अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

गोठ

नवराज न्यौपाने 'मौन' २०८० असोज २० गते १३:५४ मा प्रकाशित

लघुकथा

झुमा गुम्बामा पूजापाठमा तल्लीन भइरहेको बेला उसलाई पल्लघरे दाइ आएर भने – ‘कपिल ! तिम्रा बा गोठमा बिरामी छन् । खानेकुरा पनि सकिएको छ रे , तिमीले पुर्‍याइदिनु है !’

ऊ हस्याङफस्याङ गर्दै घरमा पुगेर आमालाई भनी -‘आमा बा त बिरामी परेर सामान लिन आउन सकेनन् रे ! म सामान लिएर गोठमा पुगेर आउँछु है ! ‘

‘म पनि जान्छु नि नानी ! ‘आमाले भनिन् ।

अनि उसले काकाको घरबाट दुई वटा घोडा लिएर आई । एउटा घोडामा सामलतुमल लादियो । अर्को घोडामा आमाछोरी चढेर दुई घण्टाको उकालो यात्रापछि गोठमा पुगे ।

असोजको महिना भए पनि तीन हजार छ सय मिटर उचाइको यो खर्कमा चिसो निकै बढेको थियो । गोठ तल सार्ने बेला भएको थियो ।
उसको बालाई चिसो लागेर सामान्य ज्वरो आएको रहेछ । मेथी ज्वानो फुराएर बिरेनून मिसाएको तातोपानी खान दिएपछि अलि बिसेक भयो । अनि सबैले भटमास मिसाएको कोदोको खोले खाए । एक चक्की सिटामोल खान दिएपछि ज्वरो पनि हट्यो ।

‘नानी तिमी त झुमा बनेर गुम्बामा बसेकी मान्छे हौ । घर गृहस्थी , खेतबारी र गोठको काम तिमीले गर्नुहुन्न । हाम्रा पुर्खाले पुस्तौँदेखि गोठ राख्दै आएका हुन् । अब हामीपछि गोठमा बस्ने कोही छैन ।तिम्रो दाइ काठमाडौँमा दोकान खोलेर बसेको छ । अब चार वर्षभित्र सबै याकचौंरी ,भेडाच्याङ्ग्रा,घोडाखच्चड र झोपा बेचेर गाउँमा सानो होटेल खोलेर हामी बुढाबुढी गाउँमा नै बस्ने हो । तिमी गुम्बामा नै बस्नू है । झुमाले खेतबारी र गोठ हेर्ने काम गर्नुहुँदैन । ‘ बाले सुस्केरा हाले ।

हेर्दाहेर्दै हिउँ पर्न सुरु गर्‍यो । गोठ सार्ने काम गर्न आमा केही दिन गोठमा नै बस्ने भइन् । ऊ एउटा घोडा लिएर फर्की ।
भोलिपल्ट हेर्दा त गुम्बासम्म नै हिउँ परिसकेको थियो । उसलाई गोठ र आमाबाबुको चिन्ता लागेर आयो ।
अनि गुम्बाभित्र सरसफाइ गरेर दीप प्रज्वलन गरेर प्रार्थना गरी -‘हे बुद्ध भगवान् ! मेरा बाबाआमालाई केही पनि नहोस् । ‘

मातातीर्थ, काठमाडौँ