अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

मिथ्या

गोपीराम भण्डारी 'बटुवा' २०८० फागुन १२ गते ७:४५ मा प्रकाशित

धर्ती लोकमा हानेश्वर र उखलप्रसाद नामका दुई युवक पूजाआजा र होमाग्नी गरिरहेका थिए । उनीहरूको उद्देश्य लोकको सेवा थियो । न्याय,सेवा,धर्म र लोकहित हराई सकेको धर्तीबाट मन्त्रोच्चारण सहित होमाग्नीबाट उत्पन्न तरङ्गले स्वर्ग लोकमा महादेव पार्वतीको आसन डगमगायो । महादेव ध्यानमा व्यस्त भए पनि पार्वतीले धर्ती लोक चिहाउनु भयो ।

होम अभिषेक पश्चात् दुवै युवकले आ–आफ्नो कार्यारम्भ गरे । दुवैको उद्देश्य रोग,भोक र शोकबाट मानवलाई मुक्ति दिलाउने थियो । हानेश्वरले औषधालय,उपचारालय खोलेर मानवलाई पीडा मुक्त गर्न थाले । उखलप्रसादले मानवलाई कुनै कुराको सङ्क्रमण हुन नदिन योगालय,भोजनालय, मोजमस्तालय नामका उद्योगद्वारा सेवा प्रवाह गरे ।

रोग,भोक र शोकले आक्रान्त मानवलाई मुक्तिका दुई मार्गले आकर्षित गर्नु स्वभाविक थियो । तत्कालको समाधान र कालान्तरको समाधान चाहाने मानिसहरू दुई हिस्सामा विभक्त थिए । समस्या समाधान हेतु खण्डित मानवहरू र लोक हितार्थ अग्रसर युवकका कर्म नियालिरहेकी पार्वतीले महादेवलाई भनिन–“ हे,महेश्वर पृथ्वी लोकमा अचेल सेवा भाव र धर्म पलाएको रहेछ । हजुर ध्यानमाहुँदा मैले नजर लगाएकी थिएँ ।”

जटामा अडिएको हिउँ खसाउँदै महादेवले भन्नुभयो–“प्रिय तिमी भ्रममा पर्‍यौ होला , कलियुगमा यस्तो कहाँ हुन्छ ?” आफैले देखेकोमा अविश्वास गर्ने महादेवको शङ्का निवारण गर्न अनुरोध गर्दै भनिन–“धर्ती लोकको अवलोकन गरौँ न त !”

पार्वतीको अनुरोध बमोजिम दुवै सेवकलाई स्वप्न सन्देश मार्फत टुँडिखेलमा बोलाउनु भयो । महादेव पार्वती स्वर्ण मूर्ति स्वरूप टुँडिखेलमा उपस्थित हुनुभयो । एकै समयमा उपस्थित हानेश्वर र उखलप्रसादले स्वर्ण मूर्ति आ–आफ्नै दाबी गरे । बहुमूल्य मूर्ति आफ्नो बनाउने चेष्टाले मूर्ति तानातान गरे । तान्दा तान्दै दुवैको हातमा सर्पको काँचुली आयो । दुवै उत्तानो परे । मूर्तिबाट महादेव पार्वती दिव्यरुपमा प्रकट भई भन्नुभयो–“थुक्क मनुवा, लोकहितलाई देखाउने दाँत बनायौ । उद्देश्य सेवा, धर्म र लोकहितको, कर्म भने अर्थ प्राप्तिको ! उद्देश्य विपरीत यस्तै यस्तै मिथ्या कर्ममा अग्रसर हुनाले जैविक अस्तित्व सङ्कटमा छ । कर्मअनुसारको फल भोग्न तयार होऊ ।”

यति भनेर महादेव पार्वती विलीन हुनुभयो । युवकले हातको काँचुली नियालिरहे ।।