अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

आमाको चिन्ता

रन्जु मार्ग २०८० माघ १२ गते १३:४२ मा प्रकाशित

लघुकथा:
चार भाइ छोराहरू चार भिन्न भिन्न पार्टीमा लागेता पनि एउटा सिद्धान्त भने समान थियो राजतन्त्र फर्काउने !

भोलिको कार्यक्रममा यही विषयमा छलफल गर्न उनीहरूले संयुक्त कार्यक्रमको आयोजना गरेका थिए ।

त्यो कार्यक्रममा पूर्व राजालाई पनि बोलाइएको थियो । सबै उत्सुक थिए पूर्व राजा आउने सङ्केतले ।

‘राजा … राजा…. राजा …!! हैन किन यसरी राजा चाहिन्छ भन्छौ ? पहिले राजा नै थिए त, यी पार्टीका नेताहरू नैमिलेर फ्याँकी दिए । अब फेरी यिनीहरूलाई नै राजा चाहिने भयो ?’

छोराहरूलाई खाना पस्किँदै आमाले आक्रोश पोखिन् ।

‘आमा पनि बुझ्नु न सुझ्नु त्यतिकै प्वाक्क बोल्नु हुन्छ ।’- एउटा छोराले आमातिर हेरेर भन्यो ।

‘ तिमीहरूले भनेर हुन्छ ,म नपढेकी भए पनि सबै कुरा बुझ्छु । ‘

‘ के कुरा बुझ्नु भयो ? ल भन्नुस् त ?’ अर्को छोराले सोध्यो ।

यी राजनीतिक पार्टीहरूले नि साँच्चिकै राजा ल्याउन कहाँ खोजेका हुन र ?’

‘के गर्न खोजेका हुन त ?’-अर्को छोराले झर्कँदै सोध्यो ।

‘यिनीहरू त आफै राजा हुन खोजेका हुन । ‘- आमाले छोराको प्रश्न भुईमा खस्न नपाउँदै बोलिन् । छोराहरू एक आपसमा मुखामुख गरे ।

आमा फेरी पूर्व राजाप्रति सहानुभूति देखाउँदै भन्छिन् –

बिचरा … ! पूर्व राजा आफ्नै देशमा त बस्न पाएका थिए तर त्यो पनि अब यिनीहरूकै कारणले बस्न नपाउने हुने भए …. !!