अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

नागरिकता, राष्टियता र नैतिकता

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ जेठ २ गते १२:४६ मा प्रकाशित

उपर्युक्त तीन शब्दहरू अत्यन्त संवेदनशील र अमूल्य छन् । यी शब्दहरूले एउटा राष्ट्र र व्यक्तिको जीवनमा अत्यन्त महत्त्वपूर्ण अर्थ राख्दछन् तर नेपालको परिप्रेक्ष्यमा उपर्युक्त तीन शब्दहरू निकै ठुलो धरापमा परेको देखिन्छ ।

*कुनै पनि देशको नागरिकता “डालीमा सागका मुठा” बेचे जसरी दिन मिल्दैन । नागरिकता प्राप्त गर्नका लागि योग्यता पुग्नु पर्छ । नागरिकयोग्य हुनका लागि निम्नतम निम्नलिखित गुणहरू हुनु आवश्यक छ ।

१. सम्बन्धित देशमा जन्मिएको हुनु पर्छ अथवा हजुर आमा, हजुरबा, आमा- बुवामध्ये कोही एक त्यो देशको नागरिक भएको हुनु पर्छ ।
२. सम्बन्धित देशप्रति उसको केही योगदान रहेको हुनु पर्छ ।
३. त्यो देशको भाषा, भूगोल, संस्कृति, इतिहास , सामान्य नागरिक शिक्षा, क़ानून, सरकार र राजनैतिक व्यवस्था आदिको बारेमा समसामयिक ज्ञान हुनु ज़रूरी छ ।
४. सम्बन्धित देशको भाषा लेख्न, बोल्न र पढ्न जान्नु पर्छ र एउटा प्राथमिक परीक्षा उत्तीर्ण गर्नु पर्छ ।
५. सम्बन्धित देशको राष्ट्रियताको रक्षा गर्छु भनेर अदालतमा गएर शपथ ग्रहण गर्नु पर्छ ।

* “राष्ट्रियता” भनेको अति मूल्यवान् र आत्मीय शब्द हो । यो शब्दको सम्बन्ध “आत्मा” सँग जोडिएको हुन्छ । आत्मा साक्षी राखी अन्तस्करणबाट राष्ट्रप्रति इमानदार र बफादार भएको हुनु पर्छ । राष्ट्रियता भूगोल मात्रै नभएर भावना पनि हो र सम्बन्धित राष्ट्रसँग भावनात्मक सम्बन्ध पनि हुनु पर्छ र त्यो भावना नैतिकतासँग पनि जोडिएको हुनु पर्छ ।

*हरेक नागरिकको जीवनमा नैतिकताको प्रश्न जोडिएको हुन्छ । नैतिकता नभएको व्यक्ति सामाजिक र सार्वजनिक पदका निम्ति पनि योग्य ठहरिँदैन ।

नेपालको नागरिकता बिक्री भएको छ । सरकारमा बसेका मन्त्री र स्थानीय तहका ठूटे नेताहरूले हरेक वर्ष व्यक्तिगत स्वार्थका निम्ति हचुवा पाराले नेपालको नागरिकता बेच्दै आएका छन् भन्ने कुरा प्रमाणित भैसकेको छ ।

नेपालका नेताहरूमा ( अपवाद बाहेक ) नैतिकता छैन । व्यक्तिगत स्वार्थका निम्ति नैतिकता बेचेर जतिसुकै भ्रष्टाचार गर्न पनि यिनीहरू उद्यत छन् । काण्डै- काण्डमा संलग्न भई यिनीहरूले लाज पचाई सकेका छन् ।

अतः: नेपाली बुद्धिजीवी र नागरिकहरूले
अहिलेको व्याप्त भ्रष्टाचार, व्यभिचार, अनाचार अत्याचार र प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथिको ठाडो हस्तक्षेपको विरोधमा बोलौँ, लेखौँ र अहिले चली रहेको “ नागरिक आन्दोलन” को समर्थन गरौँ ।