अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

लोभको बिलाप

सुनिता निरौला पौडेल २०८० फागुन ४ गते १६:३५ मा प्रकाशित

लघुकथा

“हजुर; केही खानलाई पैसा दिनुस् न ! ” जजमानसँग पैसा मागिरहेका थिए उनले ।
“लाऊ यो पैसा पण्डित , केही किनेर खाऊ ,अनि रिक्सामा घर जाऊ।”
खुसी हुँदै पटुकामा पैसा राखेर हिँड्दै घरतिर लागे ।
बाटोमा भाइको घर पर्थ्यो र त्यहीँ पसे ऊनी ।

“बुहारी अलि बाक्लो दूध हालेको चा बनाउन, अलि ठुलो गिलासमा देऊ है ।” हस् भन्दै उनी चिया बनाउन भान्सा घरमा पसिन् ।
सानी छोरी नजिकै आएर सोध्न थालिन् ।
“ठुला बा, कम्मरमा यत्रो कपडा किन बेर्नुभएको ?”

“नानी यसलाई पटुका भन्छन् । यो लगाउँदा भात धेरै खानुपर्दैन । भोक पनि लाग्दैन , कम्मर पनि दुख्दैन ” उहाँको कुरा सुनेर छक्क परिन् ।

उनले एकसिता पनि खाना फाल्न दिन्नथे घरमा परिवारलाई ।
कसैलाई नि विश्वास गर्दैनथे । बाकसको चाबी जनैमा उनेका थिए ।आफ्नी पत्नीले पैसा मागिन् भने कारण खुलाएर मात्रै दिन्थे ।

खाना नखाँदा नखाँदै बिरामी परे उनी । राखनधरन आफ्नै हातमा थियो । कति खान मन हुँदा हुँदै पनि मुखबाट केही जान्नथ्यो ।
पेटमा केही नपरेका कारण उनका आन्द्राहरू सुकिसकेका थिए ।
जजमान आफ्नो पुरेत बिरामी भएको सुनेर हेर्न आए ।

“पण्डितजी,कस्तो छ अहिले ? ”
” हजुर ! गाह्रो भइरहेको छ ,पाप करायो मलाई । ”
” अचम्म मान्दै ! केको पाप भन्छन् हौ , यी पण्डित ! ”
” जहिले नि खान पाइन भन्दै हिँड्ने गर्थेँ , अहिले साँच्चै खान पाइन मैले ” भन्दै डाँको छोडेर रुन थाले ।

भक्तपुर – राधे राधे ,निकोशेरा ।
२०८० – १० – २९ गते ।

प्रतिक्रिया