अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

गंगाधरकी साली : बर्षातकी इक रात ! (अन्तिम भाग)

ज्ञानेन्द्र काफ्ले २०७९ भदौ ४ गते ११:४१ मा प्रकाशित

(भ्रष्टाचारको नाङ्गो तस्बिर)

“केही दिनमा नै आमा बित्नु भयो । यसको चोटले हो कि के भएर हो दिन बित्दै जाँदा कोपिलाको स्वभावमा निकै परि बर्तन आएको थियो । तै पनि ऊ मणि हराएकी सर्प जस्ती थिई । ऊ निकै नै सोझी भएकी थिई । उसले कहिल्यै मसँग जागिरमा सँगै जान्छु, यस्तो चाहियो उस्तो चाहियो भनेर कुनै गुनासो गर्दिन थिई । ऊ मेरो घरमा नै बुबासँग बसेकी थिई । म १-२ महिना घर नआउँदा पनि किन यसपालि ढिला आउनु भयो भनेर सोध्दिन थिई । चाँडो जाँदा पनि त्यति धेरै खुसी हुन्न थिई । एकोहोरो घरको काम मन लगाएर गरी रहन्थी । फुर्सदमा ऊ रेडियोको गीतहरू सुनी रहन्थी । मेरा बा, ऊ जस्ती बुहारी पाएर दङ्ग थिए । तर कोपिला र म हामी दुवै त्यति खुसी थिएनौ ।”

अनि नील रमणले आफ्नो जीवनको बारेमा जुन पाटो खोले त्यो अपत्यारिलो मात्र हैन लज्जास्पद पनि थियो ।

“उता जागिरमा भने मेरो तलब आए नआएको मलाई थाह नै हुँदैन थियो । हामीलाई अनियमित काम गरी दिनु पर्‍यो भनेर कुनै रिसवत आउँदैन थियो तर कार्यालय भित्रै कागज पत्र मिलाएर हुँदै नभएको खर्च भएको देखाएर बाँडिने नगद प्रशस्त आउँथ्यो । कतै बाटामा यातायात सुचारु गर्न भनेर कलभर्ट राखेको भनेर कार्य सम्पन्न प्रतिवेदन बनायो अनि अलि पछि त्यही ठाममा वर्षामा पानी परेर ठुलो भेल आई कलभर्ट समेत बगाई बेपत्ता भएको भन्ने मुचुल्का लेख्यो । यसरी फर्जी लागतको रकम निकासा गरायो र दर्जा अनुसार सबैमा बाँडेर खायो । फेरि लेबरहरू लगाएको भनेर हाजिरी ( Muster Roll) बनायो र किर्ते सही गरेर ती काल्पनिक लेबरहरूको लागि रकम भुक्तानी भएको कागज बनायो अनि फेरि उसै गरी मिलाएर खायो । नजिकैको होटेलमा खाना-खाजा खाइन्थ्यो र महिनाको अन्त्यमा कति भो साहुजी भनेर सोध्दा एकाउन्टेन्ट साहेबले मिलाई सक्नु भयो भनेर साहुजी सधैँ भन्ने गर्दथे । तलबको रकम कतै खर्च हुने भएन, तलब अलावा नै दायाँ बायाँ गोजीमा टन्न पैसा हुन्थ्यो । मलाई त यो ठाउँ स्वर्ग जस्तै पो लाग्यो !”

मेरो जागिर भएको ठाउँ सदर मुकामबाट अलि टाढा भएकोले ठुला ठुला हाकिमहरू पनि त्यहाँ रेष्ट गर्न आउँथे र त्यस बेला बिदेसी रक्सी रु, खसी, कुखुरा राम्रै बन्द बस्त गर्नु पर्दथ्यो र लेखापाल साहेबले सबै मिलाएका हुन्थे । रक्सी लाग्दै गर्दा ती माख्लो अड्डाका सिनियर ईन्जिनियरहरु आफ्ना पुराना सबै कुराहरू खोल्दै जान्थे र कोही त आफ्नो विगत सम्झेर रुन्थे ! कोही त गेस्ट हाउससम्म पनि पुग्न नसकी त्यही दरिमा छाद्नु छेर्नुसम्म गरेर ढलेका हुन्थे । जसो तसो पिउन् लगाएर तिनीहरूलाई पलङ्गसम्म पुर्‍याई दिन्थेउ । भोलि पल्ट ह्याङ्ग उतार्न कागती हालेको चिया- सर्बत खान सबै जम्मा हुँदा भने उनीहरू हिजोको आफ्नो खाते विगतको पोल खुली सकेको थाह नपाए झैँ एकदम घरानियाँ कुरा गर्न थाल्दथे ।

हाम्रो विभागीय प्रमुख त खाँटि स्वाद त येल (Ale) मा हुन्छ, ल्यागर (Lager) त केटाकेटीले खाने जस्तो लाग्छ । मलाई त थोरै भए हुन्छ बरु येल (Ale) नै चाहिन्छ । सङ्गीतको कुरा गर्नु हुन्छ भने मोजार्टको क्लासिकल म्युजिक नसुनी त निन्द्रै लाग्दैन भन्थे । हिजो जाँड लाग्दा चाहिँ मोही समेत पल्लो घरबाट मागेर खानु पर्थ्यो, लामखुट्टेबाट बच्न झुल समेत थिएन त्यही लामखुट्टेका गीत सुनेर निदाउनु पर्थ्यो भनेर धर धरी रुन्थ्यो । आज त्यही हाकिम यस्तो कुरा गर्दै हुन्थ्यो । त्यहाँ विचित्रको संसारमा बिचभित्रका मानिसहरू बसेको जस्तो लाग्थ्यो ।

यी हाकिमहरू जस्ता भए पनि यिनीहरू आउँदा रमाइलो हुन्थ्यो । यिनीहरू ४-५ दिन नै हामीकहाँ बस्दथे र यी बसुन्जेल हामीले उनीहरूलाई सुरा, सुन्दरी सब मिलाइ दिनु पर्दथ्यो । यिनीहरू गए पछि यिनीहरू आउँदा बस्दा लागेको खर्च निकाल्न निकै किर्ते काम गर्नु पर्दथ्यो । सबै मिले पछि के भयो र? २० हजार जति खर्च भएको हुँदो हो हामी ५० हजार जतिको बिल बनाएर खान्थ्यौँ । हामीलाई जताबाट पनि फाइदा नै हुन्थ्यो ।

हाम्रो कार्यालयमा यस्तो कल्पनातीत कुसँस्कृति स्थापित भएको थियो कि अहिले सम्झँदा मात्र पनि जीउ सिरिङ्ग गर्दछ । गाउँ वर परका उमेर पुगे नपुगेकालाई समेत सरकारी कागज किर्ते गरेर लेबर, नाइके भन्ने जस्ता पदमा राखी तिनै सुन्दरिहरुसंग रात बिताउँदथ्यौँ र महिना मरे पछि ती सुन्दरीहरू पैसा बुझेर जान्थे । अर्थात् सरकारी खर्चमा नै करणी गर्न पाइन्थ्यो । अलि मन परेकालाई लेखापालले “ओभर टाइम” समेत राखी दिएका हुन्थे । म पनि त्यता तिर सल्की सकेको थिएँ ।” यति भनेर नील रमण उर्फ “श्री मृदुल मनोहर उदासीन महाराज” केही बेर चुप लागे ।

“साँच्चै हो र, नीलरमण ? यो त साह्रै नराम्रो कुरा पो सुनाउनु भयो ।”, मलाई उदेक लाग्यो ।

“ म सिङ्गो सबुत तपाईँको अगाडि बोली रहेछु तर सर भने साँच्चै हो र? भन्नु हुन्छ । म यता त्यस्तो दुर्व्यसनी भई सके पछि मलाई मेरी जहानको अगाडि जान सम्म पनि डर लाग्दथ्यो । म लेखापालले फर्जी बिल बनाएर किनेको दामी सारी चोलो र अरू कपडा, गर गहना लिएर आफैले किनेको भनेर घर गएका बेला उसलाई दिन्थेँ । ऊ मेरो अगाडि खुसी भए जस्तो गरी यसो सामान ओल्टाई पल्टाई गरेर महत्त्व दिएर हेरे जस्तो गरी दिन्थी । किन गाउँमा बस्ने हामी जस्तालाई यस्ता धेरै महँगा कपडा किनेर फजुल खर्च गर्नु हुन्छ भन्ने गर्दथी । ऊ सांसारिक कुरामा निकै निराशक्त जस्तो लाग्दथ्यो । वास्तवमा म भोगी र ऊ जोगी जस्तो लाग्दथ्यो । ऊ भित्रैबाट खुसी भएर हाँसेको मैले कहिल्यै देखिन ।”

“म तपाईँलाई मेरो जीवनको अर्को रहस्य बारे बताउँदै छु । मेरो जीवनमा कुनै परिवर्तन हुनु छ भने म अनौठो सपना देख्ने गर्दछु । एक दिन मैले त्यस्तै सपना देखेँ । सपनामा मेरी श्रीमतीलाई लिएर म काठमान्डु गएको रहेछु । मैले उसलाई भ्रष्टाचार गरेर पाएको पैसा खर्च गरेर निकै दामी सारी चोलो लगाउन दिएको थिएँ । गहनाले झरिझुट्ट पारेको थिएँ । हामी सपिङ गर्दै न्यूरोडमा हिड्दै थियौँ । मेरी श्रीमती मभन्दा अघि अघि हिडि रहेकी थिइन् । म उनलाई देखेर छक्क परे । उनले लुगा त लगाएकी थिइन् तर उसको लाज छेकिएको थिएन । ऊ सर्वाङ्ग नाङ्गी थिई । लौन के भयो ? म तिन छक परे । लुगाहरू त एकाएक पूर्ण पारदर्शी प्लास्टिक जस्ता पो भए त । म उनलाई भेट्टाउन खोज्छु तर सक्दिन ऊ त ठम्ठम् मुस्कुराउँदै नाङ्गै देखिएर हिड्दै भीडमा हराई !” म झल्याँस्स ब्युँझिएँ । म यो सपना मात्र रहेछ भनेर कति धेरै खुसी भएँ । तर पनि मनमा कताकता नराम्रो लागि रह्यो । कतै मेरो मेहनतको कमाइले स्वास्नीलाई आज सम्म तुनाको धरो सम्म नकिनेको हुनाले यो लाक्षणिक सपना त होइन? मनमा अनेक कुरा खेली रहे ।

भोलि पल्ट बिहानैको बस चढेर घर गएँ । घरमा त एकदम सन्नाटा छाएको थियो । बुवा केही बोल्नु भएन । घरमा काम गर्न सहयोग गर्ने एक जना दिदी हुनुहुन्थ्यो मलाई देख्ने बित्तिकै छाँद हालेर रुन थाल्नु भयो । “ बुवा कोपिला खोइ ? ऊ सन्चै त छ “, मैले आत्तिँदै सोधे ।

“ ऊ त सन्चै छ नि बाबु तर हामीलाई जिन्दगी भरि बिसन्चो बनाएर गई हाली ….” यति भनेर बुवा पनि भक्कानिन थाल्नु भयो । पछि बुझेँ कि, ऊ त मुरलीधर मास्टर साहेबसँग पो बस्ने गरी दार्जिलिङ तिर भागिछ । यसरी म उपर ठुलो बज्र पात पर्‍यो । “

“मलाई कोपिलासँग रिस उठेन । तर लौकिक लाज लज्जाले सताउन थाल्तो । यो लाज भनेकै देखिए मात्र त लाग्ने रहेछ नि । किनभने कोपिला मबाट भागेको सर्वत्र देखिएको थियो, यसैले म धेरै लज्जित भएको थिए तर मेरा अनैतिक ब्यबिचार र सरकारी पैसाको चरम दुरुपयोग एवम् भ्रष्टाचारको मतियारी पन् देखिएका थिएनन् र यसैले यो बारेमा यस अघि कहिल्यै लाज पनि लागेको थिएन । तर त्यो दिन मलाई मेरो भ्रष्टाचारी लतलाई सदाकै लागि त्याग्न मन लागेको थियो ।”

१-२ दिन पछि मसँग भए भरको कमाएको जेथा पैसा सबै बुवालाई जिम्मा लगाएर म जागिरमा जान्छु भनेर ढाँटेर बुढो बाबुलाई एक्लै छाडेर हिँडेको आज वर्षौँ भई सक्यो ! यो बिचमा भारतका सबै जसो धामहरू घुमियो, सत्सङ्ग गरियो । दीक्षा पाइयो। “ नील रमणले भने ।

मैले कुनै प्रतिक्रिया दिन सकिन । मैले घडी हेरेँ । बिहानको ३ बजेको थियो । म बाँकी रहेको रातको सानो प्रहर पनि निदाउन सकिन । बाहिर गड्याङ्ग गुडुङ्ग गर्न छोडेको थियो तर बलेसि तिर तप्ल्याक् तुप्लुक पानी झरेको आवाज अझै सुनिन्थ्यो ।