अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३९ | Colorodo: 10:54

इतिहासलाई जोगाएर राख्नु पर्छ; मार्नु हुन्न

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ पुष २५ गते २२:३१ मा प्रकाशित

“मेरा साना दु:खेल आर्ज्याको मुलुक होइन; यो चार वर्ण छत्तिस जात सबैको फुलबारी हो । सबैलाई चेतना भया ।” -श्री ५ पृथ्वी नारायण शाह

राष्ट्र निर्माता तथा राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको उल्लिखित महानवाणी आज पनि उत्तिकै सान्दर्भिक र सारगर्भित छ ।
यद्यपि नयाँ नेपालका तथाकथित कतिपय मुष्टिमेय नेताहरूले यिनै दूरदर्शी राजाको सालिक समेत भत्काएर ठुलै पुरुषार्थ देखाएको कुरा गर्छन् तर संभवत साना-साना बाइसे-चौबिसे राज्यहरूलाई एकीकरण गरेर सार्वभौम नेपाल राष्ट्रको पुनर्निर्माण उन्ले नगरेका भए आज यो फुर्ती लाउने मौका पनि यिनीहरूले पाउने थिएनन् र अझ बढी दासताको धुसा ओढेर बस्नु पर्थ्यो होला ।

पृथ्वी नारायण शाहले भनेका रहेछन्, “नेपाल दुई ढुङ्गा बिचको तरुल हो । उन्ले यो पनि भनेका रहेछन्,”चीनसँग सदैव राम्रो सम्बन्ध राख्नु र भारतसँग पनि मैत्रीपूर्ण व्यवहार गर्नु तर अत्यन्त चनाखो भएर रहनु ।”

उपर्युक्त भनाइहरू आजका दिनमा पनि सत्य साबित भई रहेको छ । व्याख्या निष्प्रयोजन छ । यदि नेपाल सरकार चनाखो नहुने हो भने नजानिँदो पाराले हाम्रो देश धर्मनिरपेक्षता र सङ्घीयताको नाममा क्रमशः: फस्दै जानेछ र नेपालको मानचित्र फेरिन धेरै वर्ष लाग्ने छैन ।

राष्ट्रिय एकतालाई खण्डित हुन नदिन उतिखेर पृथ्वी नारायण शाहले नेपालबाट मिशनरीज़ र काश्मिरी व्यापारी हरूलाई पनि नेपालबाट बाहिरिने आदेश दिएर नेपाल चाहिँ हिन्दु हरूको पवित्र भूमि हुनु पर्छ भनेका रहेछन् । उन्ले नेपाली जनतालाई सदैव हिन्दु धर्म, सभ्यता र संस्कृतिलाई मानेर हिंडनु भनेर दिव्य उपदेश पनि दिएका रहेछन् ।

साथै, पृथ्वीनारायण शाहले घरेलु र स्थानीय उत्पादनमा जोड दिएका रहेछन् । अन्यान्य दिव्य उपदेशहरूमा पनि भनिएको रहेछ कि विदेशी व्यापारीहरू आएको खण्डमा मुलुकलाई सखाप पार्नेछन् । त्यसैले, मुलुकवासीले आफ्नै स्थानीय र राष्ट्रिय उद्योग-धन्दाहरूमा लागेर राष्ट्रीयपूँजी निर्माण गर्नु पर्नेमा पनि जोड दिएका रहेछन् । उन्ले आफ्नै मुलुकमा पाइने जडी-बुटीहरूलाई उपयोग गरी औषधि बनाउने र बचेकोलाई विदेशमा निर्यात गर्ने उपदेश समेत दिएका रहेछन् ।

भरसक कृषि उत्पादन र कल-कारखानामा जोड दिएर मुलुकको पैसा बाहिर नजाओस भन्ने हेतुले उन्ले भनेका रहेछन्, “प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ ।”

राष्ट्रियता र सार्वभौमिकतालाई जोगाउनलाई उन्ले चारैतिर किल्ला बनाउने कुरामा जोड दिएका रहेछन् । भविष्यमा छिमेकी राष्ट्रबाट सीमा मिचिने भय र आशङ्काले उन्ले बेलैमा मुलुकवासीलाई विविध कुराहरूमा सचेत गराएका रहेछन् जुन कुरा अहिले आएर सत्य साबित भएको छ ।

“घुस लिन्या र दिन्या दुवै अपराधी हुन ।”- पृथ्वीनारायण शाह

अहिले व्याप्त घुसखोरीको जमानामा उपर्युक्त वाक्य झन् अर्थपूर्ण र सान्दर्भिक छ । देशव्यापी रूपमा आर्थिक भ्रष्टाचार बढेको छ । हरेक सरकारी कार्यालयहरूमा घुस खाने कर्मचारीहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

“आफू जाई नलाग्नु, निहुँ नखोज्नु तर आई लागे पछि नहट्नु बरु राम्रैसित मुक़ाबला गर्नु” आदि इत्यादि अनेक सर्वकालिक महत्त्वका विषयहरूमा पनि उन्ले आफ्ना सारगर्भित विचारहरू व्यक्त गरेका छन् ।

यस्ता एक महान् विचारक र देशभक्त नेतालाई बिर्सेर हामीले नयाँ नेपाल निर्माण गर्न खोज्नु बाउन्ने भएर चन्द्रमालाई छुन खोज्नु सरह हो । अतः: यस पटक पृथ्वीनारायण शाहप्रति श्रद्धा स्वरूप पृथ्वी जयन्ती सभ्य र भव्यरूपले मनाऔँ र हाम्रो अस्मिता र गरिमालाई अक्षुण्ण राखौँ । पृथ्वीनारायण शाहको सालिक भत्काउनु र उन् लाई अनादर गर्नु राष्ट्रद्रोहीहरूको दुष्कार्य हो ।