अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

चेलीबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिँड माया हिँड’

बिआरटीनेपाल २०८० मंसिर २९ गते १८:१२ मा प्रकाशित

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलीबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलीबेटी बेचबिखनकै विषयमा “कर्कलो कोक्याउला” र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिँड माया हिँड’ बोलको गीत ल्याएका हुन् ।

माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र सङ्गीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलीबेटी बेचबिखनसम्बन्धी जनचेतनामूलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलीबेटी बेचबिखनसम्बन्धी समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो । पहिले पहिले चेलीबेटीहरूलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ । मसाज सेन्टर या डान्स बारको काम भनेर लाने तर त्यहाँ पुर्‍याएपछि देह व्यापारमा लगाउने, यातना दिने लगायतका समस्या बढिरहेका छन् । त्यही कथा हामीले गीतमार्फत भन्न खोजेका हौँ ।’

हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने बताउँछन् । ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ । तर देशको नियतिले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने ।

साहस शाक्यको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरू प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओली लगायत कलाकारको अभिनय छ । गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरूलाई ललाई फकाई गरेर विदेश पुर्‍याइन्छ भन्ने कथा देख्न सकिन्छ । पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रवीण भट्टले गरेका हुन् ।

प्रतिक्रिया