अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

गंगाधरकी साली: बर्षातकी इक रात ! (भाग २)

ज्ञानेन्द्र काफ्ले २०७९ असार २४ गते ११:२३ मा प्रकाशित

साँझ छिप्पिँदै गएकोले बाहिर अँध्यारो बढ्न थालेको थियो । छानामा परेका पानीका दर्काहरूले अलौकिक सङ्गीतको निनाद सम्झाइ रहेका थिए । स्वामीजीको चेहरामा निकै प्रफुल्लता देखिन्थ्यो । वहाँ कुरा गर्दै जाँदा बेला बेलामा मौन बस्नु हुन्थ्यो । यो पटक भने वहाँको मौनता अलि निकै बेर नै लम्बियो । यता म भने मैले सिम्पानीमा बिताएको समयको बारेमा सोच्न थालेको थिए । बाहिर जोड- जोडले मेघ गर्जेको हुनाले स्वामीजीको निवासका झ्यालका फप्ल्याँटाहरु खापाबाट अहिले नै फुस्केलान् कि जसरी थरर थर्किँदै हल्लिँदै थिए । मौन अवस्थामा नै स्वामीजी बिस्तार उठेर ढोका खोल्नु भयो । एक किसिमको सुगन्धमय ताजा ठन्डा हावा हरर घर भित्र छिर्‍यो । पानीका बाक्ला बाछिटाहरू दलानसम्म आइ पुगेका रहेछन् । आँगनमा भल भगेको पानीमा आकाशबाट बर्सिएका ठुला पानीका थोपाहरू एकनासले बज्रिँदा हावाका हज्जाराै बुलबुले फोकाहरू मनमोहक ढङ्गले उठ्दै फुट्दै गरी रहेका थिए । स्वामीजी शायद त्यही दृश्य नियालेर हेर्दै सोच मग्न हुनुहुन्थ्यो ।

“मसँग चीर परिचित छ यस किसिमको वर्षा ! कस्तो संयोग होला ! ती रातहरू पनि यस्तै थिए । आजको रात पनि त्यस्तै हुदैछ ।” यसो भन्दै स्वामीजीले बिस्तारै ढोका लगाउनु भयो र भुईँ तिर हेर्दै हलुका मुस्काउनु भयो ।

“तिमीले कुन रातहरूको कुरा गरेको, नील रमण ?”, मैले सोधेँ ।

“मेरा जीवनका सम्झन योग्य रातहरू र ती रातहरूसँग परेका यस्ता संयोगका सम्झनाका कुराहरू त मनभरि धेरै छन् तर अहिले भने पोहोर सालको र धेरै अघिको रातको सम्झनाको कुरा मात्र गरेको हुँ सर । पोहोर यहाँ मेरा भक्तहरूले मलाई कृष्ण चरित्र सुनाउन अनुरोध गर्नु भएको थियो । मलाई पनि यहाँ धेरै पहिले देखि भगवानको त्यो चरित्र सुनाउन रहर लागेकै थियो । भदौको दिन भए पनि त्यो दिन आकाश पुरै छ्याङ्ग खुलेको थियो । टन्टलापुर घाम लागेको हुनाले उग्र गर्मी थियो । पानी पर्ने त कुनै लक्षण नै थिएन । राति कृष्ण चरित्र पाठ गर्दै गर्दा जब श्री भगवान् जन्मिने प्रसङ्ग आएको मात्रै थियो, एकाएक ठुलो हुरी बतास पो चल्न थाल्यो । भगवान् जन्मनु भएको, कंसको कारागारका ताला लागेकाद्वारहरु घरघरी खुल्दै गरेको, अनि वासुदेवले भगवानलाई ढक्कीमा बोकेर यमुना तर्न लागेको बेला घनघोर वर्षा सुरु भयो भन्ने प्रसङ्ग जब आएको थियो, यहाँ पनि त्यस्तै ढङ्गले बेजोडको वर्षा भएको थियो । आज फेरी त्यही दिन जस्तो सम्झाउने गरी वर्षा भयो भनेर सम्झिएको नि सर । अझ संयोग कै कुरा भन्नु पर्ला, मैले गृह त्याग गरेको दिन पनि आजको जस्तै घनघोर वर्षा भएको थियो । ” स्वामीले भन्नु भयो ।

बिस्तारै आएर स्वामी फेरी बालिष्ठामा अढेश लागेर चकटीमा बस्नु भयो अनि मतिर हेरेर भन्नु भयो, “ यतिका दिनहरू पछि आज सपनामा भेटेको जस्तो लाग्ने गरी भेटेको सरलाई हजुरका बारेमा केही नसोधी मेरै कुरा पो सुनाउँदै गएँ । मैले मेरो स्वार्थ त्याग गर्न अझै सकेको रहेन छु, हगि ? मेरै मात्र कुरा सुन्दा झर्को त लागेको छैन सर तपाईँलाई ? ” नील रमणले सोधे ।

“हेर नीलरमण, जड-पशुका त राम्रा कथाहरू हुन्छन् भने मान्छे भए पछि त कथा नहुने कुरै भएन नि । अवश्य पनि मेरा कथाहरू छन् । तर मेरो बारेमा कुनै चाख लाग्दो र रहस्यमय ढङ्गले सुनाउनु पर्ने त्यस्तो केही छ जस्तो लाग्दैन । म पहिला पनि मास्टर थियें, अहिले पनि तेहि मास्टर नै छु । केबल फरक भनेको मेरा कपाल-दारिहरूँ तिल चाम्ले भएका छन् अर्थात् उमेर मात्रै बढेको हो । तर तिम्रो जीवनमा अनुमान नै गर्न नसकेको यो आकाश जमिनको परिवर्तनको कथा सुन्न मलाई निकै नै चाख जागेको छ । यसैले तिम्रा कुरा सुन्न झर्को लाग्ने त कुनै कारण नै छैन ।” मैले भनेँ ।

“प्रारम्भमा सिम्पानीको मेरो बसाई त मेरो आफ्नै घरको बसाई बिर्साउने खालको थियो । तिमी, कोपिला, मुरलीधर, स्कुलका अरू बिद्यार्थीहरु र गाउँलेहरू मलाई मेरै घर परिवारका मानिस जस्तै लाग्दथे । कहिले आपसमा रिसाइयो होला, कहिले खुसाइयो होला, हसाइयो होला, रुवाइयो होला, केही सिकियो होला, केही सिकाइयो होला । ती सबै सम्झनाहरू मनमा अझै ताजा छन् । छवि रमण बुवा-आमाको वात्सल्य, गंगाधर सरको काम प्रतिको लगनशीलता, मेहनत, ईमान्दारिता र अनुशासन, कोकिला भाउजूको आतिथ्यता र सीप, कोपिलाको चञ्चले पन र उच्च कोटिको तार्किक बोली बचन, मुरली धरका विरही गीत, कविता र बाँसुरी वादन, तिम्रो पढाईको श्रेष्ठता जस्ता कुराहरूलाई सम्झेर ल्याउँदा कहिले काहीँ त दुई सेकेन्डको लागि भए पनि समयलाई फर्काउन मिल्ने भए फर्काएर जीवनको त्यो काल खण्ड हेर्न जान मन लाग्दछ ।” मैले भन्दै गएँ ।

“सरको पुरानो समय प्रतिको मोह देखेर मेरो वैरागी मन पनि खल्बलिएर तरङ्गित हुन्छ कि के हो ? तर सर, के समय एकनासले त्यस्तै चित्ताकर्षक रही रहन्छ र? हाम्रै परिवेशमा पनि के समय एकै नासले रही रह्यो त? ”, नीलरमणले पनि उत्साहित भए जसरी सोधे ।

“रहेन, नीलरमण ! सिम्पानीका बसाइका अन्त्य तिरका दिन भने पहिला जस्ता सुखद रहेनन् ।” मैले भनेँ ।

छवि रमण सिम्पानि गाउँमा प्रधानपञ्च मात्र थिएनन्, सारा गाउँलेहरूका अभिभावक जस्तै थिए । गाउँको विकासकालागि अहिलेका काँग्रेस-एमाले जस्ता हैनन् कि हर्क साम्पाङ्ग जसरी दिलोज्यान दिने खालका थिए । सिम्पानीको उन्नतिकोलागि उनले आफ्नै पसिना मात्र हैन, घर खेत र अरू चल अचल सम्पत्ति पनि धेरै खर्चिएर सिद्धाएका थिए । गाउँका अधिकांश मानिसहरूलाई अड्को पड्को परेका बखत फुकाउने, गारो साँगुरोमा हात थापी दिने हुनाले उनी सबै जसोका प्रिय थिए । यसरी धेरै जसो गाउँलेहरूको जीवन छवि रमण बाको ठुलो उपकारको गुनमा चुर्लुम्म डुबेको थियो ।

छवि रमण बाले गाउँमा एउटा विद्यालय खोल्नु भएको थियो । गाउँलेहरूले विद्यालयको नाम श्री छवि रमण माध्यमिक विद्यालय राख्ने निधो गरेका भए पनि यस्तो नाम राख्दा विद्याको मन्दिरलाई व्यक्तिगत घर जस्तो सुनिने हुनाले वहाँले मान्नु भएन र पछि निकै कर गरे पछि व्यक्तिगत जस्तो नसुनिने गरी विद्यालयको नाम “श्री रमण माध्यमिक विद्यालय” भन्ने राखिएको थियो ।

श्री रमण माध्यमिक विद्यालयलाई स्तरीय शिक्षा प्रदान गर्न सक्षम बनाउनका लागि एउटा विद्धान शिक्षक आवश्यक पर्ने हुनाले छबिरमण बा आफै शिक्षक खोज्न बनारस जानु भएको थियो । त्यहाँका हिन्दु सन्त समाजका बिचमा राम्रै हिम चिम बढाउँदै गएका संस्कृत साहित्य विषयमा शास्त्री पास गरेर आचार्य गर्दै गरेका श्री गंगाधर शास्त्रीलाई छबिरमण बाले सिम पानी लिएर आउनु भएको थियो । । गंगाधर सरलाई गाउँमा ल्याएर वहाँको बसाई दिगो होस् भनेर उहाँलाई घरबार जोडी दिएर खान्किकोलागि जग्गा जमिन समेतको बन्दोबस्त गरी दिई स्कुल प्रशासन हेर्ने समेत जिम्मेवारी भएको हेडमास्टर बनाएर सम्मानसाथ गाउँमा राख्नु भएको थियो । यसरी गंगाधर सरकोलागि त छवि रमण बा जिउँदा देवता जस्तै बनेका थिए ।

गंगाधर हेडसरकी जहान कोकिला भाउजू गाउँ भरिमा सुन्दरतामा, शृङ्गारमा, सीपमा निकै उम्दा महिला हुनुहुन्थ्यो । तर कोकिला भाउजूलाई एकाएक गठिया बाथको रोगले च्याप्दै ल्याएर ओछ्यानमा कहरिएर बस्ने अवस्थामा ल्याई पुर्‍याई हाल्यो । यस पछि गंगाधर सरले आफ्नी एक मात्र सालीलाई पढाइ लेखाई पनि दिने र घरको कामकाजमा बिरामी दिदीलाई पनि सहयोग हुने भनेर ससुरालीबाट ल्याएर सँगै राखेका थिए । कोकिला जस्ती दिदीकी पदचाप पछ्याउँदै हिँडेकी उहाँकी बहिनी कोपिला अर्थात् गंगाधरकी शाली तर्कशील र अध्ययनशील समेत भएकी हुनाले झन् विशिष्ट थिइन् । गंगाधरलाई श्रीमती बिरामी परेर झन्डै थला परेको स्थितिमा हुँदा स्वभाबिच रूपले लाग्ने पिरलो त थियो नै तर कोपिला जस्ती साली घरैमा भएकी हुनाले श्रीमतीको स्याहार सुसार लगायत घरको काम काजमा उनलाई कुनै थप जिम्मेवारी आइ पर्नबाट जोगिएका थिए । कोकिला भाउजूको बिमारीको निस्कृयताको कारण परेका अप्ठेराहरू कोपिलाले सर्लक्कै हटाई दिएकी थिइन् र यस्तो अवस्थाबाट गुज्रँदै गर्दा गंगाधर पनि जानी नजानी कोपिलालाई कोकिला भाउजूकै स्थानमा देख्न रुचाउन थाली सकेका थिए । गाउँ घरका चौरस्ता, चौतारा र चिया दोकानहरूमा पनि साली भनेको आधा घरवाली नै हो भनेर गंगाधर सरलाई लक्ष गरेर ठट्टा मजाक गर्न थाली सकिएको थियो । आक्कल झुक्कल यस्ता ठट्टाहरूमा थप थाप गरेर “गंगाधर सरलाई त आजकल खुँदो पल्टेको छ” भनेर मान्छेले गलल हाँसेको आफ्नै कानले सुन्दा पनि गंगाधर रिसाउनुको सट्टा सञ्च मानेर सुन्न थाली सकेका थिए । साँच्चै भन्नु पर्दा यिनलाई यस्तो कुरा सुन्दा कता कता रमाइलो नै लाग्दथ्यो होला र त उनी कुनै प्रतिक्रिया दिँदैन थिए। !

यसै बिच फेरी ब्रह्म गिरि तर्फ तेजले बिजुली चम्कियो र जोडले गड्याङ्ग गुडुङ्गको आवाज आयो । “ओ हो! कतै नजिकै चट्याङ्ग पर्‍यो कि के हो?” मैले झस्कँदै भनेँ ।

“सधैँ त होइन, वर्षाका केही दिनहरूमा यहाँ यस्तो हुने गर्छ । आत्तिनु पर्दैन सर ।” उनले सुदूरमा केही देखे झैँ जस्तो गरेर अर्कै तिर नजर दिँदै भने, “साँच्चै, त्यो बेला सरले सिम पानी छोडेर गएको सुन्ने बित्तिकै म निकै निराश भएको थियें । भेट्न खुब मन लागेको थियो । तर एक पछि अर्का घटनाहरू घट्दै जान थालेका हुनाले मैले मौकै पाइन ।” नीलरमणले स्कुले छात्र हुँदाको बेला बोल्ने गरे जस्तै लवजमा भने ।

“तिमी इन्जिनियरिङ पढ्न भनेर काठमान्डु गई सकेको केही समय पछि त म पनि सिम पानी छोडेर गई हालेँ नि । त्यो बेलादेखि अहिलेसम्म हाम्रो भेटघाट कहिल्यै भएन । पछि तिमी सडक कार्यालयमा ओभरसियर भएर काम गर्न थाल्यौ रे भन्ने सम्म सुनेको जस्तो लाग्छ, तर त्यस पछि के के भयो, त्यति धेरै थाह हुन सकेन ? तर आज तिमीलाई यो जोगीको भेषमा देख्दा मेरो माथिङ्गलले केही बुझ्न सकेको छैन “ मैले उनको जीवनको परिवर्तनको प्रसङ्ग कोट्याउन थालेँ ।

“हो सर, जोगी बन्ने रहर मलाई बालक कालमा पनि थिएन र बैशमा पनि थिएन । वास्तवमा, म एकाएक रहरले जोगी भएको पनि होइन । मानिसहरू केही नलागे जोगी बन्नेछु पनि भन्ने गर्दछन् । तर यो जोगी बन्ने काम बिलकुल सहज छैन । कुनै मानिस झट्ट आवेगमा आएर जोगी बन्ने कुरा सम्भव नै छैन । जोगी भए पछि त्यो जोगी पनलाई दिगो राख्न सकेन भने त्यो एउटा ठुलो दुर्घटना हुनेछ ।” उनले भने ।

“नील रमण ! मलाई एउटा कुरा भनिदेऊ न, जोगी र गृहस्थ मानिसमा के फरक हुन्छ ? के भगवानलाई भेट्न जोगी नै हुनु पर्छ कि मान्छेले पनि भेट्टाउन सक्छ ? उदाहरणकोलागि, तिमी र ममा दुवैले भगवान् खोज्न थालेऊँ भने कसले पैल्हा भेट्टाउला ?” मैले उनलाई ठट्टा गरेँ ।

“जोगीको जीवन निजी हुँदैन, ऊ समाज र अखिल ब्रह्माण्डको सम्पत्ति हो र उसको सम्पत्ति भनेको पनि समाज र अखिल ब्रह्माण्ड नै हो । गृहस्थ मानिसको निजी जीवन हुन्छ । उसको जीवनमा समाज र अखिल ब्रह्माण्ड सहायक प्राथमिकतामा पर्न सक्छ । जोगी वा सामान्य गृहस्थ जो सुकै होस यदि भगवानलाई भेट्न भनेर कुटि वा घरको झ्यालबाट बाहिर चिहाउछ वा यता उता भड्किएर खोज्दै हिँड्छ भने उसले कहिल्यै भगवान् भेट्न सक्दैन । चाहे ऊ जोगी होस कि गृहस्थ होस् । भगवानलाई भेट्न त पहिले वहाँको ठेगाना थाह पाउनु पर्‍यो नि । उदाहरणको लागि, सरलाई मैले र मैले सरलाई भेट्न चाहना गर्दा गर्दै पनि २५-३० वर्षसम्म किन भेट्न सकेनौ ? किनकि हामीलाई एक अर्काको ठेगाना थाहै थिएन ।” स्वामीजीले भन्नु भयो ।

“तर आज पनि ठेगाना थाह भएर भेट भएको त होइन नि, संयोगले मात्र भेट भएको हो ।” मैले भनेँ ।

“मानिस मानिस बिच कुनै संयोगले भेट होला तर भगवानलाई भेट्न उसको ठेगाना थाह पाउनै पर्छ । र ठेगाना थाह भए पछि उस तर्फ तपाई एक पाइला बढाउनु होस उसले तपाई तर्फ दश पाइला बढाउने छ । यो मेरो अनुभव हो । ” स्वामीजीले भन्नु भयो ।

“यस्तो भगवानको ठेगाना कसरी थाह पाउने त, नील रमण?” मैले सोझै सोधेँ ।

“सरलाई पनि भगवान् भेट्न मन लाग्यो ? भगवानको ठेगाना ब्लक नम्बर, गल्ली नम्बर भएको हुँदैन । भगवानलाई पत्र र पुलिन्दा पठाउन सकिँदैन वा पर्दैन । यो त तपाई हाम्रो हृदयमा बसेको हुन्छ । “ स्वामीजीले भन्नु भयो ।

“ए त्यसो भए हरेक मानिस वा पशु पनि भगवान् नै हो “ मैले सोधेँ ।

“हैन, तर मानिसले चाहेमा आफ्नो हृदयको भगवान् भेट्न सक्छ भनेको मात्र हो तर ऊ स्वयम् भने भगवान् होइन ।” नील रमणले भने । उनले अगाडि यस्तो भने, “मान्छे विगतबाट केही सिक्दैन वा विगतलाई सम्झन पनि सक्दैन भने त्यो पशु जस्तै मान्छे हो, मनोरोगी हो । अनि मान्छे यदि विगतबाट सिकेर बर्तमानलाई राम्ररी चलाउँछ भने त्यो आम मान्छे मात्र हो । यसैले त्यस्तो मानिस सामान्य मानिस हुनको लागि मात्र योग्य हुन्छ । यदि मानिस भूत सम्झेर बर्तमानलाई सोची सम्झेर पाइला चलाउने मात्र नभई भविष्यको समेत अनुमान गर्न सक्दछ भने त्यो पनि मानिस नै हो तर परा-मानव हो । उसले धेरै मानवेतर काम गर्न सक्दछ । तर अझै ऊ भगवान् भने होइन ।” स्वामीजीले बताउनु भयो ।

मैले उसले भनेका पछिल्ला कुराहरू अलि बुझिन । तर मलाई के लाग्यो भने यी सन्त जोगीहरूसँग आध्यात्मिक कुरा गर्न थाल्यो भने कुनै पार पाइने वाला छैन । दशै दिनहरू गफमा नै बित्ने छन् । यसैले म कुरालाई मोड्न तर्फ लागेँ । “तिम्रा यी गहकिला दार्शनिक कथा सुन्दै जाँदा, तिम्रो यो जीवनको सरलता र रसिलो ज्ञान भरिएको कुरा सुन्दै जाँदा हामी गृहस्थहरूको जीवन त धेरै बोझिलो र पट्यारलाग्दो पो रहेछ भन्ने बल्ल ज्ञान हुन थाल्यो । नीलरमण, अब त ढिला भइगो होला , नत्र त मलाई पनि तिमी जस्तै जोगी बन्न पो मन लाग्यो ।” मैले अर्ध ठट्टा गर्दै भनेँ ।

“नीलरमण खुलेर मज्जैले हाँसे । अनि भने , “ सर ! जोगी सांसारिक पद होइन,यसैले यो बन्न सक्ने कुरा होइन । जोगी बनिँदैन बरु हुइन्छ । संसारमा ईश्वरको ईक्षा बेगर मान्छेले चाहेर बन्न सक्ने कुरा केही छैन । हो, कसैलाई आफू के हुन गई रहेछु भन्ने पूर्वाभास सम्म हुन सक्छ र यसैले, उसले म पछि गएर यस्तो हुन्छु भनेर दाबी गर्न सक्छ र त्यस्तै भएको पनि हुन सक्छ । तर यस्तो पूर्वाभास हुने मानिस कमै हुन्छन् । अर्थात् ती परा मानव हुन् । “ नील रमणले भने ।

नील रमणले आफ्नो जीवनका कथा नसुनाउने हुन् कि भनेर मैले खुलेर नै प्रश्न राखेँ “ नील रमण ! मलाई तिम्रो जीवनको यो परिवर्तन बारे सुन्ने बुझ्ने इच्छा रहेको छ । के यो कुरा आजको हाम्रो बसाइँमा गर्न मिल्छ ? “

फेरि केही बेर स्वामीजी समाधि लागे झैँ आँखा चिम्म गरेर केही सोचमा डुब्नु भयो र भन्न थाल्नु भयो, “देशमा पञ्चायती व्यवस्थालाई हटाइयो । नेपाल र भारतका राजधानीका खुला र बन्द कोठामा भव्य विजयोत्सव मनाइयो र जुलुस बाजी पनि भयो । यो विजयको पागल उन्मादको आगो काठमान्डुबाट सल्किँदै जिल्ला गाउँ र टोलहरूमा भुमरी परे झैँ रैंदलो मार्न थालेको थियो । यस्ता बेला लहै लहैमा लागेर मानिसहरू सामाजिक सद्भाव बिथोल्न कम्मर कसेर लागेका थिए । घर घरमा आफन्तहरू बिच पनि राजनैतिक झगडा र खिचातानी सुरु भएको थियो । केही दिन अगाडिसम्म देउता जस्तो मानिएका यो शरीरका पिता अर्थात् प्रधानपञ्च छवि रमण बा रातारात अब शोषक सामन्तीमा गनिन थालेका थिए । बाहिरबाट राजनैतिक दीक्षा दिन आएका नचिनेका उरन्ठेउला मानिसहरू गाउँ भरि देखिन थालेका थिए । छबिरमणले रोपेको बर पिपलको छहारीमा नै बसेर उनी विरुद्ध षडयन्त्र तानाबाना बुन्दथे र त्यही कुरा गाउँलेहरूलाई सिकाएर उचाल्दथे । छवि रमणले खनेको कुलोको पानी लागेर फलेको अन्न खादै उनैलाई सत्तो सराप गर्न थालिएको थियो । उनले नै खोलेको हाम्रो श्री रमण माध्यमिक विद्यालयको नाम फेरेर “श्री क्रान्तिवीर माध्यमिक विद्यालय” बनाउँदा पनि हाम्रो गाउँका हामी कसैले विरोध गर्न सकेका थियेनाै । नयाँ व्यवस्थाका ठेकेदारहरुसंग कसैले सीर उठाएर केही भन्न सक्ने अवस्था थिएन । प्रारब्ध वा भाग-भोगको कुरा हो भनेर गाउँका सबै चुप लागेर बसे।”

“उता छवि रमण बालाई भने आफ्नै गाउँको माटोमा सामाजिक प्रतिष्ठामा बिना कारण ठुलो धक्का पुगेकोले उनलाई निकै ठुलो मानसिक असर पनि पुगेको थियो । मानिसको जीवनमा दिन दशा एक्लै आउँदैन ।, सोही कुरालाई मिलाउँदै उनको घरमा अर्को ठुलो बिपत्ति आइलाग्यो । मेरो यो शरीरकी माता अर्थात् उनकी जहानलाई पक्षाघात भयो । केही दिन पछि उनी बोल्न त लेघ्रो तानेर भए पनि बोल्न सक्ने भइन् तर उठ् बस् गर्न भने उनलाई साहारा चाहिन्थ्यो । यस्तो विपद्को घडीमा गंगाधरसर र उनको परिवार सदा छबिरमणको साथमा हुन्थे । छबिरमणको सम्पन्नता वा विपन्नताले गंगाधरको छवि रमण प्रतिको निशर्त आदर वा सम्मानको भावमा कुनै परिवर्तन ल्याएको थिएन । गंगाधरसरकालागि छवि रमण बा पहिला पनि भगवान् थिए र अहिले पनि त्यस्तै थिए । यस कारण गंगाधर सर त छबिरमण बाले “मर्न जाऊ” भनेको खण्डमा पनि कुनै पनि हिचकिचाहट बिना मर्न जान पनि पछि पर्दैन थिए । सामान्यतः कसैको उपकारमा पन्पिएको जिन्दगीमा उपकार कर्ताले एक दिन हिसाब माग्ने गरेको पाइन्छ तर जब छवि रमण जस्ता निशर्त उपकारी मानिसले कसैलाई उपकार गर्छन् भने यस्तो हिसाब मागिने गरिँदैन भन्ने विश्वास सबैमा थियो । छवि रमण बाले उपकारको हिसाब नमागे पनि विधाताले छबिरमण मार्फत केही आसा गरी रहेको रहेछ !” नील रमणले मलाई अलि छक्क पारेर कुरा गर्न थाले ।

गंगाधर उपर छवि रमणको गुनको बदलामा उनले सोझै नमागे पनि विधाताले हस्तक्षेप गरेर उनको तर्फबाट के माग गरेका थिए ? के गंगाधरले त्यो माग पुरा गर्न सके? के त्यही मागको कारण नील रमण जस्ता मेधावी विद्यार्थी जोगी बन्न पुगे? आउँदो भाग ३ मा ।