अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

मनकाे धोको

नवराज न्यौपाने 'मौन' २०७९ पुष २५ गते १०:२६ मा प्रकाशित

लघुकथा

चौध वर्षको अमेरिका बसाइपछि चित्रप्रसाद कविराजको नाति इन्द्रप्रसाद बाजेबज्यै भेट्न नेपाल फर्किए । मान्छन् भने उनीहरूलाई अमेरिका लैजाने बिचार थियो उनको ।

नातिसँग भेट भएपछि कविराज दम्पती औधी खुसी भए । अमेरिका जान नमानेपछि नातिले सोधे – ‘अमेरिका जान मान्नुभएन हजुरहरू! अरू मनकाे इच्छा के के छन् भन्नुस्, म पूरा गर्छु ।’

बूढाले भने- ‘ हाम्रा तीन वटा रहर छन् । पहिलो , बुढाबुढी भएर मुक्तिनाथ दर्शन गर्ने । दोस्रो, हामी दुवैकाे चौरासी पूजा भव्य रूपमा लगाउने। तेस्रो, ज्यामिर फाँटमा रहेको बाजेको पालाको काठको पाटीलाई ढलान गरेर नयाँ बनाउने । यति भए हामीलाई पुग्यो ।’

सानैमा आमाबाबु गुमाएका इन्द्रप्रसादले बाजेबज्यैकाे अन्तिम इच्छा सहजै पूरा गरिदिए र अमेरिका फिरे । आफ्ना रहरहरू पूरा भएकोमा कविराज दम्पती अत्यन्त हर्षित छन् र शनिबारे सत्सङ्गमा अरूसित नातिको प्रशंसा गरिरहन्छन् ।