अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१२ | Colorodo: 12:27

हराएको देश

गोपीराम भण्डारी 'बटुवा' २०८० माघ १ गते ११:५१ मा प्रकाशित

लघुकथा

बिहानै मधुसुदनको मोबाइलबाट फोन आयो । फोनमा मधुसुदन थिएन । ऊ सँगै कम्पनीमा काम गर्ने अर्को नेपाली थियो । उसले भन्यो–“ मधुसुदन अव रहेन ! उसले राती पासो लगाएको रहेछ, बिहान मृत फेला परेको थियो ।” धनमाया बेसरी चिच्याउँदै भनी–“उहाँले कसरी त्यसो गर्न सक्नुहुन्छ? उहाँले साथीसँग पैसा लिएर भोलि फर्कन्छु भन्नुहुन्थ्यो । तिमीले झुटो बोल्यौ कि ? तिमीले केही गर्‍यौ ? नत्र तिमी उहाँको फोनबाट किन बोल्यौ?” धनमाया चिच्याएर आमा भन्दै भुईँमा लडिन् ।

त्यस पछिका दिनमा जति नै प्रयास गरे पनि फोन सम्पर्क भएन । पीडा र वेदनामा डुबेको दशौँ दिन सम्म न त लास नै आयो । न त त्यो खबर झुटो भएको र ऊ जीवित रहेको प्रमाण नै भेटियो । श्रीमानको लास वा श्वास जे भए पनि खोजिदिन अनुरोध गर्दै उसले राजधानीका सबै विभाग, मन्त्रालय र दूतावासमा बिन्ती गरी । जतिसुकै बिन्ती गरे पनि कतैबाट केही पहल भएको थिएन ।

उसमा आशा भरोसा सबै हराई सकेको थियो । ऊ अर्धचेतनमा बरबराउँदै राजधानीका गल्लीहरूमा हिँडिरहेकी थिई । उसको श्रीमानसँगै उसको देश पनि हराएको थियो । ऊ बाँच्ने समाज र आफन्त सबै हराएका थिए । ऊ देशभित्रै अनागरिक भएकी थिई । फ्याउरा र हुँडारहरूको साम्राज्यमा ऊ एक्ली मृग थिई । उसको अस्तित्व प्रति बेखबर समाजलाई निरन्तर थुकिरहन्थी थु थु ,थु थु,थु थु…. तर थुक हावाले कता लग्थ्यो छिटा कतै देखिएन ।