो । शब्दहीनतालाई, ध्वनिहीनतालाई मौन सम्झनु हुँदैन । मौन हो- मन शान्त हुनु अर्थात् कल्पनाहरूको उडानमा न उड्नु । तर, आन्तरिक मौनमा बोलिरहँदा पनि, मौन कायम नै रहन्छ । यो मौनमा हामी बोली रहँदा पनि मौनमा कुनै असर पर्दैन।
अतः हामीले सन्सारको लागी आफ्नो पुरा समय खर्ची रहेका छौ । तर आफ्नो लागी एक मिनट पनि समय दिन सकेका छैनौ ।अझ भनु-दिएका छैनौ । यो भाग -दौड के का लागी ? एक पल्ट गम्भीर भएर सोचौँ त ? किनकि आज हामीलाई रातमा निद्रा छैन, दिनमा चैन छैन, प्रतिष्ठाको अहमता बोकेर बनावोटी हाँसो हाँस्नु परेको छ । यसैले वर्षमा १० (दस) दिनको आफ्नो लागी समय निकालेर यस्ता मौन शिविरमा भाग लिँदा मन सुद्धी, चित्त सुद्धी, दृस्ट्री सुद्धी हुन गई सन्सार हेर्ने हाम्रो नजरीया नै बदलिन्छ ।बाची-बाची मर्नु हुँदैन । साचिक्कै बाचेर मात्र बाच्नु पर्छ
यसैले, मौन हुन सर्व प्रथमत:दृढ सकल्प हुनु पर्छ। तर, शिविरमा जाँदैमा तथा शिविरमा भाग लिँदैमा मौन घटित भने हुँदैन । सम्यका भाव आफूभित्र अटल हुनु पर्छ । इच्छा शक्ति र प्यास हुनु पर्छ ।प्यास बिना पानी मिठो पक्कै हुँदा पनि हुँदैन ।
अन्तमा, मौन हरेक समस्याको समाधान पनि हो ।मौन नादको मिठो ध्वनि हो। मौन नूरको सन्ध्या प्रकाश हो । मौन आत्माको खुराक हो । मौन अलौकिक प्रेम पथ हो । मौन अन्तर आकाश हो ।मौन जीवन हो । मौन मृत्यु हो । मौन शून्य हो ।मौन सत्य हो । मौन परमात्माको भाषा हो । यसैले त मौन हुन गाह्रो मात्र हैन, ज्यादै नै गाह्रो छ । तर पनि आजको यो भाग -दौड तथा खिचा-तानीको सन्सारमा मौन हुनु नितान्त आवश्यक छ । अस्तु: