अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

म ऋणी छु …..

महेश बराल २०७८ असार २८ गते २२:०८ मा प्रकाशित

आमा भोक लाग्यो । मोरा कहाँ कहाँ दौडी हिँड्यो घाममा । अहिले सम्झिस् भोक लाग्यो भनेर । आमाले कडके बोलीमा छोराको हसिन पसिन अर्ध नग्न शरीरतिर हेरेर हात समात्दै कल ( धारा) तिर ढुनमुनाउँदै लानु भयो । माथिको लुगा खासै लाउन मन लाग्दैनथ्यो तलको चाही लाउनै पर्थ्यो नत्र हुलास मामाले चक्कुले तेरो कुरी भन्ने बितिक्कै हतार हतार छोप्ने कुरा लगाई हाल्थे आ हुलास मामाले मलाई भेटेपो म भागी हाल्छु तर यत्रो गुच्चा कहाँ पो राख्ने होला भनेर तलको सरदम बचाउन भन्दा पनि इजारभरि गोलो पारेर गुच्चा सजाउन पाइने लोभले कट्टुको साथ छोड्दिन थिए । ५ वर्ष पुगेर ६ लागि सकेको थिएँ होला सायद, किनभने बाटोमा म जत्रै उमेर भएकाहरू हातमा सिलेट र पाटी चेप्न छोडेर किताब काखी मुनी च्यापेर हिँडेको देख्थे । स्कुल नगए पनि यो फलाने सर हो यो चिलना सर हो यो प्रधानपञ्च हो यो उपप्रधान हो भन्ने चाही राम्ररी चिन्थे । किनभने जहाँ उहाँहरूको दैनिक उठबस हुन्थ्यो, त्यो हाम्रै टोलमा हुन्थ्यो । उहाँहरूको जमघटमा वरिपरि टोलका बुढापाकाहरू, युवाहरू अनि पछिल्तिर छाया पट्टी हामी केटाकेटी हाँसो मजाक सुनेर बस्थ्यौँ । होचो होचो कद, बाग्मतीमा बाढी आएको छाल जस्तो अग्लो होचो कपाल, चेक सर्ट अनि बेली बटम पाइन्ट आहा अहिलेको भाषामा क्या हयान्डसम । उहाँ बोलेपछि प्रत्युत्तरमा हाँसोले गाउँ नै थर्किन्थ्यो । कुनै बेला बिरामी भएर घरमा सुतिरहेको अवस्थामा पनि गाउँमा हाँसोको गुन्जनले मनमनै सरहरु आउनु भएछ भनेर अस्ति अस्तिका बैठकका कुरा सम्झेर भुसुक्कै निदाउँथे ।

सूर्य अस्त नेपाल मस्त झैँ थियो हाम्रो टोल । साँझ परेपछि सबै जसो दारुपानीमा मस्त । सधैँ रमाइलो मानौँ सधैँ कोजाग्रत पूर्णिमाको रात । कोही कुस्ती खेल्छन् त कोही मादलको तालमा कम्मर मर्काउँछन् । क्या मज्जा थियो मेरो जिन्दगी पनि । दिउसो भरि कम्मरमा गुच्चा, घाटीमा गुलेली लिएर खेल्दै हिडयो । रातपरेपछि हाँसी मजाक, उछलकुद अहा……. ।

जेठी बज्यै यो चुरोट सल्काइदिनु रे … कसको चुरोट लिएर आयो यसले । सरको, मैले सोझो उत्तर दिएँ । मेरो चुरोट हो बज्यै भन्दै सर पनि त्यही बज्यैले रक्सी पार्ने ठाउँमा नै आउनु भो ।
ए डम्बर पो । बज्यैले भनिन् ।
अनि मेरो हातबाट चुरोट लिएर अगुल्टो उठाएर मुखमा चेपेको चुरोट झोस्नु भो अनि एक सर्को तानेर धुवाँ फ्याल्दै म तिर हेरेर …
के नाम हो तिम्रो ? स्कुल जान्छौ कि जाँदैनौ ?

महेश । बोली भन्दा धेरै मुन्टो हल्लाएर नै Yes र No को उत्तर दिएँ ।
यत्रो भइसकेछन, भोलि देखि स्कुल आउनु भनेर जेठी बज्यैलाई अर्को एउटा चुरोट थमाउदै सर बाहिर निस्कनु भयो र सिधै स्कुल तर्फ लाग्नुभयो ।
बल्ल त्यो बेलीबटम हिरो सर त डम्बर सर पो हुनुहूदोरहेछ भन्ने थाह पाएँ ।
म दौडिदै घर पूगे अनि आमालाई भनेँ । आमा म पनि स्कुल जान्छु ।
पख्न धान बेचेर तेरो नाम लेखाइदिनु हुन्छ होला बाले ।
खै दादाहरूको पनि फिस तिर्न सकेको छैन । स्कुलबाट निकाली दिने पो हो कि । आमा फत्फताउदै जुठेल्नुतिर लाग्नुभयो अनि म गुच्चा छिड.छिड.पार्दै पुनः नित्य कर्मतिर लागे ।

मेरा टोलका मेरो उमेर समूहका केटाकेटीहरू स्कुल नगएका हुनाले पनि मलाई पढाइतिर खासै दिलचस्पी थिएन । मेरा दुई दाइहरूले पनि स्कुल जान आजकाल छोडिसकेका थिए । खै स्कुलको फिस तिर्न नसकेकोले पढ्न छोडेको रे भन्थे कोही, कोही भन्थे नागेसर ( नागेश्वर सर ) को पिटाइले । अव कुन कारणले हो उहाँहरूलाई थाह होला तर मलाई यति थाह थियो कि मलाई दूध दिने प्यारी कैली गाई बजार बेच्न लगेको त्यही स्कुलको फी तिर्न । तर त्यति बेला सम्म मेरा दुवै दाइहरू कक्षा चार र पाँचको सर्टिफिकेट निधारमा टाँसेर निस्की सकेका थिए ।

ओइ…मकैया ( मेरो बच्चाको मिल्ने साथी) खुसीले उफ्रँदै, डम्बर सरले त मलाई चिन्नु हुन्छ, मलाई स्कुल पढ्न पनि आउनु भन्नु भएको छ । भोलि देखि त म स्कुल जान्छु बरु हिँड तँ पनि ।
जान्न म त, तिमी नै जाऊ । उसले नाक खुम्च्यायो ।
भोलि पल्ट नै स्कुल जान तयार भएँ । टेरलिनको सर्ट, नाइलनको हाफ पाइन्ट (मेरो दसैँको लुगा) लाएर ७ बजे देखि नै एक जना दाइकोमा गएँ पाटी बोकेर ।
दाइ म पनि जान्छु स्कुल ।
उहाँले मलाई स्कुल सँगै लानु भयो र शिशु कक्षामा लगेर बसाइदिनु भयो ।

मसंंगै बस्ने साथीहरू मलाई त्यही भुइँमा छोडेर बर्सेनि अर्को कक्षा उक्लँदै थिए । अब त मलाई पनि एउटै कक्षामा धेरै वर्ष बस्दा बस्दा दिक्क लागेर एक दिन १ कक्षामा बस्न गएँ त्यहाँ मलाई शिशु कक्षाको विद्यार्थी पनि यहीँ आको छ, भनेर उदय भन्ने एक जना केटाले पोल लगायो सरलाई । सरले पनि मलाई केही नसोधी पुनः त्यही कक्षामा बस्नु नभए बाउलाई नाम लेखाउन भन्नु भनेर त्यही भुई देखाउनु भयो । म बाउलाई भन्न जानु भन्दा त मैले चिनेको मेरो डम्बर सरको मा जान्छु (मैले आत्म फैसला गरेँ) ।

त्यो भुईलाई फर्केर हेर्न मन पनि लागेन, सँगैको केटा बेन्चमा खुट्टा हल्लाएर बस्ने अनि म …. । मैले २ वर्षसम्म हाजिर नबोली बस्दा पनि सहेर बसेँ । सबै पालैपालो एस सर । एस सर भन्दा आफूलाई पनि एस सर भन्न मन लाग्थ्यो तर कहिले पाइन । र मैले पनि यसको गुनासो कसैलाई गरिन । म ठुलो साहस बटुलेर अफिस कोठातिर हेरेँ । सरलाई देखिन अनि निरीह अनुहार लिएर कक्षा कोठा र अफिस कोठाको दोसाँधमा सिलेट चेपेर उभिइरहे ।
किन बाहिर उभिएको कक्षा कोठामा नगएर ? ( एक सिर्कना खुट्टामा परेपछि )
(रुँदै )मलाई कलासमा बस्न दिँदैन ।

कसले बस्न दिँदैन ? पढ्न मन लागेन अनि । मेरो उत्तर नआउँदै दनादन एक दुई अर्को सिर्कना थपी हाले म रोएको सुनेर डम्बर सर नजिक आउनुभयो अनि मलाई अफिस कोठामा लानुभयो र कारण सोध्नुभयो । मेरो व्यथा सुनेपछि सरले १ कक्षाको किताब लिएर आउनुभयो अनि पढ्न लगाउनुभयो । मैले सबै एकै सासमा पढेर सुनाएँ अनि फेरी दुनोट सोध्नुभयो मैले आँखा चिम्ल्ोर १३ कान सम्म धारा प्रवाह सुनाए पछि । ल बाजे त तगडा रहिछ भनेर हेडसर सँग के सोध्नुभयो कुन्नि एउटा ठुलो किताब लिएर आउनु भयो अनि मेरो नाम बा को नाम लेख्नु भयो ।
कहिले जन्मेको थाह छ ?

मलाई मुखाग्र थियो जन्म मिति । उहाँकै अभिभावकत्वमा मेरो नाम कक्षा १ मा लेखियो । हाम्रा महेन्द्र माला भाग एक, हाम्रो गणित भाग एक, यी दुई किताबहरू काखी च्यापेर हँसिलो मुद्रामा कक्षामा प्रवेश गरे ।

मलाई अगि बस्न नदेको होइन तैँले ? तै केटाको छेउमा बसेर प्रतिशोधको ज्वाला शान्त पारेँ । अव बल्ल रोल नम्बर ३२ भन्दा एस सर भन्ने अवसर पाएकोमा आफूलाई ‘संसार जितेको अनुभव भयो । पढेर के हुने हो मलाई थाहा थिएन तर मलाई यति थाहा थियो जति धेरै पढ्यो त्यति रोल नम्बर पहिले थोरै हुन्छ अनि सुरुमै यस सर भन्न पाइन्छ भन्ने । मलाई लगभग आधा भन्दा बढी पाठहरू कण्ठस्थ थिए त्यसैले मलाई कक्षा १ पढ्न रमाइलो लाग्दा लाग्दै कक्षा १ ले कक्षाको दोस्रो मेहनती विद्यार्थीको प्रमाणपत्र दिएर बिदा गर्‍यो ।

हाम्रो टोल (जैसी टोल) हजरियाको मुटु थियो । शिक्षक, प्रहरी, व्यापारी, सरकारी कर्मचारी, गाउँ पञ्चायतका पदाधिकारी सबैको मुख्य जमघट थलो नै थियो हाम्रो टोल । आँधी, हुरी बतास, झरी बाहेक बर्षेै भरि बैठकले निरन्तरता पाउँथ्यो । त्यो बैठक कुनै शासन सत्ताको पक्ष, नीति नियमको विरुद्ध अथवा सामाजिक विकास भन्दा पनि स्वच्छ मनोरञ्जनमा प्रतिबिम्बित हुन्थ्यो । दिनभरि अर्काको खेतमा काम गर्ने खेताला,हली देखि लिएर आआफ्ना कामबाट थकित अनुहार लिएर सभामा आएका भोलिको दिन दुःख बिर्सेर मज्जाले रमाउँथे अनि थकानलाई हाँसोमा उडाई भोलिलाई पूनर्बल लिएर बिदा हुन्थे र ती सबै कार्यक्रमका प्रमुख पात्र भने डम्बर सर नै हुनुहुन्थ्यो । आफूभन्दा ठुला र बलिया देखिने एक जनालाई झिँगे दाउ लाएर पछारे पछि त झन् उहाँमा सबै कलाकौशलको सङ्गम नै रहेछ भन्ने लाग्यो । वाकपटुता, योग्य एवम् कर्मठ शिक्षक, हास्य कलाकार, नाटककार, नाट्य निर्देशक तथा खेल, सबै विधामा उत्तिकै पोख्त र निपुर्ण कहलिनु भएको थियो । मलाई उहाँको त्यो क्रियाकलाप अनि सबैको उहाँप्रतिको वाहवाहीले मेरो माया अनि आदर उहाँप्रति झन् झन् प्रगाढ बन्दै गयो ।

बाजे ….., खोइ घरमा को हुनुहुन्छ ? डम्बर सरले मेरो बालाई इंकित गरेर बोलाको सुनेर मलाई डर लाग्यो । कतै त्यही स्कुलको शुल्कःको कुरा त होइन कतै ।

बा त खेतमा जानु भएको छ, आमा बारीमा साग टिप्दै हुनुहुन्छ । मैले नमस्ते सर सहितको वाक्य फुटाएँ ।
आमालाई बोलाउत ।
दौडदै घरपछाडिको बारीमा
आमा….., डम्बर सर आउनु भएको छ । आमालाई साउती मार्दै भने । खै, हिडनु न ।
भोलि देखि महेशलाई मेरो घर ट्युसन पढ्न पठाईदिनु है ।
आमाले हाँ या ना केही भन्न सक्नु भएन ।
पैसा तिर्न पर्दैन …. । सरले मुस्कुराउँदै भन्नुभयो ।
भोलि देखि नै आउनु है । सर आफ्नो नियमित साँझको बैठक स्थलतिर लाग्नु भयो ।

म मेरो परिवारीक स्थितिप्रति विज्ञ हुँदै थिएँ । गाउँमा बसेर गोठमा गाई नहुनु । मुनी मुनी भन्दै खेल्ने पाठाहरू खोरमा नहुनु । किसानको आँगनमा पराल कुइनो नदेखिनु , घरमा झ्याल र ढोकाको अवशेष नरहनुले के गरिबीको परिभाषा दिँदैन र ? आँगमा कपडा भन्दा धेरै धागो देखिनुले अभावको पराकाष्ठालाई सप्रसंग व्याख्या गर्दैन र ? जनावरहरू त आफ्ना अभावता अनि निरीहपनप्रति सचेत हुन्छन् भने म त एक विवेकशील प्राणी ।

म विद्यालयको त नियमित विद्यार्थी छँदै थिएँ तर ट्युसन पनि कहिले अनुपस्थित भएको मलाई याद छैन । पातलो खादको प्लास्टिकको बोराको बिचमा आफ्नो किताबलाई राखेर किताबकै आकारमा पट्याएर ट्युसन जानुको मज्जा नै विशेष थियो । अहिले पनि राम्रो प्लास्टिकको बोरा देख्ने बितिक्कै लोभ लाग्छ । सरको सधैँको एउटै वाक्य जा जा केटाकेटी ले छुट्टीको घण्टीको प्रतिनिधित्व गर्थ्यो । विद्यालयमा दिनभरिमा एक घण्टी सर सँगको पढाई हामीलाई निकै कम लाग्थ्यो । कक्षामा सधैँ कमजोर र अल्छी देखिने विद्यार्थीहरू पनि उहाँको घण्टीमा ट्यालेन्ट विद्यार्थीहरू सरह सक्रिय र फुर्तिला देखिन्थे । कक्षा तीन देखि मैले मेरो पूर्व दोस्रो स्थानलाई उछिन्दै प्रथम स्थान ओगट्न सफल हुँदै गएँ । प्रत्येक वर्ष अपवाद बाहेक पौष १४ गते अन्तिम परीक्षाको परिणाम घोषणा हुन्थ्यो । कक्षा १ बाट प्रथम, द्वितीय, तृतीय, पास अनि प्रोमोटेड भन्दै नतिजा सार्वजनिक गरिन्थ्यो । उहाँको नतिजा वाचनको कौशलताले सयौँ अभिभावक विद्यार्थी तथा विशिष्ट व्यक्तित्वहरूको ध्यान विकेन्द्रित हुने क्षणभर अवसर पाउँदैनथ्यो । यदि तपाई पाठक पनि यही विद्यालयको विद्यार्थी हुनुहुन्थ्यो भने म ठोकुवाका साथ भन्न सक्छु यत्ति भन्दा त त्यो दृश्य तपाइको मानसपटलमा पुनराबृत भएको नहोस् ।

कक्षा सँगसँगै किताब,कपीको सङ्ख्या पनि बढ्दै गयो । दयनीय आर्थिक अवस्थाका कारण कक्षा ४ देखि माथिको पढाई मेरो लागि कठिन काँडे भीर जस्तो थियो । मासिक शुल्क, कपी, कलम, मसी । यी मेरा आधारभूत कुराहरू थिए । घरमा बालाई म मेरो कारणले बोझ थप्न चाहन्थेँ । मान्छे बहुलाउन कुनै एउटा समस्या काफी हुन्छ तर दर्जनौँ समस्याबाट पीडित मेरा बाउलाई एक चिम्टी पनि तौल थप्न चाहन्न थेँ तर पनि म बालक हुनुको विवशता, केही आर्थिक बोझ बनिदिएँ । मैले ट्युसनमा लेख्ने कपी नहुँदा मेरो प्यारो डम्बर सरले विद्यालयमा फाली राखेका उत्तर पुस्तिकाको अन्तिम पृष्ठ च्यातेर भोलि आमालाई भनेर सिलाएर कपी बनाउनु है सरको सहानुभूति थियो म प्रति । कक्षा ५ को वार्षिक परीक्षामा विद्यालय प्रथम अनि नियमित ,अनुशासित, मेहनती तथा जेहेन्दार विद्यार्थीको अग्र सूचिमा परेपछि त मेरो उज्ज्वल भविष्यको चित्रण गर्नेको कमी भएन । यसपालि (२०४५)त पुरस्कार थाप्न मलाई एक घण्टा मञ्चमै बस्नु परेको थियो ।

साह्रै मेहनती विद्यार्थी अव भने यसले केही गर्छ । यस्तो वाहवाही आफ्नै कानले सुन्न पाउँदा कसको मन हर्षित नहोला । रेसकोर्सका घोडालाई स्याबास भनेर धाप मार्दा दुई कदम अझ बढी छलाङ मार्छ भने म संसार हाँक गर्न सक्ने कर्मठ मान्छे । यी स्याबासीले मेरो महत्वकांक्षालाई अझ बढी प्रगाढ बनाउँदै लग्यो । यतिखेर सम्म म डम्बर सरको Pure चेला भनेर चर्चित भई सकेको थिएँ । त्यसो त अरू गुरुहरू मन नपर्ने होइनन् तर डम्बर सर मेरो Best Teacher भन्न चाही कतै चुकिन । विभिन्न अवसर पारेर गाउँमा प्रत्येक साल नाटक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिथ्यो । नाट्य लेखन, निर्देशन अनि हास्य प्रहसनले उहाँ लाई जिल्ला मै परिचित गराएको थियो । दुई दिनमा लेख्नु भएको मंगलीको भाग्य र टुहुरोको दिन फर्किनेछ, यो नाटकले साह्रै लोकप्रियता कमाएको थियो । टुहुरोको दिन फर्कनेछ नाटक हेर्दा दर्शकहरू आँखामा आँसु लिएर पनि पुनः दोहोर्‍याउनु पर्ने हुटिङ. गरेका थिए । हरिवंश र मदनकृष्णको जोडी भन्दा चर्चित थियो, डम्बर सर र डिल्ली सरको जोडी । अव त के भनेर हँसाउने होला र, सबै हँसाउने कुरा त सकी सक्यो भन्यो सरको मञ्च प्रवेश पछि त मुख हात अनि पेटको exercise नै हुन्थ्यो । हुरुक्कै पार्छ है एल्ले पनि भिडको बिचबाट जेठी बज्यैले खित्का छोड्दै भन्नु भयो ।

सरले बाह्रखरी देखि कक्षा ७ सम्मका विद्यार्थी पढाउने गर्नु हुन्थ्यो तर म कक्षा ८ पढ्दा सम्म पनि उहाँसँग ट्युसन पढ्न गईरहेँ । एक पटकमा ३० देखि ३५ जना सम्मको झुन्ड हुन्थ्यो ट्युसनमा ।

के सिक्छन् ? कसरी पढाउँछ कुन्नि यत्रो विद्यार्थीलाई ….. । छिमेकी माइला बाजेले केटाकेटीको हुल देखेर भन्नुभयो । यो भनेर उहाँले सरको अध्यापनलाई under estimate र dominate गर्न खोज्नु भएको थिएन । किनभने उहाँ कै बहुसङ्ख्यक टयुसनिया विद्यार्थी कक्षाका पहिला, दोस्रा र तेस्रा हुने गर्थे । यो त बाजेले उहाँको गुणको तारिफ गर्नु भएको थियो आफ्नो भाषामा ।

सरले हिजो बजारबाट तरकारी ल्याउनु भएन ? बिहानको खाना पकाउने बेलामा म्याडमले व्यङ्ग गर्दै सोध्नुभएको थियो । सरले यसको उत्तर दिन उचित ठान्नु भएनछ क्यारे चुपचाप अर्को विद्यार्थीको कपी चेक गर्न लाग्नु भयो । सायद उहाँलाई थाह थियो यो प्रश्न होइन भन्ने ।
ज्हिले पनि त्यस्तै, कुनै विद्यार्थीको हातमा पठाइदिएको भए नि त हुन्थ्यो अव यही गुन्द्रुकको पकाइदिन्छु । म्याडम अलि जङ्गिनु भयो ।
त्यही गुन्द्रुक खानु मन लागेर त हो नि । सरले हाँस्दै भन्नु भयो ।
के भएको इन्दिरा ? सरको माइली छोरी यानिकि मेरो Class mate सँग जिज्ञासा राखे ।
हेर न बुवाले जहिले नि बजारबाट तरकारी त ल्याउनु हुन्छ तर घरमा आई पुग्दा सम्म त्यसको प्रमाण भन्दा बाहेक केही रहँदैन । हिजो राती ए इन्दिरा यो तरकारी राख भनेर एउटा लगभग रित्तो जस्तै एउटा झोला दिनुभयो । ममी हामी सबै हास्यौं ।
राख भनेको भोलि तेरो ममीले गाली गर्छे तरकारी किन न ल्याएको भनेर । लरखरियको आवाजमा बुवाले भन्नुभयो ।
तर थाह छ ३ वटा आलु १ वटा गोलभेँडा र भेट्नो मात्र झोला भित्र अनि पुरै शरीर बाहिर निस्केको एउटा भाण्टा थियो झोलामा हे हे हे हाँसिन फेरि इन्दिरा हिजो रातीको घटनाको स्मरण गर्दै ।

उ माओवादीका अध्यक्ष चिल्लो कारमा गए, माधव नेपाल । राजेश हमाल मर्सिडिजमा सरर्र हुइँकिए । राजेन्द्र खेतानको पजेरोले धुलो उडाउँदै छेवैबाट हुइँकियो । बाराक ओबामा, डेभिड क्यामरुन, शाहरुख, सलमान, ऐश्वर्या यिनलाई मात्र देख्छु । संसार यिनीहरूकै रहिछ । म तुच्छ निसार, निकम्मा अस्तित्व विहीन मान्छे । म आफूलाई शून्य भन्दा पनि सानो देख्छु भनौँ देख्दिन । तर जब रक्सी पिउँछु म शून्यता वा जिरो भन्दा माथि पाउँछु । आफ्नो गुमेको स्तित्व अनि म महेश देख्छु मान्छेहरूको भिडमा । यो बाटो कसैको होइन, मेरो हो । यो आकाश, धर्ती, पानी सारा ब्रह्माण्ड नै मेरो हो । चारैतिर महेश महेश । खुसी लाग्छ केही क्षण भए पनि मैले मेरो जिन्दगी मेरो लागि बाच्न पाएको छु त्यसैले रक्सी मेरो सारा गम भुलाउने गंगाजल हो भन्छु । यो मेरो साधारण लजिक रक्सी पिउनुको । मैले चिने देखि सरले रक्सी पिउने गर्नु हुन्थ्यो तर किन पिउनु गम भुलाउन या मेरो जस्तै अस्तित्व पाउन मैले थाहा पाउन सकिन । अक्सर रक्सीले मानिसलाई खलपात्र बनाउँछ तर वहाँलाई कोमल, मित्रवत्, सरल अनि हास्य पात्र बनाउँथ्यो । रक्सी पिएर कक्षामा पढाएको, सहपाठीहरूसँग कुस्ती खेलेको, नसाको झोँकमा विद्यार्थी कुटेको, छिमेकीसँग झगडा गरेको मलाई अझसम्म थाह छैन । रक्सीले पनि सायद माया गर्थ्यो होला र त रक्सीको कारणले कहिंकतै अपजस खेप्नु परेन । मलाई सरले गाली गर्नु भएको हेक्का आयो । हामीले टेस्ट परीक्षा दिएका थियौँ । परीक्षा दिएको १० दिन देखि १५ दिन भित्र नतिजा सार्वजनिक भई सक्ने चलन थियो । सो समयमा नतिजा प्रकाशन नभएपछि झन् मनमा जिज्ञासा जाग्यो । भोलि, पर्सी भन्दा भन्दै दोस्रो हप्ता समेत बित्यो तर रिजल्ट प्रकाशन भएन । कति प्रतिशत अङ्क आयो होला । फेल पो भइयो कि, कौतुहलताले सीमा नाग्न थालिसकेको थियो । तर नतिजाको नाम निशान थिएन । त्यसैले एक दिन म, रमेश वाग्ले अनि बालेश्बर महतो (मेरा सहपाठीहरू) ले बजारको दिन पारेर नक्कली नतिजा सार्वजनिक गर्‍यौँ । लौकाको नक्कली स्कुलको छाप बनाउने काम बालेश्वरले गर्‍यो अनि दिलबहादुर सरको अक्षर बनाउने र हेडसरको दस्तखत मिलाउने काम मैले गरे र नजिकैको विद्यार्थीलाई फेल पार्दा चाडै प्रचार हुन्छ र हाम्रो यस कार्यले सम्बन्धित पक्षको ध्यानाकर्षण हुन्छ भन्ने अभिप्रायले फेल बनाईदियौं । नभन्दै यो समाचारले आगोको लप्काले मट्टितेल भेटेजस्तो सनसनी फैलियो । विद्यालय सञ्चालक समिति अध्यक्षले मलाई जानकारी नै नदिई नतिजा प्रकाशन गरेकोमा हेडसर सँग भनाभन समेत भएछ । राम्रा विद्यार्थीहरू फेलको खबरले घरमा रुवाबासी चलेछ । भोलि पल्ट हेडसर आएर तत्काल बैठक बसेर त्यो कार्यको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यो कुरा एक कान दुई कान मैदान भने झैँ डम्बर सरले पनि थाह पाउनुभयो र मलाई तिमीले यस्तो पनि गर्न सक्छौ मैले सोच्न सकेको पनि छैन । अनुशासन विहीन मान्छेले जीवनमा केही गर्न सक्दैन । मैले तिम्रो उज्ज्वल भविष्यको लागि सधैँ हात दिएको छु । मेरो लागि भए पनि यस्तो गलत कार्य कहिल्यै नगर्नु ……… भनेर हिडनु भयो ।

मैले आँखा जमिन मुनीबाट माथि उठाउन सकिन । म सँगैका साथीहरू रक्सी खाएर मातेर हिडदा, ओठमा सुर्ती चेपेर कक्षाको भित्तामा थुक्दा । अपशब्द बोल्दा पनि कसैलाई त्यस्तरी गाली गर्नु भएन तर मलाई जावो यती सानो कुरामा साथीभाइको अगाडि बेइज्जत गर्नु भयो भन्ने लाग्यो । तर एकै छिन घोत्लिएँ यो त गाली होइन म प्रतिको चिन्ता थियो । मेरो गन्तब्यपथको खबरदारी थियो । कसैलाई केही नभनी मलाई रोष प्रकट गर्नु, हाम्रो बाल्यदेखिको वर्ग सम्बन्ध थियो अनि गरिबी प्रति दुस्मनी । मानव मानवबिचको स्नेह र कर्तव्यपरायणता । संसारबाट गरिबी उन्मुलन गर्ने उहाँको सोच थियो र सायद मै बाट सुरुवात थियो । एउटा अँध्यारो कोठालाई उज्यालो बनाउन एउटा टुकी काफी हुन्छ त्यसैले उहाँ मलाई मेरो परिवारको चम्किलो टुकी भएको हेर्न चाहनु हुन्थ्यो । तर यो गरिबी मेरो वंशाणुगत थियो । सानै देखि मेरो मस्तिष्कमा दाग लागिसकेको थियो र उमेर सँगसँगै यसले आफ्नो क्षेत्रफल पनि बढाएको थियो । अध्ययन भन्दा पारिवारिक समस्या समाधानमा आफ्नो समय खर्चिने गर्थेँ । मेरो अध्ययन दिनानुदिन गौण बन्दै गइरहेको थियो । अन्तन्तोगोत्वा एस.एल.सी. मा द्वितीय श्रेणीमा उत्तीर्ण भएँ । मेरो धेरै सपनाहरू तुहिएर झरे । केही कल्पनाहरू पछ्याउँदै सफलता शिखरहरू चढ्दै गएँ तर समयको बहावसँगै अझ बढ्दै अनि झाँगिँदै गएको गरिबिलाई ती सानातिना सफलताले थोरै पनि घटाउन सकिन ।

समयका विभिन्न आरोह अवरोहलाई पार गर्दै जीवन घस्रँदै थियो । म यो वंशाणुगत रोगको उपचार गर्न अहोरात्र परिश्रम गरिरहेँ तर The gods too are fond of a joke झैँ भगवानले आफ्नो मजाक गर्ने शौख मैसँग पूरा गर्दैछन । त्यही रोग मेरो भावी सन्ततिमा सक्रमण होला भनेर बिहे देखि ठुलो डर लाग्थ्यो । केही दिएर गरिबी निदान गर्न नसके पनि, कसैलाई गरिबी दिएर जान्न भन्ने मेरो सोझो समाधान थियो ।
डम्बर सर साहै्र बिरामी हुनुभएको छ नि नेपालबाट फोन आयो ।

साधारण बिरामी कि कस्तो?
होइन, होइन साह्रै सिकिस्त हुनुहुन्छ । मेडिकल कलेजमा आई.सी.यु मा राखेको छ । वाक्य बसिसकेको छ । फेसबुक हेर्नु न फोटो पनि हालेको छ ।

यती सुनुन्जेल मेरा मस्तिष्कले अतीत अगाडि ल्याएर उभ्याई दिई सकेको थियो । त्यो पेट मिचिमिची हँसाएको नाटकको क्षण, त्यो जाजा केटाकेटीरूपी घण्टी, त्यो बैठक स्थलको उज्यालो द्विप, सधैँ फूल झैँ मुस्कुराई रहने मेरो डम्बर सरको यस्तो भयावह दृश्य मुखमा पाइप अनि अक्सिनको नली । यसले अब बोल्न मनाही छ को सङ्केत राखिरहेथ्यो । अव सकियो तिम्रो सरको कला, हास्य विधा तस्बिरले मलाई भनिरहेथ्यो । सरले किन यत्रो लामो समय सम्म रक्सी पिई रहनु भयो ? के थियो त्यस्तो पिडा जसलाई सरले हाँसी हाँसी रक्सीको प्याला र चुस्कीमा दबाएर राख्नुभयो । मेरो आँखाबाट आँसु मात्र हैन मन भक्कानिएर आयो, ओठ बाङ्गिएर कन्टेल नै भएन र घुक्क आवाजका साथ ओछ्यानमा घोप्टो परेँ । मैले मेरो गुरु दक्षिणा केही दिन सकिन । न त मेरो प्रगतिले सन्तुष्टि नै दिन सके न कुनै भौतिक सुख । केही गर्न सकिन ..केही गर्न सकिन … यो भारी मन लिएर सरको सम्झनामा दुई अँजुली जल अर्पण गर्दै सरको आत्माको चीर सान्तीको कामना गरे ।

प्रतिक्रिया