अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

पुरस्कार

नवराज न्यौपाने 'मौन' २०८० पुष १३ गते २१:०४ मा प्रकाशित

लघुकथा

“सर ,नमस्कार ! हाम्रो पब्लिकेशनको वार्षिकोत्सवमा मैले उत्कृष्ट रिपोर्टरको पुरस्कार पाएँ ।हजुरले हिमाली जिल्लाहरूको समाचार ,अन्तरवार्ता र विविध लेख रचना तयार पार्न मलाई धेरै सहयोग गर्नुभयो । कहिले झर्नुहुन्छ त तलतिर ? आउँदा भेट्नुहोला है !” फेसबुक मेसेन्जरमा पत्रकार बहिनीको म्यासेज आयो । “ल बधाई छ नानी ! म धेरै खुसी छु । “मैले जबाफ पठाएँ ।

हिउँ पर्न थालेपछि तल अर्थात् छिमेकी जिल्ला झरियो र उनलाई भेटियो । उनले क्याफेमा गएर कुरा गर्न खोजिन् । गाह्रो मानी मानी म उनीसँगै गएँ ।

‘सर ,तपाई त इन्जिनियर भएर पनि साहित्य र पत्रकारितामा यति राम्रो दखल राख्नुहुँदो रहेछ । अरू जिल्लामा पनि यो काम गर्नुभएको थियो ?’ उनले जिज्ञासा राखिन् ।

‘हो,मैले ताप्लेजुङदेखि दार्चुलासम्मका ९ जिल्लामा यस्तो काम गरिसकेको छु । इन्जिनियरिङ मेरो पेसा र पत्रकारिता मेरो रुचि हो । हाम्रो अफिसले ‘दुर्गम क्षेत्रको गतिविधि’ नामक त्रैमासिक बुलेटिन निकाल्छ । त्यस्तै ,वार्षिक रूपमा ‘सुगम बन्दै छन् दुर्गम भेगहरू’ नामक डकुमेन्ट्री फिल्म पनि बनाउने गर्छ । त्यो काम हामी आफैँ मिलेर गर्छौँ । अन्य संस्थाबाट भत्ता खाने गरी पत्रकार बन्न मिल्दैन । ‘ मैले भने ।
वेटरले रेन्बो ट्राउट माछा र हट लेमन लिएर आयो । एक छिन् सन्नाटा छायो । माछा खाइसकेपछि उनले झोलाबाट एउटा लक्जरी डायरी झिकेर दिँदै भनिन् ‘खोल्नुस् त सर यो डायरी !

डायरी खोल्नासाथ सङ्गीतको धुन् बज्यो -‘रेसम फिरिरि,रेसम फिरिरि,उडेर जाऊँ कि डाँडैमा भन्ज्याङ ।रेसम फिरिरि ।

डायरीमा लेखिएको थियो -परिश्रमी हातहरू कहिल्यै नथाकुन्।’ त्यो पढ्दा मेरा आँखा रसाए ।

उनले सोधिन् -‘के भयो सर ?’

मैले भने – मेरो एउटा मात्र हात छ ,केवल दाहिने हात । त्यही हातले धेरैलाई पुरस्कार दिलाएको छ ।

उनका आँखाबाट पनि बररर आँसु झर्न थाले ।