अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

‘चमेलीको पोई’ बाट ‘प्रेमचरो’ को कम ब्याक

बिआरटीनेपाल २०८० फागुन १२ गते ७:५६ मा प्रकाशित

काठमाडौँ । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । विगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन् ।

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रवार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखिएको छ । निर्देशक बोहराले शनिवार आफ्नो फिल्ममा अमेरिका निवासी पुराना चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका छन् ।

एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हाँस्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो । आफूले पहिला त्रिपाठीलाई विभिन्न नाटक,टेलिफिल्म हुँदै फिचर फिल्म ‘अग्नि परीक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कम ब्याक’ गराउन पाउँदा खुसी लागेको निर्देशक बोहराले बताएका छन् ।

हाँस्य प्रदान सामाजिक विषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् । अमेरिकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो हाँस्य प्रस्तुतिलाई निरन्तरता दिइरहेका त्रिपाठी सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रिय छन् । त्रिपाठीले अभिनय गरेको थुप्रै टेलिफिल्म तथा फिल्म अहिले पनि दर्शकको मनमस्तिष्कमा ताजै छ । यसअघि ‘अग्नि परीक्षा’,‘कान्छा’,‘मुटु’,‘ठुली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका बोहरा ‘चमेलीको पोई’ ले नेपाली समाजको एउटा वास्तविक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देश समेत प्रवाह गर्ने दाबी गर्छन् ।

प्रतिक्रिया