अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

पाँच मुक्तक (प्रणय दिवस विशेष )

नवराज न्यौपाने 'मौन' २०८० माघ २८ गते १५:४५ मा प्रकाशित

१)
एक्लै एक्लै जिएको छु ,आँसु सबै पिएको छु
मन फाट्दा सिएको छु,आशा नौलो लिएको छु
फड्को मार्दा जिन्दगीले,किन टाढा हुन्छ्यौ तिमी
आफू सधैंं मक्किएको छु, फूल गुलाबको दिएको छु ।

२)
आँसु रित्तिए पनि आँखा तिम्रै निम्ति रसाइरहेछ
हाँसो सिद्धिए पनि ओठ तिम्रै निम्ति मुस्काइरहेछ
ढाँटेको छैन कत्ति पनि ,मैले मेरो आत्मालाई
घाम छेकिए पनि आज प्रणयको जून उदाइरहेछ ।

३)
भावनाको छाल उर्लिए भने मेरो हृदयमा हलचल मच्चाइदिए हुन्छ
अन्योलमा छु म प्रिया,मेरो जीवनको ढोका घचघच्याइदिए हुन्छ
समय र परिस्थिति जे जस्तो भए पनि ए मेरी मायालु
हृदयका हरफहरू कहिल्यै पनि नसच्याइदिए हुन्छ ।

४)
जेसुकै भन, मेरा आँखाबाट झरिरहेका यी त दर्दका फोका हुन्
बुझेमा यी बूँद पवित्र छन् ,नबुझे यी त धोखा हुन्
अझै बुझ्न सके यी त हुन् मोतीका दाना जस्तै जस्तै
नबुझे त केवल यी त तातो पानीका थोपा हुन् ।

५)
असंख्य पीडा छन् , हृदयमा म लुकाउन सक्दिन
भेट हुँदा मनको गाँठो नि फुकाउन सक्दिन
तिमीले माया त मलाई पवित्र नै गरेकी थियौ
टाढा छु र त तत्काल मूल्य चुकाउन सक्दिन ।

मातातीर्थ, काठमाडौँ ।