अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

हास्य कलाकार जोगिन्दर पानवालाद्वारा स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण

प्रदिप कार्की २०७६ भदौ २९ गते १०:२५ मा प्रकाशित

हास्य कलाकार शिवशङ्कर रिजाल आफ्नो वास्तविक नाम भन्दा पनि जोगिन्दर पानवालाको नामले परिचित छन् । उनले ’जोगिन्दर बोले प्रणाम जी’ सो ल्यारहदा दर्शकबाट यस्तो उपनाम पाएका हुन् । पेसाले हास्य कलाकार भए पनि उनको मन कमलो छ । कलाकारितासँगै समाज सेवामा पनि सक्रिय रिजालले गत मङ्गलवार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् । बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् ।


महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाए तर उनीहरूले शिक्षित हुने अधिकार उनीहरूसँग छ’ रिजाल भन्छन् ’एक दातृसंस्थाबाट पाएको स्यानेटरी प्याडसँगै मैले सकेको सहयोग गरेको हुँ । उनले सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहनदार दुई जना छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन उनले आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा कलाकार रिजालले आफ्ना बाबुआमाको नाममा रहेको जगत् कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक प्रदान गरेका थिए ।

साथै, उनले विद्यार्थीहरूलाई ४० हजार रुपैयाँ बराबरका कापी कलम समेत वितरण गरे । जहाँबाट मैले ज्ञान पाए र आज यो स्थानमा छु त्यो मन्दिरलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छु’ उनले भने । त्यस्तै कक्षा ५ सम्म उनले अध्ययन गरेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । रिजालले सो विद्यालयका विद्यार्थीहरूलाई पनि कापी कलम प्रदान गरेका थिए ।

तीन लाख रुपैयाँ बराबरको स्यानेटरी प्याड तथा दुईवटा विद्यालयमा एक लाख रुपैयाँ बराबरका कापी कलम प्रदान गरिएको र एक लाख ६२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका रिजालले स्थानित विद्यार्थी र शिक्षकबाट धन्यवाद पाए । आफ्नै स्कुलबाट पढेर राष्ट्रको गहन बनेर सहयोगीको रूपमा शिव शङ्कर रिजाललाई पाउँदा शिक्षक खुसी देखिन्थे । हामी कहाँबाट शिक्षित भएर गएका विद्यार्थीले जब आफ्नो पहिचान बनाएर हामीलाई नै सहयोग गर्न आउँछन्, त्यो क्षण हाम्रो लागि गौरव र खुसिको क्षण हो’ प्रधानाध्यापक महतोले धन्यवाद दिए । रिजाल सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत पिपरि भित्ता निवासी हुन् ।

सम्बन्धित सामग्रीहरू