अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

पोल्ने हिउँ

ज्ञानेन्द्र काफ्ले २०७९ जेठ ८ गते १०:१३ मा प्रकाशित

माई बेबी: पूर्ण मनोवैज्ञानिक कथा ! खोट लाउने ठाउँ नै छैन । हराएको ख्याति एक्कासि उजागर भए पछि फेरिएको सन्तोषको श्वास । बेजोड ।

पत्नी: पुरुष प्रधान समाजमा महिला लाई पनि पुरुष सरह हुने लालसा कुनै विद्रोहको भाषा नबोली प्रस्तुत गर्न उपयोग गरिएको सपनाकी रोबट पत्नीको बिम्ब मन तान्ने खालको छ ।

हन्टर डेभ: बढ्दो अहङ्कारी प्रवृत्ति र जीवन स्तर अनुरूप आय आर्जन गर्न धौ धौ परेकोले परिवारमा बस्न बोझिलो भएको अमेरिकी समाजमा डेभ जस्ता धेरै “हन्टर” भेटिन्छन् । तर ऊ हन्टर मात्र नभएर सहयोगी पनि रहेछ । तर उसको सहयोग कसै उपर पनि निसर्त रहेनछ र यो वैश्य युगमा निसर्त सहयोग भन्ने कुरा हराई सकेको हुनाले यस्तो सेवाको अपेक्षा गर्नु पनि ठिक हैन ! यसैले यो अमेरिकी समाजको स्वभाविक वर्णन हो जस्तो लाग्यो । कथामा प्रयोग भएको २ वटा लाइन भने मनमा खड्कियो । एउटा “खैरे” लाई डेभको यही रूप “हिप” लाग्छ ! अमेरिकनहरुले यसरी बाँडेर खाने गरेको मैले देखेको छैन । को हो अमेरिकन ?

सुनैना: प्रारम्भमा शीर्षक भन्दा बिषयान्तर भए जस्तो लाग्ने । मूल पात्रलाई नै नदेखी आधा भन्दा बढी कथा अरू विषयमा खर्चिएको । जनकपुरमा गंगासागरको पुजारीसँग लामो वार्ता तर विख्यात जानकी मन्दिर बारे जम्मा ६-७ लाइन मात्रले गर्दा कथा असन्तुलित भएको । कथानक हेर्दा पुजारीमा पुजारी पन पनि नभएको । सांसारिक अमेरिकी धन र विलास प्रति लिप्त र शास्त्रीय ज्ञान नभएको कुरा यथार्थ लाग्यो । पुजारी ले बोल्ने भाषामा स्थानीयता भएको भए सुनमा सुगन्ध हुन्थ्यो । कथामा एक्कासि “छोरीलाई होस्टेलमा पढाउनु हुन्छ ?” भनेर कसले र किन सोधेको मैले खुट्टाउन सकिन ।

अमेरिकाले पाताल खसाउछ: सेन्सिटाइज्ड भई नसकेका अधिकार कर्मीहरूको मन बचन र कर्म एकै हुँदैन ।

सपना बोल्छ: बिदेसिएकाहरूको सपनामा सधैँ स्वदेशको एैठन भई रहन्छ । झन् बिपद र महामारीको बेलामा त यस्तो धेरै हुने गर्दछ ।

आँखाको गहिराई: भ्यालेन्टाइन डेको दिन पनि राम्री केटी देके पछि हुरुक्क हुने हाम्रा पौराणिक इन्द्र जस्तै पात्रलाई इन्द्र नै नाम राखिएको मन पर्‍यो । तर ती केटीले भाँडाकुँडा फुटाएर तर्साए पछि भने आफ्नै श्रीमती रश्मि लाई सम्झेको पढ्दा भने मेरो दार्ज लिङ्गे साथीलाई सम्झिएँ । उसलाई यो कथा सुनाएको भए “आम्मम! याँच्च ! यो इन्द्र ब्रो त “लागे लाग मोहनी नत्र बुढी घरै छ” भन्ने खाले चोट्टाहा पो रहेछ !” भन्ने कमेन्ट गर्थ्यो होला ! कथा मज्जाको छ तर केही शब्द असहज लाग्यो- बोैद्दिक विकलाङ्गता भएका मानिस होइनन् होला मानसिक विकलाङ्गता भएका होलान् । बोैद्दिक विकलाङ्गता भएका मानिस त राजनीति गरी हासल्छन् नि ।

कसरी नेपाली केटासँग बिहे गर्ने ?: घरायसी गफलाई आकर्षक कथामा ढाल्न सक्षम । म पनि त्यो गफमा सामेल भएको भए भन्ने थियें – एउटा घटना आम नेपालीको प्रतिनिधित्व गर्दैन यसैले नेपाली केटा बहिस्कार नगर है रोजी ।

छोरी: मनोवैज्ञानिक कथा । असुरक्षित वातावरण, गैर जिम्मेवार राज्य संयन्त्रको वातावरणमा शारिरिक शिक्षाको अभावले हुर्कँदै गरेकी छोरीकी आमाको मनो दशा राम्रो प्रस्तुत भएको छ । यसले पाठकको मन लाई चिमोटेको छ । कथामा प्रयोग भएको “ निस्लोट” शब्दले उपयुक्त अर्थ दिन सकी रहेको जस्तो लागेन ।