अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१० | Colorodo: 16:25

महाज्योति

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८१ वैशाख ११ गते ८:२१ मा प्रकाशित

(महाकविको सम्झनामा )

सुन-चाँदी अरू खोज्थे ऊ खोज्थ्यो मनका कुरा
ढुङ्गालाई पनि चुम्थ्यो मानी नरम आँकुरा
ताराका राप तापेर शीतका रात काट्दथ्यो
इन्द्र कुबेरका आज्ञा नमानी तल पार्दथ्यो ।१।

मन फुक्का बनी माथि चन्द्र-तारा सबै चुमी
छुन्थ्यो तल सबै पाटा पूर्व-पश्चिममा घुमी
हिमशैल नदीनाला चरा हुन् कि वनस्पति
सारामा स्नेह अर्पिन्थ्यो सुम्सुम्याई सकेजति ।२।

वीणाका जति छन् तार ऊ सबै तार बज्दथ्यो
ओठमा धूप सल्काई भारती ध्यान गर्दथ्यो
दृश्य बोल्दा कुरा सुन्थ्यो स्वप्नलाई समाउँथ्यो
अग्ला पहाडका सामु सधैँ माथ चढाउँथ्यो ।३।

लीला विचित्र के देख्थे आँखा यी बाहिरी बरा !
भित्रभित्र लुकेका ती सच्चा जीवनका जरा
देख्दा पागल झैँ ठान्थे रूप पालिसका धनी
तम मिल्काउँदै लक्ष्मी बल्दथ्यो कविता बनी ।४।

एकमा एक नै झिक्ता एकै भेट्ने अचम्मको
त्यो दिव्य- ज्ञान आभाको उचाइ नाप्न सक्छ को ?
माटो यो सान बोक्तै छ उसको पदचिन्हले
भाषा यो गान गर्दै छ उसको मुक्तकण्ठले ।५।

परिधान कहाँ खोज्ने बलिदान हुँदा हुँदै
ऊ छैन किन भन्ने हो छ हामीभित्र धड्किँदै
देख्ने ऊ रूपमा भन्दा नदेख्ने रूपमा कति ?
रङ्गले चित्र के भेट्लान् ,भेट्लान् लेखनीले कति ?६।

तर शिल्पी नरोकिऊन् शिल्पले जग भर्नमा
ऊ जस्तै बीज भै साँचो अरू बीज उमार्नमा
ओठ खुल्लान् जहाँसम्म मुटु चल्लान् जहाँतक
चहकिलो महाज्योति चम्किनेछ अकण्टक ।७।

———————————–
गोरखा,लप्सीबोट; हाल: काठमाडौँ-६,सरस्वतीनगर ।