अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

बेहाल

नवराज न्यौपाने 'मौन' २०८० माघ १ गते ११:५६ मा प्रकाशित

लघुकथा
शहीदगेटमा मातातीर्थ जाने बस कुरेर बस्दा अकस्मात् पुरानो साथी सुवर्णसित जम्काभेट भयो । ऊ पनि थानकोट जाने गाडी कुरेर बसेको रहेछ ।

‘ओहो ! ३५ वर्षपछि बल्ल भेट भइयो ! के छ हालखबर ?’ मैले हात मिलाउदै सोधें ।

‘के हुनु नि यार ! मेरो त बेहाल छ । ‘ उदाश हुँदै बोल्यो सुवर्ण । अनि हामी दुवै चन्द्रागिरि यातायातको बसमा चढ्यौं र अन्तिम सीटमा गएर बस्यौं ।

‘भन ,कस्तो बेहाल हो त ! अनि के गर्छौ नि अचेल ?’ मैले उत्सुक हुँदै सोधें ।

‘कलेज सकिएपछि १३ वर्ष इराक गएर आएँ । अनि आएर बिहेबारी गरें । तर श्रीमती गाउँमा बस्न मानिन । काठमाडौंमा कोठा लिएर बस्ने र उतै घर किन्ने भनेर हामी काठमाडौं आयौं । इराकबाट ल्याएको ५० लाख र गाउँको घरखेत बेछेको ५० लाख गरी १ करोड उसैको खतामा राख्ने भनेर जिद्धी गरी । मैले पनि त्यसैं गरिदिएँ । ‘ त्यसपछि ऊ अक्मकायो ।

‘राम्रै प्रगति गरिएछ त सुवर्णजी !’ मैले धाप मार्दै भनें ।

‘अनि मेरा दु:खका दिन शुरु भए । यति रकमले घर आउँदैन ,अझै कमाएर ल्याउनु भनी मलाई साउदी अरव पठाई । त्यहाबाट पनि १५ लाख पठाएँ । तर ‘ उसको गला अवरुद्ध भयो ।

‘अनि नर्सरी पढ्दै गरेको मेरो छोरो गाडीले किचेर मरेछ । साउदीबाट म आउँदा ऊ अर्कैसित हिडिसकिछ । ‘

‘पैसाको त माया मार्न सकिन्छ । फेरि कमाउन नि सकिन्छ । तर निराश हुन हुँदैन है! ‘मैले भनें ।

‘निराश यसकारण छु कि उसकै आग्रहमा मैले स्थायी बन्ध्याकरण गरेको थिएँ । भएन त बेहाल !’ उसले रुँलारुँला झै गरेर भन्यो ।

चुँदी, तनहुँ ।
हाल: मातातीर्थ, काठमाडौं ।