अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

गणतन्त्र

महेश बराल २०७९ असार ३ गते ८:३३ मा प्रकाशित

‘बा’ अब हामीले जगत साहुकोमा दिनरात पसिना बगाउनु पर्दैन रे । जगत महाजनको छोराछोरीसँगै हामी पनि पढ्न स्कुल जान पाइन्छ रे । हाम्रो आवाज पनि सरकारले सुन्छ रे । हामी त जनताको छोरा रे । राजा र हामी त बराबरी रे । अझ हामी नै माथि रे ।जनता ठुलो ।
जनता जिन्दाबाद !
जनता जिन्दाबाद !!
गणतन्त्र जिन्दाबाद !!!

हामी त अब हाम्रो सरकार भेट्न काठमान्डु नि जानू पर्दैन रे । सिंहदरबार पनि हाम्रै गाउँसम्म आउँछ रे ।
बा ! अब त हामी सच्चै ठुला मान्छे भयौ है?
बा! हामी त राजा भन्दा पनि ठुला है?

जाडो महिनामा पनि निथ्रुक्क भिजेर कराउँदै थियो हर्के ‘बा’ को अगाडी । सदरमुकामबाट एकै सासमा बुर्कुसी मारेर आइ पुगेको हर्के, ‘बा’ लाई सन्देश सुनाउन ।
‘बा’ ले सुदिन सम्झे । अनि गहभरि आँसु पारे ।
डोको, नाम्लो अगेनोमा हाले ।
पटपटी फुटेको कत्ले खुट्टामा, चप्पल सम्झे ।
नाम्लो अड्याउने अभागी खप्परमा, पूर्णिमाको जून सम्झे ।
डोकोको भार मात्र अड्याउने ढाडलाई, देशको भार बोक्ने मेरुदण्ड सम्झे ।

अन्ततोगत्वा, बल्ल देशले मलाइ खोज्यो अनि मैले देश भेटेँ । ‘बा’ उफ्रिए । तीन हात उफ्रिए । गाउँ पुरै चक्कर मारे । गणतन्त्रको नारा घन्काउँदै हिँडे । अनि त्यो गणतन्त्र मनमा रोपे । रोपेको वृक्षले फल दिन नपाउँदै ‘बा’ साह्रै बिरामी पर्छन् । हर्के ‘बा’ को छेवैमा बस्छ । केही हुन्न ‘बा’ तिमिलाई । (हर्के ढाडस दिन्छ )
हर्के ! मैले तिमिहरूलाई केही दिन सकिन । तँलाई राम्रो स्कुलमा पढाएर सरकारी जागिरे बनाउन मन थियो । घरको आँगन पोलेर तेरो बहिनीको बिहे गर्ने रहर थियो । आमाको मङ्गलसूत्र जगत साहुकोबाट फिर्ता ल्याइदिने ठुलो मनसुबा थियो । ( ‘बा’ गहभरि आँसु पार्छन् ) मलाइ किन बचायौ? अब, यो ऋण जगत साहुलाई कसले तिर्छ ? ( ‘बा’ फेरि मुर्छित हुन्छन् )

हुन पनि हो । गणतन्त्र आयो, अब राम्रो रोजगारी पाइन्छ । पढ्न लेख्न ठुला ठुला सहर जानू पर्दैन, सहुलियत शुल्कमा पढ्न पाइन्छ । उच नीच र असमानताको लोप हुनेछ । धनी गरिबको विभेदको अन्त हुनेछ भन्ने विश्वास थियो ‘बा’ को मनमा । तर झन् असमानता, गरिबी,शोषण, भ्रष्टाचार अनि परिवारवाद हाबी हुँदै गयो जसको सिधा मार ‘बा’ ले सहन गर्न सकेनन् फलस्वरूप विष सेवन नै ऋण मोक्षको उपाय रोजे । तर पुनः एक लाख तीस हजारको डिस्चार्ज बिल ‘बा’ को हातमा थमाइदिन्छ । बा त्यस विललाई एक टकले हेर्छन् अनि जगत साहुकै अनुहार प्रस्ट देख्छन् । ऋण तिर्न नसकेर मृत्यु रोजेका ‘बा’ ले, के त्यो अस्पतालको रकम तिर्नु अन्याय होइन त ? अझ प्रहरीले आत्महत्याको मुद्दा दायर गर्ने धम्की दिन्छ । कस्तो विडम्बना । जुन देशले आफ्ना नागरिकको गाँस, बास अनि कपासको ग्यारेन्टी गर्न सक्दैन । आत्महत्या गर्न विवश बनाउँछ अनि फेरि मर्न खोज्दा मर्न नि दिँदैन । यो तन्त्रले सायद यस्तै ललिपप देखाएर कत्ती ‘बा’ हरूलाई सयौँ पटक मृत्युको मुखमा पुर्‍याएका छन् । हर्के ! ए हर्के

ल्याइ दे ! मेरो डोको नाम्लो । ।
(‘बा’अस्पतालको शैयाबाटै चिच्याउँछन्)

‘बा’ शिरको टोपीले पसिना पुछ्दै, काँधमा नाम्लो बेरेर भारीको खोजीमा बजार पस्छन् ।

बरहथवा-२, हजरिया, सर्लाही