अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 12:15

गंगाधरकी साली : बर्षातकी इक रात ! (भाग ४)

ज्ञानेन्द्र काफ्ले २०७९ साउन १९ गते २२:१४ मा प्रकाशित

“यसरी बिपनाको बिहे भए पछि थाहै नपाई मलाई मेरो चेतन मनमा थोरै र अचेतन मनमा धेरै चोट परेछ । म त डिप्रेसनमा पो गएछु । काठमान्डु गएर एउटा मनोरोग विशेषज्ञलाई देखाएको त खै के भन्ने एउटा मनो वैज्ञानिक एडजस्टमेण्ट समस्या हो भनेर यौटा रोगको फुर्को झण्ड्याई दियो । “यो एउटा मनोरोग हो यसैले काँडो झिके जसरी बिसेक हुने होइन, समय बित्दै जाँदा आफैँ बिसेक हुनेछ, अहिले तातो पानीसँग यो गोली खाँदै गर्नु भनी ओषधिको पुर्जा पनि थमाइ दियो ।” उनले त्यसपछि जोगीभन्दा धेरै परको आफ्नै जिन्दगीको अर्को पाटो खोल्न थाले ।

“अब मन मनमा जिन्दगी भरि बिहे गर्दिन भनेर वाचा गरी एक लग लागेर जागिरको काम गर्न थालेँ । म वास्तवमा ओभरसियर थिएँ तर मेरो गाउँमा र जागिर गरेको इलाकामा धेरैले मलाई इन्जिनियर साब भन्दथे । गाउँ घरका सोझा सिधा मान्छेहरूका अगाडि बिना सित्तैमा निकै मान पाउन थालिएको थियो ।” उनले अघि भन्दै गए- “घर तिर २-४ सय फ्याकि दिए पुगी हाल्थ्यो । कार्यालयमा काम पनि के हुन्थ्यो र ? उही सबै जनताको आँखामा छारो हाल्ने, कागज दुरुस्त पार्ने र भाग शान्तिले मिलाएर खाने काम मात्र त हुन्थ्यो नि ।”

“उता मलाई घर तिरबाट बिहे गर्नु पर्दछ भनेर फेरि जोड तोडले कुरा आउन थालेको थियो । म भर्खरै बिछोडले पीडित भएको मानिस भएकोले मेरो मनमा सबै केटी मान्छेहरू प्रति नकारात्मक धारणा विकसित भएको थियो । यसैले कहिल्यै बिहे गरुँ घर बसाऊँ भन्ने मन लागेन ।”

“यसै बिच एक दिन घरबाट” आमा बिरामी हुनुहुन्छ, तु आउनु” भनेर आ.वा. आयो । म हतारिँदै घर गए । आमा त निकै साह्रै हुनु भएछ । जति खेर पनि एकोहोरो मेरो नाम लिनु हुँदो रहेछ । म घर पुग्ने बित्तिकै मलाई देखेर आमा बरबरि आँसु खसाएर रुन थाल्नु भयो । बुवा, गंगाधर सर, कोकिला भाउजू, मुरलीधर सर, कोपिला र गाउँका धेरै मानिस आमाको वरि परि जम्मा भएर बसेका थिए । यस्तो लाग्दथ्यो कि आमाको जीवनको अन्तिम घडी नै त्यही हो । पक्षाघातले थलिएकी मेरी आमाले लेघ्रे स्वरमा सकी नसकी बोल्नु भयो, “बाबु आई पुगिस्, खोइ कता छस् ?” भन्दै मेरो हात समात्नु भयो र कोपिलालाई पनि बोलाउनु भयो अनि उसको पनि हात समातेर, “म अब धेरै बाँच्दिन होला । तेरो घर बसेको देख्ने घिड् घिडो रहेको छ । यसैले तिमीहरू २ जना बिहे गर न है । बिन्ती छ, म डाँडामाथिकी जुनले डुब्ने बेलामा मागेको यो बचन राखी देऊ है, कोपिला ! यिनले मलाई जिउँदो छउन्जेल धेरै सहयोग गरेकी छिन् । यिनको ऋण यो जुनी भरिमा पनि मैले तिर्न सक्दिन । बाबु ! नीलु ! तैँले बिहे गरेर कोपिलालाई सुखसँग राखिस् भने मेरो आत्माले सधैँ शान्ति पाउने थियो । तिमीहरूले बिहे गरेको देख्न पाए यो प्राण सजिलै जान्थ्यो”, भनेर आमाले आँखा चिम्लनु भयो । त्यस पछि सदाकोलागि वहाँको वाक्य बसी गयो । सास फेर्नु हुन्थ्यो र एकोहोरो हेरि रहनु हुन्थ्यो । हामी स्तब्ध भयौँ ।

गाउँका भद्र भलाद्मी सबै बसेर “बजैको प्राण त्यसैमा अल्झेको छ भने तिमीहरूको बिहे हुँदा के फरक पर्छ र ? भन्न थाले भने छविरमण बा पनि छोराको विवाह गंगाधरकै सालीसँग गरिदिन पाए हुन्थ्यो भनेर गंगाधरसंग याचना गर्न थाले । गंगाधर उपर परेको छबिरमण बाको उपकारको हिसाब आज नियतिले मागेको थियो । बरु “मर्न जा” भन्दा गंगाधर सहजै जाँदा हुन् तर यो हिसाब तिर्नु पर्दा गंगाधरलाई मुटु नेर सय वटा बिच्छिले एकै चोटि टोकेको जस्तै भएको थियो ।

त्यो बेला ज-जस्ले बोल्नु पर्ने थियो तिनीहरू बोल्नुको साटो मनमा नै कल्पिएर रुन कराउन र विक्षिप्त हुन तर्फ लागे- गंगाधर नैतिक बन्धनले बोल्न सकेनन्, उनकी साली कोपिला सामाजिक संस्कारले टनक्क कसिएको दाम्लो चुडाउन सक्दिन थिइन् यसैले बोलिनन् । यसरी मुख्य सरोकारवालाहरू बिच मुर्दा शान्ति छाएको थियो । अरू इस्ट मित्र र गाउँलेहरू केही खास्खुस् गर्न थाले ।

“तिमी के भन्छौ त नील रमण ?” भुर्तेल बाले सोधे ।

“………………………” , म एकोहोरो आमा तिर हेर्दै चुप लागि रहे । मैले एकदमै डराउँदै कोपिलाको अनुहार तिर हेरेँ । उनको अनुहार पुरै रातो देखिएको थियो । क्रोध व्यक्त गर्न नसकेर छटपटिएकी नागिनी जस्तो लाग्यो ।

“आमाको घिडघिडो नै त्यही छ भने तिमी किन चुप लागेको ? जात पात संस्कार सबै मिलेकी कोपिला जत्तिकी केटी पाउनु भाग्यकै कुरा हो । के भद्रा हेरेर बसेको? खुरुक्क हुन्छ भने भैगो नि” , तेज प्रसाद गुरुले हप्की दप्की गरेझैँ भने ।

“सबैले त्यसो भन्नु हुन्छ भने म के भन्न सक्छु र ? मैले हुन्छ भन्दा सबैलाई चित्त बुझ्छ भने लौ हुन्छ भनी दिएँ। “ मैले बल्ल तल्ल यस्तो बोल्न सकेँ ।

“ल बजै, केटा केटी मन्जुर भई हाले । अब भोलि नै देवी थानमा गएर बिहे गरी दिन्छौँ । ढुक्क हुनुहोस् , कुनै घिडघिडो नराख्नुहोस्, कुनै पिर नलिई खुसी मनले जानु होस्, नारायणको नाम जप्नु होस्। “ भुर्तेल काकाले आमाको कानमा यति कुरा सुनाई दिए । “

“आमा मुर्छित नै हुनु हुन्थ्यो तर अनुहारमा केही सन्तोषको लहर चलेको देखिन्थ्यो । गंगाधर सरको कल्पनाको संसार गर्ल्याम्म ढलेकोले उनी मुर्छित हुन लागेका थिए । कोपिला बिचेत भएर भित्तामा अढेश लागेकी हुनाले मात्र ठडिएर बस्न सकेकी थिई । अर्थात् ऊ पनि अर्ध मुर्छित थिई । छबिरमणलाई भने पत्नी वियोगको अवस्था नजिक आई रहेकोले मेरो विवाहको कुरा पट्टी कुनै शुद्धि थिएन र उनी पनि मुर्छित नै जस्ता थिए । यसरी गंगाधरकी शालीको विवाहको निर्णयको माहौलमा मुर्छित हुने मान्छेहरूको लर्को लामै थियो । तर यो निर्णयले सबभन्दा चोट परेर मुर्छित हुनेमा अर्का व्यक्ति पनि थिए- ती हुन् मुरलीधर । गंगाधरकी सालीको विवाह मसँग हुन लाग्दा मुर्छा पर्नु पर्ने वैद्य कारण केबल यिनको मात्र थियो ।”

“कोपिला अब कोपिला रहिनन् । त्यो कोपिला मुरलीधरको हृदयको बगैँचामा सरेर फक्रिन पाएको भए प्रकृति भरि दिव्य सुवासको फुहार फैलिन्थ्यो । तर त्यो कोपिला मेरो हृदयमा आउँदा पारिजातलाई मरुभूमिमा जगाउनु जस्तै भएको थियो । जति मलजल गरे पनि बाँच्न सक्दैन थियो । तर जे नहुनु थियो, त्यही भयो ।”

“नजिकैको मन्दिरमा हाम्रो विवाह भयो । यो विवाहको कारणले ठुलो बज्रपातमा परेका मुरलीधरले गाउँ नै छाडेर दार्जिलिङ तिर गएर सङ्गीत शिक्षणकै काम गरेर बस्न थालेछन् । सुसंस्कृत महिला भएकी हुनाले कोपिला तत्काल गाउँबाट भाग्न सकिनन् । मेरी श्रीमती भएरै निसास्सिएको मुर्दा जिन्दगी बाच्न मन्जुर गरिन् ।”

“ओहो ! नीलरमण, तिमीले पो कोपिलासँग बिहे गरेऊ? अहिले कहाँ छिन त उनी “ , म छक्क परेर सोध्न थालेँ ।

“किन अतालिनु भएको सर ? हामी सबै यही धरामा छौँ , कोही कतै टाढा गएको छैन । केबल सांसारिक नाता सम्बन्ध फरक परेको हुन सक्छ । त्यसले हामी जस्ता जोगीका आँखामा यी ठुला कुरा होइनन् । यसले केही फरक पार्दैन ? बरु रात निकै ढली सक्यो सुत्ने होइन सर ? कि आज मेरो कहानी सुनेर नै रात कटाउने बिचार छ सर ?” उनले भने ।

“बरु रात भरि अनिदो बसेर भए पनि तिम्रो कुरा सुन्ने रहर छ, नील रमण ! “ मैले भने ।

“हामी जस्ता जोगीहरूलाई त धेरै रात जाग्राम बस्ने बानी हुन्छ र केही फरक पर्दैन तर सरहरू जस्ता गृहस्थहरूलाई त अनिदो बस्दा बिसन्चो पनि हुन सक्छ है सर ! यसैले बिचार गर्नु होला ! “ उनले मलाई सचेत गराए ।

“केही फरक पर्देन नीलरमण, बरु भनन साँच्चै कोपिला कता छिन् ?” मैले सोधेँ ।

“कोपिला तनले मसँग केही दिन बसे पनि मनले अन्तै बसेकी छन् भन्ने मलाई पहिलो रातमा उनीसँग भएको कुराकानीबाट नै थाह भएको थियो । मैले हाम्रो सुहाग रातमा उनलाई भनेको थिए – “तिमी निकै सुन्दर देखिएकी छौ नि, कोपिला ।”

यसमा उनको जवाफ यस्तो थियो, “कामुकताको घैँटो भरिएको पुरुषको आँखामा दुई खुट्टा उभिएकी सबै महिला राम्री देखिएकी हुन्छे । किनकि उसले त्यो बेला सबै शुद्धि वा होस गुमाएको हुन्छ । जब त्यो कामुकताको घैँटो रित्तिँदै जान्छ अनि अप्सरा पनि कुरूप लाग्न थाल्छ । “

“तिमीले के भनेकी ? मैले तिमीलाई कुनै कामुक दृष्टिमा राखेर राम्री भनेको होइन । तर राम्री हुन कामुकता पनि हुनु पर्छ, हैन र?” मैले गफ निरन्तर राख्न प्रश्न गरेँ ।

“बिल्कुल हैन, तर तिम्रो यो प्रश्न आम लोग्ने मानिसहरूले भन्दा बेग्लै गरी नढाँटी मनमा लागेको कुरा सोधेकोमा तिमी केही ईमान्दार रहेछौ भन्ने लागेको छ । तर सबै स्त्री जातिलाई कामुकताको दृष्टिले मात्र हेर्ने धेरै पुरुषहरू र तिम्रो बानी घिन लाग्दो छ । सर्वथा त्याज्य छ ।” उनले क्रोधले भरिएर भनिन् ।

“के तिमीले भने झैँ “यो घिनलाग्दो” बानी भएको मानिसलाई तिमी कहिल्यै त्याग्छौ त?” मैले सोधेँ ।

“अहिले तत्काल सामाजिक लोक लज्जाले जसरी तिमी मलाई त्याग्न सक्दैनौ त्यसरी नै म पनि तिमीलाई त्याग्न सक्दिन । किनकि हामी एक अर्कालाई मन नपराउँदा नपराउँदै पनि समाजमा जन्मजन्मान्तर बाँधिने भनिएको तथाकथित विवाह बन्धनमा परि सकेका छोैं । तर जब तिमी मलाई मन वा बचन वा कर्मले त्यागोैला म पनि त्यस बेला तिमीलाई त्याग्न पछि पर्ने छैन ।” उनले भनेकी थिइन् ।

“परिस्थितिको करकापमा मेले तिमीलाई बिहे गर्न मन्जुर गरेको थिए तर तिम्रो त त्यस्तो परिस्थिति थिएन । तिमीले तत्काल विरोध गर्न पनि त सक्थ्यौ नि ।” मैले भनेको थिए ।

“तिमीहरू जस्ता तुच्छ पुरुषहरूको जमातले एउटी महिलालाई केबल बस्तुको रूपमा हेरेको हुन्छ । तिम्रा बा, मेरा भिनाजु, तिमी र गाउँका भद्र भलाद्मीहरू कसैले मेरो इच्छा के छ भनेर सोध्यो ? तिम्रो पढाई, तिम्रो पद, तिम्रो सम्पत्ति देखेर यो मूल्यहीन केटी खुरु खुरु पछि लागि हाल्छे भन्ने ती सबै विवेकहीन पशु तुल्य पुरुषहरूको मनमा पूर्वानुमान थियो होला र कसैले मेरो चाहना सोधेन ।” , उनले दिएको जवाफ जायेज थियो ।

“त्यसो भए तिमिलाई म मन परेको थिएन त ?” मैले सोधेँ ।

“अब यो प्रश्न सोध्न ढिला भई सकेकोले यसको जवाफको कुनै अर्थ छैन” उनले भनिन् ।

हामीले पहिलो रातमा नै एक अर्कामा विबस्ताले मात्र विवाहको बन्धनमा बाँधिएको स्वीकार गरेका थियौ । तै पनि हामी एक अर्काका लागि सम्मान जनक नाटकीय जीवन जिउन बाध्य थियेउँ ।

…………….बाँकी अन्तिम भागमा