अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

खै के खै के ?

रन्जु मार्ग २०८१ वैशाख ८ गते १५:४१ मा प्रकाशित

लघुकथा :

‘ छोरा अब त बिहे गर्ने उमेर भयो । अब त यो बारेमा सोच्नु पो पर्छ कि ? ‘- आमाले छोरा घरमा आउने बित्तिकै भनिन् ।
छोरा केही नबोली आफ्नो कोठा भित्र छिर्यो ।

आमा पनि छोराको पछि पछि लागिन् ।

‘ हैन किन नसुनेको जस्तो गर्छस हँ ? ‘- आमाले अली कडा स्वरमा बोलिन् ।

‘ हेर बाबु, गाउँलेहरुले नाना थोक भन्न थाली सके । छोराको कहिले बिहे गर्ने ? किन समय मै बिहे नगरिदिएको ?आदी इत्यादी । घरकोलाई भन्दा उनिहरुलाई पो धेरै चासो ?’

‘ आ, आमा पनि कति धेरै कच्कच गरी रहनु भएको ? मलाई बिहे नै गर्न मन छैन ? फेरी तपाईं किन गाउँलेहरुको कुरा सुन्नु हुन्छ ? गाउँलेहरु त त्यस्तै हुन् ! बिहे गरे पछी पनि किन सन्तान भएन भनेर तपाईंलाई सोध्न थालछन भोली ! ‘- छोराले आमा तिर हेरेर भन्यो ।

‘ खै बाबु ?आमाको मन न हो चिन्ता त लागि हाल्छ नि। फेरी तँ सँग के कुरा लुकाउँनु र ?’

‘ के कुरा र आमा ?’

‘ गाउँलेहरुले अर्कै थोक पो भन्छन त तलाई । ‘

‘ के अर्कै थोक आमा ?’

‘ कुन्नी ,के हो त्यो समलिङ्गी रे ? ‘खै के खै के ‘म त केही बुझ्दिन बाबु !!