अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

के.पी, प्रचण्ड र शेरबहादुर

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ जेठ ८ गते ८:१६ मा प्रकाशित

नेपालको राजनीतिमा उपर्युक्त तीन पात्रहरूले दाइँ गरिरहेका छन् । पालैपालोसँग सत्ता, शक्ति र साधनको दुरुपयोग गरेर नेपाली जनतालाई ढाँटी रहेका छन्, सपना बाँडिरहेका छन् । पछिल्लो चरणमा शेर ब. देउवाको अप्रजातान्त्रिक राग- रवैयाले काँग्रेस आक्रान्त भएको छ भने प्रधानमन्त्री के. पी शर्मा ओली र प्रचण्डको अकर्मण्यताले जनता निराशाको
बादलमा घेरिएका छन् ।

नेपालको नियम कानून र संविधान एकातिर छ भने यी नेताहरूको ध्यान केवल धन-दौलत उपार्जनमा केन्द्रित छ । यद्यपि के.पी ओली र प्रचण्डको धन-दौलतको उत्तराधिकारी कोही देखिँदैन भने शेर ब. देउवाजी को उत्तराधिकारीलाई पनि यति धेरै धन- दौलतको आवश्यकता छैन । तर पनि यी नेताहरूलाई पद, पावर, प्रतिष्ठा र पैसाले कहिल्यै पुगेन ।

नेपालका प्रजातान्त्रिक आन्दोलनहरूमा शेर ब. देउवा र के. पी को उल्लेख्य योगदान देखिन्छ तर प्रचण्डको कुनै योगदान देखिन्न । प्रचण्डले त तथाकथित जनयुद्धको नाममा करीब १७.००० भन्दा बढी व्यक्तिको हत्या गरेर सत्तामा आएको कलङ्कित इतिहास छ ।

शेर ब. देउवा र के. पी ओलीको प्रजातांत्रिक आन्दोलनको इतिहासमा योगदान देखिएता पनि त्यसको दुहाई दिएर अहिले सत्ता, शक्ति र सरकारी श्रोत र साधनहरूको दुरुपयोग गर्न मिल्दैन ।

तल्लो तहमा जनताको सामु यिनीहरूले राजनैतिक सिद्धान्तको आधारमा अलग धार देखाएता पनि माथिल्लो तहमा यिनीहरूले आपसमा बाँडीचुडी र मिलीजुली खाएको कुरा घामजस्तै छर्लङ्ग भएको छ । व्याख्या ज़रूरी छैन, जनताले बुझी सकेका छन् । काण्डै काण्डको आधुनिक नेपालको इतिहासमा यिनीहरू घृणित भई सकेका छन् ।

आफ्नै पार्टीभित्र अप्रजातांत्रिक र अप्रिय यी नेताहरूले कसरी जनताको पक्षमा प्रजातांत्रिक निर्णय गर्न सक्छन् ? गुटबन्दी, हत्या, आतङ्क र चरम भ्रष्टाचारमा संलग्न उपर्युक्त नेताहरूबाट केही आशा र अपेक्षा गर्नु बेकार छ ।

जनताको माझमा अप्रिय केही ठुटे नेता र कार्यकर्ताहरू बोकेर पार्टीको राजनीति मात्रै गरेर समग्र राष्ट्रको बृहत्तर स्वार्थलाई तिलांजलि दिने यस्ता नेताहरूबाट नेपालको परिवर्तन, प्रगति-उन्नति र विकास असम्भव छ ।

राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद, साम्यवाद, जनताको बहुदलीय जनवाद, जनमुक्ति जस्ता सुन्दर शब्दहरूको खेती गरेर जनता झुक्क्याउने र ढाँट्ने बाहेक यिनीहरूले देश र जनताको पक्षमा काम गर्न सकेनन् र सक्तैनन ।

हरेक व्यक्तिले आफ्नो मूल्याङ्कन गर्न सक्नु पर्छ । यी नेताहरू आफ्नो मूल्याङ्कन पनि गर्दैनन् र बलपूर्वक सत्ता, शक्ति र शौकतमा टाँसी रहन चाहन्छन् । जनताको नजरमा आफ्नो छवि कस्तो छ नबुझिकन बेशरम शासन चलाऊँछन ।

वास्तवमा यी पात्रहरूलाई देश र जनताको माया छैन । बरु कतिपय जनता र कार्यकर्तालाईचैँ यिनीहरूको माया छ किनभने थोरै भए पनि चाकडी, चुग्ली र चाप्लुसी गरे बापत धुपौरे हरूलाई पनि केही भाग लाग्छ ।

शेर ब. देउवाबाट नेपाली काँग्रेस र देशवासीले नेतृत्वको अपेक्षा गर्नु व्यर्थ छ । सक्तैनन देउवाले । काँग्रेसको गरिमामय इतिहासलाई व्यक्तिगत अथवा गुटको निर्णय लादेर चुनावताका अपवित्र गठबन्धन गर्नु, कर्मनिष्ठ कार्यकर्ता हरूको मनोबल गिराउनु र अन्ततोगत्वा पार्टीलाई धराशायी बनाउनु उन्को अप्रजातांत्रिक राग र रवैया हो । सत्तामा भएका बेला स्वतन्त्र न्यायालय माथि हस्तक्षेप गर्नु, प्रहरी प्रशासनमाथि हाबी हुनु, भ्रष्टाचारका अनेक काण्डमा संलग्न हुनु उन्को अनैतिक र निन्दाजनक कार्यहरू हुन ।नेपाली काँग्रेसको आदर्श र सिद्धान्त राम्रो हुँदाहुँदै पनि शेर ब. देउवाका अप्रजातांत्रिक कृयाकलाप हरूले गर्दा काँग्रेस बदनाम हुन पुगेको छ । भूतकालमा त्याग,तपस्या र समर्पण थियो भनेर वर्तमानमा जथाभाबी गर्नु हुन्न । नेपाली काँग्रेसले अविलम्ब विकल्प खोज्नु पर्छ ।

यद्यपि के. पी ओली एक जना सपना बाँड्ने, तिखा, खरा र मेधावी नेता हुन तर उन्को सपना बिपनामा परिणत हुन अत्यन्त कठिन छ किनभने कर्मचारीतन्त्रले उन्लाई सहयोग गरी रहेको छैन र गर्दैन ।किनभने राज्य संयन्त्र अत्यन्त कमजोर छ । कर्मचारीहरूको मूल्याङ्कन र अनुगमन छैन । कर्मचारीहरूमा जिम्मेवारीपन र पारदर्शिता छैन । पुरस्कार र दण्डको व्यवस्था छैन । केही मुष्टिमेय झोले नेता र कार्यकर्ताहरूको भरमा नेता भई राख्ने बाहेक जनता र राष्ट्रको हितमा कुनै दूरगामी र उपलब्धिमूलक कार्य हुन्छ भन्ने लाग्दैन ।

प्रचण्डको के कुरा गर्नु खोइ ? निर्दोष जनता मारेर हत्या र हिंसाको खेती गरेर आउने एक जना दुर्जन, हिंसक र अप्रजातांत्रिक मान्छेबाट कसरी देश र जनताको हित हुन्छ भनेर विश्वास गर्नु ?
प्रचण्डको बारेमा चर्चा गरेर म आफ्नो मूल्यवान् समय र शक्ति खर्चिन चाहन्न ।

सारांशमा भन्नु पर्दा, उपर्युक्त त्रिमूर्ति हरूमध्ये म कसैलाई पनि “नेता” भनेर सम्बोधन गर्न चाहन्न । यिनीहरू स्वदेशको भन्दा पनि विदेशको हक-हितमा काम गर्ने पात्रहरू हुन । यिनीहरू देशभक्त नेपालीहरूको कुराहरू नसुनेर विदेशी प्रभुहरूको इसारा र स्वार्थमा काम गरी आफ्नो दुनो सोझ्याउने अलोकप्रिय पात्रहरू हुन ।

के.पी, प्रचण्ड र शेर ब.देउवा नेपाली राजनैतिक वृत्तका धब्बा हुन । यिनीहरू केवल भाषण गर्न, कार्यक्रमहरूको उद्घाटन गर्न, उखान – टुक्रा भन्न, एक अर्कालाई आरोप- प्रत्यारोप गर्न, विदेश भ्रमण गर्न, रङ्गी- विरंगी खादाहरू लगाउन, विभिन्न किसिमका फुलहरूका अत्यधिक भारी मालाहरू लगाउन खप्पिस नेताहरू हुन । यिनीहरूलाई अद्यपरिमित नेता मानेर यिनीहरूकै पछि लाग्नु, यिनीहरूलाईनै मतदान गर्नु नेपाली जनता र बुद्धिजीवीगरूको अत्यन्त ठुलो कमजोरी र गल्ती हो ।

( प्रा. डा एक जना राजनैतिक विश्लेषक र मानव अधिकारवादी समाज सुधारक हुनुहुन्छ )