अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

टुकुचा

महेश बराल २०८० जेठ १ गते १६:३९ मा प्रकाशित

लघु कथा

लौन यो के गरेको?
यो इट्टा,ढुङ्गा, डन्डी, सिमेन्ट ।
किन मेरो घरको छत (छानो) मा थुपारेको नि ?
टुकुचा कराउँदै थियो ।

गाली गर्दै थियो । यो मेरो पुर्खौली जमिन हो । मेरा बा, बाजे, जिजु बाजे ….. यही हुर्किएको ।
उफ्रँदै थियो ।
तर काग कराउदैछ, पिना सुक्दैछ भने झैँ उसको कुरा सबैले एक कानले सुनेर अर्को कानले उडाइदिए ।
उसका आफन्त भनिएका बाग्मती, विष्णुमती समेतले उसको पक्षमा मुन्टो सम्म हल्लाएनन् ।

अन्ततोगत्वा, शक्ति अनि पहुँचको बलमा टुकुचाको पक्की घरमाथि भक्तमानले आफ्नो घर ठड्याई छाड्यो । भक्तमानले टुकुचाको छाती माथि ताण्डव नाच देखाउन थाल्यो । उसको स्वतन्त्रता जमिनभित्र नै गाडी दियो । बिचरा टुकुचाले आफ्नो आवाज त्यही बन्द कोठामा दबाउन बाध्य भयो । उ निरीह भयो । झिलिमिली रङ्गिन सहरको बिचमा उ भने मौनतामा हराएको थियो ।

एक दिन उसको रोदन एक युवकले सुन्यो । नजिक गएर हेर्‍यो । उसको घर दिशा, पिसाबले भरिएको रहेछ । सबैबाट तिरस्कृत उसको घरमा एक नव युवकको प्रवेशले टुकुचाको मनमा आशाको दियो बल्यो । १०४ वर्षको जहानियाँ राणा शासनको त अन्त भयो भने यो भक्तमानको अन्याय अत्याचारको जरो कसो नउखलेला । उसले भक्तमानको ज्यादती अनि स्वतन्त्र पूर्वक बाच्न पाउनु पर्ने मौलिक अधिकार हनन भएकोमा दुखेसो पोख्यो ।
युवकले उसले न्याय पाउने कुरामा ढाडस दिन्छ ।

भक्तमानले टुकुचाको घरको छतमाथि बनाएको घर भत्काउनु पर्छ भन्दै सबै युवाहरूलाई जागरूक गर्न थाल्यो । जमिन टुकुचाको भएपछि उसको घरको छतमा पनि स्वतः उसैको अधिकार रहन्छ भनेर जोडदार आवाज उठायो ।

तर,
उसको सहरको भक्तमानहरूको न्यायधिसले निसाफमा भेदभाव गर्‍यो । उसलाई न्यायालयले दुर्गन्धित, सानो मान्छे भनेर हेला गर्‍यो ।

जमिन मात्र हो टुकुचाको, छत त आकाशमा भएकोले उसको अधिकार हुन्न । आकाशको खरिद बिक्री अधिकार टुकुचालाई छैन । त्यसैले भक्तमानको घर टुकुचाको घरको आकाशमा भएकोले भत्काउन मिल्दैन भनेर फैसला सुनायो ।

मेरो घरको छानो नछोई भक्तमानले दशौँ तला बनाए पनि मलाई कुनै आपत्ति छैन तर मेरो शिरमा परचक्रीको पैताला कदापि स्वीकार्य हुने छैन । (टुकुचा भुतभुताउन थाल्यो ) र आत्मसम्मानमा पुनः तुसारापात भएको महसुस गर्‍यो ।

————
बरहथवा २, हजरिया, सर्लाही