अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

फिल्म ’च च हुई’ को ट्रेलर सार्वजनिक

प्रदिप कार्की २०७६ कार्तिक १० गते ९:१७ मा प्रकाशित

पछिल्लो समय लभ स्टोरी जनरका फिल्ममा देखिँदै आएका अभिनेता आर्यन सिग्देलको फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुई गीत सार्वजनिक गरिसकेको टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरलाई फिल्मको मुख्य पात्रहरू आर्यन सिग्देल, भोला राज सापकोटा, मिरुना मगर, माओत्से गुरुङको वरपर घुमाइएको छ ।

दुई बेकमिले युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुष्कर गुरुङ, आर्जेस् रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रम-कम अर्थात् रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् ।

व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउँदै छन् । यसमा सुशन प्रजापतिको छायाङ्कन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजन राज सिवाकोटी र रोशन थापाको सङ्गीत छ । यसमा निमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

मिरुना मगर: फिल्ममा हिमाली भेगको युवतीको भूमिकामा छु । प्रत्येक फिल्ममा आफूलाई निखार्दै अगाडी बढिरहेकी छु । त्यसै क्रममा च च हुईमा पनि कोस्टार आर्यन सिग्देल र भोला राज सापकोटाबाट धेरै सिक्ने मौका पाए । फिल्म रमाइलो बनेको छ । पारिवारिक छ । हामीले सक्दो मेहनत गरेका छौ ।

आर्यन सिग्देल: फिल्म च च हुई विशेष छ मेरो लागि । किनकि यो मेरो फ्यानको लागि एउटा पूर्ण प्याकेज हो । यसलाई हामीले पूर्ण मनोरञ्जनात्मक शैलीमा तयार गरेका छौ । फिल्म रमाइलो बनेको छ । फरक धारको फिल्म बनाउने भनेर चिनिएका साम्तेन भुटियासँग काम गर्दा रमाइलो भयो । उहाँको जनर फरक थियो होला तर काम गर्ने शैली राम्रो छ । फिल्ममा लाइफमा भौँतारिएको युवाको भूमिका मैले निर्वाह गरेको छु । हङकङमा रहेको म र मेरो साथी भोला किन हिमाल पुग्छौ र त्यसपछि आउने उतारचढावमै फिल्म घुमेको छ । मनोरञ्जन चाहने दर्शकलाई फिल्मले समय र पैसाको सदुपयोग गराउँछ ।

अमृत घोले लामा: फिल्म नगरीमा मैले भर्खरै पाइला चाल्दै गरेको भए पनि म राम्रो दर्शक हो । मैले आँखालाई शीतलता दिन र दर्शकको समयको सदुपयोगयताको लागि कुनै कसर बाँकी राखेको छैन । मेकिंगमा बिना सम्झौता तयार पारेको छु ।

साम्तेन भुटिया: फिल्मको ट्रेलरले नै धेरै तथ्यलाई बाहिर ल्याई सकेको छ । मैले निर्देशन गर्दै आएका फिल्म मध्यमा यो फरक छ । मैले यस पटक कमेडी जनरलाई अगाडी ल्याएको छु । दुई युवा मार्फत मैले कथा भन्न खोजेको छु । फिल्मले दर्शकलाई समय र पैसाको सदुपयोग गराओस् भन्ने मेरो पुरा प्रयास छ ।