अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१२ | Colorodo: 09:27

गंगाधरकी साली: बर्षातकी इक रात ! (भाग १)

ज्ञानेन्द्र काफ्ले २०७९ असार ५ गते २१:३३ मा प्रकाशित

श्री निवास शाण्डिल्य र गिरिधर शाण्डिल्यजीको आतिथ्यमा मुम्बाईमा आयोजित शाण्डिल्य गोत्रीय भेलामा मलाई भाग लिने मौका मिलेको थियो । दशैदेखि तिहारसम्म बिदा नै थियो यसैले मलाई सो अवसरमा त्यता जान कुनै अप्ठेरो थिएन । मौका मिलेमा स्थानीय तीर्थस्थल समेत घुमेर आउने मनसायले एकतर्फी टिकट लिएर मुम्बई पुगेको थिए । त्यसपछि शिर्डि साईबाबाको समाधि दर्शन गरेर मनमाड हुँदै घर फर्कन गोरखपुरसम्म जाने ट्रेनको टिकट खोजेको त एक हप्तासम्म पनि एउटा पनि टिकट बाँकी थिएन ।

नेपालमा तिहारको बेला थियो भने त्यसै बेला भारतमा दिवालीको रौनक बर्णनातीत थियो । मुम्बई महानगर र अन्य सहरहरूबाट करोडौँको सङ्ख्यामा मानिसहरू पर्व मनाउन भनेर आ-आफ्ना घर फर्की रहेका थिए । एक्सप्रेस ट्रेनमा बस्ने भुईँ र लोकल ट्रेनमा छत समेत खाली थिएन । यस्तो बेला मैले केही गरी पनि मनमाडवाट गोरखपुर आउने स्लिपर क्लासको टिकट पाउन सकिन । धन्न मेरा मित्र गिरिधर शाण्डिल्यजीका ससुरा नासिकमा रेल्वे कम्पनीमा काम गर्दा रहेछन् र उनले नासिकवाट रेल चढेर गोरखपुरसम्म जाने बन्दोबस्त मिलाई दिने भए । म हतारिँदै नासिऊ पुगेँ । ट्रेनको टिकट त मिल्यो । तर भोलि पल्टको मात्र । जे होस्, हली तिहारको दिन काठमान्डु पुग्न पाउने भएँ भनेर म दङ्ग परेको थिए ।
उता नासिकमा पुगेर एक दिन बस्नै पर्ने भयो । के गरेर दिन बिताउने होला भनेर सोच्दै थियें । उसो त नासिकमा हेर्ने घुम्ने स्थान धेरै रहेछ । भगवान् रामका भाइ लक्ष्मणले शुर्पणखाको नासिका छेदन गरेका हुनाले नै पुरै सहरको नाम नासिऊ रहेको रहेछ । यसैले पञ्चबटि पनि त्यही रहेछ । काला राम र गोरारामको भव्य मन्दिर पनि रहेछ । तर मेरो होटेलको रिसेप्सनिष्टले सुझाए अनुसार नासिकवाट त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग नजिकै रहेको र त्यहाँ एक पटक दर्शन गर्नु मुनासिब हुने कुरा मलाई निकै मन पर्‍यो । सोमबारको दिन नजिकै रहेको प्रख्यात महादेवको मन्दिर दर्शन गरेर समय उपयोग गर्न उचित ठानेर म नासिकवाट बस चढेर साँझको आरती भ्याउने गरी त्यता जान हिँडे । ठ्याक्कै आरतीको समयमा पुगियो र सहभागी पनि भइयो ।

कालो बादलले आकाश ढाकेर निकटमा ठुलो वर्षा हुने सङ्केत दिँदै मेघ गर्जी रहेको थियो । नासिकवाट आएका अरू भक्त जनहरू जस्तै म नासिऊ फर्कन हतारिँदै मन्दिर बाहिर निस्किएको त निधारमा तिन धर्का तेर्सो चन्दन लगाएका, स्निग्ध श्वेत वस्त्रमा लपेटिएका, पूर्ण कान्तियुक्त तेजले भरिएका एक जना जोगीसँग मेरो आँखा जुध्यो । किन किन तिनी मेरा पूर्व परिचित मान्छे हुन् जस्तो लाग्यो तर यी को हुन् र मैले पहिले भेटेको भए कहाँ भेटेको थिएँ पटक्कै खुट्याउन सकिन । म सानो बाच्छोलाई लैनो माउ गाईले पछाडि फर्की फर्की हेरे जस्तै गरी उनलाई हेर्दै नासिऊ फर्कने बस तर्फ अगाडि बढे । ती बाबाले पनि मलाई केही अचम्म मान्दै हेरि रहेका हुन् कि भन्ने कता कता मनमा लागि रह्यो । जे होस्, म नासिऊ फर्कने बस चढे । जब बस हिँड्नै लागेको थियो एक जना मानिस दौडँदै आएर हाम्रो बसको ड्राइभरको झ्याल नजिकै गएर केही खासखुस कुरा गरे ।

त्यसपछि ड्राइभरले “मृदुल मनोहर उदासीन महाराज” यहाँ पधार रहे है । ओ इस् बेसम सवार किसि मुसाफिरसे मिल्ना चाहते है । ईसिलिए बसको थोडि देरके लिए रुक्ना हि होगा । देरि होने के लिए क्षमा चाहता हुँ ।” भनेर एनाउन्स पो गर्‍यो । कालो बादल मडारिएर बर्षात् हुन लागेको छ र, यसैले, सबैलाई समयमा सकुशल वासस्थान पुग्नु नै छ तैपनि जाबो एउटा फुस्रेले कुनै प्यासेन्जरसँग भेट्छु भन्दैमा नियमित सरकारी यातायातको साधन यसरी किन रोकेको होला ? अब प्यासेन्जरले पक्कै रिसाएर कराउने होलान् भन्ने मेरो मनमा लागेको थियो । तर यसको विपरीत सबै जसो प्यासेन्जरहरू “उदासीन महाराज” आ रहे है !” भनेर झ्यालबाट मुन्टो निकालेर पुलकित हुँदै यता उता हेरेर खल्ल बल्ल पो गर्न थाले । यी उदासीन महाराजलाई यो इलाकामा स्थानीयहरूले निकै सम्मानसाथ लिँदा रहेछन् । एकै छिनमा “उदासीन महाराज” उनका २-४ जना चेला चपेटाहरूका साथ बिस्तारै हिड्दै बस रोकेको स्थान तिर आए । ती उदासीन महाराज भन्ने त अघि भरखर मैले आरती सकेर मन्दिरबाट निस्कँदा देखेका जोगी पो रहेछन् ।

ती जोगी बिस्तारै मेरो सिटको झ्याल नेर आएर उनले मलाई नेपाली भाषामा नै एक छिन तल उत्रिन अनुरोध गरे । उनले मलाई गरेको यो अनुरोध बुझे पछि अरू थोक केही नभनी कन्डक्टरले मैले तिरेको नासिऊ सम्मको बस भाडा ११ रुपैयाँ तत्काल मलाई फिर्ता दियो । मैले केही बुझिन र भने, “ यार मुझे अभि किसि तरह नासिऊ पहुचना है, शुभहके ट्रेन से नेपाल जा रहा हुँ, आप क्यूँ पैसे लोटा रहे है । “यति सुने पछि पनि कर गरेर पैसा फिर्ता दिँदै उसले भन्यो, “आप उदाशीनजीका खास मेहमान है, ओ हि आपका न केबल नासिऊ तक बल्की नेपाल तक जानेका प्रबन्ध करने वाला है । प्लिज ए रखिए, धन्यवाद” भन्दै मेरो सर्टको गोजीमा ११ रुपैयाँ वापस गरेर नै छोड्यो । म बडो असमञ्जस्यमा पर्दै अलि रिस र भए समेत मनमा बोकेर तल झरें ।

“ ज्ञानेद्र सर ! मलाई चिन्नु भएन ? उनले मेरो मस्तिष्कमा चीर परिचित रहेको आवाजमा मुस्कुराउँदै सोधे । म एक छिन अक्मकाएको थियें । “तल्ला घरे नीलरमणलाई सम्झिनु हुन्न?” उनले यसो भन्दा म झसङ्ग भएँ । “म क्या, उही छविरमणको छोरा !” उनले यति भने पछि म छाँगाबाट खसे जस्तो भए । यतिका वर्ष पछि नीलरमणलाई ब्रम्हगिरीको काखमा त्यसरी जोगीको भेषमा भेट्दा म आश्चर्य चकित थिए । उसले त्यहाँ सन्तहरूको सानो तिनो अखडा नै खोलेको मात्र नभई सन्तहरूको उपल्लो दर्ज्यानी “मृदुल मनोहर उदासीन महाराज” समेतको पदवी पाएको रहेछन् ।

यत्तिकैमा एउटा सेतो कार आएर उदाशिनजी र मलाई ब्रम्हगिरीको काखैमा रहेको बडो मनोरम कटेरोमा पुर्‍याएर छाडि दियो । यो नै हाम्रो नीलरमण अर्थात् “श्री १०८ मृदुल मनोहर उदासिनजी महाराज” को “कुटि” रहेछ । कुटि त के भन्नु ! सर्व सुविधा सम्पन्न एक अद्भुत धार्मिक स्थान रहेछ । ३०-३५ जनासम्म अट्ने सत्सङ्ग हल, सत्सङ्ग हल, यज्ञ कुण्ड, धार्मिक पुस्तकालय भान्सा कोठा, स्टोर, पाहुना कक्ष, स्नानागार, शौचालय सबैको राम्रो प्रबन्ध थियो । एक जना उनका चेला जस्ता लाग्ने स्थानीय मानिस कुटिको एउटा कुनामा हरियो केरा, आलु र साग काटी रहेका थिए र उनले हामी कुटिमा पस्ने बित्तिकै उठेर “ॐ नमः शीवाय” भन्दै झुकेर प्रणाम गरे ।

नीलरमणले मलाई पाहुना हलको सफा गलैँचामा बिछ्याएको एउटा चकटी र बालिष्टामा बस्न इसारा गरेर आफू पनि त्यही छेउको चकटीमा शान्त पूर्वक बसे । “भाइ तपाई यस्तो भई सक्नु भएछ मलाई छक्क लागि रहेछ । एकातिर तपाईँका बारेमा मेरा धेरै जिज्ञासाहरू मनमा उब्जी रहेका छन् र तपाईलाई भेटेर बेहद खुसी पनि लागेको छ । तर, अर्को तिर, भने मैले धेरै कष्ट गरेर भोलि बिहानको नेपाल जाने ट्रेनको टिकट मिलाएको छु । यसैले नचाहँदा नचाहँदै म अहिले नै छिट्टै नासिऊ पुग्नु परि रहेको छ । मलाई नासिऊ जानबाट हताश रोक्ने यदि तपाई नहुनुहुँदो हो त म अहिले निकै रिसाएको हुने थिएँ । फेरि आज मौसमले पनि साथ देला जस्तो छैन । घनघोर वर्षा हुने छाँट देख्दै छु । यस्तो मौसममा मलाई नासिऊ जाने व्यवस्था गर्न गाह्रो हुने हो कि भनेर डर लागि रहेछ ? “

कालो दारी भित्रबाट लहर मिलेका दाँत सहित मुस्काएर निलरमणले भने, “शान्त रहनुस् सर, आशुतोष महादेवको छेउमा आउनु भएको छ, सबै कुराहरू सहजै मिल्नेछन् । चिन्ता छाडि दिनुहोस् । के तपाईको भोलिको नेपाल फर्कने टिकट फिर्ता गरेर २-४ दिन यतै बसे हुँदैन र ?”

जब नीलरमणले यसरी शान्त भएर बोलेको मैले सुने, तब मेरो जीवनमै उत्कृष्ट ढङ्गले बिताएका सिम्पानिका सम्झनाका दिनहरूका दरबाजाहरू बिस्तार उघ्रिन थाले । म केही बेर कतै हराएँ र केही खोज्न थालेँ ।

सिम्पानीको स्कुलमा म पहिलो चोटि पढाउन जाँदा छविरमण मुखिया बाको घरमा डेरा लिएर बसेको थिए। यी मेरा सामु अहिले रहेका नीलरमण उर्फ “श्री १०८ मृदुल मनोहर उदासिनजी महाराज” छविरमण बाका एक मात्र छोरा हुन् । स्कुलका मेधावी छात्र थिए । SLC पास गरे पछि काठमान्डुमा गएर पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्न थालेका थिए । म पनि सिम्पानी छाडेर आफ्नो वृत्ति विकास तिर लागि हालें । त्यसपछि उनी कता लागे मलाई केही थाह भएन । आज यसरी जोगीको भेषमा भेट्दा भने निकै कुरा मनभरि जिज्ञासा बनेर आएका छन् ।

“मलाई तपाई यहाँ हुनुहुन्छ भन्ने थाह थिएन । नत्र त्यसै गरी कार्यक्रम बनाउने थिए हैन मलाई त भोलि नै जानुछ ।” मैले जिद्दी गर्न थालेँ ।

“ ठिकै छ त, त्यसो भये आज यही बसौँ भोलि यहीबाट ट्रेन स्टशन जाउँला । म तपाईको ब्याग र होटेल क्लियरिङ्ग यही वाट फोन गरेर मिलाई दिउँला” स्वामीजीले मलाई त्यो दिन त्यही राख्ने हुनु भयो ।

यत्तिकैमा पानी दर्किन थाल्यो । ती बाहिर बसेका मानिसले एक कप चिया ल्याएर मलाई दिए ।

“ म सन्ध्या पूजाको बेला केही लिन्न । पूजा सकेर आए पछि सँगै केही भोजन गरौला अनि गफ गरौँला” भनेर वहाँ पूजा कोठा तिर लाग्नु भयो । यता मलाई भने सिम्पानीका बिर्सिएका दिनहरू जागा भएर मस्तिष्कलाई माझमा राखेर घेरो हालेर डेउडा नाच्न थालेका थिए ।

त्यस बेला स्कुलमा प्रधानाध्यापक गंगाधर हुनुहुन्थ्यो । उनकी श्रीमती कोकिला र उनकी शाली कोपिला एकाघरमा नै बस्थे । गंगाधरका एक जना भाइ पनि थिए-मुरलीधर । उनी निकै मिलनसार थिए । सोही स्कुलमा गणित विषयका शिक्षक थिए । गंगाधर आफ्ना भाइ मुरलीधरलाई निकै माया गर्दथे तैपनि जवान भाइ र जवान शाली एकाघरमा राख्दा लोकाचारमा उचित नहोला भनेर होला वा आफ्नी शाली उपर आफ्नै घरमा कसैको सहज नजर नलागोस् भनेर होला गंगाधरले मुरलीधरलाई अलग्गै डेरा लिएर बस्न लगाएका थिए ।

कोपिला बोनसाई गरेर चटक्क मिलाएर सजाएकी फूल जस्ती थिइन् । बोनसाई यस कारणले भनेको हो कि उसका पिडाैला र शरीर जब्बर दर्हा थिए भनेर नछोई पनि जो कसैले अनुमान लगाउन सक्थ्यो र मैले पनि त्यसै गरी अनुमान लगाएको थिए । उनको अनुहार भने भर्खरे ग्रीष्ममा मल जल पुगेर फुलेको गुलाफको फुल जस्तै थियो । तर हामी उसलाई होची भएकी हुनाले बोनसाइ भनेर उपनामले सङ्केत गर्ने गर्दछौँ भन्ने उसलाई थाह छ जस्तो मलाई लागेको थिएन । मैले उसलाई स्कुलमा पढाएको पनि थियें । पढाइमा पनि ऊ निकै तेज थिई । मेरो उचाइ ओैषत मानिस भन्दा अलि अग्लो थियो भने कोपिला भन्दा म झन्डै डेढी बढी उचाइको थिए । स्कुलमा हरेक टिचरहरूको उपनाम हुने गर्दथ्यो- जस्तै लाटो कसेरो, बन ढाडे, गैँडा, रोगी इत्यादि । मेरो पनि उपनाम थियो भन्ने मलाई थाह थियो । मलाई लामघारे भन्थे । एक पल्ट स्कुलबाट फर्कँदा म हिलो बाटोमा चिप्लेर लडेको थियें । पछाडिबाट कोपिला आउँदै गरेकी रहिछ उसले मलाई मरिओ मरिओ हाँस्दै उठाउँदै भनेकी थिई- “ सर म होची “बोन्साई” जस्ती छु तर कहिल्यै बाटो हिड्दा कुप्री पर्दिन र लड्दिन पनि । “लामघारे” मान्छेको सेन्टर अब ग्र्याभिटी जहिले पनि उत्तोैलो भ्यागुतो जस्तो बाहिर उछिट्टिन खोजी रहेको हुन्छ र उसलाई लड्न सानो तिनो सन्तुलन बिग्रनु नै पर्याप्त हुन्छ झन् बाटो नै चिप्लो भए पछि त सबै सक्किगो नि । “उसले सहारा दिएर त उठाई तर” मलाई बोनसाई भन्थिस् नि लामघारे, आज मज्जाले हिलोमा पछ्छारिदा उठाउन त त्यही बोन्साईको हात चाहिदो रहेछ नि” नभनेर बडो मज्जाले मिलाएर घोच्का हानेकी मात्र नभई हामीले उसलाई राखेको उपनाम थाह भैसकेको जानकारी पनि दिएकी थिई । म कोपिलाको सोचमा डुब्न थालेँ ।

बाहिर जोड जोडले पानी पर्न थाल्यो । पूजाबाट फर्की आए पछि हामीले सँगै भोजन गरेऊँ र सानो धुनीबाट श्रीखण्ड मिश्रित वासना समेत न्यानो आइरहेको थियो । कोठामा एक छिन मौनता छायो । मैले मौनता तोड्दै, केही भन्न खोजेको थिए तर स्वामीजीले हात उठाएर रोक्नु भयो र भन्नु भयो-” सरको कौतुहलता म बुझ्छु ।”

फेरि केही बेर मौन बस्नु भयो र स्वामीजीले लामो सास फेर्नु भयो र उनका आँखाले अर्कै लोक तिर हेरे जसरी हेर्दै भन्नु भयो- “ज्ञानेन्द्र सर ! मान्छेको मात्र हैन यो संसारका हरेक ठाउँहरूको, अझ व्यापक रूपमा भन्ने हो भने विश्व ब्रह्माण्डको समेत भाग्योदय र भाग्यक्षयको समय हुन्छ । तपाई सिम्पानी आउँदाको समय सिम्पानीको लागि धेरै उर्वर थियो । यसैले त्यो बेलाका मानिस मात्र हैन, पशुपन्छी, बोटबिरुवा, खोलानाला र जरुवा, खेती बाली मात्र हैन पिपलडाँडावाट बगेर आउने हावाले समेत खुसीयाली र उमङ्ग बोकेको हुन्थ्यो । त्यो सिम्पानीको भाग्योदयको सुरुआति बेला थियो ।”

“गंगाधरकी साली कोपिलाको विवाह भयो । यो विवाहबाट कोही खुसी भएन । गंगाधरको त दाँतमा निकै ठुलो ढुङ्गो लागेको थियो यसैले उनी बेखुसी भएका मात्र हैन बरु झन्डै कोमामा पुगेका थिए । बिचरा ! गंगाधरका भाइ मुरलीधर त आफ्नै कपाल भुत्ल्याउदै गाला कोपरेर धेरै दिन धर धरि नै रोएको थियो रे । कोपिला त जिउँदो लास जस्तो एकोहोरो भएकी थिई । उसले निर्बिबेकी सन्सारसँग रोएर कायरता प्रकट त गरिनन् । तैपनि उनको विस्मयकारी मौनता डाको छोडेर रुनु भन्दा डरलाग्दो थियो । तर उनको अचेतन मनमा प्रतिशोधको ज्वाला दन्केको हुनाले उनको नौनी जस्तो मन विवाहको दिनभरि अररो भएको थियो । सब भन्दा अचम्मको कुरा त के भने उसको लोग्ने अर्थात् म पनि यो विवाहबाट खुसी थिइन । यो विवाहबाट जो खुसी भएर सन्तोषको सास फेरेकी थिइन्, उनी पनि अब यो लोकमा रहिनन् । रहे त केवल सब दुखी मनहरू, मर्त्यलोकको पट्यारलाग्दो जिन्दगी बाँची रहन । यो नै सिम्पानीको भाग्य क्षयको सुरुआती समय थियो ।”

स्वामी फेरी केही बेर मौन बस्नु भयो ।

भाग्यको भुमरीमा गंगाधर कता गए, कोपिला कता गइन, म कता पुगेँ, मुरलीधरको मुरली कता बज्यो क्रमशः खुल्दै जाने छ अर्को भागमा ।

प्रतिक्रिया