अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 12:14

अक्टोबर १३, २००४

गोपी मैनाली २०७९ पुष १ गते २१:३२ मा प्रकाशित

विकसित देशका खबर पत्रिकाहरूले पनि राष्ट्रिय सीमा नाघ्ने गर्दछन् । जापानी प्रकाशन र विद्युतीय माध्यममा पनि यो मान्यता लागू छ । बहुचर्चित चलचित्र सुपरम्यानका नायक क्रिस्टोफर रिभको मृत्यु भएको आज तेस्रो दिन हो । संसारभरका सञ्चार माध्यमले उनको विषय उल्लेख गरेका छन् । कलाकारहरू जिउँदोमा पनि चर्चित हुन्छन् र मृत्यु पछि पनि । फरक कति हो भने मृत्यु पछिको चर्चाको अनुभूति गर्न स्वयं उसले भने पाएको हुँदैन । तर क्रिस्टोफर रिभकी श्रीमती डाना खुसी छन् । उनलाई चर्चामा पुर्‍याउने सबैलाई डाना धन्यवाद दिंदैछिन् । चर्चित व्यक्ति सामान्य जीवनभन्दा बढी नै पृथक् देखिन्छन् । चर्चित व्यक्तिका परिवार मात्र मायाको हकदार बन्न पाउँदैनन् । त्यस्तै देखिएको छ रिभको मृत्यु पनि । उनले पछिल्ला दिनमा आएर कमाएको सम्पत्ति र प्रतिष्ठालाई अपाङ्ग र असहायलाई सहयोग गर्न समर्पित गरे । यसका लागि उनी चार पाँच वटा संस्थामा संलग्न रहेका थिए ।

आज बिहान अर्को समाचार जापानी प्रधानमन्त्री जुनिचिरो कोइजुमीको प्रशासनिक सुधारको विषयमा पढेर बिताएँ । कोइजुमीको सुधार कार्यक्रम खतरनाक र पेलाहा प्रवृत्तिको (एग्रसिभ) छ । आफू स्वच्छ र नैतिकरुपमा नै प्रतिबद्ध भएपछि व्यक्तिले चाहनाअनुरूप सुधार योजना लागू गर्न सक्छ भन्ने शिक्षा उनको सुधार प्रयासबाट लिन सकिन्छ । सानो घटना नेपालको सम्झेँ । मूल्य अभिवृद्धि कर विभागमा तत्कालीन महानिर्देशक नारायण सिलवाल आफू मातहतका कर्मचारीसँग कडा व्यवहार गर्दथे तर उनको आदेश र आग्रहलाई चुनौती दिन उप महानिर्देशक सम्मले सक्दैनथे । उनी नैतिकरुपमा कमजोर भएको भए न उनले कडा शब्द बोल्न हिम्मत गर्थे, न कर्मचारीले सहेर नै बस्थे । जुनिचिरो कोइजुमीको सुधार कार्यक्रमप्रति सत्तामा रहेका दलको नै असहमति छ तर प्रतिवाद गर्न कोही सक्दैनन् । त्यसैले हिजोको डायट बैठकमा सुधार कार्यक्रमको घोषणा गरेरै छाडे । सरकारले मात्रै केही गर्न सक्छ र ? भन्ने आन्तरिक (प्रशासन) सुधारको सार थियो भने विश्व रङ्गमञ्चमा जापानलाई सुधार र सहयोगको नेतृत्वमा स्थापित गर्नु कूटनैतिक सुधारको सार । यसका लागि चारवटा ठुला सडक आधारशिला संस्थालाई निजीकरण गर्ने, जापान पोस्टलाई निजीकरण गर्ने र सन् २०१० सम्म वित्त सन्तुलनको स्थितिलाई अपेक्षित हदमा राख्ने उनको प्रतिबद्धता छ ।

प्रश्न उठ्न सक्छ, सिलवाल र जुनिचिरोलाई किन तुलना गरेको ? यो तुलना होइन । इमानदारिताको कुरा मात्र गर्न खोजिएको हो । कार्यक्षेत्रको फैलावट मात्र सानो ठुलो हो तर सार्वजनिक क्षेत्रमा यस्तो शैली तत्काल भने अप्रिय देखिन्छ ।

अनि रिभको कुरा किन उल्लेख गरेको ? वास्तवमा रिभ निकै चर्चित छन्–समाज सेवा र कलाकारिता दुवैमा । सार्वजनिक व्यक्तित्वले सामाजिक दायित्वको ख्याल नगरेसम्म न कार्यालय सुधार्न सकिन्छ न देश नै । परिवार सुधारेर सुधारमा के केन उपलब्धि गरे भन्ने अहङ्ककार सार्वजनिक क्षेत्रमा रहनेले लिनु नै हाम्रो कमजोरी हो । यही प्रसङ्गलाई हेर्न मात्र खोजेको हूँ नत्र एउटा विश्व स्तरको कलाकार, अर्को विश्वको चर्चित राजनेता र अर्का नेपालका सामान्य कर्मचारी । उनीहरू बिच तुलनाको गुञ्जायस नै रहँदैन ।

बिहानभरि मेरो मन विभक्त भयो रिभ र कोइजुमीको कार्यशैलीमा । फरक विचार क्षेत्र र भूमिकाबाट उनीहरूले विश्वलाई थुप्रै योगदान गरेका छन् । विश्वका प्रत्येक देशमा एउटा रिभजस्तो समाज सुधारको शिक्षा दिने अभिनेता र अर्को कोइजुमीजस्तो त्यो शिक्षालाई वास्तविकतामा कडाइका साथ अनुवाद गर्ने नेता भए प्रत्येक देशको स्थिति सुध्रने थियो । नेता र अभिनेताले जीवनको यथार्थ बोक्न सक्नुपर्छ । अभिनेताले नंङ्याइदिन्छ मात्र, नेताले नीति र नेतृत्व दिनुपर्छ । प्रशासनले यसलाई सहयोग गर्नुपर्छ । कोइजुमी वा रिभ जस्ता ‘सोसल आइकन’ प्रत्येक देशमा तत्काल जन्मनु आवश्यक छ ।

बेलुका कुराकानी गर्दै एक जमात साथीहरू यादोवासी र उनो क्यूएल. का सामानहरू हेर्न गयौंँ । जापानी साथी नाकायामा हामीसँगै रह्यो । मैले जापानको कर्मचारी प्रशासनका विषयमा थुप्रै कुरा बुझ्न खोजेँ तर कसरी अतिरिक्त बोनस दिइन्छ, कार्य सम्पादन मूल्याङ्कन तुलना र प्रमोसन कसरी गरिन्छ भन्ने विषयमा कुनै पनि कर्मचारीले विदेशीलाई बताउन चाहँदा रहेनछन् । यो कर्मचारी आचरणको समेत विरुद्ध हुने रहेछ । केवल न्यूनतम तलब, भर्ना पद्धति मात्र खुल्ला गर्दा रहेछन् । पुरस्कार स्वरूप दिइने अतिरिक्त बोनस अर्को साथीलाई समेत गोप्य राखिदोरहेछ ।

पारदर्शिता र योग्यता प्रणालीको समयमा जापानजस्तो विकसित देशमा किन यस्तो हुन्छ ? मैले नाकायामालाई आग्रह गरेँ–साथी हामी तिम्रो पद्धतिलाई उत्कृष्ट ढाँचा भनिरहेका छौँ; म बुझ्न चाहन्छु तर उसले भन्यो ‘मैनालीसान इट्स सिक्रेट ।’ म आश्चर्यमा परेँ । सबै देशमा केही नराम्रा पक्ष हुँदा रहेछन् । नागरिकहरूमा राजनीतिप्रति चासो छैन । अधिकारप्रति सजग नहुनु पनि प्रजातन्त्र र खुला समाजको विशेषता हो र ? यहाँ भ्रष्टाचार हुँदैन भन्ने कुरा पनि शायद मिथ्या हो । उच्च राजनीतिक तहमा प्रशस्त व्यापारिक लेनदेन हुन्छ तर निष्क्रिय जनता र अपारदर्शिताका कारण बाहिर नआएको मात्र हो । यहाँ धेरैजसो मानिसहरू कामलाई पूजा मात्र गर्छन् । कामलाई नै कर्म, तपस्या र पूजा ठान्ने मानिसको स्वभाव छ । अधिकांशलाई कामबाहेक अरूको विषयमा सोच्ने प्रवृत्ति र फुर्सद नै छैन । थोरै कुलीन वर्ग छ जसले धेरै काम गर्ने मानिसको विश्वास र सम्मान निरन्तरदेखि पाउँदै आएको छ । त्यसैले भने पनि प्रजातन्त्र खुल्ला छैन । समाज पनि खुल्ला छैन । परिवार पनि खुल्ला छैन र प्रेम पनि खुल्ला छैन । सबै काम, अनुशासन र समयबाट प्रशासित छन् । कतिपय अवस्थामा व्यवहार चिसो र निकै औपचारिक पनि देखिन्छ । केटीहरू बिदेसिन एकदमै लालायित छन् । विदेशी ब्वाइफ्रेण्ड बनाउनु त्यसमा पनि नेटिभ अङ्ग्रेजको अनीहरुका लागि गर्व हो । मनमनै कल्पना गरेँ जापानीहरुकोे काम, निष्ठा भाव अनि अवसर र प्रगति अनि हाम्रोजस्तो हार्दिकता, खुल्लापन र चेतना शक्ति । शायद विकासको पराकाष्ठा हुनेछ एकैठाउमा पाउन सके, तर त्यो सम्भव कसरी ?

(नियात्रा दैनिकी ‘आँखाभरि रमिता मनभरि वेदना’ बाट)