अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

भोलिको नेपाल पनि नेपाली काँग्रेसले नै हाँक्ने हो तर नेपाली जनताले धार्मिक स्वतन्त्रता चाहेका छन्; धर्म निरपेक्षता हैन

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ पुष ९ गते १५:२७ मा प्रकाशित

निकै उथल- पुथल र ज्वार-भाटाको बिचबाट नेपाली काँग्रेसको महासमिति बैठक सम्पन्न भयो । महासमिति बैठकमा जे हुनु पर्ने थियो, त्यही भयो । विचारहरू आए, परामर्श भयो । तर पनि महासमितिका सहभागीहरूको बहुमत र नेपाली जनताको भावना प्रतिबिम्बित हुन सकेन ।

भोलिको नेपालको प्रतिनिधित्व र नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्नु पर्छ जुन आशा, अभिलाषा र अपेक्षा नेपाली जनता र मतदाताले गरेका छन् । अद्यपरिमित नेपाली काँग्रेसको विकल्प नेपाली जनताले देखेका छैनन् । तर, नेपाली काँग्रेसले एकोहोरो धर्मनिरपेक्षताकै पक्षमा सुँगा रटाई गर्नु पर्ने आवश्यकता र अनिवार्यता यो पंक्तिकारले बुझ्न सकेन ।

यद्यपि यो लेखक पनि हिन्दुधर्मको प्रचारक, पृष्ठपोषक अथवा पैरवी कर्ता हैन; अपितु मानव धर्मी (Humanitarian) हो । सबै धर्म, वर्ण र सम्प्रदाय प्रति समान आस्था र विश्वास राख्दै मन्दिर, चर्च, मस्जिद, गुरुद्वारा लगायत विभिन्न धार्मिक केन्द्रहरूमा गई मानवताको पक्षमा आराधना/उपासना गर्छ । अतः: धार्मिक भन्दा पनि आध्यात्मिक हुन मन पराउँछ ।

तर, नेपालको परिप्रेक्ष्यमा नेपाललाई प्रशस्त धार्मिक स्वतन्त्रता सहितको बौद्ध दर्शनबाट प्रभावित भएको हिन्दुधर्मको पक्षमा आफ्नो विचार र धारणा राख्न चाहन्छ ।

धर्म भनेको केवल कर्मकाण्ड मात्रै हैन बरु जीवन पद्धति पनि हो । नेपालीहरूको विचार, आस्था, जीवन प्रणाली, आचार संहिता, सभ्यता र संस्कृतिलाई पहिचान गराउने यो वैदिक संस्कार र सभ्यता हो ।

सहिष्णुता, अनुशासन, अनुशीलन र अनुकरणका विविध सुन्दर पक्षहरूलाई अवलम्बन गर्ने र गर्न लगाउने यो हिन्दु धर्म सिन्धु नदीको सभ्यता र संस्कृतिलाई लिएर सदियौँ देखिको हामी नेपालीहरूको परिचायक बनेर आएको छ । यद्यपि कतिपय धर्मान्ध हरूले आफ्नो व्यक्तिगत र पुजारीगत सीमित स्वार्थका लागि यो धर्मलाई बंग्याउने प्रयास नगरेका हैनन् तर वस्तुगत रूपमा हिन्दु धर्म संसारकै सर्वोच्च र सुन्दरतम दर्शनमा आधारित संस्कार हो । यो कुनै निर्दिष्ट जातको धर्म नभएर समग्र मानवजातिकै उत्थानको शास्त्र पनि हो ।

हरेक नेपालीहरूले विश्वकै एक मात्र हिन्दु राष्ट्रको नागरिक हुन पाउँदा गौरन्वावित हुनु पर्छ । यो चिनारीले नेपाललाई विश्व सामु चिनाउन र पर्यटकीय दृष्टिकोणले नेपालको आन्तरिक र बाह्य पर्यटनलाई उत्साहित बनाउँदै राजस्व सङ्कलनमा ठुलो मद्दत पुग्छ । हिन्दु धर्मावलम्बीहरूले नेपालका अन्य धर्मावलम्बीहरूलाई अनादर र घृणाको दृष्टिकोणले कहिल्यै हेरेका छैनन् । र, अन्य धर्मावलम्बीहरूले पनि सदैव हिन्दु धर्मावलम्बीहरूलाई आदरभावले हेर्दै आएका छन् । धर्मको नाममा संविधान लागु हुनु पूर्व कहिल्यै कुनै झैँ-झगडा र मारपिट सुनिएको थिएन बरु अहिले आएर विवादहरू आएका छन् ।

नेपाललाई विश्व सामु राम्रोसँग चिनाउने हिन्दु धर्म, सभ्यता र संस्कृति नै हो र हो: बुद्ध दर्शन ।
नेपालको दरिद्र र फोहोरी राजनीतिले त हामीलाई दुर्गन्धयुक्त र बदनाम बनाई रहेको छ ।
बुद्ध दर्शनबाट दीक्षित र शिक्षित भएर विश्वले धेरै कुराहरू सिक्यो; हिन्दु धर्ममा व्यापक अनुसन्धान गरेर पश्चिमेलीहरू पूर्वीय दर्शन र विधिबाट आफ्नो जीवन पद्धतिलाई पुनर्भाषित गर्न थाले तर हामी विपरीत दिशामा विनाशतर्फ लम्कि रहेका छौँ ।

आज हामी नेपालीहरूको परिचय नै हाम्रो धर्म, भाषा, साहित्य- संस्कृति, कला- कोशल, वीरता र प्रतिबद्धता हो । हाम्रा सगरमाथा, लुम्बिनी र बुद्ध हुन । हाम्रा सम्पदाहरू, धर्म, सभ्यता र संस्कृतिहरू, तीर्थस्थलहरू, ऋषि- मुनिहरू, पृथ्वी नारायण शाह, महाकवि लक्ष्मी प्रसाद देवकोटा, पुष्पलाल प्रधान लगायत राष्ट्रिय वैभव र विभूति हरू हुन तर यी सबै विषय र सन्दर्भहरूलाई तिलांजलि दिएर नेपाली काँग्रेस र अन्य दलका नेताहरूले के गर्न खोजेका हुन, यो नेपाली तन र मनले बुझ्न सकिरहेको छैन ।

तसर्थ, म आजका अगुवा (बाटो हगुवा हैनन् भने: नेपाली बाटो) नेता भनाउँदाहरूलाई सविनय निवेदन र विनम्रतापूर्वक जिज्ञासा राख्न चाहन्छु:

१. तिमीहरूलाई जनइच्छा र लोक चाहना विपरीत नेपाललाई धर्म निरपेक्ष बनाउने अधिकार र जना देश कसले र कहिले दियो ?
२. यदि अन्तर्निहित जनचाहना छ भने, जनमतमा जान के को डर छ ?
३. धर्म निरपेक्ष भएर नेपाली जनताले पाउने लाभ, हित र उपलब्धिहरू के- के हुन ?
४. कुनै फारममा तिम्रो धर्म के हो भन्दा के लेख्छौ ? धर्म निरपेक्ष ???
५. धर्म निरपेक्षता भनेको के हो ? सापेक्ष कि विपक्ष ? धर्मनिरपेक्षता भनेको पेण्डुलमको अवस्थिति हैन र ?
६. अब नेपाल दीर्घकालसम्म पेण्डुलम भएर बस्ने अनि अन्य कुनै राष्ट्रमा विलीन हुने हो ?
७. कुनै पनि राष्ट्रलाई चिनाउने त्यस राष्ट्रको धर्म, भाषा, साहित्य- संस्कृति, वैभव र विभूति हैनन् र ?
८. नेपाल राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक भत्काउने आदेश कसले दियो तिमीहरूलाई ?
९. अन्त्यमा, नेपाली जनता, मतदाता, कार्यकर्ता र नेपाली काँग्रेसका महामन्त्री लगायत महाधिवेशनका बहुसङ्ख्यक प्रतिनिधिहरूले हिन्दु राष्ट्रको माग गरिरहँदा तिमीहरूले किन धर्मनिरपेक्षता नै रोज्यो ? क- कसले क- कसको नुन खाएका छौ ?

साम्प्रतिक राजनीति गलत दिशातर्फ उन्मुख छ । नेपालीहरूलाई क्रमशः कमजोर बनाई भाषा, धर्म , कला/संस्कृतिमाथि आक्रमण गरी नजानिँदो पाराले नेपालीहरूलाई निस्तेज बनाउने आन्तरिक र बाह्य खेलहरू भई रहेका छन् र अहिलेको राजनैतिक नेतृत्व वर्ग फस्दै गएको छ ।

वर्तमान सरकार लाचार र शिथिल प्राय: छ । बलिवूड मुभीमा उतिखेर अमरेश पुरी फिल्मको उत्तरार्धमा विनाश काल तर्फ उन्मुख हुँदा हुंकारिए झैँ अहिलेको सरकार हुकार लगाउँदै छ तर योजना लथालिङ्ग छ । व्याप्त भ्रष्टाचार, व्यभिचार , अत्याचार र बलात्कारले देश अभिशप्त छ ।

अतः: आगामी दिनहरूमा चार तारे अङ्कित नेपालको एक मात्र प्रजातांत्रिक पार्टी नेपाली काँग्रेस प्रति नै नेपाली जनता, कार्यकर्ता र मतदाताको आस्था र विश्वास छ तर उसले पनि दम्भ र आत्म रति त्यागी अबको निकट भविष्यको महाधिवेशनमा जनताको भावना र चाहनालाई मुखरित गर्न सक्नु पर्छ ।

जय नेपाल ।

(प्रा. डा.दुर्गा दाहाल नेपाली काँग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र नेजस, अमेरिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ)