अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

उर्लाबारी, लन्डन र डीडी

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ भदौ १ गते १५:४४ मा प्रकाशित

अतीत व्यतीत हुन्छ तर भविष्यमा वर्तमान भएर जीवन्त हुने सम्भावनाका कनिकाहरू पनि छरिएका हुन्छन् जताततै भन्ने कुराको पुष्टि यस पटक लन्डनमा पनि भएरै छाड्यो ।

नेपालको मोरङ जिल्लामा अवस्थित “उर्लाबारी नगरपालिका” मेरा लागि अत्यन्त प्रिय स्थल हो । त्यहाँका बोट- बिरुवा, ढुङ्गा-माटा र स्थानीय जनजीवन र जनतासँग पनि मेरो विशेष सम्बन्ध, माया- ममता र सम्झना छ । विशेष गरी त्यहाँका विद्यार्थीहरूसँग मेरो घनिष्ठ माया, सम्झना र सम्बन्ध छ ।

मेरो शुभ विवाह पनि उर्लाबारी बसाइकै क्रममा भएको थियो । हाम्री छोरी रुचि रञ्जना दाहालको जन्म पनि त्यहीँ भएको थियो । मेरो जिन्दगीको सुरुवाती अध्यापन तथा प्राध्यापन पनि महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर, अमर दह उच्च माध्यमिक विद्यालय, उर्लाबारी उ. मा. वि र बेलबारी स्थित श्री भगवती उ. मा. विहरूमा र दमक बहुमुखी कलेजमा भएको थियो । मलाई विद्यार्थीहरू अति प्रिय हुन्छन् । मेरो जिन्दगीको श्रेय र सम्पत्ति भनेको नै मेरा लागि विद्यार्थीहरू नै हुन । मेरो छोरा रोचक रञ्जन दाहालको पदार्पण पनि दमकमै भएको हो । अतः उक्त ठाउँहरूसँग मेरो अगाध र अविस्मरणीय सम्बन्ध, सम्झना र साइनो गाँसिएको छ । म ती ठाउँहरूलाई, त्यहाँका विद्यार्थी र अभिभावकहरूलाई आजीवन बिर्सन सक्तिन ।

२०४८ पश्चात् मैले त्रि. वि. वि अन्तर्गत रहेका विभिन्न क्याम्पसहरूमा, पत्रकारिता सेवामा, सिनासङ ( CNAS), नेपाल टेलिभिजनमा, नेपालको पहिलो अनुसन्धान केन्द्र कृषि आयोजना सेवा केन्द्र (APROSC ), USAID र विभिन्न गैर- आवासीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केन्द्रहरूमा प्रशिक्षक भई काम गर्ने सिलसिलामा मेरो भ्रामरीको दशा र जन्मकुण्डलीले अमेरिका ल्याई पुर्यायो सपरिवार र सम्प्रति क्यालिफोर्नियामा रही एउटा अन्तर्राष्ट्रिय संस्थाका निम्ति बहुभाषिक भाषाविज्ञको रूपमा कार्यरत छु ।

विभिन्न विभाग र विधामा काम गरेता पनि मैले सर्वाधिक मन पराएको पेसा शिक्षण र प्रशिक्षण नै हो । अङ्ग्रेजी र नेपाली साहित्यकै विद्यार्थी भएकाले मलाई साहित्य, संस्कृति, दर्शन, मनोविज्ञान , पत्रकारिता, अध्यात्मवाद र सामुदायिक सेवाहरूमा संलग्न हुन मन पर्छ ।

अब मूल प्रसङ्गतिर हजुरहरूको ध्यानाकर्षण गर्न चाहेँ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) को छैटौँ अन्तर्राष्ट्रिय साहित्यिक महाधिवेशनमा भाग लिन हाम्रो जोडी पनि लन्डन पुग्यो र खुब रमायो । त्यहाँ रहेको सुमल बन्धुको जोडीकै निवासस्थानमा प्रेमपूर्वक बसियो र सम्मेलनमा भाग लिइयो । बसाइकै क्रममा सुमल बन्धुले स्वनामधन्य प्रा. डा. जगमान गुरूंगज्यूलाई र प्रा. डा. खगेन्द्र लुइँटेल ज्यूलाई पनि एउटै ठाउँमा ( आफ्नै निवास स्थानमा ) राखेर ठुलो गुन लगाउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति स्वनामधन्य डा. जगमानदासँग प्रत्यक्ष रूपमा परिचित भई उहाँको सान्निध्यमा रहनु हाम्रा लागि ठुलो अवसर र उपलब्धि थियो ।

साहित्यिक महासम्मेलन सफल, अभूतपूर्व र ऐतिहासिक थियो । विभिन्न राष्ट्रबाट पाल्नु हुने प्रबुद्ध साहित्यकारहरूसँग भेटघाट , भलाकुसारी र छलफल गर्ने अवसर प्राप्त भयो । मेरा दिवङ्गत पिता-माताको श्रद्धा ( श्राद्ध ) मा “ वासुदेव-मालती अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार “ को स्थापना गरी हरेक सम्मेलनमा एक जना प्रसिद्ध साहित्यकारलाई $ 2111 रकम बराबरको पुरस्कारबाट पुरस्कृत गर्ने अवसर जुट्ने भयो । अनेसास प्रति कृतज्ञ र अनुगृहीत छु । यस पटकको पुरस्कार स्वनामधन्य वरिष्ठ साहित्यकार लील ब. क्षेत्रीज्यूलाई प्रदान गरियो ।

सबैभन्दा रोचक र आकर्षक मुहूर्त मेरालागि लन्डनमा उर्लाबारी भेटिनु पनि थियो । लन्डनमा पनि उर्लाबारी फलेको/ फुलेको र फस्टाएको पाएँ । मैले गोडमेल गरेका बिरुवाहरूमा फल- फुल पनि लागेको देख्दा ख़ुशी र प्रसन्नताले भावुक र द्रवित भएँ ।

करिब ३६ वर्ष पहिलेको हाम्रो प्यारो उर्लाबारी, लाट्ठे जवान शिक्षक डी. डी ( दुर्गा दाहाल ) र मलाई माया गर्ने उर्लाबारीका सबै शिक्षक, अभिभावक, प्रिय विद्यार्थीहरू, पुरुष र महिलाहरूलाई सम्झिएँ अनि लन्डनलाई सोधेँ, “ मैले उर्लाबारी र नेपालका पूर्वी भागहरूमा रोपेका बोट- बिरुवा र तिनीहरूका कुनै हाँगा- बिङ्गाहरू यता फिँजिएका छन् कि नाई ? “

लन्डनले तुरुन्तै खोजी गर्‍यो र अनेसासको कार्यक्रम स्थलमै मेरा प्रिय विद्यार्थीहरूलाई उपस्थित गराई दियो । अमर दह, उर्लाबारी र दमक बहुमुखी महाविद्यालय तीनै स्थानमा मेरी स्नेही विद्यार्थी रहेकी चन्द्रकला आफ्ना पति, पुत्र र भाइ सहित फुलको गुच्छा र स्वर्ण- उपहार लिएर, उर्लाबारीका मेरा प्रिय विद्यार्थीहरू रत्ना पनि पत्र-पुष्प, स्वर्णोपहार र क्रमशः शान्ता आफ्नी पुत्री, स्वर्ण उपहार र पुष्प लता सहित र खिमकला पनि स्वर्ण- उपहार र पुष्प गुच्छा लिएर मेरा सामुन्ने प्रकट हुँदा मेरा दुवै नयनले अश्रुधारा बगाउन चाहे तर म खामोस भए किनभने ती मेरा प्रिय विद्यार्थीहरूका नयन अश्रुहरूलाई मेरी पत्नीले रोक्ने प्रयत्न गरी रहिन । अन्त्यमा, मैले पनि प्रेमपूर्वक सबैलाई आलिंगन गरी मेरो गुरूवत स्नेह, प्रेम, शुभकामना र आशीर्वाद व्यक्त गरेँ । यति धेरै वर्ष पश्चात् मेरा प्रिय विद्यार्थीहरूसँग पुनर्मिलन हुनु मेरा लागि अहोभाग्य थियो । उर्लाबारीकै अर्का मेरा प्रिय विद्यार्थी देवकुमार राई सशरीर उपस्थित हुन नसके पनि मलाई सम्झेर प्रेम सन्देश, शुभकामना र स्वर्ण- उपहार पठाएकोमा ख़ुशी त भए तर उन्को मुखाकृति र बोली सुन्न नपाउँदा खिन्न पनि भएँ ।

“ नमरी बाँचे र दैवले साँचे “ पुन: भेट हुने नै छ भनी मेरो अन्तर- मनलाई आश्वस्त तुल्याएँ । मेरा निम्ति पुष्प गुच्छा र उपहारहरू भन्दा पनि पारस्परिक प्रेम र आत्मीयता प्रमुख थियो ।

त्यस्तै मोरङ बेलबारीका लन्डनवासी मेरा प्रिय विद्यार्थी ललित गुरुङ आफ्नो व्यस्त कार्य – व्यस्तताको बाबजुद पनि आफ्नो अढाई वर्षे बाबुलाई साथमा लिएर भेट्न आए र आफ्नै गाडीमा हामीलाई बोकेर सारा लन्डन परिक्रमा गराए । खान- पिन गराए र उपहारहरू प्रदान गरे । यो भन्दा धेरै गुरू दक्षिणा अरू के हुन सक्छ र ?

सोही किसिमले लन्डन, नेदरल्याण्ड, बेल्जियम र फ्रान्समा ( प्यारिस ) रहेका मेरा उपत्यकाबासी काठमाण्डूमा दीक्षित विद्यार्थीहरूले गच्छे अनुसार जलपान, लघु भोजन र मुख्य भोजन गर्ने निमन्त्रणा दिई ठुलो गुन लगाए । सबैको नाम र व्याख्या गर्न यो लेखले अनुमति नदिएकाले लम्ब्याइन मैले ।

सारांशमा भन्नु पर्दा, यो दाहाल जोडीको यु. के र युरोपको भ्रमण शान्तिपूर्ण, सुखद र उपलब्धिमूलक भयो ।

उर्लाबारी, लन्डन र डी. डी धेरै वर्ष पश्चात् एकै ठाउँमा एकै पटक, एउटै किसिमले रमाए, रोए, मुस्कुराए, आलिंगन गरे र पुन: भेट गर्ने प्रतिबद्धता र प्रतीक्षा सहित मनलाई समाए ।

जय अनेसास । जय बेलायत ! जय नेपाल !

( प्रा. डा. दुर्गा दाहाल पेसाले प्राध्यापक, प्रशिक्षक, बहुभाषी भाषा- विशेषज्ञ र अनेसास बोर्ड अव ट्रस्टीजीका सल्लाहकार हुनुहुन्छ )