अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

गंगाधरकी साली: बर्षातकी इक रात ! (भाग ३)

ज्ञानेन्द्र काफ्ले २०७९ साउन ४ गते २१:१९ मा प्रकाशित

रातिको ८ मात्रै बजेको भए पनि घनघोर वर्षा र बादलको कारणले आधा रात भई सके जस्तो लाग्दथ्यो । वर्षा त आक्कल झुक्कल रोकिन्थ्यो तर बादल फाटी हाल्दैन थियो र ब्रम्हगिरी तर्फबाट मेघ अविरल गर्जी रहन्थ्यो । नयाँ ठाउँमा निष्पट्ट रातमा यस्तो मौसम हुँदा अलि अलि मनमा भय त लागेको थियो तर केही अनौठो रमाइलो पनि लागेको थियो । यत्तिकैमा बाहिरबाट ढोकामा ढक्ढक् गरेको आवाज आयो । स्वामीजीको अनुमतिले एक जना गेरुवा वस्त्र धारी मानिस शिर निहुराउँदै “ ॐ नमः शीवाय: “ भन्दै भित्र प्रवेश गरे । मैले उनलाई उठेर आदरसाथ नमस्कार गरेँ । स्वामीजीले चिन्हाए अनुसार उनी पनि सन्त अखडाकै सदस्य अर्का स्वामी रहेछन् । आजको सोमबार ९ बजे राति मन्दिर बन्द हुनु अघि मन्दिरमा “ श्री मृदुल मनोहर उदासीन महाराज” स्वयम् को कर कमलबाट कुनै छोटो अनुष्ठान हुने कार्यक्रम रहेछ र सो कार्यक्रम स्मरण गराउन भनेर वहाँ आउनु भएको रहेछ ।

अब केही ओैपचारिक परिचयात्मक कुरा हुन थाले । स्वामीजीले मलाई भोजनको बन्दोबस्त गरी दिई सक्नु भएको रहेछ । खाना सकिए पछि मन्दिरको अनुष्ठानमा अरूलाई जान अनुमति नभएकोले म कुटिमा नै केही बेर बस्ने भएँ भने स्वामीजीहरू अनुष्ठानको तयारीको लागि रात्रि स्नान गर्न तिर लाग्नु भयो । मन्दिर नजिकै भए पनि वर्षाको कारण कारमा चढेर वहाँहरू आधा घण्टाको लागि भनेर मन्दिर तिर जानु भयो ।

पानी रोकिने कुनै शुभसंकेत थिएन । भोलि म नासिकसम्म कसरी पुग्ने होला ? अलि अलि डर त लागेको थियो तर स्वामीजीको प्रभावले सबै व्यवस्था भई हाल्नेछ भनेर केही ढुक्क पनि लागेको थियो ।

यता अहिलेसम्म नीलरमणको यो अवतारको सृजना हुनुको कारणको कुनै पाटो खुल्न सकेको थिएन । मलाई यो कारण बुझ्नै पर्ने गरी जुन किसिमले हतार र खुल्दुली लागेको थियो, स्वामीजीमा भने त्यो खालको कुनै हतार थिएन । यसैले यो रहस्य आज रात भरिमा पनि खुल्ला कि नखुल्ला भन्ने शंकाले मलाई सताउन थालेको थियो । बाहिर मौसमले ताण्डव नृत्य देखाई रहेको भए पनि भित्र कोठामा एक किसिमको अनौठो सन्नाटा छाएको थियो । मेरा मनमा सिम्पानीमा हुँदाका बेलाका सम्झनाहरू सल्बलाउन थाले।

हरेक मानिसका बारेमा अरूले राख्ने गरेका धारणाहरू र तद्अनुरुप गर्ने गरेका वर्णनहरू पूर्ण सत्य हुँदैनन् । यसैले म यहाँ उल्लेख भएका पात्रहरूका बारेमा आफूले वर्णन गरेका कुराहरू पनि पूर्ण सत्य हुन् भनी दाबी गर्न सक्दिन । तर एउटा शिक्षक भएको नाताले, लामो समय गाउँमा नै बसेको नाताले र गाउँ घरमा सुख दुखको बेला नजिकबाट एक आपसमा देखेको भेटेको आधारमा उनीहरूको बारेमा अरूले जाने बुझे भन्दा केही बढी नै बुझेको छु भन्ने पनि लागेको छ ।

पहिलो चोटि गंगाधर सिम्पानी आउँदा गाउँमा सबैकालागि उनी एउटा बिल्कुल अजनबी मानिस थिए । गाउँका मुखिया वा प्रधानपञ्च छबिरमण बाका दाहिने हात हुनु र स्कुलका हेडमास्टर हुनुले उनलाई समाजमा घुल्न वा अपनत्व पाउन सारै सहज भएको भए पनि प्रारम्भमा उनको अङ्गीकृत अवस्थाबाट सिम्पानीकै वंशज सरह हुनकालागि गाउँलेहरूको भावना जित्न भने धेरै समय लागेको थियो ।

उनका भाइ मुरलीधरकोलागि भने उनको अजनबी पन् हटाउन उनका दाजुलाई भन्दा पनि धेरै समय लागेको थियो । उनी गाउँलेहरुकालागि, त्यस बेला उनीहरूकै भाकामा भन्दा, एउटा “गवैया” मात्र थिए । बाजाहरू बजाउँथे, गीतहरू गाउँथे, कविताहरू लेख्थे र सबभन्दा ठुलो कुरा त उनी लक्का जवान पनि थिए ।

कुनै समूहले कसैको धेरै चियो चर्चो र कुरा काट्ने गर्छ भने यो अवश्य हो कि ऊ वाट त्यो समूहमा केही आस वा त्रास हुन्छ । यसैले पधेरोमा समेत महिलाहरू बिच गंगाधरको भन्दा बढी मुरलीधरको बारेमा जोर जोरले कुरा गर्न थालिएको थियो । एक दिन पधेरामा यस्ता कुराहरू चलेको थियो रे :

“मुरली धर सरको स्वर मात्र राम्रो हो र ? नाच्दा त साँच्चै भगवान् मुरली धर नै नाचे जस्तो लाग्छ“, एउटि तरुनीले गाग्रो मस्काउँदै आफू पनि मस्किँदै निहुरिएर लजाउँदै भनी ।

“हो नि तर कुरा गर्दा कस्तो चम्याक् चुमुक् गरेर बोल्दा रहेछन् हगि ? तर ती मोराले हामी केटिमान्छेहरुसंग कुरा गर्दा पनि आँखा झुधाएरै धक नमानी पो कुरा गर्छन्, कत्ति न पहिल्यैदेखि चिने जस्तो ! ” अर्की तरुनीले मीठोसँग ठुस्के जसरी कुरा काटी ।

“हुन त मास्टर हो भन्छन् तर नटुवा जसरी ठुमुक् ठुमुक् लर्केर हिँड्छ, यस्ताले त नजानिँदो पाराले गाउँका छोरी बुहारीलाई मुहुनी ( मोहनी ?) मन्त्र पनि फुक्न सक्छ, अलि होस गर है केटी हो ! “ आर्की एउटी अधबैशेले प्याच्च थपी।

“ ख्याल राम्रोसँग भजन गाउँदो रहेछ र ? उसको कुरा सुन्दा त हाम्रा छोरी बुहारीलाई मात्र मुहुनी लगाए त हुन्थ्यो, मोराले आमा-सासूहरूलाई नै मोहनी लाएर घर बिगारी दिन बेर छैन” अलि बुढी बुढीले यसो भनेर आफू पनि हाँसी र अरूलाई पनि कुरैले मर्नि गरी गुद्गुदि लगाई ।

जे होस् गंगाधरको परिवारको, अझ भनाै, मुरलीधरको आगमनले गाउँमा, विशेष गरी महिलाहरू माझ, एउटा बेग्लै तरङ्ग छाएको थियो । वास्तवमा मुरलीधर कमलका फुल जस्ता थिए । आफ्नो मूलाधार हिलोमा भए पनि पारागका रागमा अल्मलिएका भ्रमराहरुलाई आफ्नो छातीका पत्रदलमा सुवासिलो वातावरण सहितको आश्रय दिने गर्दथे र त्यसलाई कतिले प्रेम पनि भन्दथे, तर मेरो बिचारमा, त्यो प्रेम भन्दा उच्च कोटिको स्नेह थियो । उनी पनि बनारसबाट गंगाधर आउँदासँगै सिम्पानी आएका थिए । शैक्षिक योग्यतामा भने उनी मेट्रिक पास मात्र थिए । वनारसमा हुँदा एक जना इलाहावादी ओस्ताजको संगतमा रहेर हार्मोनियम बजाउन र अझ तानपुरामा राग भैरवी बजाउन त पारंगत नै भएर आएका रहेछन् । यिनको डेराको कोठामा पस्ने बित्तिकै खाट, तन्ना, तकिया, सतरञ्जा, पानी राख्ने सुराही र “सम्पत्तिको नाममा बुचे ठेकी” भने जस्तै कुनामा धुलोबाट जोगाउन मैलो कपडाले छोपेर राखेको एउटा हार्मोनियम देखिन्थ्यो ।

सुरुमा पधेरा र गाउँका चौरस्ता र चिया दोकानहरूमा मुरलीधरका बारेमा जे जे नानाथरि शङ्का उपशंकाका कुराहरू चले पनि समय क्रममा सिम्पानीले उनलाई एउटा भावुक, सह्रदयी साहित्यकार र सङ्गीतकारको रूपमा अपनायो ।

एक दिन म उनको डेरामा पुगेका बेला उनले भक्तराज आचार्यको प्रसिद्ध भजन गाउँदै रहेछन् “ तन् मन् बचनले प्रभु नाम गाउँ, हरे राम- हरे कृष्ण भन्दै रमाउँ “ भन्दै आँखा चिम्लिएर यसरी गाएका थिए कि मानाै भक्तराज स्वयम् नै उनै हुन् जस्तो भान् परेको थियो । “ गीत गाउन स्वर राम्रो हुनु गौण कुरा हो, तपाई गीत गाउँदा त्यसमा कत्तिको डुब्नु हुन्छ त्यो नै मुख्य कुरा हो । यसैले संसार बिर्सिएर गीतमा डुबेर गाउने मानिस सफल गायक हो । नृत्यमा पनि यही कुरा लागु हुन्छ ।” उनी गीत र नृत्य प्रतिको आफ्नो सोच यसरी व्यक्त गर्दथे ।

मुरलीधर श्री रमण माध्यमिक विद्यालयमा सङ्गीत विषय पढाउन सक्दथे तर पाठ्यक्रममा सङ्गीत थिएन । यसैले उनको स्कुलमा खासै आवश्यकता त थिएन तर पनि हेडसरका भाइ हुनाले ४-५ कक्षा सम्म नेपाली, सामाजिक जस्ता विषय पढाएर दिन कटाउदथे । मन्दिरका भजनहरू र गाउँका टोलहरूमा सप्ताह, बालन्-भजन, कीर्तनहरू हुँदा भने मुरलीधर निकै व्यस्त हुने गर्दथे । उता श्री रमण माध्यमिक विद्यालयमा सरस्वती पूजा भने भव्य रूपमा सांस्कृतिक कार्यक्रम गरेर मनाउने चलन थियो । त्यति बेला भने मुरलीधरले स्कुलमै भ्याइ नभ्याई हुने गरी काम पाउँदथे ।

मुरलीधरले हाम्रो स्कुलको सांस्कृतिक जिम्मेवारी सम्हाले पछि बिद्यार्थीहरुमा सांस्कृतिक कार्यक्रम प्रति निकै ठुलो जागरण आएको प्रस्ट देखिन्थ्यो । तिन ताक केटा मान्छे र केटी मान्छे युगल गीत गाएर नाच्ने चलन थिएन । नाच्नै परे केटी मानिसहरू, जुँगा दारी बनाएर दौरा सुरुवाल लाएर केटा जस्तै देखिएर नाच्ने गर्दथे । मुरलीधरले नै केटा र केटी सँगै नाच्न हुन्छ भनेर विद्यार्थी र अभिभावकहरूलाई विश्वास दिलाएका थिए । पहिला उनी आफै र ९ कक्षामा पढ्दै गरेकी दाजुकी शाली कोपिलासँग मिलेर “ जाऊँ हिँड ए कान्छी, लैजान्छु म घरैमा बिन्ती छ त्यसो नभन” भन्ने युगल गीतमा नाचेर एउटा उम्दा नृत्यको प्रदर्शन गरेका थिए । यो नाच त त्यस बेला यति भाइरल भयो कि सदरमुकाममा महाराजाधिराजको सवारी हुँदा अञ्चलाधीश कार्यालयबाट आयोजित सांस्कृतिक कार्यक्रममा उनीहरूको त्यो प्रस्तुतिलाई प्राथमिकताका साथ प्रदर्शन गर्न निम्त्याइएको थियो । त्यहाँ पनि उनीहरूले गरेका नृत्यबाट महाराजाधिराज समेत प्रभावित होइबक्सेर सरकारकै बाहुलीबाट उनीहरूलाई नगद र प्रशंसा पत्र समेत निगाह भएको थियो । त्यस पछि त मुरलीधरको प्रसिद्धि दिन दुगुना रात चौगुना हुन पुग्यो । उनी अब राजाका प्रशस्तिहरूले भरिएका राष्ट्रिय गीतहरू पनि आफेले लेखेर गाउन थालेका थिए । यसरी मुरलीधर र कोपिलाको प्रसिद्धि सिम्पानीमा मात्र हैन, वरि परिका सात गाउँहरूसम्म र सदरमुकाममा समेत चर्चा हुने गर्दथ्यो ।

गंगाधरको परिवार नयाँ ठाउँमा आएपछि गाउँमा उनकै कारणले अरू पनि आएका थिए तिनीहरूमा सबभन्दा महत्त्वपूर्ण व्यक्ति थिइन्- कोपिला- गंगाधरकी साली ! नयाँ ठाउँमा कोही अविवाहित नवयौवना आउँदछिन् भने कहिल्यै उनी एक्लै आएकी हुन्नन् । अझ ती नवयौवना रुपासिली, छरिती, मृदुभाषी मिलनसार रहिछन् भने त कुरै अर्को भयो । यसरी गाउँमा कोपिला आउँदा उनका बैशालु भावभङ्गीहरु, मौलिक संस्कार र मान्यताहरू, आनीबानी र बोली चालिहरु पनि सबैसाथ लिएर तामझामका साथ आएकी थिइन्. । उनी गाउँमा आउँदा उनको बारेमा खोट लगाउने कुरा कसैले देखेन । परिवारमा, छरछिमेकमा अझ पँधेरामा समेत कतै उनको कुरा काटिएन; बखान मात्रै भयो ।

कोपिला अविवाहित थिइन्, उनी कसैकी भई सकेकी थिइनन् । अर्थात् उनी सबैकी थिइन् । यसैले उनको हाँसोमा, मुस्कानमा, व्यवहारमा सबैको बराबर हक लाग्दथ्यो तर उनलाई अपनाएर जिन्दगी भरि साथ दिने गरी हक दाबी गर्नेहरूको प्रत्यक्ष र अप्रत्यक्ष लर्को लामै भए पनि वास्तवमा कसको हक लाग्ने हो, यो कसैलाई थाह थिएन, कोपिला स्वयम् लाई पनि यो पक्का थाह थिएन । तर उनले अनुमान भने गरेकी थिइन् ।

आफ्ना भिनाजु गंगाधरको निर्देशनको पढाई र मुरलीधरको सागिंतिक प्रशिक्षणले कोपिलाको मस्तिष्क इस्पात झैँ तिखारिएको थियो । तर यस्ती उदाउँदी कोपिलाको पछाडि मुरलीधर लागेको भने गंगाधरलाई मन परेको थिएन । यसैले आजकल आफ्ना प्राण झैँ प्यारा भाइलाई गंगाधरले कटाक्ष गरेर हेर्न थालेका थिए । यो अवस्था बढ्दै गएर यी दुई दाजु भाइको बिच बोली चाली समेत बन्द भए झैँ थियो । गंगाधरले स्कुलको सांस्कृतिक कार्यक्रम सञ्चालनमा पनि अर्कै शिक्षकलाई खटाएर भाइलाई निस्कृय पार्न खोजेका थिए । उता पञ्चायत ढले पछि मुरलीधरले पाएका राजाका उपहारहरू, उनका राष्ट्रिय गीतहरू सबै कौडीका मूल्यका भएका थिए । उनी राजावादी कलाकार भनेर सबै तिरबाट दुत्कारिन थालेका थिए । यसैले मुरलीधर सिम्पानी छाडेर कतै गएर नयाँ शुरुआत गर्न खोजेका थिए । तर यसो गर्दा कोपिलाको सामीप्यता समेत गुम्ने हुनाले उनी सिम्पानी छोड्न सक्दैन थिए ।

यत्तिकैमा स्वामीजी फर्किएर आइपुग्नु भयो । “ जोगीको घरमा पाहुना हुन पुगे पछि अलि अलि एकान्तमा रमाउने अभ्यास पनि हुनु पर्छ है सर , त्यो राम्रै पनि हो तर अभ्यास छैन भने त निकै कठिन पो हुन्छ त । यत्रो बेरसम्म एक्लै राख्नु पर्दा निकै दुख लागेको छ, सर ।” नीलरमणले बिनयता पूर्वक भने ।

“त्यस्तो केही भएन । बरु यो वर्षा यसै गरी चली रह्यो भने त भोलि समयमा नै नाशिक कसरी पुगिएला भन्ने खुल्दुली लागि रह्यो ” मैले भने ।

“भोलिको चिन्ता तपाईँले गरे पनि नगरे पनि भोलि हुनबाट समयलाई कसैले रोक्न सक्दैन । जे हुने भइहाल्छ । ईश्वरलाई संझनुहोस र आनन्दले सुत्नुहोस् सर ।” नीलरमणले खाँटी जोगी भाषामा कुरा गरे ।

“तर नील रमण ! मलाई अहिले सुत्नु छैन । तिमीसँग धेरै कुरा गर्नु छ ।” मैले भनेँ ।

“मलाई पनि त सरसँग धेरै कुरा गर्नु छ तर हामीसँग सानो एउटा रात मात्रै बाँकी छ । यसैले सबै कुरा हुन नसके पनि जो सकेको गरौँला नि सर । “नीलरमणले छेउको चकटीमा पद्मासन जमाएर बस्दै भने ।

“मैले एस एल सी प्रथम श्रेणीमा उत्तीर्ण गरेकोले इन्जिनियरिङ पढ्ने बिचारले पाटनको पुल्चोक क्याम्पसमा पढ्न थालेँ । समाज सेवामा लागेर यो शरीरका पिता छबिरमणले प्रसिद्धि त कमाउनु भएको थियो तर सम्पत्ति जोगाउन सक्नु भएन । गारो साँगुरो हुँदा वहाँसँग सर सापट लिएकाहरूले पनि तिरेनन् । हाम्रो लर लगानी डुब्दै गयो । हाम्रो खेत जोत्नेहरूलाई यो खेत सामन्तीको हो, अधियाँ बुझाई रहनु पर्दैन भनेर भड्काउन थालियो । र उनीहरू फाइदा हुने हुनाले सहजै भड्की हाले । हाम्रो घरको आर्थिक अवस्था आोरालो लाग्न थालेको थियो । मलाई काठमाण्डुमा पढाउन पनि मेरा पितालाई धोै धोै परेको थियो । यस्तो आर्थिक अवस्था खस्कँदै गएको बेला म ओभरसियर पास भए पछि सरासर बि ई गर्न तिर नलागेर सडक कार्यालयमा काम गर्न थालेँ । म भरखर २१ वर्ष पुगेको थिएँ । जल्दो बल्दो उमेर, टाठो केटो, धेरै तिरबाट बिहेको कुरा आउन थाल्यो । उता म कलेज पढ्दा एउटी शहरिया केटीलाई निकै मन पराएको थियें । ऊ पनि म भने पछि हुरुक्कै हुन्थी । तिमीसँग बिहे गर्न पाइन भने पासो लागेर मर्छु पनि भनी टोपल्थी । एक दिन हामी दुवैजना बगलामुखीको मन्दिरमा दर्शन गर्न गएका बखत तिमी “मेरो दुलाहा” भनेर मन्दिरमा कसैले चढाएको एउटा सानो माला टिपेर लगाइ दिएकी थिई । मलाई छिटै बिहे गरी हाल्न उसले निकै जोड गरेकी थिई । तर यता मलाई भने घरमा बाबु आमालाई सहयोग गरेर वहाँहरूको आर्थिक स्थिति पनि बलियो पार्नु पर्ने थियो । रोगी आमाको ओैषधोपचार गर्नु पर्ने जस्ता व्यक्तिगत दायित्वहरूले गर्दा म तत्काल बिहे गर्ने पक्षमा थिइन । धेरै बोझ एकै चोटि पर्छ कि भनेर मैले केही पछि बिहे गरौँ भनेर प्रस्ताव राखेको थिए ।

“मैले आना कानी गरेबाट ऊ पनि केही झस्किएकी रहिछ । उता उस्का घरका बाबु आमाले यसै पनि मलाई गाउँले वा पाखे सोचेर मन पराउँदैन थिए । मेरो आनाकानीको मौका छोपेर उसलाई संझाई बुझाई गरेर अर्कैसँग बिहे गरी दिने भएछन् । बिहेको टुङ्गो लागे पछि मलाई सत्तो सराप गरेर एउटा चिठी पनि लेखेकी थिई । यसमा मेरै गल्ती थियो जस्तो लाग्छ, यसैले मैले केही भनिन । उसले बिहे गरी सके पछि एक पल्ट काठमाण्डुमा उसलाई झलक्क भेटेको त थिएँ तर उसले मलाई चिन्या नचिने झैँ गरी । मलाई पनि ऊसँग त्यति कुरा गर्न मन लागेन । त्यस पछि मैले उसलाई कहिल्यै भेटेको छैन । उसको पनि थर गोत्र परिवर्तन भयो मेरो पनि असली नाम साम सबै हराई सक्यो । दुवै उस्तै भयौँ ।” यति भनेर नील रमण मरी मरी हाँसे !

“नीलरमण ! यस्तो कुरा गर्दा तिम्रो चित्त दुख्नुको सट्टा हाँसो कसरी उठ्न सकेको हो ?” म गम्भीर भएर सोधेँ ।

“म सानैदेखि एकदम भावुक र स्वतन्त्रता रुचाउने मानिस थिएँ । भावुक थिएँ, प्रेममा परेँ, स्वतन्त्रता रुचाउँदथेँ, यसैले बिछोडमा त्यति अलाप विलाप पनि गरिन । तर उसले मलाई त्यागेर अरूसँग बिहे गर्ने भन्ने खबर पाएको दिन भने मैले अचम्मको सपना देखेँ । उसको बिहेमा मलाई निम्तो आएको रहेछ । मेरो भौतिक बिहे चाहिँ ऊसँग नभए पनि ऊ त मन, बचन र कर्मले मेरै स्वास्नी भई सकेकी त हो नि , आफ्नी वास्तविक स्वास्नीको बिहेमा जन्त जानु के हुन्छ त ? भनेर म त सुट बुट लगाएर उसको बिहेमा गएको रहेछु । जग्गेमा उसको “दुलाहा” गजक्क परेर बसेको थियो । मेरै अगाडि उसले मेरी मनकी स्वास्नीलाई निसंकोच सिन्दूर हाल्यो । सिन्दूर हाल्दै गर्दा केटी चैँ निहुरेर म पट्टी पुलुक्क हेरेर हाँसी । मेरा लागि यो भन्दा ठुलो खिसी के हुन सक्थ्यो र ? म तत्काल जुरुक्क उठेर नेताले भाषण गरे जसरी भनी दिएँ “ यो केटो तिम्रो सिन्दुरे दुलाहा मात्र हो किनकि यसले तिमीलाई सिन्दूर हाल्यो, म चाहिँ तिम्रो मन्दिरे दुलाहा हो किनकि तिमीले मलाई बगलामुखीको मन्दिरमा नै माला लगाई दिएकी थिएउ । यसैले म चाँहि तिम्रो खासै दुलाहा हो । ” यति भनी मात्र सकेको थियें त्यस पछि त के चाहियो ? ती जन्तीमा आएका लठिभुत्ते मान्छेहरूले मलाई पक्रेर धुस्नु हुने गरी कुटे । ब्यूझिदा पनि ढाड दुखी राखेको थियो ।” नील रमण फेरि मज्जाले हाँसे र यस पटक म पनि जमेर नै हाँसेँ ।

के यत्तिकै कारणले नीलमणि श्री मृदुल मनोहर उदासीन महाराज हुन पुगेका हुन् त? अर्को भागमा ।