अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

वीरगन्जमा हुने ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’को औपचारिक घोषणा

प्रदिप कार्की २०७६ कार्तिक ८ गते ८:०१ मा प्रकाशित

काठमाडौँ, नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा हुन लागेको तराइ, पहाड, हिमालको उत्सव- ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव -२०७६’ को औपचारिक घोषणा भएको छ । उद्योग वाणिज्य महासङ्घको कार्यालय टेकुमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवको बारेमा जानकारी दिएका हुन् ।

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पत्रकारसँगै चलचित्र कलाकार सङ्घको अध्यक्ष रविन्द्र खड्का, निर्माता माधव वाग्ले, कलाकार दीपक राज गिरी, सुनिल कटवाल र अन्य थुप्रै सङ्घ संस्थाको पदाधिकारीको उपस्थिति थियो ।

कला, संस्कृति र भाषाको समिश्रण तथा चलचित्रको बजार प्रवर्धन गर्दै प्रदेश नम्बर २ का जनतासँग चलचित्रको आत्मीयता बढाउनु यो महोत्सवको मुख्य उद्देश्य रहेको निर्माता सङ्घको अध्यक्ष आकाश अधिकारीले बताए । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरू र चलचित्र क्षेत्र बिचको दुरी कम गराइ यस चलचित्र उद्योग प्रति लगानी आकर्षण गराउनु पनि यसको उद्देश्य रहेको उनले बताए । चलचित्रको माध्यबाट पर्यटन प्रवर्धन गर्दै स्वदेशी उत्पादनको प्रवर्धन हुने भएकाले यो महोत्सवको आयोजना गरिएको अधिकारीको भनाई छ ।

यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले नेपाली फिल्म हेर्ने दर्शकको सङ्ख्यामा वृद्धि गर्नका निम्ति यो महोत्सवले ठुलो भूमिका खेल्ने बताइन । चलचित्रले पनि देशको आर्थिक परिचालन गर्न सक्ने र विदेशीहरूलाई आकर्षण गर्ने हुँदा यसले ठुलो फाइदा हुने बताइन ।

कात्तिक २१, २२ र २३ गते हुने महोत्सवमा निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायक, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरूको बाक्लो उपस्थिति हुनेछ । नेपाल चलचित्र क्षेत्रका साथै भारतबाट पनि अतिथि कलाकारहरू, लेखक तथा सिनेमाटोग्रफरहरुको उपस्थित रहने छ । प्रदेश नम्बर २ बाट सुरु भएको यो महोत्सव सात ओटै प्रदेशमा बर्से पिच्छे हुने जानकारी गराइएको छ ।