अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०० | Colorodo: 11:15

नेपालका सरकारहरू

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ असोज १० गते २३:४७ मा प्रकाशित

मेरा कुराहरू अप्रिय लाग्लान् तर मलाई भन्न मन लाग्छ । यहाँ म केवल प्रथम जन आन्दोलन वि. स २०४६ पछिका सरकार हरूका बारेमा मात्रै कुरा गर्न गई रहेको छु । नेपाल वास्तवमै एउटा सानो तर सुन्दर राष्ट्र हो । नेपाल कहिल्यै पराधीन थिएन तर स्वाधीन पनि हुन सकेन । हामीले दुई किसिमको पराधीनता अद्य परिमित झेली रहेका छौँ ।

भौगोलिक रूपमा हामी स्वतन्त्र छौँ तर पनि पराधीन छौँ किनभने हाम्रो सरकार देश बाहिरबाट (पार्श्वपटबाट) निर्देशित अनि हामी नागरिकहरू सिंह दरबार र बालुवाटार बाट निर्देशित भयौँ असंवैधानिक तथा अप्रजातान्त्रिक तवर र तरिकाबाट ।

हात्ती आयो । हात्ती आयो फुस्सा ।
पहिलो जन आन्दोलन भयो । अत्यधिक खुसी र उत्साह थियो नागरिक हरूमा । मुष्टिमेय नेता, कार्यकर्ता, ठेकेदार , डन , आफन्त र आसे- पासे अनि चम्चे र धुपौरेहरू लाभान्वित भए । एउटा ब्याच पास भयो । अधिकांश जनता, नागरिक र मतदाताहरू सिर्फ श्रोता र दर्शक बने रेडियो, टेलिविज़न र आम सभाहरूमा ! उनीहरूको जीवनमा उन्नति प्रगति भएन बरु अधोगति भयो ।

दोस्रो जन आन्दोलन भयो । पुन: आशा र उत्साह पलायो तर पहिलो जन आन्दोलनभन्दा तुलनात्मक रूपमा कम । फेरि तिनै नेता, कार्यकर्ता, ठेकेदार, डन, आफन्त, आसे- पासे, अनि चम्चे र धुपौरेहरू लाभान्वित भए । यो समूहमा एउटै प्रवृत्तिका कतिपय नयाँहरूले पनि भाग पाए । दोस्रो ब्याच पनि पास भयो । सर्वसाधारणहरू पुन: उपेक्षित ।

बहु प्रतीक्षित संविधान बल्ल बल्ल दीर्घ म्यादी प्रसव पीडाबाट बन्यो । संविधान सभाबाट चुनाव भयो । के- के न हुन्छ भन्ने जनतामा सपनाका लड्डुहरू बाँडियो तर परिणाम शून्य ।

हो । प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र जे नाम दिएता पनि आखिर बालुवाटार र सिंहदरबारको पहुँच र प्रवेश बाहिरका मानिसहरूले यी कुनै पनि तन्त्र- मन्त्रको फल चाख्न पाएनन् बरु षड्यन्त्रको सिकार बन्दै गए ।

किनभने, प्रत्येक सरकारका पालामा ( अहिले पनि विद्यमान छ ) बालुवाटार, सिंहदरबार, मन्त्रालय र मन्त्री निवासका शक्ति केन्द्रहरूमा एउटा घेरा र रेखा हुन्छ । त्यो घेरा र रेखा भित्रका कतिपय व्यक्ति र मन्त्रालय भित्रका (कतिपय सचिवहरू पनि संलग्न छन् ) चतुर, धूर्त र शक्तिशाली मानिसहरूको दबदबा र बोल बाला हुन्छ ।

प्रधानमन्त्री र मन्त्रीहरू तिनीहरूको घेरा र परिवारवादको चपेटामा हुन्छन् । साथै, भारतीय दूतावास र अन्य वाह्यशक्तिको दबाब र नियन्त्रणमा हुन्छन् ! भारतीय दूतावास भित्र पनि एउटा विँग ( wing ) हुन्छ जसबाट नेपालका सरकारहरू निर्देशित हुन्छन् ।

हरेक पार्टीले सत्ता बाहिर हुँदा राष्ट्रवाद, जनवाद र विभिन्न तन्त्रहरूको कुरा गर्छन् तर सत्तामा गए पछि लाचार र पराधीन हुन्छन् । अहिले र अबको पाँच वर्ष नेकपा र नेपाली काँग्रेसका लागि अत्यन्त सुनौलो अवसर र समय रहेको छ । नेकपा भन्दा पनि नेपाली काँग्रेसका लागि भाग्योदयको घडी र मौका छ भने नेकपा तथा वर्तमान सरकारका लागि पंचवार्षिक परीक्षाको घडी छ । वर्तमान सरकारले निर्वाचनताका गरिएका वाचा र प्रतिबद्धता हरूलाई जनचाहना अनुरूप पुरा गर्नु पर्छ ।

नेपाली काँग्रेसले यो बेला संसद्मा प्रमुख प्रतिपक्षीको सन्तुलित भूमिका निर्वाह गर्नु पर्छ भने व्यापक प्रशिक्षण र सङ्गठन निर्माणमा लाग्नु पर्छ ।

(स्मरण रहोस्, नेपालका तथाकथित नकाबधारी र नामधारी प्रजातन्त्रवादी, गणतन्त्रवादी र लोकतन्त्रवादी नेताहरू भन्दा म कैयौँ गुणा बढी प्रजातन्त्रवादी छु किनभने मैले कहिल्यै पनि प्रजातन्त्रको दुरुपयोग र बलात्कार गरिन )

डा. दुर्गा दाहाल ( पूर्व नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षक, संस्थापक अध्यक्ष : नेपलिज डेमोक्रेटिक फोरम अमेरिका र अमेरिका जन सम्पर्क समिति उपाध्यक्ष )