अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने

प्रदिप कार्की २०७६ कार्तिक १८ गते ११:३३ मा प्रकाशित

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृङ्खलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्म ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यस पटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्‍याउने बताए ।

’राष्ट्रियताको कुनै मूल्य हुँदैन भन्ने’ सोचका साथ कार्यक्रमलाई निःशुल्क गरिएको समेत उनले बताए । पहिलो शृंखलामा सद्भाव र ऐक्यबद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो शृङ्खलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्य कलाकार जितु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजित कार्यक्रममा जानकारी गराइयो ।

पहिलो सिजनमा सात प्रदेशबिचको सम्बन्ध नागरिक स्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट पर्यटकीय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने समेत जनाइयो । कार्यक्रमले सङ्गीत र मनोरञ्जनका साथ स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते बिर्तामोडबाट सुरु हुनेछ । बिर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते वीरगन्ज, २४ गते चितवन, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।

गत विक्रम संवत् २०७० सालमा ‘ढकाल सुमधुर साँझ’ गरेर इभेन्टमा पाइला टेकेको गृष्म ब्रोर्डकास्टिङले त्यसपछि भ्यालेन्टाइन नाइट, साकुरा नाइट , शुभ यात्रा साँझ लगायतका कार्यक्रम गरिसकेको छ । राजधानीमा आयोजित कार्यक्रममा राजेश हमाल, सुगम पोखरेल, जितु नेपाल , प्रकाश सपुत र रवि ओडको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रदेश प्रमुखले गर्ने समेत उक्त अवसरमा जानकारी गराइयो । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रूपमा नरेश भट्टराई, विवेक खतिवडा र पूजन थापा रहेका छन् । कार्यक्रमलाई टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पन्सर गरेको छ ।

गृहेन्द्र घिमिरे: गृष्म ब्रोर्डकास्टिङले विदेशमा कार्यक्रम त गर्दै आएको छ नै साथै स्वदेशमा पनि ‘सप्तरङ्ग’ मार्फत सातै प्रदेशमा जोडिएको छ । हामीले दर्शकले रुचाउनु भएकै कलाकार मार्फत प्रदेश विशेष सचेतना समेत फैलाउने काम गर्दैछौ । हरेक प्रदेशमा रहेका समस्यालाई सचेतना मार्फत समाधान गर्ने हाम्रो प्रयास रहनेछ । साथै नेपाल सरकारको भिजिट नेपाललाई समेत प्रवर्धन गर्ने उद्देश्य हाम्रो रहेको छ । हाम्रो माध्यमले आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास हामीले लिएका छौ ।

राजेश हमाल: हामी कलाकार भएपछि विभिन्न कार्यक्रम गर्नु नौलो त होइन, तर यो खास । प्राय अप्रत्यक्ष रूपमा दर्शक माझ पुगिरहेका हामीलाई प्रत्यक्ष रूपमा पुग्न पाउँदा निकै खुसी लाग्छ । किनकि यो कार्यक्रमले हामीलाई एक आपसमा जोड्ने मात्र होइन, हामी भएको विविधतालाई सम्मान गर्ने र हामीलाई मजबुत बनाउने काम गर्छ । यसैले गर्दा पनि म उत्साहित छु दर्शकलाई प्रत्यक्ष रूपमा भेट्नलाई । आस छ हामीसँग हाम्रो अभियानमा दर्शक अवश्य जोडिनु हुनेछ ।

सम्बन्धित सामग्रीहरू