अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

साधक र साधना

रश्मि भट्ट २०८० माघ १३ गते १५:२९ मा प्रकाशित

कथा
जेठ वैशाखको प्रचण्ड ताप, श्रावण, भाद्रको भीषण वर्षा, पौष माघको विषाक्त ठिही सहेर किसानले खेती गर्‍यो । मँसीर आउनासाथै साहुहरू आएर सबै अन्न लगी भकारी भरे । ईश्वरका सेनामेनाहरूले यमराजलाई भने — हे यमराज पृथ्वी लोकमा जानलाई हामी तयार हुनुपर्‍यो । किन कहाँ के भयो र ? सेनाहरूले उत्तर दिए — किसान छिटै भोक भोकै मर्नेछ । हामी तयारी अवस्थामा रहनु पर्‍यो नि । हत् लाटा हो – म किन मर्न दिन्छु उसलाई ? उसको धर्म छाडेको छ र ? भोलि पल्ट बिहानै किसान धानका ठुटाहरू निक्लने गरी खेत जोत्दै थियो । सेनामेनालाई बोलाएर भगवानले देखाए – ऊ किसान त झनै राम्रोसँग खेत जोतिरहेको छ त, ल हेर, तिम्रै ऑखाले राम्रोसँग हेर ।।

सानैदेखि कविता लेखिरहने र कवितामा पनि अव्वल क्षमता भएका कविले असँख्य फुटकर देखि महाकाव्य सम्म कविता लेखे । उनलाई कहिल्यै कसैले केही पुरस्कार दिएनन् । राजनीति गरी गरी, तीन चार पटक माननीय भई भ्रष्टाचार गरी अरबौँ कुम्ल्याएका एक राजनीतिज्ञले उसलाई सहयोग मागे । मबाट हुन सक्ने के नै छ र ? छ भने म नि:स्वार्थ सहयोग गरिहाल्छु नि, वचन दियो । एक समसामयिक विषयमा कविता लेख्न र आफूले लेखेको नभनिदिन सहयोग मागे । उसले लेखेर दियो ।

एक महिनापछि एक कविता प्रतियोगितामा उनी प्रथम भएछन् । कविता उसैले लेखेको थियो । कार्यक्रम जुमबाट प्रसारण भइरहेको थियो । पुरस्कार पाएपछि कविरूपी राजनीतिज्ञको मन्तव्य सुन्न बडो लालायित भएर सुनिरह्यो । राजनीतिकले बडो प्रसन्न मुद्रामा भन्दै गए । हेर्नुहोस् — “हामीसँग आजको यो विजयी कविता जस्तो अरबौँ कविता लेख्ने सामर्थ्य नभएको हो र ? तपाईँहरू कलम र मसी लिएर कापी कोतरेर बसिरहनुभयो । हामी देश र जनताको भलाइको लागि सिङ्गो जीवन खर्चेर बस्यौँ । जे कुराको पनि समय आउनु पर्दो रहेछ । आज परमेश्वरले मेरो कामना, म भित्रको कवित्व चेतनाको मूल्याङ्कन गरिदिनुभयो । मलाई यो भन्दा खुसी र गौरवको अर्को कुन क्षण होला र ? जुमको हल पुरै ताली ले गडगडाहट भयो । कविले पनि म मात्र के लाई एकले ढेडु हुनु भनेर जोडले ताली पड्कायो तर तिनीहरूले नदेख्ने गरी ।।”

दुई चार दिन कविको कविता कहीँ कतै आएन । ईश्वरको सेनाले भने — यमराज हामी फेरि पृथ्वी लोक जान तयार हुनुपर्‍यो । किन? ईश्वरले सोधे— किनकि एक धुरन्धर कवि सॅधै हारेकै थियो, यस पटक त झन् यसरी हार्‍यो कि, उसैले लेखेको कविताबाट एक राजनीतिज्ञले ठुलो पुरस्कार लिएर चर्चा बटुलिरहेको छ । कवि दुई हप्ता भयो कहीँ देखिएकै छैन । ईश्वर फेरि कड्किए ? –पख केही दिन म हेर्छु अनि । भोलिपल्ट बिहानै कविले एक अखबारमा एक कविता लेखे । शीर्षक थियो —“ईश्वरको देहान्त “। सेनामेनाहरू सबैले हातमा एक एक कपि लिएर यमराजकोमा आए । हे ! यमराज कवि त मरेको रहेनछ,साँच्चै जीवित रहेछ तर यसलाई अहिल्यै घिसारेर यहाँ ल्याउनु पर्‍यो । किन ? – बडो आश्चर्यकारसाथ यमराजले सोधे । उनीहरूले त्यो कविता यमको हातमा थमाए । यमराज खुसीसाथ एकदमै मुस्कुराए र भने —स्याबास कवि । तिमी आफ्नो धर्माट विमुख हुनै सक्दैनौ । तिमीले बेजोड कविता लेख्यौ । यमराज तपाई यो के भनिरहनुभएको छ ? कविले त जीवितै अर्थात् कहिल्यै जन्म मरण नहुने हजुरहरूलाई मरेको भनेर लेखिसक्यो । छाड यो कुरा— आफूले गरेको सच्चा कर्मको प्रतिफल अर्कोले लिँदा कसलाई दुःख पुग्दैन र ? को निराश हुँदैन र ? फेरि जन्मन र मर्नै नपर्ने भाग्य पाएका हामीलाई उसले मर्‍यो भनेर के फरक पर्‍यो र ? मलाई त ऊ नमरोस् भन्ने थियो । जीवित छ यही नै मेरो खुसी हो । उसले आफ्नो धर्म छाडेन । धर्म र सत्चरित्रमा रहनेहरूले नै हो पूर्ण आयु पाउने । के धर्म गर्‍यो त कविले यमराज ? कविता, साधना । सेनाहरू चुप लागे ।।

आफ्नो सामान्य खर्च पनि कटाएर सधैँ सधैँ समाज र आफूभन्दा दुःखी मानव जातिलाई सेवा गर्दै आइरहेको सेवक सन्तनुले पनि उसको सट्टा अर्कैले समाज सेवाको पुरस्कार हत्याएको सूचना पायो । यो त अति नै भयो । उसले घोर विरोध जनायो । पुरस्कारका दाताहरूले पनि उसलाई प्रष्टीकरण दिँदै भने — उहाँले चन्दा मात्रै कति दिनुभएको छ, ल लिस्ट हेर्नुहोस् । सन्तनुले पुरै लिस्ट हेर्‍यो । सबै ठाउँमा उसको र अरू ऊ जस्तै शन्तनुहरूको मात्र धेरै थोरै सहयोग रकम देख्यो । पुरस्कार लिनेको देखेन । उसले भन्यो- खै उसले त एक पैसा पनि सहयोग गरेको देखिँदैन त । उनीहरूले फेरि अर्को लिस्ट पठाए — ल हेर्नुहोस् तपाईले शयौं ठाउँमा शयौं पटक सहयोग गरे बापत दिएको रकम र उहाँले हाम्रो संस्थालाई एक पटकमै गरेको सहयोग रकम -कुन ठुलो छ महाशय ? यसै विरोध जनाउने ? सन्तनुले साँच्चै जोडेर हेर्‍यो– उसले आजसम्म शयौं ठाउँमा सहयोग गरेको रकम मात्र दश हजार डलर । उसले उनीहरूको संस्थालाई एकै पटक सहयोग गरेको रकम बिस हजार डलर । सही हो, एकदमै सही हो । हैन, हैन कहाँ सही हुनु । किन साहित्य र समाजसेवा भन्ने शीर्षकको पुरस्कार दिने ? उसले न त साहित्यलाई एक सुका सहयोग दिएको छ न त दुःखी गरिबलाई? उसले त यही पुरस्कारको डबल रकम पो उनीहरूलाई दिएको छ त । यो त अन्याय नै हो । बरु उसले आफ्नो पुरस्कारको लागि र अन्य एक दुई जनालाई दिन पुग्ने रकम हामीलाई आफै प्रदान गरेर महासहयोग गर्नु भएको छ भने हुन्न र ? म आपत्ति नै प्रकट गर्दछु । आपत्ति मात्र हैन यस्ता कुराको घोर आपत्ति प्रकट गर्दछु । आउँछ र विरोध गर्छ, अनि भाँड भैलो मच्चिन्छ भनेर कार्यक्रममा उसलाई निमन्त्रणा नै गरिएन । कार्यक्रममा उसको उपस्थिति नभए पछि हराएको वा बेपत्ता पारिएको हुन सक्ने आशङ्काले यमको सेनामेनाहरूले उसको खोजी गरे । ऊ एक धार्मिक स्थलमा प्रभुको भजन कीर्तनमा बढो हर्ष साथ समय बिताइरहेको थियो । अनाथहरूलाई बढो प्रेमको साथ खाना र कपडा बाँडिरहेको थियो । यमले सेनामेनाहरूलाई बोलाएर भने — अव कसलाई कस्तो सजाय दिने, कसलाई कहिले कति बेला यहाँ ल्याउने ? तिमीहरू आफै निर्णय गर्नु । मलाई सोधिरहनु पनि पर्दैन । के कसरी यमराज, एक पटक अझै प्रस्ट पारिदिनु । ल सुन — जो कस्तै दुःख र अन्याय पर्दा पनि आ-आफ्नो कर्म र धर्मबाट विमुख हुँदैन । यतिले पनि बुझ्दैनौ भने सम्झनु — हामीले माथि छलफल र वर्णन गरेका जस्ता ती तीन व्यक्तिहरूलाई । जो — एक किसान, दुई, कवि तिन समाजसेवी । इति श्रीस्कन्ध पुराणे, छलकपट, बेइमानी, घातक, दुष्ट जने, दुष्कर्मे कथा लिखित वाचनम् एक सूक्ष्म अध्याय वर्णनम् । इति ।।