अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

फिल्म ‘पानी फोटो’ को शुभ मुहूर्त

प्रदिप कार्की २०७६ भदौ १५ गते ९:२३ मा प्रकाशित

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने फिल्म ‘पानी फोटो’ को शुभ मुहूर्त गरिएको छ । राजधानीको बङ्गलामुखी मन्दिरमा फिल्म युनिटले पूजा गर्दै फिल्मको छायाङ्कन प्रारम्भ गरेको हो । ‘भर्सटायल अभिनेता’ उनी फिल्म ‘पानी फोटो’ बाट निर्देशनमा औपचारिक रूपमा होमिने भएका छन् । बङ्गलामुखी मन्दिरमा खगेन्द्रसँगै अनुप बराल , मेनुका प्रधान लगायत फिल्मका काष्ठ एण्ड क्रु उपस्थित थिए । आफै लिखित नाटकलाई उनले फिल्मको स्वरूप दिन लागेका हुन् । उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाउनेछन् । 

यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानी फोटो’ को कथामा निर्माण हुन लागेको हो । फिल्मको एक दिनको छायाङ्कन काठमान्डुमा हुनेछ भने त्यसपछि टोली स्याङ्जा तर्फ लाग्नेछ । ‘यो मेरो सपना नै थियो कि यसलाई फिल्म बनाउने किनकि म यो कथालाई धेरै दर्शक माझ पुर्‍याउन चाहन्छु’ खगेन्द्रले भने ‘मैले नाटक मञ्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ।’ टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोत्साहन ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रूपमा निर्माण गर्नेछन् ।

फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा सङ्गमले फिल्ममा पार्श्व सङ्गीत दिनेछन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल , अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ , कमलमणि नेपाल , अशान्त शर्मा , मालिका महत , प्रकाश घिमिरे, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धन पति फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रूपमा अनिल खड्का रहेका छन् ।