अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 07:59

प्यारो चुँदी र गर्विलो अतीत

नवराज न्यौपाने 'मौन' २०७७ मंसिर ९ गते ९:०६ मा प्रकाशित

पहिले पहिले चुँदी खोलामा विमलनगर- डुम्रेदेखि मिर्लुङ -ज्यामरुकसम्म कतै पनि पुल थिएनन् । सबै ठाउँमा जँघार तर्नु पर्दथ्यो । वर्षा याममा चुँदी उर्लेर आउँथ्यो । डुम्रे ,बाङ्गेरह आदि ठाउँमा पैसा लिएर खोला तार्ने मान्छे बस्दथे । उनीहरूले मान्छे र सामान तारिदिन्थे । असार साउनमा विद्यालय बन्द हुने भएकोले साना विद्यर्थीहरुलाई केही राहतको अनुभव हुन्थ्यो । तर कहिलेकाहीँ वैशाख-जेठ र भदौ-असोजमा पनि बाढी आउँथ्यो र कपडा र किताब प्लास्टिकमा बन्द गरेर खोला तर्नु पर्दथ्यो ।

२०२९ सालको बाढीले गर्दा चुँदी खोलाले धेरै ठाउँमा बाटो बदलेको रहेछ । अधिकांश ठाउँमा खेतहरू बगरमा परिणत भएका रहेछन् । पछि खेत बिराउँदै जाँदा खेत राम्रो हुन पुगेका रहेछन् ।

ऊ बेलामा चुँदी खोलामा माछा प्रशस्त पाइन्थे । कुमालहरू दुवाली थापेर खुङ्गा , छित्री थापेर माछा मार्ने गर्दथे । साँझमा खुङ्गा, छित्री थापेर बिहान झिस्मिसेमा आएर झिक्थे र माछा लैजान्थे । खोलामा मात्रा होइन ,धान खेतमा पनि माछा प्रशस्तै पाइन्थे । खेतमा पानी लाउन जाँदा र खेत गोड्न जाँदा हामी माछा मारेर सेपाबगैंचा बजारमा बेच्ने गर्थ्यौँ । त्यस्तै विद्यालयमा हाफ छुट्टी हुँदा हामी चुँदीखोलामा पौडी खेल्न जान्थ्यौंं । पौडी खेलेको थाहा पाएर हामीले शिक्षकहरू र बाबा- आमाको गाली खानुपर्थ्यो । किनभने पौडी खेल्दा कतिपय व्यक्तिहरू डुबेर मरेका घटनाहरू पनि थिए । त्यस्तै एक्लै खोला तर्दा कति व्यक्तिहरू बगेर मरेका पनि थिए । तर पनि हामी लुकिछिपी रह छेउमा पौडी खेल्ने गर्थ्यौँ ।

चुँदी खोलामा ठाउँ ठाउँमा रहहरु हुन्थे । सिम्लेको रह, माझाको डिही रह , मिल मुनिको रह , बोक्से रह ,बाङ्गेरह आदि ठाउँमा हिउँदमा माछा मार्ने गरिन्थ्यो । खोलाछेउमा हुने पिर्ले झार कुटेर मसिनो बनाई रहमा घोलिन्थ्यो र माछा रन्थनिन्थे । अनि जाल ,धडिया ,बल्छी लगाएर माछा मार्ने गरिन्थ्यो । हामी साना विद्यार्थीहरू हातले नै छोपेर माछा मार्थ्यौँ र सेपाबगैंचा बजारमा बेचेर कापी कलम किन्थ्यौँ ।

डुम्रे-चन्द्रावती भानु मार्गको ट्र्याक खुलेको भए पनि प्राय: त्र्याक्टरहरु मात्र चल्थे । ती पनि ठाउँ ठाउँमा फस्थें । हामीहरू स्याउला, भुस, ढुङ्गा, माटो हालेर र ठेलेर निकाल्न सहयोग गर्थ्यौँ । हामी जिप र ट्र्याक्टरको पछिपछि दगुर्थ्यौँ । कहिलेकाहीँ हामीलाई चढ्न दिएर केही परसम्म पुर्‍याइदिन्थे ।

अहिलेको सेपाबगैंचामा ऊ बेला बजार सानो थियो । त्यहाँ आँपका रुखहरू धेरै थिए । २ वटा चौतारा र वर्,पीपल र समिका रुखहरू थिए । सेपिलो ठाउँमा भएको बगैँचा भएकोले सेपाको बगैँचा भनिएको रहेछ । त्यहाँ भएको महादेवको (शिवालय ) मन्दिरमा बेलाबेलामा पूजा लाग्थ्यो । सबैतिरका मान्छेहरू भेला हुन्थे । शिवलाल मामाको चिया पसलमा बुढापाकाहरूको भेटघाट हुन्थ्यो ,अहिलेसम्म त्यो क्रम चलिरहेकै छ ।

तीज र तिहारमा सेपाबगैंचा बजारमा घुइँचो हुन्थ्यो । लाखे नाच र रोपाइ जात्रा पनि निकालिन्थ्यो । हामी रुखमा चढेर रमाइलो हेर्ने गर्थ्यौँ । त्यो बेलाको रौनक अहिले देख्न गाह्रो हुँदै गएको छ ।

हामी पढ्ने चुँदीबेसी प्राविको आडमा अद्वैत संस्थाको सत्सङ्ग मन्दिर थियो । पाका व्यक्तिहरू त्यहाँ सत्सङ्ग गर्न आउँथे । म पनि फुर्सदमा सत्सङ्ग मन्दिरमा गएर डा क्षितीशचन्द्र चक्रवर्ती गुरुका किताबहरू पढ्ने गर्थेँ । पछि हाम्रै गाउँ आम डाँडामा पनि सत्सङ्ग मन्दिर खोलियो । पिताजी सत्सङ्गमा गहिरो रुचि राख्नुहुन्थ्यो । बेलाबेलामा नेपालभरिका विद्वानहरू आएर प्रवचन दिने गर्नुहुन्थ्यो । म पनि ध्यान दिएर सत्सँग सुन्ने गर्थेँ । अहिले पनि हरेक शनिवार त्यहाँ सत्सङ्ग हुने गर्दछ ।

हरेक मङ्गलवारको दिन वसन्तपुर थानीमाइको मन्दिरमा फूलको डोली लिएर जानेको ताती देखिन्थ्यो । हामीकती डोली लगिए भनेर गन्ने गर्थ्यौँ । त्यस्तै शैक्षिक सामाग्री किन्न गएको बेला कति गाडी पोखरा गए र कति गाडी काठमाडौँ गए भनेर गन्ने गर्थ्यौँ । अहिले त्यो सम्झदा हाँसो लागेर आउँछ ।

आमडाँडा हाम्रो घर नजिकको ‘आँपको ढुङ्गा’ मा हरेक एकादशीको दिन पुराण लगाउने गरिन्थ्यो । म पनि बिदाका दिनहरूमा पुराणका रोचक कथाहरू बडो ध्यान दिएर सुन्ने गर्दथेँ । पण्डित गुरुबाले बेला बेलामा ‘जय बोलिए भगवान् श्री कृष्ण की’ भन्नुहुन्थ्यो । हामी सबै मिलेर एकै स्वरमा ‘जय!’ भन्ने गर्थ्यौँ । सानो बालक भए पनि मलाई पुराणले लोभ्याएको थियो । एउटै ठुलो ढुङ्गाको एउटै चौतारो र छेउमा आँपको रुख भएकोले त्यसलाई ‘आँपको ढुङ्गा’ भनिएको हो । त्यहाँ विभिन्न विषयका बैठक, छलफल र कचहरी (वार्ड सभा) पनि हुन्थ्यो । म पनि बाबासित गएर त्यहाँ भएको बहस र विमर्श ध्यान दिएर सुन्ने गर्दथेँ ।

ऊ बेला खेतीपाती थोरै निमेक र धेरै पर्ममा चल्ने गर्दथ्यो । सबै जना मिलेर गीत गाउँदै खेतबारीमा काम गर्थे । त्यस्तै सबै मिलेर मल बोक्ने, दाउरा बोक्ने गर्दथे । हिउँदमा कोलमा उखु पेल्ने काम गरिन्थ्यो । रसेटोमा सबै जना जम्मा भएर आगो ताप्दै गफिन्थ्यौँ । त्यस्तै, तोरी, तिल पनि गाउकै कोलमा पेलिन्थ्यो । साँझ खाना खाएर नजिकको घरमा जम्मा भएर भलाकुसारी गरिन्थ्यो । समूहमा मिलेर दुना, टपरी लगाउने, बत्ती कात्ने, बाबियोको लरियो (गुन्द्री बुन्ने डोरी) बाट्ने, मकै छोडाउने आदि काम गरिन्थ्यो । अहिले आएर मान्छेहरू टिभी र मोबाइलमा भुल्ने गरेका छन् ।

बिदाको दिन हामीहरू खेततिर गाईबस्तु चराउन जान्थ्यौँ । खेत रोपेपछि भने बनमा लैजान्थ्यौँ । जहाँ गए पनि हामी समूहमा हुन्थ्यौ । बनबाट फर्कँदा हामी सालको पात टिपेर आउँथ्यौ । कहिलेकाहीँ बाघ ,चितुवा र स्यालले गाइ बाख्रा खाइदिने गर्थे । तर धेरैजसो हामी चनाखो भएर पछिपछि हिँड्ने गर्थ्यौँ ।

साउने संक्रन्तिदेखि तीजसम्म महिलाहरू प्रत्येक घरमा पालो गरेर १-२ घण्टा गीत गाउन भेला हुन्थे । त्यो दिनको लागि भनेर निबुवा , काँक्रो आदि फलफूल र खानेकुरा जोहो गरेर राखिएको हुन्थ्यो ।आमा, दिदी र बहिनीहरू मिलेर दुःख र विरहका गीत गाउँथे । साथै भगवानका गीतहरूले पनि वातावरण गुञ्जायमान हुन्थ्यो ।

दसैंं आउने बेलामा बाटोघाटो, पाटी पौवा, चौतारो, पधेरो सबैतिर सरसफाइ र मर्मत गरिन्थ्यो । अनि घरघरबाट पाट, बाबियो उठाएर लिङ्गे पिङ हालिन्थ्यो । त्यस्तै आम्डाँडाको चौतारो मुनि रोटेपिङ (चारपिर्के ) हालिन्थ्यो । अहिले त्यो ठाउँमा पानी ट्याङ्की रहेको छ ।

दसैंंको बेला हामी पिङमा झुम्मिएर बसे पनि असार साउनको साँझ बिहान भने हामी आमडाँडादेखि बारेपानी बगैँचासम्म आँप बटुल्न दगुर्थ्यौँ । पाकेका र पाक्न लागेका आँप उसिनेर गूदी निकालेर रोटी जस्तो बनाएर नाङ्लामा सुकाइन्थ्यो । जसलाई हामी माडा भन्थ्यौँ । त्यो माडा अहिले पाइने पाउ भन्दा निकै मिठो हुन्थ्यो । आँप धेरै भएको सानो डाँडा भएकोले हाम्रो गाउँको नाम नै आमडाँडा रहन गएको हो भनिन्छ ।

प्राथमिक तहमा भए पनि हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्थे । कहिले खेलकुद, कहिले हाजिरी जबाफ, कहिले गीत कविता र कहिले नाचगान प्रतियोगिताहरू हुन्थे । विद्यालयको वार्षिकोत्सवमा साँझमा नाटक र सांस्कृतिक कार्यक्रम पनि राखिएका हुन्थे । म पनि सकेसम्म सबै कार्यक्रमहरूमा सहभागी हुने प्रयास गर्थेँ ।

भानु जयन्तीमा ऊ बेला देश विदेशमा रहेका नेपाली भाषी साहित्यकारहरूको जमघट हुन्थ्यो । दिउसो कविता कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम राखिएको हुन्थ्यो । नाम चलेका कवि, गीतकार लगायतका साहित्यकारहरूलाई भेट्न पाउँदा खुसीको सीमा रहँदैनथ्यो । त्यसैबेलादेखिन मेरो मनमा साहित्यको गहिरो छाप परेको थियो ।

करिब चालीस वर्ष अघिका यी घटनाहरू अहिले नौला लाग्न सक्छन् । अहिले आएर कुनै चलन हराएका छन् भने कुनै चलनहरू कायमै रहेका छन् । आखिर परिवेश जे जस्तो भए पनि दसैंंको बेला अन्यत्र रहेका व्यक्तिहरू आफ्नो जन्मभूमि फर्कने गरेका छन् । आफ्ना आफन्त, नातागोता, इष्टमित्र, साथी सङ्गाती सबैलाई भेट्न अब दसैँ नै पर्खनुपर्ने बाध्यता रहेको छ । तर हामी ऊ बेलाको संसार र पर्यावरण अब आएर देख्न र भेट्न पाउने छैनौँ । जे भए पनि अतीतका ती दिनहरू सम्झदा मन रोमाञ्चित भएर आउँछ ।